बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२०१५ सालको निर्वाचनका लागि जनकविकेशरी धर्मराज थापाले लेखेको निर्वाचन–लहर

आज पनि उत्तिकै सान्दर्भिक
सोमबार, ३१ असोज २०७९, ०९ : १७
सोमबार, ३१ असोज २०७९

निर्वाचन लहर २०१५ 
धर्मराज थापा 
निर्वाचन आयोग प्रचार विभागबाट समस्त जनसाधारणलाई निर्वाचनको चेतना ल्याउनको निमित्त तयार गरिएको पुस्तिकामध्ये एउटा यो हो ।

***

‘निर्वाचनमा भाग लिने व्यक्ति या पार्टीले ‘निर्वाचन सन्देश’को पुरापुर उपयोग गरी जनतामा निर्वाचन चेतनाको जागृति ल्याउने सहयोगको म विशेष प्यासी छु ।
– चीफ इलेक्शन कमिश्नर श्री सुवर्ण शमशेर ज.ब.रा.

***

२०१५ सालमा पहिलोपटक ५*** प्रति ।

***

भूमिका
निर्वाचन आयोग प्रचार विभागबाट आम जनतामा निर्वाचनबारे जनचेतना ल्याउने साहित्य प्रकाश गर्ने अठोट गरेकाले जनकवि केशरी धर्मराज थापाको निर्वाचन लहरी प्रस्तुत गरिएको छ । सरल भाषामा निर्वाचन सम्बन्धी ज्ञान गराउन यथासक्य प्रयास भएको स्पष्टै छ । भर नेपालको कुना काप्चासम्म यसको प्रचार गराउने आयोगको ध्येय छ । विना जनताको सहयोग नभई काम सफल हुन सक्तैन त्यसैले सबैबाट होष्टेहैसे होस भनी आयोग अनुरोध गर्दछ ।
– निर्वाचन कमिशन (आयोग)

***

सानो बिन्ती
आमनिर्वाचन नभई मुलुकमा सच्चा प्रजातन्त्रको बहार आउन सक्तैन भन्ने उद्देश्यलाई सफल पार्न श्री ५ महाराजधिराजबाट आगामी फागुन सात गते आम निर्वाचन गर्ने घोषणा गरिबक्सेकोले प्रजातन्त्रप्रेमी जनतामा मेरो पनि सहयोग पुग्न सकोस् भनी लेखेको यो सानो पुस्तक तिनै सर्वसाधारण जनताको हातमा राख्तछु ।
निर्वाचन आयोगबाट आम निर्वाचन सम्पन्न गर्नको निमित्त नेपाल मुलुक भरमा प्रचार गर्नालाई लेख्न लगाइएको यो पहिलो पुस्तक हो । 
मलाई यो पुस्तक लेख्नको निम्ति घच्घच्याई प्रेरणा दिने निर्वाचन कमिश्नर श्री स. रुद्रराज पाण्डेजीलाई हृदयैदेखि कृतज्ञता प्रकट गर्छु ।
– लेखक 

***
 
निर्वाचन–लहर

जनता साथी ! जनता भाइ !! यो सुन्नु होस्,
मनले सोची, मनले सम्झी मनले गुन्नुहोसु ।
नेपालभित्र प्रजाकोतन्त्र हामीले पाएछौँ,
राजा र रैती सबैले मिलि उठाई ल्याएछौँ ।

यो प्रजातन्त्र भनेको कुनै मानिस होइन,
यो त हो सप्पै दुनियाँ मिली चलने शासन ।
सबैको भलो सबैको हकहितको निमित्त,
सबैले मिलि सवाल–ऐन बनाई फगत ।

जनको दिल प्रेमले लुटी लिएको दललाई, 
पीर र मर्का राम्ररी बुझी हिँडेको साथीलाई ।
मौकामा बोल्न जान्ने छ फेरि सधैँ छ होसमा,
अन्यायलाई डढाइदिन्छ उम्लेको जोशमा ।

दूधको दूध पानीको पानी इन्साफ केलाउने,
अन्याय देख्दा तात्तछ चाँडै न्यायमा सेलाउने ।
इमानदार त्यो मेहनती जो छ यो देशमा,
त्यही नै छानी पठाई दिनु राज्यको सभामा ।

हामीले चुनि दिएको मान्छे वारेस बन्दछ,
देशको बाधा विपद सबै सभामा भन्दछ ।
ठगाहा, जाली, शोषक घुसलिनेको पुस्ट्याइँ
गरेर हिँड्ने कपटी नेता चुने त हे भाइ !

