मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई ‘टिट फर ट्याट’, माओवादी र नेकपा (एस) लाई ‘टच’ गरेन जसपाले

दुई पार्टीसँग जसपाले मित्रवत् व्यवहार गर्ने
शुक्रबार, २८ असोज २०७९, १५ : ४४
शुक्रबार, २८ असोज २०७९

जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीलाई हटाए पनि सत्ता गठबन्धनमा रहेका दुई दल पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ‘टच’ गरेन । जब कि गठबन्धनमा सहमति गरेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय सरकारमा जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेका थिए । जसपाका मन्त्रीलाई हटाउन गठबन्धनमा रहेका दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले पनि सहमति दिएका थिए । 

तर यी दुई दलका मन्त्रीलाई जसपाले किन हटाएन भनेर प्रश्न उठेको छ । जसपाका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमन भन्छन्, ‘हामीले सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा (एस) सँग मित्रवत व्यवहार गरेका छौँ । काँग्रेसले हामीसँग जस्तो व्यवहार गरेको छ त्यस्तै व्यवहार हामीले पनि गर्‍यौँ, टिट फर ट्याट ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको सहमतिमा भन्दा पनि एकल निर्णयबाट आफ्ना पार्टीका मन्त्रीहरूलाई हटाएको बताउँदै उनले आफूहरूले पनि कांग्रेसकै मन्त्रीलाई मात्र हटाएको बताए । 

​माओवादी केन्द्र र नेकपा (एस) का मन्त्रीलाई तत्कालै नहटाउने तर उनीहरू मन्त्रीबाट कहिले हट्ने भन्ने त्यो उनीहरूको दलको व्यवहारमा भर पर्ने सुमनले बताए । उनले भने, ‘हामीले जसरी माओवादी केन्द्र र नेकपा (एस) सँग व्यवहार गर्‍यौँ, त्यस्तै व्यवहारको अपेक्षा हामीले पनि गरेका छौँ ।’

जसपाका अध्यक्ष उपेन्द्र यादव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बीचको सम्बन्धबारे सबै जानकार छन् । उपेन्द्र यादव पनि पूर्व माओवादी नै हुन् । माओवादी छाडेर आफ्नो छुट्टै पार्टी बनाए पनि प्रचण्ड र उपेन्द्र यादवको राजनीतिक यात्रा सँगसँगै रहेको छ । त्यसैले माओवादी केन्द्रको हकमा उपेन्द्र यादवले कुनै ‘हतारो’मा निर्णय लिन नसक्ने राजनीतिक विश्लेषकहरूको बुझाइ छ । 

वाम राजनीतिक विश्लेषक रोशन जनकपुरीले भने, ‘यत्रो उथल पुथल हुँदा पनि उपेन्द्र यादवले प्रचण्डसँग सम्बन्ध बिगार्न नचाहेको कुरा यो घटनाले पुष्टि हुन्छ ।’ जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो भोलिको सम्बन्धलाई सुरक्षित राख्न यो कदम चालेको हुनुपर्छ भन्दै उनले चुनावपछि एमाले–जसपा गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको र चार दलीय गठबन्धनको सरकार नै बन्ने दाबी गरे । त्यो सरकारका लागि पनि आफ्नो स्पेस बनाउन यादवले यो कदम चालेको हुनुपर्ने उनको बुझाइ छ । 

नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालसँग भने यादवको सम्बन्ध सामान्य छ । त्यही भएर अध्यक्ष यादवले नेकपा (एस) प्रति सफ्ट व्यवहार देखाएको जसपाका एक नेताले बताए । यादव कम्युनिस्ट पृष्ठभूमिका कारणले पनि हुनसक्छ माओवादी केन्द्र र नेकपा (एस) लाई ‘टच’ नगरेको ।

जसपाका अध्यक्ष यादव उम्मेदवारी दिएको सप्तरी–२ नम्बर क्षेत्रमा गठबन्धन दलका कसैले पनि उम्मेदवारी दिएका छैनन् । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले काँग्रेससँग सहमति गरेर सो क्षेत्रमा जेपी ठाकुरलाई उठाएको छ । जेपी ठाकुरलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । सप्तरी २ (ख) मा जसपाले पनि माओवादी केन्द्रका उम्मेदवारको विरुद्धमा बलियो उम्मेदवार खडा गरेको छैन । जसपाले लक्ष्मण यादवलाई उम्मेदवार बनाएको छ । माधवकुमार नेपालको क्षेत्रमा पनि जसपाले उम्मदवारी दिएको छैन । एमाले–जसपा गठबन्धनबाट एमालेको तर्फबाट अजय गुप्ताले उम्मेदवारी दिएका छन् । 

प्रचण्ड उठेको गोरखा क्षेत्र नम्बर २ मा पनि जसपाले उम्मेदवारी दिएको छैन । त्यहाँ पनि एमालेका तर्फबाट अब्दुस सलाम मियाँले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्र र नेकपा (एस) प्रति जसपा जति नरम छ, एमाले त्यति नै कडा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप