शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेञ्च बहिष्कारका गुरु थिए चोलेन्द्र : न्यायाधीश अनिलकुमार सिन्हा

आइतबार, १६ असोज २०७९, १२ : २४
आइतबार, १६ असोज २०७९

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले अदालतमा हडताल र बेञ्च बहिष्कारका गुरु चोलेन्द्र शमशेर जबरा भएको बताएका छन् । रातोपाटीसँगको कुराकानीका क्रममा न्यायाधीश सिंहले  अदालतमा हडताल र बेञ्च बहिष्कारका गुरु चोलेन्द्र नै भएको बताएका हुन् । 

पत्रकार मदन ढुङ्गानासँगको लामो संवादका क्रममा न्यायाधीश सिन्हाले अदालतमा हड्तालको सुरुवात गर्ने र बेञ्च बहिष्कार सुरु गर्ने ‘गुरु’ चोलेन्द्र नै भएको बताए । न्यायाधीश सिन्हाले भनेका छन्, ‘एक दिन के भयो भने चोलेन्द्र श्रीमानले बोलाउनुभयो र भन्नुभयो कि गोपाल पराजुली श्रीमानले गरिरहेको कामकाज राम्रो भएन, म त्यति सन्तुष्ट छैन, हामीहरू धेरैजना उहाँको कामप्रति सन्तुष्ट छैनौँ । अब हामीहरू उहाँको विरुद्धमा जाने र उहाँले तोकेको मुद्दाहरू नगर्ने भयौँ र तपाईंले पनि सहमति जनाउनुपर्‍यो । त्यहाँ को–कोले क– के लेख्नुभएको हो थाहा छैन, तर एउटा कागज देखाउनु भयो र त्यहाँ केही न्यायाधीशहरुले हस्ताक्षर पनि गर्नुभएको थियो । त्यहाँ विभिन्न आरोप लगाएर तपाईंले तोकेको इजलासमा नबस्ने भन्नुभएको रहेछ । त्यसकारण हडताल र बेञ्च बहिष्कारको सुरुवात त उहाँले नै गर्नुभएको हो, यसको गुरु त चोलेन्द्र श्रीमान् नै हो नि ।’

कुराकानीमा सिन्हाले भनेका छन्, ‘एकाएक सुशीला कार्की श्रीमान्को महाभियोग आयो र पछि गोपाल पराजुली श्रीमान् प्रधानन्यायाधीश बनेर आउनुभयो । त्यसपछि सर्वोच्चमा गुट अझ बढ्यो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध पनि कामहरू सुरु भयो ।’

सिन्हाले अगाडि भनेका छन्, ‘चोलेन्द्र श्रीमानले मलाई पनि त्यो प्रस्ताव राख्नु भएपछि मैले भने कि यसमा मेरो सहमति छैन । म सर्वोच्च अदालतको न्यायाधीश, म इजलास छाड्नलाई आएको होइन, बहिष्कार गर्न आएको होइन । म त्यही दिन भित्र छिर्ने बेलामा सर्वोच्चकै गेटमा देखेको थिएँ कि गरिब किसान सुनुवाइ कुरिरहेका थिए । उनीहरू कहाँबाट कति आस लिएर आएका होलान्, मेरो मुद्दा आज हुन्छ भनेर आएका होलान् । हाम्रो रिस कसैसँग छ भनेर न्यायाधीशहरुले मुद्दा नहेरेर जनताको काम नै नहुने ? पालो आएन भने ठीक छ, उसले चित्त बुझाउला । तर न्यायाधीशले बेञ्च नै बहिष्कार गर्‍यो र मेरो मुद्दा हेरिएन भन्ने म्यासेज गयो भने कुन आँखाले आँखा जुधाउने त्यस्ता व्यक्तिहरूसँग । त्यसकारण मेरो सहमति छैन, म मुद्दा हेर्छु भने । उहाँले मलाई धेरै जोड पनि गर्नुभएन र भन्नुभयो नगर्ने त हा हा भनेर उहाँ जोडले हाँस्नुभयो । त्यसपछि त्यो कुरा पनि सकियो ।’

न्यायाधीश सिन्हाले चोलेन्द्र शमशेर जबराविरुद्ध सर्वोच्चमा मोर्चाबन्दी हुँदा पनि आफूले बेञ्च बहिष्कारको प्रस्ताव अस्वीकार गरेको बताए । उनले भने, ‘जब चोलेन्द्र श्रीमान्विरुद्ध आन्दोलनको सुरुवात भयो र त्यतिबेला पनि बेञ्च बहिष्कारको कुरा आएपछि मैले पहिले पनि बहिष्कारको कुरा मानेको थिइन, अहिले पनि मान्दिन भने । तर जुन प्रकृति देखिइरहेको छ, यसलाई हेर्दा उहाँसँग (चोलेन्द्र) पनि बेञ्च सेयर गर्न तत्काल सकिने अवस्था छैन भनेर भने । के दोष छ र सेवाग्राहीको भनेर भने । मलाई चोलेन्द्रको पक्षमा उभिए भनेर कतिपय मिडियाले पनि लेखे ।’

न्यायाधीश सिन्हाले बन्दीको मुद्दा खुलाउने विषयमा आफूहरूले चोलेन्द्र शमशेर जबरा र अन्य न्यायाधीशबीच मध्यस्थताको प्रयास पनि गरेको बताए । उनले भने, ‘साथीहरु चोलेन्द्र श्रीमान्ले तोक्नुभएको इजलासमै नबस्ने कुरा गरिरहनु भएको थियो । त्यसपछि म, सपना श्रीमान् र मनोज श्रीमान् गएर चोलेन्द्र श्रीमान्लाई आग्रह ग¥यौँ कि बन्दीको मुद्दा हेर्ने गरी इजलास तोकौं र तपाइँ आफूलाई इजलास नतोकिदिनोस् । हामीले चोलेन्द्र श्रीमान्लाई यही भन्यौँ कि अहिले तत्कालै तपाईंसँगै बेञ्च सेयर गरेर बस्ने अवस्था छैन, तर इजलास खोल्नका लागि तपाईंले सकारात्मक पहल गरिदिनुपर्‍यो । तपाईंले आफू इजलास नराख्नुस्, अरूलाई इजलास तोक्नुहोस् हामी बन्दीको मुद्दा हेर्छौँ भनेर भन्यौँ ।’

सिन्हाले अगाडि भने, ‘मैले चोलेन्द्र श्रीमान्लाई भने कि श्रीमान् हडताल गर्न त तपाईंले नै सिकाउनु भएको हो, उहाँहरू सबै तपाइँकै विद्यार्थी हो । किनभने गोपाल पराजुली प्रधानन्यायाधीश हुँदा तपाईंले नै इनिसिएसन लिएर इजलास बहिष्कारका लागि हस्ताक्षर बोकेर हिँड्नुभएको थियो, त्यतिबेला पनि मैले इजलास नै बहिष्कार गर्ने कुरा अस्वीकार गरेको हो ।’

न्यायाधीश सिन्हासँगको कुराकानीको पूर्ण पाठ केही समयमा रातोपाटीमा प्रकाशन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप