नवयुवा कलाकारको कलागत आरोह–अवरोह
नेपालको सबैभन्दा ठूलो कला दीर्घा नेपाल आर्ट काउन्सिलमा अहिले नियमितजस्तो कला प्रदर्शनी भइरहेका छन् । केही प्रदर्शनी भर्खरै सकिए, केही चलिरहेका छन् । यसपछि हुने कला प्रदर्शनी पनि लाइनमा छन् । भर्खरै एकैपल्ट एकै दिनमा दुई अलग–अलग प्रदर्शन कक्षमा दुईवटा अलग–अलग कला प्रदर्शनी उद्घाटन भयो । यसमा पनि एउटा कार्यक्रममा तीनवटा सोलो कला प्रदर्शनी एउटै हलमा एकै दिनमा सार्वजनिक गरियो । कला कार्यक्रमको यो अनौठो स्वरूप तत्क्षण हेर्दा भावक रोमाञ्चित नै भए । तथापि यसरी अलग्ग पाराले कलाको कार्यक्रम आयोजना गरेको यो पहिलोपल्ट होइन ।
यहाँ सूर्य दूधराजले ‘समय’, रामचन्द्र महर्जनले ‘सहर’ र सुरक्षा वाग्लेले ‘सम्बन्ध’ शीर्षकमा सोलो कला प्रदर्शनी गरेका हुन् । अर्को प्रदर्शन कक्षमा २० कलाकारका सामूहिक कला सार्वजनिक गरियो । भर्खरै कलामा स्नातक सकेर रिजल्ट पर्खिबसेका आङदेङ आङदेम्बे, आश्मा राई, विनिता खड्का, विनोद श्रेष्ठ, विशाल मानन्धर, चन्द्रमणि मगर, दीपा खनाल, दिनेश सुनुवार, किरण श्रेष्ठ, दुर्गा बजगाईं, मनीष कायस्थ, रोजन महर्जन, प्रज्वल बस्नेत, पूजन खतिवडा, रत्नमान गुरुङ, रिया बज्राचार्य, मोनिका मल्ल, रोशन खत्री, सचिन महर्जन, सनम घो (२० कलाकार)को सामूहिक प्रदर्शनीको नाम हो, ‘डिफाइनिङ प्रोगे्रस’ । यी सबै नवयुवा कलाकार हुन् । उनीहरूको कलामा नेपालको समसामयिक कलाको पछिल्ला कलागत प्रवृत्ति पाइन्छ ।
नेपालमा साठीको दशकमै पश्चिमी आधुनिक कलाका प्रवृत्तिले प्रवेश पाएको हो । यो ६ दशकको अवधिमा यस्ता–यस्तै प्रवृत्तिका कला सिर्जना भइरहेका छन् । विश्वमा भने झन्डै सवा सय वर्ष अघिदेखि यो कलाको आधुनिक प्रवृत्तिले जन्म लिइसकेको थियो । आज यसैको परिवर्तित रूपमा धेरै अनौठा–अनौठा कलाका प्रवृत्ति देखापरिरहेको छ, परिसकेको छ । ग्लोबलिजम्को प्रभावमा साबर कल्चरले प्रभावित पार्दा विश्वमा यस्ता–यस्तै अनौठा लाग्ने कला देखिन थालेका छन् । यस्ता कलाका प्रवृत्तिलाई आज वा अहिले नै समात्ने प्रयास हुँदा नेपालमा पनि आजका कलाकार यस्तै स्वभावका कला बनाउन लागेका छन् । कति ढंगका र कति बेढंगका कला देखिन थालेपछि यसलाई कलाको अग्रगामी विकास पनि भनियो ।
कतिले बकम्फुसेको नाम दिन पछि परेनन् । प्रतिक्रिया जे जस्ता आऊन्, तीव्र गतिमा विश्वमा मौलाएको यस्ता कलाको प्रवृत्तिले नेपालले पनि थकाइ मारेको देखिएन । वल्र्ड मोडर्न आर्ट त छँदैछ, अझ यसभन्दा अगाडिका यथार्थवादी र प्रभाववादी चित्र सयौँ कलाकारले आज पनि गरिरहेका छन्, उत्तर आधुनिक कला बनाउँदै छन् । प्रभाववादी दृश्यचित्रले अहिले अर्को कलागत आन्दोलन लिएजस्तो देखिन्छ । यसर्थ आज देखिने नेपाली कलामा यी सबैजसो कलाका प्रवृत्तिलाई छ्यासम्यासमा प्रयोग गर्न थालेको पाइएको छ । ‘डिफाइनिङ प्रोग्रेस’ यसभन्दा थोरै पनि अलग्ग छैन । किनकि यो कला प्रदर्शनीमा अभ्यासका लागि यथार्थ शैलीमै गरिनुपर्ने कपी वर्कदेखि इन्स्टलेसन काम, स्वैरकाल्पनिकदेखि मिथहरूको प्रयोग र कन्सेप्टहरूले समेत प्रवेश पाएको छ । रमाइलो सन्दर्भ के छ भने, असीको दशकमा अति तीव्र रूपमा विकसित भएको अमूर्त कलाको शैली प्रवृत्तिको थोरै पनि असर यो कला प्रदर्शनीमा परेको देखिँदैन ।
सोलोडोलो रूपमा भन्ने हो भने सबैजसो आधुनिक, उत्तरआधुनिक, वैकल्पिक वा यस्तै अनेकौँ नाम उपनाममा सिर्जित भइरहेका कलाको प्रत्यक्ष प्रभाव नेपालमा परेको देखिन्छ । यसकारण यी सबैजसो कलामा एउटा विविधता देखिन्छ ।
शैलीगत रूपमा एक–अर्काका कला नितान्त अलग–अलग देखिन्छन् । यसो हुँदा अहिले आएर यस्ता नेपाली समसामयिक कलालाई समसामयिक अवस्था र घटनाको प्रतिविम्बका रूपमा अवलोकन गरे अझ स्पष्ट रूपमा कलालाई आत्मसात गरेको ठहरिन्छ । यसो भनिराख्दा पनि कलाको गुणस्तरको खोजी गर्नैपर्ने हुन्छ । कलालाई खोजी पस्ने वा कला लेखनमा लाग्नेले केही स्थापित कलागत–मान्यतालाई अनुशरण गर्नैपर्ने हुन्छ । कुनै विषयमा कस्तो कला बनेको छ, त्यसलाई हेर्न, बुझ्न र त्यसको एस्थेटिकल्ली जजमेन्ट हुन आवश्यक देखिन्छ ।
आजका कलाकार टेक्निकल्ली (शिल्पगत विकासमा बढी केन्द्रित हुने प्रक्रियामा) पारंगत भए पनि विश्वको वा हाम्रै कलाको इतिहासमा कलाकार राम्ररी पसेको देखिँदैन । कलाका शैली, प्रवृत्तिगत आरोह–अवरोह, सिद्धान्त, विश्व प्रसिद्धि कमाइसकेका कलाकारका विचार र अवधारणालाई नजिकबाट बुझ्नुपर्ने सन्दर्भमा पनि कलाकार कमजोर नै देखिन्छन् । रचनापूर्व मथिंगलमा ज्ञानको आधारमा मन्थन गर्ने प्रक्रिया अनि समसामयिक सन्दर्भ मिलाई संरचनाको स्वरूप बनाउने प्रक्रियामा कलाकारहरू कमजोर हुन पुगेको देखिन्छ । एकै ठाउँमा झुन्डिएका दुई कलामध्ये अति उत्कृष्ट काम र कलाको अघि अति निकृष्ट कामको समान रूपमा व्याख्या विश्लेषण भइरहेको हुन्छ ।
कलाकार स्वयंलाई समेत यसको हेक्का हुँदैन । यसले गर्दा विशेष गरेर नवयुवा कलाकार अझ अन्योलमा परेको देखिन्छ । आजका कुनै पनि समसामयिक कलाकारले आफूलाई कन्सेप्चुअल कलाकार भनी राख्दा मूलतः कन्सेप्टका बारे मात्र होइन, विश्वका अनि नेपालकै पनि अलि पाका कन्सेप्चुअल कलाकारबारे जान्न र बुझ्नुपर्ने हुन्छ । यी सबै कुरा अध्ययनकै क्रममा हँुदा वा राखिदिँदा कलाकार निर्धक्क भएर कला सिर्जना गर्न मात्र होइन, यसबारे भन्न पनि हिचकिच्याउने थिएनन् ।
औपचारिक कलाका स्कुल वा क्याम्पसमा अध्ययनका क्रममा ज्यादाजसो एकेडेमिक काम गर्न लगाइन्छ । प्रयोग गर्न र रचनालाई प्राथमिकतामा राखेर रंग र रेखासँग उन्मुक्त भएर उछलकुद गर्न दिइँदैन पनि । यस्ता प्रयोगात्मक काम मूलतः पढाइ सकेर बाहिर स्वतन्त्र भइसकेपछि आफूलाई जहाँ जे गर्न मन लाग्यो, जसरी गर्न मन लाग्यो, त्यसो गर्न पाइन्छ भन्ने सोचबाट आज पनि अधिकांंश कलाका निकाय, कलाकार ग्रसित छन् । तथापि केही वर्षअघि काठमाडौं विश्वविद्यालयको कला संकायबाट इन्स्टलेसन र कन्सेप्चुअल कलालाई अध्ययनकै बेला पनि सिर्जना गर्न छुट दिएपछि आजकोे अवस्थामा थोरै फरक देखिएको मान्नैपर्छ । यसो हुँदा आज अध्ययनकै क्रममा पनि कलाकारले प्रयोगात्मक काम यथेष्ट रूपमा गर्न थालेका छन् ।
हुन त कला सिर्जना गर्नु भनेकै स्वभावतः कलाकारले नयाँ नौलो देखाउने प्रयास हो । यसले गर्दा यी कला प्रयोगात्मक देखिन्छ नै । यसको अर्थ, कलाकारले कला सिर्जना गर्नु भनेको अध्ययन गर्दागर्दै र अध्ययन सकिसकेपछि गरिने सिर्जना अलग–अलग हुँदैन, गर्न पनि हँुदैन । यो दुविधालाई चिर्न कलाकारले थप ज्ञान लिन र यसैलाई आफ्नो कला सिर्जनामा प्रयोग गर्नैपर्छ । यसो गर्न भने आज नेपालका कलाका औपचारिक स्कुल वा क्याम्पसमा सोही अनुसारको पाठ्यक्रम देखापरेको छैन । यसैको प्रतिफलका रूपमा आज कलाको काम घुलमिल रूपमा देखापर्ने गर्छ ।
‘डिफाइनिङ प्रोग्रेस’को सन्दर्भ
रिया बज्रचार्यको ‘द गोल्डेन वेल’ नामक चित्र धार्मिक प्रतीकात्मक विम्बका रूपमा सिर्जना भएको छ । आममान्छे मन्दिर जानु, अनायसै घन्टी पनि बजाउनु, तर यसको महत्त्व र अर्थ नबुझेको हुनु आदिलाई सम्बोधन गर्दै घन्टैघन्टलाई जमघट गराई उनले चित्रको निर्माण गरेकी छन् । उनको बुझाइमा घन्टको अर्थ अथाह छ । भक्तलाई आनन्दविभोर बनाउनेदेखि एकाबिहानै स्वच्छ ताजा सुखानुभूतिको तरंग दिने, भक्तिभावमा शक्ति दिने मूलतः घन्टी नै हो । सुपर–रियालिस्टिक फर्ममा संगठित गरिएको यो काम शिल्प दक्षताको चरमोत्कर्षको काम पनि हो । रत्नमान गुरुङको ‘अस्तित्व’ नामक काम स्वैरकाल्पनिकता, सपना र कल्पनामा उडेका अनेकौँ प्रतीकात्मक विम्ब संयोजन गरी निर्माण भएको छ । गैँडाको टाउकोमाथि मन्दिर छ, गैँडाको ढाडमाथि आक्रोशपूर्ण यमानको चरा छ, अन्य चरा (गिद्ध वा गरुड होला) चारैतिर मडारिरहेका छन् । रक्ताम्मे पृष्ठभूमिमा कंक्रिट बिल्डिङ छन् । लडेका, मरेका अनेकौँ गैँडा कैयौँ भत्काएका, फालिएका वस्तु यत्रतत्र छन् । वन्यजन्तु र वातावरणको विनाश हुनुमा कहीँ न कहीँ हिंस्रकहरूको ठूलो हात रहेको दृश्यावलोकन पनि यस कामबाट हुन्छ । पश्चिममा अति यथार्थवादीको नाममा यस्ता कलाका स्वरूप सन् १९२० को उत्तराद्र्धमा औधि रूपमा देखापरेका थिए ।
सनम घोले महिलाको शक्तिलाई उजागर गर्न विशालकाय महिलालाई गहिरो ध्यान मुद्रामा प्रस्तुत गरेका छन् । नितान्त नीलो स्वरूपको विशालकाय नारी स्वरूपलाई चम्किलो औराहले शोभायमान बनाएको छ । मानव खप्परहरूले भरिभराउ औराह अझ भयानक देखिन्छ । पृष्ठभूमिमा संयोजन गरिएको चहकिलो पहेँलोे औराह मूलतः देवी–देवताको चित्र वा प्रतिमा (देवत्वको रूप) मा प्रयोग गर्ने प्रचलन छ । आजका कलाकारले यस्तै मिथलाई प्रयोग गर्ने प्रचलन खुबै बढेको छ । सनमले पनि यसलाई आजको सन्दर्भमा आजको अवस्थालाई प्रस्तुत गर्न यसको प्रयोग गरेका छन् । लैंगिक विभेद अनि महिला सशक्तीकरणको अवधारणालाई उनले एक अहं सवालका रूपमा उठाएका छन् । कालो निख्खर अँध्यारोमाथि ब्रह्माण्डका कैयौँ अवयवलाई चारैतिर स्थापित गर्दा समग्रमा महाबली महिलाको स्वरूप महसुस गर्न सकिन्छ । यस्तै उनले अर्काे काममा महिला–शक्तिको रूपमा देवी कालीलाई गहकिलो पात्र बनाएका छन् । मानव खप्परमाथि विराजमान देवी कालीलाई रगत खनाइरहेको अद्भूत दृश्यलाई समायोजन गरिएको छ । महिलाकै प्रसंग उठाउने क्रममा जीवित देवी कुमारीको रजस्वलापछिको जीवनयापन, बाँकी जीवनको चासोलाई समेत कलाकारले अहं सवालको रूपमा उठाएका छन् ।
रोशन खत्रीले आफ्नै ठाउँको अथाह स्रोतको पहिचान गर्न नसकेर, नचाहेर बाहिर चहार्ने मानव प्रवृत्तिलाई लक्षित गर्दै कलाको निर्माण गरेका छन् । प्रतीकात्मक रूपमा उनले टुँडाल लगायत पुराना गरगहना, समग्रमा संंस्कृति, संस्कार लगायत मठ–मन्दिरलाई पनि विविध पात्रका रूपमा संगठित गरी पस्कन खोजेका छन् । आँखालाई केन्द्रबिन्दु बनाएर टँुडालमा अवस्थित भगवान्लाई यथार्थ शैलीमा उतारेका छन् । अग्र भागमा कागजका रकेट उडिरहेका देखिन्छन् । यहाँ केटाकेटीले खेल्ने खेलौनामा यी रकेट बनेका होइनन्, अपितु चोटिलो प्रतीक र विम्बको रूपमा यी अवयवले भूमिका खेलिरहेको देखिन्छ । उनको बुझाइमा यी सम्पदाले हामीलाई हेरिरहेको छ, तर हामी उता नहेरी अन्त कतै भागिरहेका छौँ । यही विडम्बना उनका चित्रमा परिलक्षित भएको देखिन्छ ।
किरण श्रेष्ठले ‘ग्लोबल गार्बेज’का प्रसंगलाई उठाएका छन् । दूषित वातावरण, प्लास्टिकका झोलादेखि बोतल समेतलाई प्रतीकका रूपमा ल्याउँदै कलाको निर्माण गरेका छन् । गार्बेजप्रति हाम्रै मोह बढ्नु, व्यवस्थापनको चासो नहुनु, नसक्नु यस्तै समस्यालाई विडम्बना ठानी बनाइएको चित्रमा थुप्रै हातले पृथ्वीमा गार्बेजहरू फाल्दै गरेको परिदृश्य देखिन्छ ।
आश्मा राई बच्चाकै बेलामा सुन्दै आएको एक लोकोक्तिलाई आधार बनाएर चित्रको निर्माण गरेकी छन् । सानो बालिका एक पात्रको रूपमा उभ्याएको यो उनको दृष्टान्त चित्रको सिरियलको रूपमा देखापरेको कला आफैँमा एक सरल तर गहन फर्ममा देखिन्छ । यी सानी बच्ची आउँदा समृद्धि आउने जाँदा दरिद्रता आउने यो लोकोक्तिलाई मध्यमा पारी उनले चित्रको निर्माण गरेकी छन् ।
बोक्सीमाथिकोे लोकोक्ति लिएर देखापर्ने विनिता खड्काका चित्र भयावह, अलौकिक र डरलाग्दो संयोजनका साथ देखापरेका छन् । उनैको अर्को चित्र ‘म हुँ प्र्रकृति’को नाममा नारी पात्रलाई प्र्रकृतिको प्रतीकात्मक विम्ब बनाएर प्रस्तुत गरेकी छन् । सेतो कपाल फैलाएर गरुंगो मास्कका साथ बसेकी नारी सिंहको खालमाथि विराजमान छिन् । अद्भूत जनावरधारी मान्छे (राक्षसको रूपमा)को गरम रंग–संगति (वार्म कलर हार्मोनी) समायोजन गरिएको यो चित्ररेखाको गतिशील वहाबले वातावरणलाई भयावह बनाएको छ । मानवले प्र्रकृतिलाई तहसनहस बनाउँदा प्र्रकृतिको प्रतिविम्बका रूपमा बसेका महिला मास्क लगाएर बसिरहेको अवस्थालाई चित्रण गरिएको छ । गहिरो कल्पनामा वशीभूत, कल्पनाको अथाह सागरमा डुबुल्की मार्दै सपनाको संसारलाई उनले आफ्नो चित्रमार्फत प्रस्तुत गरेकी छन् । कत्रो विडम्बना ! अक्सिजन फाल्नुपर्ने प्र्रकृति आफैँले मास्क लगाएर बस्नुपरिरहेको छ । प्र्रकृति आफैँमा देवी हो, देवी आफैँलाई मास्क लगाएर बस्न बाध्य पार्ने मान्छे नै हुन् । मान्छेले प्र्रकृतिको यसरी विनाश गरिसक्यो भन्ने बुझाइ विनिताकोे छ । महाकाली नाचको दुरस्त आठवटा फर्मका साथ विशाल मुकुण्डाहरू मूल विषयका रूपमा देखापरेको छ ।
रोजन महर्जनको देवी तलेजु अनि मनीषको देवी कुमारीको परम्परागत कलालाई समसामयिकमा ओरालेको सन्दर्भ पनि मार्मिक छ । दुर्गाको देवी काली पनि भयानकमा प्रस्तुत भएको देखिन्छ ।
समय, सम्बन्ध र सहरको सम्बन्ध
सूर्य दुधराजको समयमाथिको आफ्नो निजी विचार र यसैको आधारमा सुपर रियालिस्टिक फर्ममा बनेका उनका काम अर्थपूर्ण देखिएका छन् । तुलनात्मक रूपमा प्रस्तुत गर्ने उनको रचनाको स्वभाव पनि गहन छ । उनैको भनाइलाई सापटी नै लिऊँ– समय छ पनि छैन पनि यो एउटा भ्रम हो । मानव जीवनको सहजताका लागि समय विभाजित गरिएको थियो । समय ब्रह्माण्डको आत्मा हो । हामीले हाम्रो आत्म छुन, देख्न नसके पनि आत्मा छ भन्ने विश्वास गर्दछौँ । समय पनि त्यस्तै हो । आफ्ना विचारलाई आफ्नो चित्रमार्फत अभिव्यक्त गर्न उनी मास्कले राम्ररी ढाकिएको एउटा महिलाको व्यक्तिचित्र बनाउँछन् । अनि यसैको पछाडि सांकेतिक रूपमा घडीको विम्बलाई राखिदिन्छन् । शिल्प दक्षतालाई भरपूर रूपमा पकड देखाउँदै उनको मिहिनेत, कलामाथिको समझ, उनका अवधारणा अनि कलाको कामलाई समायोजन गर्दै गरेको यो काम साँच्चिकै आकर्षक रूपमा देखापर्छ । गतिशील बनाइएको यो व्यक्तिचित्र कलागत शिल्प दक्षताको अब्बल काम पनि हो । उनका स–साना रेखांकनको पृष्ठभूमिमा बडेमानको घडी राखिएको छ । यथार्थ रूपमा चित्रण गरिएका स्केचमा होस् वा अति मिहिन रूपमा कोरिएका ढुंगेधारामा होस्, घडीले आफू उपस्थित हुन छाडेका छैनन् ।
रामचन्द्र महर्जनको ‘सहर’मा निजी पहिचान खोसिएको सहरप्र्रतिको चासो देखिन्छ । गाउँचाहिँ नगरपालिका र महानगरपालिका बन्दै सहरको विकराल स्वरूप धारण गर्छ, स–साना जिल्ला प्रदेशमा परिणत भए र सहर भने तर सहरको पहिचान आफ्नै पहिचान छैन । उनका कलामा यही उनका भाव विचार र दुखेसा प्रतिविम्बित भएका छन् । सहर ढंगले विकसित हुन सकेको छैन । सहरमा बस्ने मान्छेले बचाउनुपर्ने संस्कृति, संस्कार र सम्पदा आदिको सर्वनाश गरेपछि उनका कला यसैमा आधारित भएर जन्मन पुगेका छन् । कंक्रिट घरैघरको पृष्ठभूमिमा जनावरले आफू स्वतन्त्र रूपमा बाँच्न खोज्दा पनि ऊभित्र सहर उम्रिएको छ । उनका चित्रले सहर बन्दा हराउँदै गएको संस्कृति, संस्कारसँगै मठमन्दिर र यसैका थप अवयवलाई संयोजन गरी चित्रको निर्माण गरेका छन् । दिनचर्यामा संगीत र नाच आदि फर्महरू विकास गर्दागर्दै पनि पृष्ठभूमिमा देखापरिरहेको कंक्रिट बिल्डिङले छेकबार लागिरहेको स्पष्ट देखाउन खोजेका छन् । उनको कलामा मार्मिक भाव, पहिचानको खोजी र बाह्य प्रभावको विरोधाभास स्पष्ट देखिन्छ । यस्तै, सुरक्षा वाग्लेले प्रकृति र नारीको सम्बन्धलाई आफ्ना चित्रमा उतारेकी थिइन् ।
आकृति
सिद्धार्थ कला दीर्घामा भर्खरै सुरु भएको छ, एउटा अलग्ग कला प्रदर्शनी– आकृति । आकृति एक कला समूह हो, जसमा पाँच कलाकार (हितेश वैद्य, जगदीश मोक्तान, नविना सुनवार, पूजा दुवाल र तासी लामा) आबद्ध छन् । हेर्दा स्वाभाविक सरलजस्ता काम गर्ने तर भित्रैबाट नितान्त कलाको नौलो धारमा काम गर्ने कलाकार हुन् यी । उनीहरूका कला अलग्ग अर्थ बोकेका सामान्य कलाका रूपमा देखापरेका छन् । यसको कारण छ, यी कलाकार विश्व कलाको वहाबलाई बुझेर नितान्त आफ्नो निजी विचारलाई कलामा पस्कने गर्छन्, जसले निसन्देह उनीहरूका चित्र अब्बल पनि देखिन्छन् । आ–आफ्नै गाउँठाउँमा बढे–हुर्केका यी कलाकारले विशेष गरेर आ–आफ्ना समुदायमा देखे–भोगेका दिनचर्या, परम्परा र संस्कार आदिलाई अनुभव गरेका छन्, यही अनुभवलाई भिजुअल ल्यांग्वेजमा कला प्रस्तुतिको फम्र्याटमा प्रस्तुत गर्छन् । यसो हुँदा पहिलेभन्दा थोरै अलग्ग तथापि कलाको आन्तरिक गुण, तत्वलाई बलियोसँग समातेर विभिन्न मोटिफलाई समायोजन गरिरहेका देखिन्छन् । कुनै बन्देजविना कुनै पनि माध्यममा आफ्नो कामलाई पस्कने धृष्टता यिनीहरूले गरेका छन् । यो एउटा अहिलेको कलागत प्रवृत्ति हो ।
पूजाले आफूले देख्दै आएको घर–आँगन वा एउटा बूढीआमाको थकित अनुहार र विशेष आसनका साथ आफ्नो चित्रको निर्माण गरेकी छन् । निश्चित वस्तु, अवस्था वा घटनाका विम्ब दृष्टिगोचर हुन्छन्, उनका कलामा, जो उनको आफ्नोपन हो । यो उनको दृश्यचित्र हो तर सम्पूर्ण दृश्य समावेश नभएर एउटा टुक्रा मात्र उनका कलामा समायोजन भएका छन् । यही नै उनको खास विशेषता हो । जहाँ भित्तामा अंकित देवीदेवताका मूर्तिको अंश पनि हुन्छन्, ढोका र चुकुलमाथि सिउरिएको फूललाई पनि अनौठो संस्कारको विम्बका रूपमा उतारेको देखिन्छ । ढोका वा चुकुललाई पूजा गरेको सन्दर्भमा उनलाई कति जानकारी छ, थाहा छैन । तथापि आफ्नो मन–मस्तिष्कमा बसेको इमेजलाई क्यानभासमा मात्र उतार्ने काम उनले गरेको देखिन्छ ।
यो अवधारणाबाट हितेश पनि टाढा छैनन् तर उनको आधुनिक दृश्यचित्र एक अलग्ग प्रकारले बनेको देखिन्छ । राता, हरिया वा नीला रंगहरू उनले निर्धक्क प्रयोग गर्न पुगेका छन् । परम्परागत प्रतीक र विम्बले मोटिफका रूपमा यथेष्ट मात्रामा उनको कलामा प्रवेश पाएको छ । उनको संयोजन परम्परागत कलाबाट धेरै नै प्रभावित भएको देखिन्छ । लोककलाको प्रत्याभूति दिने खालको संरचना नै मूलतः उनको कलाको विशेषता हो । गाउँ सहर हुनभन्दा पहिलेको वातावरण अर्थात् आममान्छेको दिनचर्या र शुद्ध–सफा वातावरणलाई वा यसको अनुभवलाई उनले नितान्त हाम्रै कलाको शैली र प्रवृत्तिमा प्रस्फुटन गर्न चाहेको देखिन्छ । बच्चा बेलामा आफ्नै घर–आँगनमा फलिरहेका फल आफैँ रूख चढेर टिप्नुदेखि त्यसवेला आमाले लट्ठी लिएर लखेटिरहेको परिदृश्य समेत उनका कलामा देखिन्छन् । रंगीचंगी देखिने उनका चित्रमा रामराज्यको परिकल्पना गरेको समेत देखिन्छ । वागमती वा विष्णुमतीमा पोडिँदै गरेको परिदृश्लाई पनि उनले समायोजन गरेका छन् । सायद देखेको त पक्कै होइन, तर बाबुबाजेले भन्ने गरेको वागमतीको शुद्ध पानीको नुहाउने र खाने गरेको कथालाई उनले आफ्ना कल्पनामा बुनेका हुन सक्छन् ।
(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।)