यौटाको मात्र बर्बाद हुन्न राष्ट्र नै बिग्रन्छ,
गरिब फेरि गरिबै होला लुच्चो नै सप्रन्छ ।
पैसोमा आफू बेचियौ भने अधिकार बेचिन्छ,
छुरीले सोझै स्वतन्त्रताको घाँटीमा रेटिन्छ । 

प्रजाको तन्त्र भनेको कस्तो भनौला हे जन !
तिमीले चुनी दिएको मान्छे नगए सम्मन ।
प्रजाले आर्जन गरेको प्रजातन्त्र यो हुँदैन,
त्यो प्रतिनिधि सभामा फेरि बोलन पाउँदैन ।

गाउँमा के के कुराको तह मिलाई दिएमा,
गाउँकै श्रमी गरिब जन रहलान् सुखमा ।
गरिबलाई सताइ दुःख दिने जो जहाँ छ,
सर्कारी अफिसरले खोज्छ त्यो जाली कहाँ छ ।

यो निर्वाचन समस्त प्रजातन्त्रको लहर हो,
विदेशलाई स्वदेशको यो हर्षको खबर हो ।
भाग्यको सूर्य, कर्मका चन्द्र, धपक्क बल्नु हो,
आफूको मात्र स्वारथ हेर्ने शासन चल्नु हो ।

भेद र भाव मेटाई दिने प्रजाको तन्त्र यो,
प्रजाकै बुद्धि–यन्त्रले देश फुलाई दिनु हो ।
यो दल मेरो, यो नाता तेरो, गर्न त हुँदैन,
चुन्नेको दिलमा पक्षेको छाया पर्नु त हुँदैन ।

यतिनजेल जे जति भयो तिमीलाई थाहा छ,
एक्काइस् वर्ष नाघेको छोरो खै तिम्रो कहाँ छ ?
छिटै नै नाम लेखाईकन तयार बनाऊ,
फर्कंदो दिन घर्कंदो जोवन धेर नटोल्हाउ ।

एक्काइस् वर्ष नाघेका जति नर र नारी छन्,
तिनैले मात्र भोट या मत दिन नै पाउनेछन् ।
पच्चिस वर्ष पुगेको हुनुपर्दछ उम्मेदवार,
मोलाहिजामा लागेछौ भन्ने ! हुनेछ सबको हार ।

घरमा तिम्रो छोरा र छोरी पढेका छन् भने,
नेपाल जम्मै काँढाको बारी घुमेका छन् भने ।
देशको निम्ति रीति र स्थिति बुझेका छन् भने,
यहाँ छ कस्तो उहाँ छ कस्तो देखेका छन् भने ।

असलै मान्छे चुनेर शासन भार दी पठाउलान्,
आफूमा त्यस्तो योग्यता भए आफैँले चलाउनलान् ।
कहाँ छौ हाम्रा पियारा भाइ ! घर कि भोटमा ?
अथवा कुनै मधेश खोँच जंगल गोठमा ।

नजिकै आयो फागुने घाम जाग हे सुत्ने प्रान् !
घरैमा बस खरायोका झैँ गराई ठाडा कान् ।
एउटा तिम्रो इलाकाभित्र के कति वडा छन् ?
कति छन् त्यहाँ गनेका मान्छे सम्झ यो मुख्य झन् ।

कति छन् जाली फटाहा लुच्चा कति छन् देशमारा,
कति छन् आफ्नै चेलीका सिन्धुर पुछ्ने ज्यानमारा ।
कति छन् त्यहाँ दाजु र भाइ जुधाइदिने ठग्,
कति छन् फोस्रै विचार बोकी बोल्दिने बकबक् ।

कति छन् जागिर खाएर पनि हितमा लागेका,
कति छन् जागिर छाडेर पनि सेवामा जागेका ।
कतिछन् आफ्नो जहान पाल्ने पाखुरो बजारी,
कतिछन् पूल, स्कूल बनाइ बसेका तयारी ।

को चाहिँ मान्छे लाग्दछ आफ्नो मनले खाएको,
को को छन् साँचो देशको सिर्जन पथमा लागेको ।
औँला नै भाँची छट्याई राख घरको पिँढीमा,
दुई छाकसम्म जोर्ने त शक्ति छँदै छ तिमीमा ।

मलाई चुन्दे भनेर पाँच रुपियाँ मिल्काउला,
म तेरो छोरा बिकाइदिन्छु भनेर फुल्याउला ।
चुसाहा धनी रहेछ भने मनले चिन्दिनु,
यौटाको मात्र स्वारथलाई कुल्चेर हिँड्दिनु ।

आफूले काम गरेको खेती असल फल्छ है,
आफूले लिपेछिपेको घर सुघ्घर हुन्छ है ।
आफैँले सोची छानेको पार्टी असल हुन्छ है,
विचारपूर्वक हिँडेको बाटो स्वर्गमा पुग्छ है ।

अहिलेसम्म कस्तो छ तिम्रो देशको आजादि,
अनेकौँ कष्ट ताप र चिन्ता तिम्रो छ अगाडि ।
असल काम गर्नको निम्ति छँदै छ खुला द्वार,
निर्वाचनपछि होइजाला तिम्रो सुघ्घर व्यवहार ।

अहिले देशभरमा पैल्हो निर्वाचन गर्ने भो,
सत्तरी असरी हजारबीच एउटा क्षेत्र भो ।
एउटा उठ्न पाउँछ यौटै क्षेत्रको तयारी,
एक सय नौ क्षेत्रमा तिम्रो बाँडियो यो बारी ।

एउटा क्षेत्र भित्रमा पनि एघार उठाउलान्,
कहाँका कहाँ कालिका माली गाउँमा जुटाउलान् ।
पश्चिमको पूर्व पूर्वको पश्चिम नभनीकन भोट,
दिएछौ भने असल पार्टी हुनेछ राम्रो लोक ।

बस्ती छ तिम्रो डाँडा र काँडा परेको देश हो,
कहीँ छ खोला कहीँ छ हिमचुलीको फेद हो ।
पूर्व र पश्चिम हानिँदै बग्ने सहश्रौं नदी छन्,
थोरै नै पक्की पूल र साँघु बाटो त कच्चा झन् ।

भाइ छन् तिम्रा यी चन्द्र सूर्य छायामा हुर्केका,
डाँडाका माथि लेकमा राता गुराँस झैँ फुलेका ।
नभने कुनै बिराना मान्छे टाढाका पराई,
एउटै कुवा पँधेरो गरी बसेका ती हाइ !

एउटै गाँस, एउटै बास, एउटै उकाली,
एउटै धुरी मनिका जहान शान्तिका नेपाली ।
दुल्लुको उठोस् इलामबाट दुल्लुमा इलामको,
नेपालीलाई नेपाली नै नभने कहाँको ?

देशको हित राखने पार्टी जनको सच्चाजन्, 
जो सुकै होओस् सुधार गर्ने स्वतन्त्रताको धन ।
यै नेपालको माटोमा उम्री फुलेको सुगन्धी,
विश्वमा छर्ने सुधार गर्ने दुःखको होस् संगी ।

त्यो चाहिँ मान्छे आँखामा पर्ला चुनिई आउनेछ,
यो तिम्रो विराट देशको सर्कार त्यसैले पाउनेछ ।
अथवा कुनै पार्टीको समर्थक भै त्यो आओस्,
अथवा कुनै स्वतन्त्री दलको बहुमत भै जाओस् ।

केवल तिनका विचार पढे मनमा संगाली,
मतको दान गर्न नै पर्छ सत्यता अंगाली ।
तिमीलाई केही सजाय डण्ड कसैले गर्दैन,
तिमीले यौटा नदिँदा मत यो मेलो सर्दैन ।

सम्झेर हेर नेपाल तीर्थ नदीझैँ चोखो छ,
सुधारकलाई चुन्दिने तिम्रो मनको धोको छ ।
भित्रको इच्छा हिमाल जस्तै पवित्र राख्ने छौं,
उम्मेदवारको भाषण सुन्न गाउँमा डाक्ने छौं ।

कानका कीरा खाने हुन् मात्रै नभने कहिल्यै,
पाएको ठूलो यो अधिकार नफाले लौ लहै ?
निमेक मर्छ त्यो दिन हाम्रो भनेर नभने,
तिमी नै उठे यो जुवा जित्ने हिम्मत छ भने ।

सबैको बुद्धि पारख गरी सुन्दिनु धर्म हो,
आफूको चित्त नबुझ्ने कुरो नबोल्नु सर्म हो ।
बोलन भनी आएका सबै बोलेर जानेछन्,
आँखामा धुलो छरेर जाने ठक्कर खानेछन् ।

मलाई मत दिनुहोस् तिम्रो भलाई गर्दिन्छु,
म जनहित गरेर तिम्रै अगाडि मर्दिन्छु ।
मुखले भने चिप्लने कीरासरि झैँ बोल्छन्,
मनको कडा जहर फेरि सत्यमा घोल्ने छन् ।

औसर छोप्ने आउलान् मत दैलामा मागन,
फुकेर ढ्वाङ निकाली स्वाङ हप्काई बाझन ।
नडराए है ! नतर्सिए है !! मनले गम गरी,
सुटुक्क मत गर्ने हो दान पाइन्न बल गरी ।

परन्तु तिम्रो मतको दान देशकै निम्ति हो,
तिमी नै बरु मेटिइजाउला यो महादान हो ।

दिएको दान लिएर जान्छ मागेको बेलामा,
दिँदैन फिर्ता यो राजनीति चलेको मेलामा ।
निकै न वर्ष टुंगिएपछि फेरि यो आउला,
अत्यन्त भूल गरेछु भन्ने पछि तो पाउला ।

साहूको मैले खेत नै जोत्छु मजुरी कबोली,
उसको हिजो लिएको कर्जा दिनु छ है भोलि ।
साहूलाई मैले नदिए मत फेरि त्यो रिसाउला,
यो यौटा मत त्यसलाई दिए त्यो चाहिँ खुशाउला ।

भनेर तिमी मनमा फिक्री नलिए है भाइ !
मनमा तिम्रो राखेको व्यक्ति मनमा रखाई ।
जहाँ छ तिम्रो मतको पाल टाँगेको ठाउँमा,
लुकेर टिकट खसाली देउ आफ्नो त्यो गाउँमा ।

फलानो गुरु रिसाउने छ अथवा भिनाजु,
ससुरो ज्वाइँ सालो र भान्जो होओस् रे फुपाजु ।
गोप्य छ तिम्रो दिलको मत लुकेर खस्ने छन्,
नजरअघि नाता र गोता ढुकेर बस्ने छन् ।

चाराना भाग पाइने ठाम्मा एउटा भाग पनि,
नपाए भोट जफत हुन्छ उठ्नेको धन पनि ।
त्यस्ताले बल नगरे बेस मतको उम्मेदवार,
नाहक आत्म चिन्ताको बोझा हुनेछ बेसम्भार ।

रहर हैन खेलौना हैन नसम्झे क्यै पनि,
निर्वाचन गर्ने यो महाजाँच आयौ है लौन नि ।
बले हुन्न धनले हुन्न छानेर हुने हो, 
साहसी, विद्वान् सेवक गुणी विजयी हुन्छ त्यो ।

विश्वासपात्र, इमानदार चाहिँदो कुरामा,
बोलन कत्ति नडराउने लेख्नको पुरामा ।
सुधार गर्ने सिपालुलाई त्यो दान खसाल्नु,
पापको थुप्रो बाकसभित्र अधिकार नफाल्नु । 

आलस्य बढी रातमा तिमी शान्तिले सुत्ने छौ,
फलानोलाई नभूल भन्ने चिच्याहट सुन्ने छौ ।
घरको भाइ बौलायो अरे भन्ने नि सुनौला,
तब पो देश निर्माण गर्ने काइदा बुझौला ।

सुन न सुन यी हाम्रा कुरा मतका अधिकार,
जुन ठाउँमाबाट उठ्तछ मान्छे त्यो चाहिँ उम्मेदवार ।
जसको बढ्ता मिल्दछ राय उसको हुन्छ जित्,
यो प्रजातन्त्र प्रथामा यस्तो चलेर जान्छ रित् ।

चौतारी वर पीपल फेद बाटाका पर्खाल,
टाँगिने छन् है तोरन पर्चा समस्त नेपाल ।
काँधमा बोकी पार्टीका झण्डा उकालो चड्ने छन्,
जागेछ अब नेपाल सारा विदेशी भन्ने छन् ।

साँचो र झुटो केलाइ दिन मुस्किल पर्नेछ,
नमान्नु शंंका स्वतन्त्र चुनाव सरकारले गर्नेछ ।
होशियार बन्नु, चनाखो बन्नु नबने लालची,
सबैको भित्री हृदय पढ्नु बनेर चलाकी ।

गाउँको धुरी कति छ जहान् सरकार गन्दछ,
सरकारबाटै तिमीले चुन्ने टिकट मिल्दछ ।
रक्षाको निम्ति खटाई दिन्छ पुलिस–बहिदार,
बनाई दिने सरकार राम्रो पाएको अधिकार ।

एक्काइस वर्ष मनिको बालक सिल्ली र अपराधी,
उल्टिई टाट हिँडेका हुन्नन् मतका ती भागी ।
यो दिन चुनाव हुनेछ भन्ने घोषणा गरेको,
दिनमा सारा देशमा हुन्छ चुनाउ भनेको ।

कसैले आफ्नो नाउँको चिन्हो गुलेली राख्नेछन्,
कसैले सेतो परेवा टिपी भक्कल भाक्ने छन् ।
कसैले गाई कसले चक्र, कसले जोतारा,
कसले आँसी, गुलाब फूल, मुग्रो र सितारा ।

परन्तु मनको स्वचछन्दी फूल फुलेको कस्तो छ,
अथवा विघ्न सुगन्धहीन पलाँस जस्तो छ ।
यौटा त तिम्रो समस्या बोकी अवश्य आउँला,
धोबीले लुगा चुनेझैँ फगत तिमीले चुनौला ।

रातमा सीटा चीराँक बाली अगाडि आउनेछन्,
कसले दुई पाथीको धान लिएर माग्नेछन् ।
जो भए पनि एउटा चुन्नु काम हो चुन्नु होस्,
भन्दैनौ हामी हृदय छामी ए भाई ! सुन्नुहोस् ।

दुःख त हाम्रो समुद्र जस्तो थिगिन्छ भनेर,
पाएको सत्य सुनौली मौका नफाले है खेर ।
कसरी देश समृद्धिशाली भएर उदाउला,
मुखको कालो कसले किरण कूचोले पुछाउला ।

रोजी र रोटी शिलाझैँ खोजी छानेर पठाउनु,
देशको सेवा गरेर मर्ने जो छ त्यो खटाउनु ।
कसैको तिमी नोकर हौला कसैको चाकर,
नेपालको म छोरो हुँ भनी बन्नेछौ निडर ।

यो देशभित्र बाजेले तातो रगत खन्याए,
यो देशलाई पराइबाट वीरले जोगाए ।
यै वनबाट उम्रेको रुख सरि पो तिमी छौ,
यै धर्तीसित भिजेको ढुंगो माटो पो तिमी हौ । 

हो, तिमी साह्रै थिचिएकाथ्यौ न्याय नै नपाई,
दाँतमा ढुंगो लागेर बस्थ्यौ हृदय रुवाई ।
त्यो एकतन्त्र शासन छैन हराई गै गयो,
मिली र जुली बागडोर लिने समय यै भयो ।

अब त तिम्रो भाग्यको ढोका युगले उघा¥यो,
कर्मका बाटा खोलिए हेर देशले पुका¥यो । 
देशको दशा बिग्रियो भने सबै नै बिग्रौँला,
देशको दशा सप्रियो भने सबै नै सप्रौँला ।

फर्केर तिमी हेर त तिम्रो नेपाली बजार,
नेपाले कान्छो नेपाली कान्छी देखिन्छन् हजार ।
पुराना नदी, पुराना पर्वत, पुराना देवल छन्,
पुरानो राज, पुरानो काज पुरानो रीति झन् ।

नेपालीले नै दाउरा काटी बोकेर ल्याउँछ,
खरिद गर्न नेपालीले नै बाटोमा धाउँछ ।
नेपाली किन्छ, नेपाली बेच्छ, यस्तै छ के गर्नु ?
नेपालीलाई नेपालीले नै कुल्चने नगर्नु ।

छिमेकी देश छिमेकी साथी पाहुना मान्दिनु,
वनको जे छ, फलेको फल प्रेमले खान्दिनु ।
नगरे कतै झगडा मार चुट्टिने पिट्ने काम,
सर्कार खूद हेर्नेछ सोझै कस्को हो त्यो बिराम ।

नबुझेकाले बुझेनौ भन्लान् बुझेका चूप होलान्,
सरकार खूद स्वयम् सेबक अगूवा होइदेलान् ।
सुविस्तासँग मतको दान गरन पाउला,
पुरुष बेग्लै, आइमाई बेग्लै, ताँतमा आउला ।

निर्वाचन जित्ने कतिले नाना गाना नै छर्नेछन्,
आफ्नै दल बलले जित्ने कोशिश गर्नेछन् ।
घुम्नेछन् धेरै गाउनेहरू टोलमा रमरमी,
सबैका चाला बुझेर बस्नु जित्नुहोस् मत भनी ।

निर्वाचन जित्ने विश्वासी होऊन् सत्त्यमा जागेका,
जनको घर घर डुलेर आत्म–शुद्धिमा लाएका ।
आपद विपद ठेस र ठक्कर जेल र नेल खोर,
भोगेका हऊन् डाँडा र काँढा बुलन्द पार्दै स्वर ।

कसैले हामी सुधारक् भनी गर्ने छन् कबुल,
पार्ने छन् साह्रै अक्क र मक्क बाटैमा अन्योल ।
राष्ट्रिय जरो मक्किने कुरो बाहिरै फाल्दिनु,
लिएर आफ्नो मतदानपत्र सुटुक्क हाल्दिनु ।

खसाल्ने बेला हुरुक्क होलान् फुरुक्क होइजाउला,
खसालेपछि घरमा फिरी धुरुक्क रोइजाउला ।
फितलो मन कहिल्यै पनि हुँदैन शीतल,
यो साहितमा नपारे कत्ति हृदय विकल ।

निर्वाचन कमिशनले फेरि मतका अधिकार,
सूची नै ठिक्क पारेर नाउ पार्ने छ तम्तयार ।
त्यसमा आफ्नो उमेर थर परेको छ छैन ?
पिताको नाम आफूको गाम लेखेको छ छैन ?

देखेनौ भने उजुर गर्नु कागत लेखेर,
मौलिक अधिकारको भाग उठौला बोकेर ।
यो चुन्ने भाग लिन्न नि भन्नु अबुझ हुनेछौ,
जन्मिएपछि मौलिकताको विनाश गर्नेछौ ?

ल्याएको प्रजातन्त्रको रथ टुक्रिई नजाओस्, 
साधुको भाग तानेर ठग चोरले नखाओस् ।
सराप लाग्ला शहीद वीर क्रान्तिमा जल्नेको,
यो प्रजातन्त्र फलको निम्ति रुखमा फल्नेको ।

देशको धनी देशकै निम्ति खर्चालु भैदेओस्,
अन्यत्र बसी एकलै मज्जा गरेर नखाओस् ।
गाउँले भाई मारेर आफ्नो ढुकुटी नभरोस्,
आँतका भाइ गुहार नपाई पौवामा नमरोस् । 

गाउँमा कति बेथिति बढी धनीले डसेर,
सम्जन्छन् आफ्नो घर र बारी विदेश बसेर,
ती परवासी बन्धुको दुःख हेर्नुहोस् कस्तोछ ?
इतिहास सम्झी विवेक पूर्ण चुनाउ गर्नुछ ।

असल नेता असल पार्टी छलिनु हुन्न है,
सर्कार तिम्रो जहिले पनि सम्मुख हुन्छ है ।
साधुलाई शुली चोरलाई चुली नगरे हे भाइ !
मरौला फेरि अन्त्यको घडी गुहारै नपाई ।

आफूको भर आफूले गर्नु पहिलो बुद्धि हो,
कसैको लै लै नलागी हिँड्नु हृदय शुद्धि हो ।
सेतामा रातो छुट्टिए सरि झर्लक्क छुट्टिन्छ,
पापीको दिल जनको जल्दो ताबामा भुट्टिन्छ । 

केवल चोरै चोरको मात्र होला नि ठूलो मत,
छट्टुले फेरि छकाइदेला भएर यौटा गठ् ।
सज्जन यौटै छलियो भने आनको तान पर्छ,
बिरुवा प्रजातन्त्रको जरै मरन के बेर्छ ?

उम्मेदवार बनी जो पनि तिम्रो गाउँमा आउला,
गाउँको मोड मोडमा बसी कोहोलो मच्चाउला ।
अथवा डिट्ठा मुखिया होला मौजाको जमिदार,
झारा र बेठी माफी नै दिन्छु भन्देला बारम्बार ।

तँ सानो जात उपल्लो श्रेणाी परेको बोल्ने म,
यतिको पैसा निकासा गरेँ स्कुल खोल्ने म ।
यतिका ठूला रचनापूर्ण गरेको कामले,
हकार्न खोज्लान् कैं तिमीलाई साँवाको दामले ।

जसको धेरै बहुमत होला उसैको सर्कार,
बन्दछ मुलुक भरिको राज्य चलाउने हकदार ।
अनि त सुन फेरिँदै जान्छ राष्ट्रको काँचुली,
मोटर रेल दगुर्ने होला तिम्रो यो सुनचूली ।

गाउँको गाउँ शहर होला म्युनिसिप्यालटी,
फोहर मैला सुग्गर सफा गर्नेछ तैं बसी ।
पाटी र धारा बघैँचा सारा सोहरी तलाउ,
मिलेर पञ्च शासन गर्लान् लौ बेर नलाउ । 

उहिले पनि पुर्खाले तिम्रो शासन गरेथ्यो,
अहिले पनि तिमीले राज चलाउन खोजेको ।
आउँदो भोलि छोरा र नाति पनाति खनाति,
तिमीले खनिदिएको बाटो हिँड्नेछन् समाति ।

ओहोर दोहोर पेलेको बाटो बनेको बजार,
पूर्वका बन्धु पश्चिमले भेट्ला छुट्टेका हजार ।
मुंगाका डाँडा रुपा र फेवा तालमा ओर्लेलान्,
दूधै र कोशी सेती र काली दिनमा भेट् होलान् ।

पश्चिमको भेरी पूर्वको पिँढी बसेर जगाउला,
पशुका पति गोरखनाथ बाबाजी बोलाउला ।
पूर्वको झाँक्री बोक्सेरो झार्दै पश्चिम काम्नेछ,
च्याप्रुङ–ढोल घन्केर वन पहरा बज्नेछ । 

हेटौँडा भात खाएर कास्की चुठन पुगौँला,
पाल्पाली हुक्का किनेर चाँडै घरमा फिरौँला ।
पोखरा साँझ सुतेको मान्छे प्युठान उठौला,
अहिले सुन यी हाम्रा कुरा भोलि त बुझौला ।

कहिले जाउला हेलम्बु खर्क कहिले चइनपुर,
कहिले तिमी धनकुटा हुँदै झरौला कान्तिपुर ।
हिउँदमा फुल्ला विराटनगर वर्षामा भोजपुर,
दक्षिणबाट उत्तरतिर उक्लन मिल्ला सूर ।

जनकपुर धामकी सीता भेटन पाउला,
धनुषा–कुण्ड घुमेर मन्दिर ढोगेर आउला ।
राम र सीता नेपाली गीता भजेर बसौंला,
कपिल बस्तु बुद्धको घर भेटन हिँडौला ।

संसार सबै फर्केर हेर्लान् गौतम कहाँ छन् ?
उत्तरापन्थ शिव र बुद्ध बसेका जहाँ छन् ।
अहिंसा शान्ति, बगेको धारा विश्व नै उज्यालो,
पारेको तिम्रो नेपाल राम्रो विश्वकै अँगालो ।

त्रिशूली बल्ला डाँडा र काँढा रापती गम्केला,
अरुणखोला किनार भरि बिजुली चम्केला ।
कर्णाली बग्ला जुम्लाको बास कस्तुरी ओसारी,
स्वर्गको लोक नहोला तिम्रो द्यौताको यो बारी ।

माझीका घाटा शान्तिका भञ्ज्याङ् राजाका रानीवन,
फनक्कै कुइरो लागने खाल्टे खोलाको चूली झन् ।
गुंहेली, काफल अ‍ैसेलु चूत्रो झूलाई वनकेरा,
गमक्क गम्की वसन्त चम्की रहलान् छ फेरा ।

जुगल हिमाल चिहाई हेर्लान् रोशीको शिरमा,
पनौती डाँडा दगुर्दै जाला दक्षिनतिरमा ।
शिवको पूरी भञ्ज्याङ होला सुन्दरीजलको भल्,
स्वर्गमा नाच्ने अफसरगणको होला त्यो रंगस्थल ।

रुखैमा बल्लान राता र नीला झल्मल बिजुली,
बलेर लेकै उज्यालो होला पूर्णेको जून खुली ।
शीतल झर्ना हृदय होला काँध नै लेकको, 
सुगन्ध चारौँ दिशामा छुट्ला यो पुण्य देशको ।

छानेर राज्य चलाउने चलन चल्नेछ नेपालमा,
गह्रुंगा बोझ हलुका हुँदै जाने छ कपालमा ।
यै लहरमा दनाति फेरि मागन आउने छ,
पालाको पैंचो दिनु र लिनु युगैभर हुनेछ ।

आँटेको शुद्ध दिलले दिनु यो शुद्ध चलन हो,
प्रेमले माग्नु यो राजनीति दलको भजन हो ।
जनको रुचि अनुसार चल्ने चलन उदायो,
विशुद्ध प्रजातन्त्रको गंगा दैलामा सुसायो ।

सूचीमा सबै सर्कार लेख्छ नागरिक अधिकार,
नागरिकताको पवित्र प्रेम राखे है बारम्बार ।
विदेशी, छट्टु, दलाल आई कुबाटो लैजाला,
यिनैले गर्दा राष्ट्रको ठूलो दुर्नाम भैजाला ।

सर्कार भन्ने मुलुकमा खाली कहिल्यै रहन्न,
सर्कार गुल्जार हुने यो घर रित्तई रहन्न ।
सर्कार जान्छ, सर्कार आउँछ, मरे त जन्मने,
नेपाल यौटै धागोमा उन्ने राजै हुन् भन्ठाने ।

राजाको राजधानी त दाजै बरफको रास हो,
हिमाल सिंहासनको मनि नेपाल बास हो ।
चन्द्र र सूर्य शिरमा लाग्छन् बाहारै मासको,
सुखी र दुःखी शिरमा झुल्की एकई नाशको ।

प्रजामा प्रजातन्त्रको झुल्का झुलुक्क खसाल्न,
राज्यमा यौटा बलियो नयाँ सर्कार बसाल्न–
राजाले चुनाउ गरने दिन घोषणा गर्नु भो,
नेपालभित्र स्वतन्त्र घाम लालिमा छर्नु भो ।

हे भाइ ! तिमी जन्मदा साथ सर्कार जन्मन्छ,
चौबिस घण्टा पालो–पहरा साथमा होइजान्छ ।
तिमी नै खाउला, तिमी नै लाउला, गरेका कामले,
नेपाली सधैं बिजयी हौला पवित्र नामले ।

संस्कृति, कला, न्यायको जग तिमीले खनेर,
चिन्हेको मन्दिर मर्मत गर्दै झल्काए गजुर !
विभिन्न चित्र कलाका मूर्ति भित्तामा खोपौला,
यो प्रजातन्त्र तराजुलाई जोखेर बसौला ।

जन्मेला यहाँ पवित्र प्रजातन्त्रको सिपाई,
वीरको आत्मा बलाई धप्प चौदिशा फिजाई ।
शिरमा काली भाकेर यहाँ चड्केला चटङ्ग,
महाकाल मूर्ति जगाइ भैरव निकाली उमङ्ग ।
गाईको दूध साँचोले मथ्ला डायरी होला गोठ्,
उँधो र उँभो छिनमा होला तराई, पहाड, भोट ।
सिरिरी प्रजातन्त्रको हावा वन वनै दगुर्ला,
कसले तिम्रो नेपाललाई पियारो नगर्ला ।

पुराना टुक्का, पुराना कथा, इतिहास भैजालान्,
गाउँ र घर वन र पहाड के यस्तै रैजालान् ?
आहा ! यो पर्वत धनको थुप्रो बस्नेछ ओकली,
पातमा झुल्ला पत्थरमा भुल्ला लुकेको नेपाली ।

गोरेटा साना बिलाई जालान् सडकमा मिलेर,
नेपाल बस्ला तलाउ बीच कमलझैं खिलेर ।

***

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप