बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

२०१५ सालको चुनावमा एक स्वतन्त्र उम्मेदवारको घोषणापत्र

शिक्षित उम्मेदवारको देश बनाउने योजना (ऐतिहासिक दस्ताबेज)
मङ्गलबार, २५ असोज २०७९, १७ : १४
मङ्गलबार, २५ असोज २०७९

मेरो निर्वाचन घोषणपत्र 
खरुदेप्रसाअी (रामबाबु) 
बी. एस्सी. एग्री. एन्. डी., स्वतन्त्र उम्मेदवार (तराजु चिह्न), 
३० नं. निर्वाचन क्षेत्र, झापा

श्री खरुदेप्रसाअीको संक्षिप्त परिचय 
श्री खरुदेप्रसाअीजीलाई १५ वर्षको सानो उमेरदेखि नै सामाजिक कार्यहरूमा र राजनीतिमा अभिरुचि हुन गएको हो । धनकुटा जिल्ला अन्तर्गत आठराई हाम्पाङ गाउँमा १९७८ साल माघमा उहाँको जन्म भएको हो । १९८६ सालदेखि १९९० सालसम्म काठमाण्डूमा प्रारम्भिक अध्ययन गर्नुभयो, १९९१ सालदेखि १९९७ सालसम्म मुजफ्फरपुर जिल्ला (भारतको) म्याट्रिक्ससम्म पढ्न पाउँदा उहीं भारतीय राष्ट्रिय कांग्रेसका राजनीतिक र सामाजिक कार्यहरूमा दिलचस्पी र सम्पर्क हुन गयो । 

१९९८ सालदेखि २००२ सालसम्म काठमाण्डूमा बी. ए. सम्म अध्ययन गर्नुभयो । र राणाशाहीको तानाशाही पनि देख्नुभयो । २००३ सालदेखि २००६ सालसम्म पुना (बम्बई)मा अध्ययन गरी बी. एस्सी (एग्रिकल्चर) पास गर्नुभयो । कारणवश, उहाँले एम ए.को अन्तिम वर्षमा पढ्दापढ्दै अध्ययन स्थगित गर्नुप¥यो । बी. एल.को अध्ययन पनि सक्न आँट्नुभएको छ । २०१४ सालमा नेचुरोप्याथीको डिप्लोमा एन. डी. प्राप्त गर्नुभयो ।

२०११ भाद्र १५ देखि २०१२ असार १५ सम्म १० महिना सारा नेपालको पैदल भ्रमण गरी नेपालको भौगोलिक र प्राकृतिक स्थिति तथा नेपालीहरूको आर्थिक–सामाजिक राजनीतिक अवस्थाको अध्ययन गर्नुभएको छ ।

के के गर्दा विश्वमा र खास गरेर नेपालमा सर्वहित हुन जान्छ– यसैको चिन्तनमा उहाँको मन लागिरहेको छ । र २००७ सालको क्रान्तिपछि उहाँ विभिन्न सामाजिक कार्यहरूमा लागिरहनुभएको छ, राजनीतिकमा पनि पूरा दिलचस्पी लिने गर्नुभएको छ ।

–प्रचार विभाग । 

मेरो निर्वाचन घोषणपत्र

झापाका मतदाता महानुभावहरू,

हाम्रो नेपालमा प्रतिनिधि सभाको लागि फागुन ७ गते देखि पहिलो निर्वाचन सुरु हुने भएको छ । हाम्रो झापा जिल्लामा चाहिँ चैत्र ११ गते मत दिने काम हुने भएको छ । म पनि यस जिल्लामा स्वतन्त्र रूपमा उम्मेदवार भएको छु । मेरो तराजु चिह्न छ । तराजुको मतलब हो– न्यायको दृष्टिमा कोही पनि ठूलो–सानो मानिँदैन र सबै समान हुन् । र, तराजुको चिह्न लिनुको अभिप्राय हो– कुनै किसिमको लोभ या डरको फन्दामा नपरी हरदम न्यायको पक्षमा मात्र लाग्नु । यस जिल्लामा म बाहेक अरु पनि उम्मेदवार हुनुहुन्छ, उहाँहरूको नाम र योग्यता तपाईंहरूले जान्नुभएकै होला, जान्नु हुने नै छ । तपाईंहरूले गुप्त रूपले मत (वोट) दिने हक पाउनुभएको छ । यस जिल्लाबाट कसलाई भोट दिएर छानी पठाउँदा जिल्लाकाो र देशको कल्याण हुन्छ– त्यो तपाईंहरूले सोच्नु हुने नै छ । जिल्ला र देशको भाग्य तपाईंहरूको हातमा छ, तपाईंहरूको मतमा छ । 

तपाईंहरूले मलाई आफ्नो महत्वपूर्ण मत दिई यस जिल्लाको प्रतिनिधिको रूपमा चुनेर पठाउनुभयो भने म मुख्यतः तपसीलका कुराहरूमा विशेष ध्यान दिई नेपालको र नेपालीहरूको (र खास गरेर यस जिल्लाको) उन्नति गराउन यथाशक्ति प्रयत्न गर्नेछु —

१. कृषि : हाम्रो देश खास गरेर खेतीपातीको मुलुक हुनाले र कृषिको उन्नतिमा नै सारा देशको उन्नति विशेष गरेर आधारित हुनाले खेतीपातीको निम्ति बाँध–नहर, कुलो–पैनी, राम्र्रो बिउ, मलहरूको प्रयोग, उन्नत हल इत्यादि, राम्रो नापी, किसानहरूलाई हुलका ब्याजमा ऋणको प्रबन्ध, वैज्ञानिक र उपयोगी अन्य तरिकाहरू बालीका रोग र कीराहरूको ओखती इत्यादि कुराहरूमा ध्यान दिनेछु मेरो बी. एस्सी (कृषि) को अध्ययनले यस्ता कुरामा विशेष सहायता दिनेछ । 

२. यातायात र सञ्चार : हाम्रो देशमा सबै जिल्लाहरूमा आपसी आवतजावत गर्न कुनै मूल बाटो बनिसकेको छैन, तराईमा मेचीदेखि महाकालीसम्म एउटा मूलबाटो बनाई अनि त्यसका हाँगे बाटाहरूको निर्माण गरी उत्तर–दक्खिनका मुख्य मुख्य स्थानहरूमा पुग्नु नै अहिले व्यावहारिक देखिन्छ, र अरु चाहिँदा बाटोहरूमा पनि ध्यान दिनेछु । साथै, आकाशवाणी, हुलाक, टेलिफोन, हवाई मार्ग, रेल इत्यादिमा पनि समुचित ध्यान दिनेछु । यसमा मेरो ‘अखिल नेपाल पैदल भ्रमण’को अनुभवले पनि सहायता दिनेछ । 

३. शिक्षा : अहिले काठमाण्डू उपत्यकामा बाहेक अरु जिल्लाहरूमा शिक्षित व्यक्तिहरू र साक्षर मानिसहरूको संख्या नगण्य जस्तो छ । आफ्नो देश–काल सुहाउँदो शिक्षाको प्रबन्ध र खास गरेर साक्षरता .चिट्ठी–तमसुक लेख्न पढ्न जान्नु र घरेलु हिसाब जान्नु) मा विशेष ध्यान दिनेछु । यसमा, मेरो एम. ए. (अन्तिम वर्ष) सम्मको अध्ययनले सहायता दिनेछ । 

४. स्वास्थ्य : पहाडमा पनि अनेक रोगले मानिसको शरीर बिग्रेको छ र मरण समेत हुने गरेको छ, भित्री मदेश र तराईमा त खास गरेर औलोले धेरै जसोको स्वास्थ्य चौपट भएको छ र अकाल मृत्यु भइरहेको छ । तसर्थ, सुगमता र उपयोगिता अनुसार एलोप्याथी, होमियोप्याथी, आयुर्वेद, प्राकृतिक उपचार इत्यादि सबै तरिकालाई यथोचित प्रोत्साहन दिई देशव्यापी स्वास्थ्य–समुन्नतिमा ध्यान दिनेछु । देशको सबभन्दा ठूलो धन नै जनशक्ति हो र जनशक्ति स्वास्थ्य ठीक रहँदा मात्र बढ्छ ।

५) ऐन–कानुूनः देशमा अझै पनि राणाशाहीकै ऐन–कानून नै धेरै जसो व्यवहारमा लागू गरिएको छ । देशमा जनतालाई सुख–दुःख हुने कुरामा न्याय–अन्यायको ठूलो हात रहन्छ । तसर्थ, देश–काल सुहाउँदो सर्वहित हुन जाने ऐन–कानून बनाई स्वतन्त्र र निष्पक्ष न्याय–प्रशासनद्वारा सारा नेपालीहरूलाई शान्ति र सुव्यवस्था हुने उपाय गर्नमा सदा प्रयत्नशील रहनेछु । यसमा, मेरो बी. एल.को अध्ययनले निकै सहायता गर्नेछ ।

६. परराष्ट्र–नीति : आफू बसेको घरमा पनि शान्ति र सुव्यवस्था कायम राख्न छिमेकी घरवालाहरूसँग मैत्री सम्बन्ध राख्नु नितान्त आवश्यक हुन जान्छ, त्यसै गरी आफ्नो देशमा पनि शान्ति र सुव्यवस्था कायम राख्न र उन्नति गर्न छिमेकी देशहरू भारत, चीन र पाकिस्तानसँग खास गरेर घनिष्ठ मित्रता कायम राख्ने कुरामा विशेष जोड दिनेछु, र साथै अरु राष्ट्रहरूसँग पनि कुनै नाजायज गुटबन्दीमा नलागी, मित्रता राख्नु झन् वेस हुन्छ ।

७. उद्योग–वाणिज्य : हाम्रो देशमा मामुली खेती बाहेक अरु कुनै उद्योग–वाणिज्य विशेष उल्लेखनीय देखिँदैन । देशको व्यक्तिगत पुँजीलाई र उत्पादनलाई कुनै प्र्रोत्साहन र सुरक्षा दिइएको छैन । हाम्रो देश पछाडिएको र निर्धन हुनाले ठुल्ठूला उद्योग–वाणिज्य चालु गर्न विदेशी पुँजीको र विदेशी सहायताको पनि निकै आवश्यकता देखिन्छ । राष्ट्रिय आम्दानी पनि समुचित फाँट लगाई खर्च हुन सकेको छैन । तसर्थ, देशको प्राकृतिक सम्पत्ति (खानी इत्यादि) को पत्ता लगाउने र अरु आवश्यक उद्योग–वाणिज्यको निम्ति सबै प्रथम व्यक्तिगत पुँजी र राष्ट्रिय पुँजीलाई उपयोगमा ल्याई नपुग भएमा नियन्त्रित रूपमा विदेशी पुँजी पनि लगाउने कुरामा ध्यान दिनेछु । नेपालजस्तो देशमा घरेलु उद्योगले जनतामा निकै इलम र लाभ दिन्छ । तसर्थ, यसलाई समुचित प्रोत्साहन दिई यसको विकास हुनु बहुत आवश्यक छ ।

८. पानी–बिजुली : हाम्रो देशमा जता सुकै अनेकौँ नदीहरू निरन्तर बगिरहेका छन् । अचेलको वैज्ञानिक युगमा बिजुलीले धेरै किसिमको काम दिन्छ । बत्ती बाल्न, भात पकाउन, रेल हिँडाउन कल–कारखाना चलाउन इत्यादि सबै कुरामा बिजुलीले काम दिन्छ । तसर्थ, देशभरि पानी–बिजुली निकाली नेपाललाई बिजुलीमय झलमल्ल उज्यालो पार्ने कुरामा प्रयत्नशील रहनेछु । 

९. वन : हाम्रो देशमा वनको कुनै व्यवस्था भएको देखिँदैन, कहीँ वनै मासिइसकेको छ, कहीँ चाहिँ जता सुकै वन–जंगल हुनाले हावापानी खराब र बाघभालुले मानिसको मरण भै राखेको छ । राम्रो जंगल राख्ने योजना बनाई नचाहिने ठाउँको जंगल मासी, चाहिने ठाउँमा जंगलको वृद्धि गरी जंगलामुलुकको सट्टा मुलुके जंंगल पार्न चेष्टा गर्नेछु । 

१०. आर्थिक–नीति : नेपालको राष्ट्रिय आम्दानी सारै नै कम छ– वार्षिक ३–४ करोड रुपैयाँको आम्दानीले मात्र नेपाल जस्तो स्वतन्त्र मुलुकले कति उन्नति गर्न सक्नु र ! तसर्थ, निकासी पैठारीको समुचित व्यवस्था मिलाउने, देशभित्रै अनेक किसिमका उद्योग धन्दा बढाउने, देशभरिमा नेपाली मुद्राको प्रचलन गरी मुद्रा–स्थिति नियन्त्रित राख्ने, चाहिँदो किसिमसँग विभिन्न प्र्रकारका उचित ट्याक्स (कर) लगाउने, विभिन्न किसिमका ठेक्का–बिक्रीहरूको समुचित प्रबन्ध मिलाउने इत्यादि अनेकौँ उचित तरिकाबाट देशको आम्दानी बढाई समुचित रूपले खर्च गरी देशको उन्नति गर्नमा सदा दत्तचित्त रहनेछु । 

११. सरकारी आम्दानी : हाम्रो देशको शासन सुचारु रूपले चलाउन राष्ट्रको सर्वोच्च शासक (श्री ५ महाराजधिराज) लाई सहायता गर्न पिउन र सिपाहीदेखि लिएर प्रधानमन्त्री र कमान्डर इन चीफसम्मको आवश्यकता पर्दछ । तर यिनीहरूको तलब, बस्ने ठाउँ, पारिवारिक सहुलियत तर्फ समुचित दृष्टि पुग्न नसकेमा सरकारी कर्मचारीहरूमा असन्तोष अनैतिकता र भ्रष्टाचार फैलिन गई देशको शासन–प्रबन्धमा ठूलो बाधा पर्न जान्छ र देशभरि शान्ति र सुव्यवस्थामा धक्का पर्न जान्छ । तसर्थ, सरकारी कर्मचारीहरू बरु एकदम सारै आवश्यक संख्यामा मात्रै राखिऊन्, तर राखिएका जतिलाई चाहिँ तलब–बस्ने ठाउँ पारिवारिक सहुलियतको समुचित प्रबन्ध मिलाउनुपर्छ, जसबाट देशमा सदा शान्ति र सुव्यवस्था कायम रही देशमा प्रगति हुन सकोस् भन्ने कुरातर्फ पूरा ध्यान दिनेछु ।  

१२. जमिन–नीति : हाम्रो देशलाई जंगली मुलुक नै भने पनि हुन्छ, यहाँ जमिनको कुनै राम्रो रीतिथिति छैन । न नापी ठीक छ, न तिरो ठीक छ, न एकनासको नपाई र नामकरण छ । वीरताबिनाको बिर्ता प्रथाले सामन्तीपनाको लक्षण जनाई रहेछ । तसर्थ, सारा मुलुकमा एकै किसिमको नापचाँच गराई, जमिनको हैसियत अनुसार वर्गीकरण गरी सोही बमोजिम उचित तिरो लाग्ने, एउटा मानिसले सबभन्दा धेरै कस्तो कति जमिन राख्न पाउँछ त्यसको निरूपण गर्ने र त्यसभन्दा बढी जमिन हुनेलाई समुचित किस्ताबन्दी मुआब्जा दिई सो बढी जमिन चाहिँ जोत्ने किसानहरूमा बाँड्ने, बिर्ताको उन्मूलन गरी बिर्तावालहरूलाई राम्ररी ठहराईकन किस्ताबन्दी मुआब्जा दिने, आबादी लायकका सबै जग्गा बेकारमा बाँझो नराखी आबाद गर्न दिने– यी कुरामा पनि पूरा ध्यान दिनेछु । 

उपरोक्त १२ कुराको अलावा अरु आवश्यक कुराहरूमा पनि सर्दा ‘सर्वहित’लाई ध्यानमा राखी नेपाल र नेपालीहरूको सुख शान्तिको लागि सदा प्रयत्नशील रहनेछु । यो घोषणापत्र त छोटकरी रूपरेखा मात्रै हो ।

तपाईंंहरूले ममाथि विश्वास र भर राखी मलाई आफ्नो प्रतिनिधि चुनेर प्रतिनिधि–सभामामा पठाउनु भयो भने त्यहाँ गएर मैले कथंकदाचित् यस घोषणापत्र बमोजिम काम गर्न यथाशक्ति कोसिस गरिनँ र अयोग्य ठहरिएँ भने तपाईंहरूको बहुमतले मलाई जुनसुकै बेला पनि फर्केर आइज, आजदेखि तँलाई हाम्रो प्रतिनिधिको रूपमा मान्दैनौँ भनी फिर्ता बोलाउनुभयो भने म तुरुन्त राजीनामा दिएर तपाईंहरूकै समीपमा फर्की आउने कबूल पनि गर्दछु ।

यो मेरो दृढ प्रतिज्ञा हो ।

जय नेपाल 

अनारमनी

७ पौष २०१५ 

तपाईंहरूकै

खरुदे प्रसाअी (रामबाबु) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप