शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

‘छोरीका कारण मेरा लागि यो दसैँ स्पेशल छ’

‘सानोमा बुबाले घरमा खसी ल्याउँदा नकाट्नु भनेर रुन्थेँ’
मङ्गलबार, १८ असोज २०७९, ०६ : ५६
मङ्गलबार, १८ असोज २०७९

दसैँ मेरो मनपर्ने र रमाइलो लाग्ने पर्व हो । वर्षभरि हामी काममा व्यस्त हुन्छौँ । यो पर्वले हामीलाई परिवारसँग समय बिताउने र रमाउने अवसर जो दिलाउँछ । दसैँमा म परिवारलाई समय दिने र आफन्तसँग टीका थाप्ने लगायतमा व्यस्त हुन्छु ।

दसैँको महत्त्वपूर्ण आफूभन्दा ठुलासँग टीका  थापेर आशीर्वाद लिनु र सानोलाई टीका साथ आशीर्वाद दिनु पनि हो । दसैँमा पिङ भेटियो भने खेल्छु । किनभने दसैँमा एकपटक धर्ती छोड्नुपर्छ भन्ने चलन छ । 

दसैँको वातावरण यसकारण राम्रो लाग्छ कि बाटोहरु खाली हुन्छ । मलाई खाली बाटोमा हिँड्न एकदमै खुसी लाग्छ । दसैँको समय म घुमघाम भने रुचाउँदिन । यो पटक पनि घुम्ने योजना केही छैन ।

विगतका भन्दा यो वर्षको मेरा लागि दसैँ विशेष र स्पेशल हुनेछ । किनभने यो वर्ष मेरी छोरी आयांकाको पहिलो दसैँ  हो । गत वर्ष उनको पास्नी नभएकोले टीका  थाप्न पाएकी थिइनन् । यो पटक हामी उनलाई टीका लगाइदिन्छाैँ  । अरूबाट टीका थाप्दै आशीर्वाद ग्रहणको अवसर समेत मिलाउँछु ।

दसैँका लागि भनेर यो पटक केही सपिङ गरेकी छैन । सानो हुँदा सपिङको महत्त्व हुन्थ्यो । त्यो समय दसैँमा नयाँ लुगा लगाएर देखाउने प्रचलन पनि थियो । अचेल सुटिङ लगायतको विभिन्न कामले सधैँजसो सपिङ हुन्छ । त्यसैले दसैँमा नयाँ लुगा लगाउनैपर्छ भन्ने लाग्दैन ।

दसैँका लागि भनेर आफ्नो लागि सपिङ नगरे पनि छोरी आयांकाको लागि भने केही किनिदिएकी छु । अहिले अनलाइनमा सबथोक मगाउन मिल्ने भएकोले आवश्यक पर्‍यो भने सामान मगाउन सकिन्छ, घरमै आउँछ । कतिले त दसैँमा आफन्तका लागि समेत सपिङ गर्छन् । मैले भने अहिलेसम्म त्यस्तो गर्ने गरेकी छैन ।

घरमा खसी ढल्दैन

दसैँमा खसी नढल्ने घर हुँदैन । प्रायः सबैको घरमा खसी ढल्छ । म भने सानैदेखि दसैँमा घरमै खसी ढाल्ने प्रचलनको विरोधी थिएँ । यो मनपर्दैन थियो । सानोमा बुबाले घरमा खसी ल्याउँदा नकाट्नु भनेर रुने, ल्याएको फिर्ता गर्नु भन्थें रे । त्यसैले घरमै खसी ढाल्ने प्रचलन हाम्रोमा हरायो ।

म खसीको मासु पनि खाँदिन । सानैदेखि म भेजिटिरियन थिए । खसी, राँगा, पोर्क लगायत कहिल्यै मनपरेन पनि । मानिसहरू कसरी यी खान सक्छन् भन्ने लाग्थ्यो ।

पहिले पुरै भेजिटेरियन भएपनि पछिल्लो समय अन्डा, माछा र चिकेन खान थालेकी छु । श्रीमान् आयुशसँग भेट भएपछि चिकेन खान थालेकी हुँ । अर्को कारण म सधैँ सुटिङमा हिँड्नुपथ्र्याे । त्यो समय मेरो शरीरमा प्रोटिनको समस्या देखियो । त्यो समयदेखि चिकेन र फिस खान थाले । 

तर चिकेन पनि जस्तो पायो त्यस्तै पिस मनपर्दैन । राम्रो चाहिन्छ । यो दसैँमा मेरो घरमा चिकेन र फिसका विभिन्न परिकार पाक्नेछ । म आफै बनाएर सबैलाई खुवाउँछु ।

दक्षिणा धेरै दिने हजुरबुबा

दसैँको सबैभन्दा राम्रो पक्ष भनेको आफूभन्दा ठुलासँग टीका थापेर आशीर्वाद लिने नै हो । टीकाका लागि जन्मघर अर्थात् आमाबुबाको घरबाहेक मामाघर पनि जान्छु । ड्याडीको आफन्तको घर धरान पनि छ । पहिले त धरान गइन्थ्यो । अहिले जान मिल्दैन र भ्याइँदैन पनि ।

दसैँमा टीकासँगै दक्षिणाको प्रचलन पनि छ । मलाई पनि आफूभन्दा ठुलाले दक्षिणा दिन्छन् । सानालाई म पनि दिन्छु । सानोमा दसैँ भनेपछि दक्षिणामार्फत पैसा कमाइन्छ भनेर उत्सुकता लाग्थ्यो । 

पहिले त दक्षिणा कसले कति दिन्छन्, कसको धेरै लगायतको विषयमा चासो हुन्थ्यो । अचेल आफैले पैसा कमाउने भएकोले दक्षिणाको महत्त्व लाग्दैन ।

अहिले त फ्यामिली, आफन्त भेटघाट हुने, आशीर्वाद लिने र परिवार स्वास्थ्य राम्रो होस् भन्ने कुरो महत्त्वपूर्ण लाग्छ । सानोमा मलाई दक्षिणा बढी दिने हजुरबुबा र हजुरआमा थिए ।

दसैँ  सानोमै रमाइलो

मेरो विचारमा अहिले भन्दा दसैँ सानैमा धेरै रमाइलो । दसैँका लागि भनेर स्कुलसमेत लामो समय बिदा हुन्थ्यो । दसैँका लागि प्रशस्तै समय हुने भएकोले पिङ खेल्ने, पिङको पछि पछि दौडिने, साथीभाइसँग घुम्ने, मन्दिर जानेलगायत धेरै क्रियाकलाप गरिन्थ्यो ।

पहिलेदेखि नै मेरो बुबाआमा काठमाडौं बस्ने भएकाले विराटनगर, धरान, दमक लगायत ठाउँमा आफन्तकहाँ बस्थे । त्यो समय भेट्नै भनेर यात्रा समेत हुन्थ्यो । यात्रा सधैँ रमाइलै हुन्थ्यो ।

अहिले त सबैजना आ–आफ्नो कामले कोही अष्ट्रेलिया, कोही अमेरिका र कोही युके छन् । पहिले जस्तो सबैजना सँगै भेट्ने रमाउने माहौल चाहेर पनि बन्दैन अहिले । सम्झने हो भने अहिले भन्दा सानोको दसैँ धेरै रमाइलो थियो ।

अर्को कुरो सानोमा जिम्मेवारी, धेरै चाहना केही हुँदैन थियो । ससानो कुरोमा खुसी मिल्थ्यो । नयाँ पहिरनमा रमाउने र साथीभाइसँग खेल्न पाउने, मावली जान पाइने भएकोले   दसैँ कहिले आउला भनेर दिन गन्थे । अहिले दसैँले छोपिसक्यो । तर दसैँ आएजस्तो लागेको छैन ।

व्यावसायिक कुरो हुँदैन

वर्ष दिनमा एकपटक आउने दसैँ हामीले फुर्सद निकालेर मनाउनुपर्छ भन्ने मेरो धारणा हो । तैपनि के केमा गर्दा व्यस्त हुनुपर्दो रहेछ । मेरो यो समय ‘फूलबारी’ फिल्म छायाङ्कनको क्रममा छ । सुटिङबाट एक साता फुर्सद निकालेर दसैँ  मनाउँदैछु ।

दसैँ सबै परिवार एकै ठाउँमा जम्मा भएर मनाउँदा धेरै राम्रो हो । तर हाम्रो परिवार छरिएर रहेका छन् । त्यसैले एकै ठाउँमा जम्मा हुन सम्भव छैन । भ्याएसम्म म सबैतिर जान्छु । दसैँको पहिलो दिन आफ्नो अभिभावककोमा गएर मनाउँछु । त्यसपछि मामाघर, अनि पालैपालो अरुकहाँ जान्छु होला ।

आफन्तसँग भेट्ने, मीठो मीठो खाने, फोटो खिच्ने, टीका  लगाउने यस्तै यस्तै क्रियाकलाप मेरो यो दसैँमा हुन्छ । धेरै ठाउँमा जानुपर्ने भएकोले एकै ठाउँमा धेरै समय बिताउँदिन । विजया दशमीको टीका थाप्न भ्याएसम्म सबैकोमा पुग्ने कोसिस मेरो रहन्छ । त्यसैले यो दिन मेरो रस रसमा बित्छ होला ।

दसैँमा सबै आफन्त एकै स्थानमा भेट हुँदा कतिपयले व्यावसायिक कुरो समेत गर्लान् । म भने चाडपर्वमा व्यावसायिक कुरो गर्दिन । यो भनेको त आफन्तसँग खुसी शेयर गर्ने अवसर हो । त्यसैका लागि सदुपयोग गर्छु । व्यावसायिक दुःख, तनाव शेयर गरेर आफन्त दुःखी बनाउँदिन ।

मलाई दसैँमा धेरै भेटघाट गर्नुपर्ने भएकोले पनि व्यावसायिक कुरो गरेर बस्ने फुर्सद हुँदैन । किनभने अहिले मानिसहरू केही न केही काम नगरी बसेका हुँदैनन् । मेरो विचारमा सबैका लागि दसैँ रस रस नै हुन्छ । त्यसैले व्यावसायिक कुरो गर्ने फुर्सद सायद कमैलाई होला ।

त्यो यादगार दसैँ

दसैँमा अहिलेसम्मकै राम्रो २०७६ सालमा भएको थियो । त्यो विवाहपछिको मेरो पहिलो दसैँ थियो । रातो सारीमा मङ्गलसूत्रदेखि सबै प्रकारको गहनाले सजिँदा मलाई ‘यो त आज धपक्कै छ’ भनेर आफन्तले भन्थे । विवाहपछिको पहिलो भएकोले मेरा लागि त्यो दसैँ विशेष पनि थियो ।

अन्य समय दसैँका लागि पहिरन यस्तो भन्ने छैन । सानोमा दसैँमा विभिन्न खालका पहिरन लगाइयो । ठुलो भएपछि क्याजुअल पहिरन नै प्रयोग गरें । पहिरनमा कुर्था सुरुवाल नै राम्रो लाग्छ । दसैँमा धेरै ठाउँमा हिँड्नुपर्ने भएकोले सजिलो पहिरन नै प्रयोग गर्छु ।

बाल्यकालकै दसैँ ठिक

दसैँ त बाल्यकालकै ठिक हो । कहिलेकाहीँ त त्यो बाल्यकालको दसैँ फर्किएर आए हुन्थ्यो जस्तो लाग्छ । त्यतिबेलाको दसैँको याद अहिले आएको बाल्यकाल भएर मात्र होइन । त्यो समय दसैँको रौनकै अहिलेको भन्दा बेग्लै हुन्थ्यो । सबैमा दसैँको छुट्टै एक्साइटमेन्ट हुन्थ्यो । अहिलेको दसैँ त दसैँ जस्तो ‘फिल’ समेत हुँदैन ।

किनभने मानिसहरूमा दसैँको उत्साह पहिलेको जस्तो देख्दिन । मानिसहरूलाई सामाजिक प्रेसर र कामको लोड धेरै भएर होला । दसैँ उनीहरूले रमाइलो भन्दा पनि प्रेसर फिल गरिरहेको अनुभव गर्न सकिन्छ । पहिलेझैँ पुरै इन्जोय गरेर सेलिब्रेसन गर्ने दसैँ भएको राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

मेरो दसैँको स्मरणीय क्षण त्यस्तो केही छैन । दसैँमा वर्षमा एकचोटी  सबैजना काममा फुर्सद लिएर एक ठाउँमा भेला भइन्छ । टीका थाप्नु, आशीर्वाद लिनु त्यो नै हो । हरेक वर्ष आफ्नो परिवारलाई स्वस्थ देख्दा, परिवारसँग टीका थाप्न पाउँदा, उहाँहरूसँग समय बिताउन पाउँदा दसैँका अविस्मरणीय क्षण त्यही हो भन्ठान्छु ।

एक किसिमले हेर्ने हो भने मेरा लागि सन् २००७ देखिको दसैँ खल्लो छ । किनभने त्यो समयदेखि अहिलेसम्म मैले दसैँ अनि तिहार भाइसँग सेलिब्रेसन गर्न पाएकी छैन । २००७ देखि २०१२ सम्म म अमेरिका बसेँ, भाइ नेपालमा थियो । २०१२ मा म फर्किएँ, भाइ अमेरिका उड्यो । अहिलेसम्म पनि फर्किएको छैन । सानोमा दौडिन्थ्यो, खेलिन्थ्यो, बेग्लै उत्साह थियो । अहिले ती दिन ‘मिस’ भएको फिल हुन्छ ।

अभिनेत्री प्रियंका कार्कीसँग रातोपाटीकर्मी कुवेर गिरीले गरेको कुराकानीमा आधारित  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप