बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

चोलेन्द्रले ‘ग्रेसफुल एक्जिट’ माग्दै फागुन २७ मा छाड्ने बताउनुभएको थियो : न्यायाधीश सिन्हा

आइतबार, १६ असोज २०७९, १२ : ४६
आइतबार, १६ असोज २०७९

सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाले चोलेन्द्रले ग्रेसफुल एक्जिट माग्दै फागुन २७ मा छाड्ने प्रस्ताव गरेको खुलासा गरेका छन् । रातोपाटीसँगको कुराकानीका क्रममा न्यायाधीश सिन्हाले चोलेन्द्रले ग्रेसफुल एक्जिट माग्दै बाहिरिने बताएपनि विश्वासको सङ्कटका कारण त्यसो हुन नसकेको बताएका हुन् ।

आफूहरूले बेञ्च बहिष्कार गर्नुहुँदैन भनेर पहल गरेको र चोलेन्द्रले पनि ग्रेसफुल एक्जिटको व्यवस्था गरे फागुन २७ गते राजीनामा दिने सङ्केत गरेको खुलाए । न्यायाधीश सिन्हाले रातोपाटीसँगको कुराकानीमा भने, ‘हामीले मध्यस्थताको कुरा गरिरहँदा उहाँले भन्नुभएको के हो भने ‘मैले को सँग यस्तो कुरा गरेँ भनेर म तपाईंलाई भन्दिन तर केही नेताहरूकै अगाडि समेत म समय अगावै छाड्छु भनेर भनेको हो । र, मैले भनेको के हो भने मैले पाएको बोनस अवधि जुन छ, त्यो बोनस अवधि म छाडिदिन्छु भनेको हो ।’ बोनस अवधि भनेको चाहिँ दीपकराज जोशी श्रीमानको जुन अवधि थियो, त्यो अवधि छाडिदिन्छु भनेको हो । त्यो भनेको करिब ७–८ महिना हुन्थ्यो होला । त्यो कुरा उहाँले हामीसँग पनि भन्नुभएको हो । उहाँले मलाई सम्मानजनक बिदाइ अर्थात् ग्रेसफुल एक्जिट हुनुपर्‍यो भनेर भन्नुभएको हो । तर त्यहाँ विश्वासको संकट पैदा भयो । कसैले कसैलाई विश्वास गर्न सक्ने अवस्था रहेन । चोलेन्द्रलाई विश्वास गर्ने पक्षमा कोही देखिएनन् । ग्रेसफुल एक्जिटको बारेमा पनि छलफल गर्न सकिन्थ्यो, तर त्यस विषयमा कहिल्यै छलफल नै हुन पाएन । कोही पनि छलफलमा जानै चाहेनन् ।’

न्यायाधीश सिन्हाले भने, ‘जुन संस्था स्वतन्त्ररुपमा बस्नुपर्थ्यो त्यहाँ धेरै राजनीतिको प्रवेश भयो । राजनीतिमा ठिक र बेठिक भन्ने हुँदैन रहेछ । कसैलाई घचेटेर निकाल्छु भन्ने एउटा माहौल बन्यो भने अर्कोले म छाड्दिनँ भनेर भनिदिए । यी सबै कुराहरू न्यायपालिकाभित्रको आचरणसँग मिल्ने कुरा होइन । म निकाल्छु भन्ने कुरा पनि न्यायपालिकाको आचरणभित्रको कुरा होइन, म जाँदै जान्न भन्ने कुरालाई पनि सहजरुपमा लिन सकिँदैन । यहाँ त पुरै राजनीतिको प्रभाव रह्यो ।’

न्यायाधीश सिन्हाले अगाडि भने, ‘दोस्रो कुरा यहाँ इगो धेरै देखियो । नेपालीहरू हार खान चाहँदैनौँ । बरु मरेर जाने तर हार नखाने । आफू सिद्धिन तयार हुने तर हार नखाने । ग्रेसफुल एक्जिट दिनुस् म जान्छु भन्दा नि त्यो अवसर नदिने, अनि मलाई ग्रेसफुल एक्जिट पनि नदिने र बेइज्जत नै गरेर नाङ्गेझार नै पार्ने हो भने म किन राजीनामा दिने भन्ने अर्को इगो । बेइज्जत भइसकेपछि राजीनामा दिने भनेको त मैले हार स्वीकार गर्ने हो, म त्यसो किन गर्ने भन्ने इगो । यी दुई इगोका कारण बिग्रिएको हो माहौल ।’

न्यायाधीश सिन्हासँगको कुराकानीको पूर्ण पाठ केही समयमा रातोपाटीमा प्रकाशन हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप