उद्योगीको दसैँ अनुभव

अर्को टोलका साथीहरूसँग चंगाचैट पार्ने ‘ग्याङ वार’ हुन्थ्यो

person explore access_timeअसोज १८, २०७९ chat_bubble_outline0

निजी क्षेत्रको सबैभन्दा ठुलो छाता संस्था हो नेपाल उद्योग वाणिज्य महासंघ । र, यो संस्थाको अध्यक्षको जिम्मेवारीमा अहिले उद्यमी शेखर गोल्छा छन् । उनी सन् १९३२ मा स्थापना भएको गोल्छा ग्रुपको अध्यक्ष तथा प्रबन्ध निर्देशक पनि हुन् ।


गोल्छा ग्रुपको इतिहास नेपालको औद्योगीकरण र प्रजातान्त्रिक आन्दोलनसँग पनि जोडिन्छ । गोल्छा ग्रुपका संस्थापक स्वर्गीय रामलाल गोल्छाले सन् १९३७ मा मोरङको विराटनगरमा स्थापना गरेको विराटनगर जुट मिल्स नै नेपालको पहिलो उद्योग थियो ।



विराटनगर जुट मिल्सका मजदुरको हड्तालमा सहभागी भएका गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी जस्ता मजदुर नेताहरु नेपालको प्रधानमन्त्री पनि भए । सो ग्रुपमा अहिले १७ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । गोल्छा ग्रुपले अहिले १०० भन्दा बढी कम्पनी सञ्चालन गर्छ । सोही ग्रुपका अध्यक्ष तथा प्रबन्धन निर्देशक शेखर गोल्छालाई हामीले उनको बाल्यकालको दसैँ, उनको जीवनयात्रा र अहिलेको दसैँ जस्ता विषयमा अनुभव सुनाइदिन आग्रह गरेका थियौँ । हाम्रो आग्रह अनुसार अध्यक्ष गोल्छाले सुनाएको दसैँ अनुभव उनकै शब्दमा:




दसैँ मलाई मात्र नभई प्रत्येक व्यवसायीको लागि ‘रिलिफ’ हुने समय हो । यो समय परिवारसँग बसेर मनाउने योजना बनाएको छु । म बढी ट्रेकिङ जान रुचाउँछु । मौका मिल्नासाथ ठुला सहर र होहल्ला हुने ठाउँभन्दा पनि प्राकृतिक क्षेत्रमा जान रुचाउँछु । ट्रेकिङ नै मेरो प्राथमिकतामा पर्छ । यसपालि कुन ठाउँ जाने भनेर मैले परिवारसँग सल्लाह गरेपछि मनाङ जाने निष्कर्ष निस्केको छ । ड्राइभ गरेर मनाङ पुगेपछि एउटा ‘एप्पल ओर्चिड’मा केही दिन बसिन्छ । र, मनाङमा केही दिनको बसाइपछि ४ हजार ९०० मिटरभन्दा माथि रहेको तिलिचो तालमा ट्रेक गर्ने योजना बनेको छ ।

यसमा परिवारबाहेक केही साथीहरूलाई पनि अनुरोध गरेको छु । सायद मैले अनुरोध गरेका सबै साथीहरू यो योजनामा सामेल हुनुहुन्छ । साथीहरू सामेल नभएमा हामी परिवार मात्रै भएपनि जान्छौँ । नेपालमा मैले धेरै ठाउँमा गरेको छु । अन्नपूर्ण सर्किट, अन्नपूर्ण बेसक्याम्प, कालापत्थर र मार्दीलगायत नेपालका धेरै हिमालमा ट्रेकिङ गरेको छु । तान्जानियामा रहेको अफ्रिकाको सबैभन्दा अग्लो हिमाल ‘माउन्ट किल्मञ्जरो’ समेत चढेको छु । यसबाहेक, साउथ अमेरिकाको पेरुमा रहेको माछुपिछु पनि चढेको छु । 

२० हजार फिटको उचाइ

प्रकृतिसँग नजिक हुँदा अलि बढी ‘रिल्याक्स’ हुन्छु । ठुला सहरहरूमा ‘इन्जोय’ गर्दिनँ । मलाई विशेषगरी हिमालहरू मन पर्छ । धेरै उचाइमा पनि स्वास्थ्य समस्या देखिएको छैन । अहिलेसम्म २० हजार फिटको उचाइसम्म पुगेको छु । तर, यसो भन्दै गर्दा उचाइमा जाँदा देखिने स्वास्थ्य समस्याहरूलाई ध्यान दिनुपर्छ । उचाइमा जाँदा लेक लागेर मान्छेहरूको मृत्यु भएको धेरै उदाहरण छन् । उचाइसँगै आफ्नो शरीरले दिने सूचकलाई ध्यानमा राख्नुपर्छ । यसपालि ७/८ दिनको छुट्टी लिनेछु । धेरैदेखि नपढेकाले मुस्ताङ जाँदा साइन्स, फिक्सन, म्यानेजमेन्ट र प्रेरणादायी किताब लग्छु ।

सपिङमा छैन रुचि

सपिङ मेरो लागि खासै आवश्यक छैन । खासगरी, परिवारले नै सपिङ गरेर ल्याइदिन्छन् । त्यसैले पनि सपिङमा खासै जाँदिनँ । मलाई रुचि पनि छैन । यसपालि पनि सपिङको ‘एट्रयाक्सन’ छैन । गोल्छा समूहको परिवार ठुलो छ । सामान्यतः तिहारमा सबै जना मिलेर एउटा संयुक्त कार्यक्रम गरिन्छ । तिहारमा चाँही सबै जना मिलेर ठुलो भेटघाट गर्छौं । तासहरूको त्यती शोख छैन ।

बुद्ध धर्मले बली नदिन भन्छ

दसैँमा काटमारको संस्कार छ । खासमा आफूमा भएको नराम्रो बानी, काम नलाग्ने सोचाईको बली दिनुपर्ने हो । तर, एउटा जनावरको बली दिने प्रचलन मलाई मन पर्दैन । म भेज भएर पनि होला । दसैँमा मेरो प्रयास काटमार गर्नुहुँदैन भन्नेमा रहन्छ । बुद्ध धर्मले पनि मोह जति घटाउन सक्यो मान्छे त्यति खुसी हुन सक्छ भन्छ । त्यसैले म नराम्रा बानी र मोहको बली दिन चाहन्छु । अध्यात्ममा बढी जोड दिने भएकाले काटमारमा रुची राख्दिनँ । 

दक्षिणा दिने चलन छैन

दसैँमा टिका लगाउने प्रचलन मेरो परिवारमा छैन । तर, यसपटक मेरो छोरा/बुहारीबाट त्यो प्रचलन सुरू हुन सक्छ । मेरोमा टिका लगाउने प्रचलन नभएकाले टिका लाएर दक्षिण दिने लिने प्रचलन छैन ।

त्यो बेलाको ‘ग्याङ वार’

बाल्यकालको दसैँ एकदमै रमाइलो हुन्थ्यो । एक महिनासम्म स्कुल छुट्टी हुन्थ्यो । त्यसमा पनि सबैभन्दा रमाइलो चंगा उडाउने हुन्थ्यो । गणबहालमा बस्थें । त्यहाँ घनाबस्ती थियो । त्यो एरियामा धेरै चंगा उडाइन्थ्यो । र, त्यो ‘ग्याङ्ग वार’ जस्तै हुन्थ्यो । सबै साथीहरू मिलेर एउटा टोलको अर्को टोलसँग युद्ध जस्तै हुन्थ्यो । चंगालाई शसक्त बनाउनु र चंगाको धागो बलियो बनाउँदाको पल धेरै याद आउँछ । र, अर्को टोलको टिमलाई हराउन सबै जना आ–आफ्नो रणनीति बनाउँथे । ती दिन सम्झँदा पनि मलाई एकदमै रमाइलो लाग्छ । अहिले म सितापाइला बस्छु । त्यस क्षेत्रमा धेरै चंगा पनि छैन । हाइटेन्सन लाइन पनि छ । करेन्ट लाग्ने डरले चंगा पनि उडाँइदैन ।

अविस्मरणीय क्षण

म ट्रेकिङमा मात्रै सुखको अनुभूति गर्छु । र, मेरो सबै ट्रेक मेरा लागि विशेष छन् । ती मध्येपनि २० हजार फिट उचाईको माउन्ट किलमञ्जरो चढ्दाको क्षण मेरा लागि विशेष छ । मैले माउन्ट किलमञ्जरोको शिखरमा पुगेर नेपालको झन्डा फहराएको थिएँ । यो पल नै मेरा लागि सबैभन्दा अविस्मरणीय हो । त्यो हिमाल चढ्ने पहिलो नेपाली नभए पनि मेरा लागि विर्सन नसकिने ठाउँ हो ।

घुमघाममा रुचि

मलाई लाग्छ, म अहिलेसम्म विश्वका ६०–६५ देश घुमिसकेको छु । धेरै यस्ता देश पुगेको छु, जहाँ धेरै नेपाली विरलै पुग्छन् । तर, नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बनेपछि धेरै व्यस्त भएको छु । एक मिनेट पनि फुर्सद छैन । किनभने, देशभरीका साथीहरूको समस्या आइराख्छ, त्यसलाई समाधान गर्नुपर्ने हुन्छ । यस्तै, नीतिगत सुधारका लागि निरन्तर लागिरहेको छु । त्यसैले यो दसैँ ‘फ्रेस’ हुने राम्रो मौकाको रूपमा प्रयोग गर्नेछु । र, ट्रेकिङमा जाँदा मोबाइल स्वीच अफ गर्ने प्रयास गर्नेछु । किनकि, म यो दसैंमा पूर्णरूपमा ‘फ्रेस’ हुन चाहन्छु ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।