कलामा भावावेग, सौन्दर्यता अनि अभिव्यञ्जनाको समिश्रण
बुवाबाट गाली खाएपछि बेग्लै बस्न पुगेका युवा कलाकार प्रियम प्रधानले एउटा अचम्मको चित्र बनाउन पुग्छन् । भावावेगमा बन्न पुगेको यो चित्र झट्ट हेर्दा सौन्दर्यताबाट वशीभूत देखिन्छ ।
यो चित्र अमूर्त स्वरूपमा बन्न पुगेको देखिन्छ । तथापि मूलतः भित्रैबाट अनेकादि आकारले चलखेल गर्दा यही चित्र स्वयंमा भने अभिव्यञ्जनाको चौखट ढकढकाउन पुगेको देखिन्छ । अलिकति अमूर्त स्वभावका उनका चित्र सौन्दर्यताको ओजले धपक्क बलेका छन् । दुखेको मनको मौन आवाज आभास हुँदा अलिकति पीडा दिएको महसुस गर्न सकिन्छ । समग्रमा भन्नुपर्दा यस कलाले समिश्रणको कलागत शैली बोकेको छ भन्न सकिन्छ ।
ग्यालरी एमक्युब कला दीर्घामा प्रियमको ‘कल्की’ नामक पहिलो एकल कला प्रदर्शनी भइरहेको छ । उनको विचारमा, कल्की अवतार (भगवान् विष्णुको अवतरण हुँदै गरेको नवीनतम अवतार)को आसय हो, अहिलेको मानवमा देखापरिरहेको कुबुद्धि र नकारात्मक अवस्थालाई ध्वस्त पारेर सुखमय आनन्दित नयाँ बिहानी आउँछ भनी गरिएको विश्वास र आस्था । त्यस्तै, हामी हाम्रो अन्तर्आत्माबाट धेरै टाढा छौँ, हामी अन्तर्आत्मासँग एकाकार हुनेछौँ भन्नु पनि हो ।
एउटा अवस्था, घटनाले अनायसै अचानक जन्मेको वा जन्माएको सिर्जनाको रूपमा उनको यस कलालाई हेर्नुपर्ने हुन्छ । यसर्थ यस्ता चित्रमा रंगहरूमा हुनुपर्ने गतिशीलता हुँदैनन्, देखिँदैनन् । क्यानभासमा दौडेर, उफ्रेर अनेकादि उपद्रो गर्नुपर्नेे रंगले पनि यहाँ त्यसो गर्न खोजेको देखिँदैन । स्थिर, चुपचाप, कहीँ ठप्प रोकिएको एउटा बरफको ढिस्कोजस्तो भई रंगका विम्ब उभिएका देखिन्छन् । सम्भवतः दुखेसोको सानोतिनो पहाड बन्छ, उनको क्यानभासमा । तातो आगोका ज्वाला जस्ता बनेका बरफका ढिस्काले भावकलाई शीतलता दिन्छ कि राप ? यो भावकले आफैँ अनुभव गर्ने कुरा हो । तर ताप र शीतलताको समिश्रण हो उनको कला ।
यो उनको अमूर्त चित्र निरन्तरताको उपज होइन । कलामा अमूर्तताले सधैँ दृश्य र सौन्दर्यतालाई अगल–बगलमा राखेर हिँड्ने गर्दछ । अमूर्तचित्र बनाउने क्रममा चित्रपटमा लालित्यलाई मनमोहक ढंगले समायोजन गर्ने गरिन्छ । अमूर्त चित्रमा भावनाभन्दा सफा–सुग्घर रंगका बहाव, तरंग क्यानभासभरि छरिएका देखिन्छन्, अनि तरेलीमा बग्छन् रंग र रेखाहरू । रंगका रेखाहरू यताउती कुदेको दृश्य बन्नु मूलतः अमूर्त कलाको मूल विशेषता मानिन्छ । २०औँ शताब्दीको ४० को दशकतिर कलाका विज्ञले यस्तो कलाको प्रवृत्तिलाई अमूर्त अभिव्यञ्जना पनि भने । कलामा भएको वा हुनुपर्ने सौन्दर्यताको मनमोहक दृश्य अनि मनभित्रका कष्ट, दुखेसा सम्प्रेषण हुनुपर्दा, वा भएको हुँदा देखापर्ने परिदृश्यलाई अमूर्त अभिव्यञ्जना शैली भनिन्छ ।
प्रियमको यस कला प्रदर्शनीमा दुई–चारवटा मात्र यस्ता अमूर्त चित्र छन् । यसबाहेक अन्य सबै स–साना चित्र छन् । मूलतः यी चित्र अमूर्त, अर्ध–अमूर्त कुनै पनि शैलीमा आबद्ध छैनन् । यी चित्र नितान्त सग्लो आकारमा अनि थोरै स्वैरकाल्पनिक रूपमा आध्यात्मिक कल्पनाका साथ बढी मात्रामा परिलक्षित देखिन्छन् । सबैजसो स–साना चित्रमा टन्नै लघुकथा छन् । यी कथालाई यहाँ भन्न, लेख्न र उद्धृत गर्न सम्भव हुँदैन, साध्य पनि हुँदैन । तथापि उड्दै गरेका यस्ता रूपहरूमा भावक यथेष्ट मोहित भएका देखिन्छन् । यसैमा यस्ता कथा, लोकगाथाले टेको लाइदिँदा त भावक अझ रोमाञ्चित भएका देखिन्छन् । उनका क्यानभासमा अभिव्यञ्जनाभन्दा सपनामा उडेका अनेकौँ कल्पना दृश्यावलोकन हुन्छन् । देवीदेवता, गणेश, कृष्ण, शिव, सरस्वती वा भगवती आदि मूल पात्र कलामा सलबलाउनु उनको विशेषता पनि देखिन्छ । आजको अवस्था, यसैमा आध्यात्मिक शक्तिले ल्याएको र ल्याउन सक्ने परिकल्पनाले उनका चित्र ओतप्रोत भएको देखिन्छ । लोकोक्ति र धर्मगाथाको अंशले भरिँदा उनका यस्ता चित्र एक तमासका देखिन पुग्छन् ।
कलालाई केलाउँदै जाँदा कलाको संयोजन र संरचनामा यस्तै अनेकौँ प्रकार भेटिन्छन् । स्वस्फूर्त रूपमा जन्मेका यस्ता शैली, प्रवृत्ति र स्वभावले निरन्तरता पायो भने पछि गएर यी गुण कलाकारको आफ्नोे बेग्लै कलागत हस्ताक्षर पनि बन्न जान्छ ।
विश्वमा आधुनिक कलाको शुभारम्भका बेला (२०औँ शताब्दीको पहिलो दशकतिर) यस्तै कलामा नयाँ–नयाँ प्रयोग र अभ्यास भइरहन्थ्यो । विश्वभरका कलाकार त्यसबखत फ्रान्सको पेरिसमा जम्मा हुन पुगेका थिए । रंग, संयोजन, विषयवस्तु, शैली, प्रवृत्ति, माध्यम, कलाको दर्शन र विचारमा खेल्दै कलामा थुप्रै प्रयोग भएको वा गरेको देखिन्थ्यो । कलाको विश्वबजार यसैमा तरंगित हुने गथ्र्यो । परम्परागत कलाका अवधारणा र स्थापित मान्यतालाई भत्काउँदै नयाँनयाँ शैली र मान्यता बन्दै गएको थियो । अहिले पनि यसैको निरन्तरता छ । विश्वप्रसिद्ध कलाकार आ–आफ्नो अलग्गै हस्ताक्षरका साथ स्थापित भएको इतिहास पनि छ ।
६ वर्षदेखि टाटु कलाकारितामा रमाइरहेका र यसमै स्पष्ट आफ्नो पहिचान बनाइसकेका प्रियम यसपालि आत्मिक सुुखानुभूति ग्रहण गर्न कलाको बेग्लै विधामा प्रवेश गरेका हुन् । २७ वर्षीय प्रियमको आफ्नै टाटु पसल ठमेलमा छ । एनिमेसनमा स्नातकोत्तर गर्दै गरेका उनले टाटु कलामा महारथ हासिल गरिसकेका छन् ।
ललितकलाका धेरै विधामध्ये एउटा सशक्त विधाका रूपमा चित्रकलालाई मान्ने गरिन्छ । ललितकलाकै अर्को विधा टाटु कला (मानव शरीरमा खोपेर कलात्मक चित्र बनाउने कला)मा समय खर्चंदा कमाई राम्रो भए पनि मनलाई सन्तुष्टि नमिलेपछि उनी यसबाट उम्कन खोजेका हुन् ।
नितान्त आनन्द र आत्मसन्तुष्टिको बाटो खोज्दै जाँदा अनेक कथा–व्यथा लुकेका प्रतीकात्मक विम्ब समेटेर चित्रको निर्माण गर्न उनी जुटे । बरु आफ्ना कला बिक्री नहोऊन्, आत्मानुभूतिमा रमाउने उनको चाहना छ । कलाको यो एक अलग्ग विधामा प्रवेश गर्नु उनको सोखजस्तै हो । नयाँ परिवेश र नयाँ वातावरणमा उनी चित्रकलाको नयाँ विधा जन्माउन चाहन्छन् ।
नेपालको समसामयिक कलाको इतिहासमा आधुनिक कलाको खण्डले प्रवेश पाएपछि यस्तै प्रकारले पश्चिमी शैली र प्रवृत्तिले ठूलै मात्रामा ‘डोमिनेन्ट’ गरेर अगाडि बढेको थियो । कति ठाउँमा त नितान्त कला हो वा होइनको अन्योलता देखिन्थ्यो । पश्चिमी कलाको नक्कलको आरोप खेप्न नपरोस् भनेर मूलतः यस बेलाका नेपाली आधुनिक कलाका सर्जकले यसैभित्र नेपाली मौलिकतालाई खोजेको पनि देखिन्छ । यो खोजिपस्ने अभ्यास तीव्र गतिले अगाडि बढ्दा अनेकौँ नयाँ–नौला कलाका शैली नेपालमै पनि जन्मेका छन् । यसो हुँदा यस्ता कलाका प्रकृति र स्वभावमा झुल्कँदै अस्ताउँदै गरेका परिदृश्य प्रशस्तै देखिन्छ । यो उनको निजीपनको आधुनिक कला पनि हो । यस्ता कलाको विश्लेषण नहुँदा र अभिलेख नहुँदा यसको विधा र इतिहास निर्माण हुन सकेको छैन । अलिकति पश्चिमी, अलिकति पूर्वेली झुकाव हुँदै हुर्के–बढेका यस्ता कलालाई कुन विधामा राख्ने भन्ने अन्योलता छँदै छ । यसै कारण यस्ता कलाले केही अपजस पनि पाउँदै आएका छन् । र, भावकलाई आनन्द बाँडेका पनि छन् । समष्टिमा प्रियमको यो कलाको स्वरूप यसैको एउटा गज्जबको कडी हो ।
कलामा मिथ र आधुनिकताको समागमन
मूलतः प्रियमको भगवान कृष्णमाथि अथाह आस्था, प्रेम र विश्वास छ । यसर्थ उनका चित्रमा गीताको प्रसंग घरीघरी उदाउने गरेको देखिन्छ । थोरै उनले लिएका मोटिफलाई संगठित र प्रस्तुतिका क्रमलाई नियाल्दा पनि एक अलग्गै विशेषतालाई समेट्न पुगेको आभास हुन्छ । थोरै यसैको चर्चा गरौँ ः
सेक्सको एउटा अवस्थाको प्रतिविम्ब (समायोजन र प्रस्तुति गर्ने क्रममा सानो क्यानभासलाई पनि पाँच खण्डमा विभाजित गरिएको छ) पुरुषले हेर्दै गरेको अवस्थालाई अनेकौँ यथार्थ विम्बबाट प्रस्तुत गरिएको छ । बाजागाजासहित संगीतमा मस्त भएको यथार्थ विम्बलाई समायोजन गर्नु अनि अहिलेको संगीतमय वातावरणलाई प्रस्तुत गर्नु, स्वैरकाल्पनिक नग्न शरीर, बेरूप रूपहरू अहिलेको अवस्थासँग तुलनात्मक रूपमा प्रस्तुत गर्नु आदिले उनैको मनभित्र उब्जेका अनेकौँ विचार र ‘विलिभिङ’ प्रस्फुटन भएको प्रतीत हुन्छ ।
भगवान् गणेशलाई कुर्सी टेबुलमा राखेर चुस्की लिइरहेको देखाउनू, पश्चिमी कामुक पोजमा केटीहरू देखिनू, ब्रह्मा र सरस्वतीका रूपलाई एक खास अर्थका साथ पस्कनू, हावामा उडिरहेको घोडाको शरीरलाई चिरेर मानव निक्लँदै गरेको देखाउनू, चेसको गोेटी, हात र खट्टा मात्रको एक विम्बलाई आफ्ना चित्रको मूल मोटिफका रूपमा पस्कनू– यस्ता अनेकौँ चोटिला प्रस्तुति उनका कलामा छन् । यही नै उनको मूल विशेषता देखिन्छ ।
हुसेनका काम कपीवर्कको रूपमा देखिनू, तिनलाई दर्जनौँ अवयव र मोटिफको रूपमा समायोजन गर्नु उनको अर्को विशेषता देखिन्छ । हनुमानको अद्भुत रूप, रामभक्ति आदि पनि उनका चित्रमा देखापरेका छन् । सानै उमेरमा धर्मको प्रवेशले गर्दा पनि सकारात्मक सोचको प्रतिफल उनको कलामा प्रतिविम्बित भएको स्पष्ट अनुभव गर्न सकिन्छ ।
अर्को एउटा थप विशेषता पनि उनका चित्रमा देखिन्छन् । यो भनेको, उनको अमूर्त चित्रमा देख्दै नदेख्ने गरी अँध्यारोमा खुम्चिएर बसेका मलिन अनुहार स्थापित हँुदा देखिने परिदृश्य हो । यो चित्र गहिरिएर हेरेपछि मनभित्रको दर्द भावकले स्पष्ट महसुस गर्छ । यो उनको अचम्मको कलागत विशेषता हो । किनकि अमूर्तभित्र आकारहरू मूलतः सलबलाउँदैनन्, आकारहरू भाँचिन्छन्, बेरूप र कुरूप हुन्छन् बरु तर स्वाभाविक मलिन भएर उभिदैनन् । उनका यस्ता चित्रमा आवेग, आक्रोश र मनको मौन अट्टहास क्यानभासमा पोखिएका हुन्छन् । जसले चहकिला चम्किला बनेका खण्ड उदांगो लाग्छन् । चहकिलो पहेँलो पृष्ठभूमिको क्यानभासमा नीलो कठोर खण्ड छपक्कै भरिँदा उज्याला–चम्किला रंग भने उदाएका जस्ता देखिन्छन् । यो उनको अनौठो र नितान्त विपरीत आधारभूत रंगहरूसँग खेल्ने कलागत शैली र प्रवृत्ति हो । सबल रेखाको शिल्प दक्षता र दरिलो कलागत संगठनले गर्दा जेजस्ता रूप उनका क्यानभासमा उदाउँछन्, उदाएका छन्, ती मार्मिक र अर्थपूर्ण लाग्छन् ।
कलाकारले स्वतन्त्र रूपमा विचरण गर्न पाउनुपर्छ भन्ने सोच उनका कलामा देखिन्छन् । कलाको विषय, संरचना, पात्र (देवीदेवता) अचानक आफूमा समाहित भएपछि देखिएका घतलाग्दा संयोजन उनका क्यानभासमा देखिन्छन् । थुपै्र विधाका उपविधामा कलाकारले हात हाल्नुपर्छ । कलाकार उन्मुक्त हुन विश्वको कुनै पनि कुनामा जानुपर्ने उनको सहज विचार छ ।
कृष्णमाथि ठूलो आस्थाका साथ घरीघरी गीताको वर्णन गर्न उत्साहित भइरहन्छन् । यो युवा बेलामै धर्मका अनेक अवयवसँग खेल्न रुचाउने प्रियम अनेक कथालाई, परम्परागत गाथा र लोकोक्तिलाई जीवन्त बनाउन कलाको सिर्जना गर्छन् ।
प्रदर्शित बंगलादेशी कला
यतिखेर सिद्धार्थ कला दीर्घामा एक हुल बंगलादेशी कलाकारको सामूूहिक कला प्रदर्शनी भइरहेको छ । ‘स्प्रिट अफ पे्रmन्डसिप’ नामक यो सामूहिक कला प्रदर्शनी आफैँमा विविधताले सिँगारिएको देखिन्छ । कलाको स्वरूप, विषय, कलाका पात्र पनि अलग रूपमा समायोजित छन् । यी कला पश्चिमी शैली र प्रवृत्तिमा निर्माण गरिएका हुन् । यी जम्मै आधुनिक कला हुन् । तापनि हुने, देखिने गरेको अन्य आधुनिक कलाभन्दा यी नितान्त पृथक् देखिन्छन् । बंगलादेशी हुनुजस्तो भएर आफ्ना मौलिकताका साथ कलाहरू यहाँ प्रदर्शित छन् ।
यो कला प्रदर्शनीमा १२ बंगलादेशी कलाकारका चित्र टाँगिएका छन् । यी १२ समसामयिक कलाकार हुन्– कनक चन्पा चक्मा, अजमिर हुसेन, विश्वजित गोस्वामी, सौरभ चौधरी, मोङ मोङ सो, लुम्बिनी देवान, जयतु चक्मा, आङ्थोवाइ मर्मा, सुदीप चक्मा, नोमोस्ता रेमा, मुन्ना बाम र पिंग्कु त्रिपुरा ।
नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोम्यान चौधरीले यही कला प्रदर्शनीको सन्दर्भमा एउटा मार्मिक र घतलाग्दो उक्ति भने– समसामयिक कलाले कुनै पनि राष्ट्रको जीवन र संघर्षलाई मात्र चित्रण गर्दैन, समसामयिक कला समाजको मूल्य–मान्यता, निश्चित समय वा कालखण्डको साक्षी पनि हो, जसले भावकका लागि सामाजिक र आर्थिक विकासलाई बुझ्न भरमग्दुर मद्दत पनि गर्दछ ।
बंगलादेशका कला प्रणालीगत, सिलसिलेवार र सही ढंगको गन्तव्यसहित हरेकजसो अवयवलाई पालना गर्दै विकास भएको देखिन्छ । यसो हुँदा बंगलादेशका कुनै पनि समसामयिक कलाकारका कला एउटा निश्चित धार, निश्चित पहिचान र गुणस्तरका आधारमा बनेका छन् । मूलतः बंगलादेशी लोककलाको जगमा उठेको आधुनिक कला अहिले झ्याँगिएर विश्वभर फैलिने क्रममा छन् । यस्ता कला स्वभावतः मनमोहक देखिन्छन् । आफू अलग्ग एउटा देश हुनुअघि यो भारतको बंगालको एउटा भाग थियो । आज छुट्टिएर अलग्ग बंगलादेश बने पनि बंगालको त्यो परम्परालाई यहाँको कलाले अँगाल्न छाडेका छैनन् । संस्कार, संस्कृति, लोकसम्पदा आदिलाई मूल आधारका रूपमा लिने अभ्यास हुँदा बंगलादेशी कलाकारका समसामयिक कला अब्बल बनेका हुन् । मात्र शिल्प दक्षता होइन, समुदायको ढुकढुकी हरेकजसो कलामा गाँसिएर आउँदा यी कला जीवन्त देखिन्छन् ।
नेपालमा बंगलादेशका कला बेलाबेला प्रदर्शनी भइरहेकै हुन्छन् । नेपालको नजिकको हिमचिम हुने पनि बढी यही देशका कलाकारसँग होला । भर्खर अध्ययन गर्दै गरेका कलाकारदेखि पाका र स्थापित बंगलादेशी कलाकारका समसामयिक कला नेपालमा प्रदर्शित भइसकेका छन् । जसले समग्रमा त्यहाँको कला कसरी विकास भइरहेको छ भन्ने स्पष्ट बोध गराउँछ । एक–दुई कलाकारको कलाभन्दा पनि बंगलादेशका समसामयिक कलाको समस्त कलागत प्रकृति र स्वभावलाई सही ढंगले बुझ्नुपर्ने हुन्छ, जसले त्यहाँको कला विकासका धेरै कुरा सिक्न सकिन्छ । स्वादिलो रसलाई रसस्वादन गर्ने भावकको चाहना फेरि अर्कै कुरा हो । यी बंगलादेशी कलाकार अति मिहिनेती र कलामा गम्भीर देखिन्छन् । उनीहरु हरेकजसो विधामा अनुशासनबद्ध छन्, उनीहरुले कला निर्माणका क्रममा आफ्नो माटोलाई बिर्सेको देखिँदैन । आफ्नो भाषालाई अति नै माया र सम्मान गर्छन् । लोकसंस्कृति र संस्कार उनीहरूको समसामयिक कलाको आधारबिन्दु भइहाल्यो । यसैले पनि यस्ता कला हरेक दृष्टिकोणले अब्बल हुने गर्छन् ।
अजमिर हुसेनको ‘मनसुन’ नामक दृश्यचित्रलाई मात्र अवलोक ग¥यौँ भने पानी पर्दापर्दै थामिएजस्तो नितान्त कालो बादल र अत्यासमा सारस उड्दै गरेको दृश्य देखिन्छ । यो चित्रको गुणस्तरलाई सहजै छाम्न सकिन्छ । हरिया–मसिना घाँसलाई सारस र भैँसीलाई पात्रको रूपमा चयन गर्नु पनि कलाकारको खुबी देखिन्छ । थोरै पात्रको चयन तर हरेक पात्रलाई गहकिलो भूमिका दिनु पनि उनको खास विशेषता देखिन्छ ।
जलरंगको कुनै पनि बाह्य कलागत तत्वलाई सहज र सरल ढंगले खेलाउन सक्नु उनको अर्को विशेषता हो । स–साना शक्तिशाली तुलिकाघातको चोटिलो प्रहार अनि कालो घनघोर देखिने बादलको डफ्फा (डरलाग्दो लाग्ने) र तुलिकाले घाँसको झ्याङसँग लुकामारी खेलेको देख्दा उनको शिल्प दक्षता, संयोजन कति हदसम्म माझिएको रहेछ, सहजै अन्दाज गर्न सकिन्छ । अझ समय, अवस्था र वातावरणलाई सर्लक्कै उठाएको दृश्यले जोसुकै रोमाञ्चित हुन सक्छन् । यही त अब्बल कला हो ।
दुई मानव एकै ठाउँमा गुजुल्टिएको विश्वजितको ‘क्वेस्ट फर सोल’लाई हेर्दा नयाँ ढंगको कलागत संरचना मात्र देखिँदैन, संयोजन र शिल्प दक्षताले माझिएको प्रतीत हुन्छ ।
कनक चम्पाको काम पूर्ण र माझिएको देखिन्छ । ‘वाटर फ्रम द मुन’ जसरी स–साना अवयवसँग खेल्दै अँध्यारा र उज्याला रंग, प्रकाश, छायाको गहिराइ र उठानको तालमेललाई उनले सन्तुलनमा ल्याएका छन् । देखिँदादेखिँदै गरेका आकार अमूर्ततामा प्रवेश गर्दै छन्, अनि खाइलाग्दा रंग जसरी उछलकुद गर्दैछन्, यो नै कनक चम्पाको खास विशेषता हो । यही त अब्बल कला हो ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत
-
१० बजे १० समाचार : कम्बोडियामा नेताहरुको लर्कोदेखि अर्को झमेलामा दुर्गा प्रसाईंसम्म
-
माछापुछ्रे छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
-
प्रविधि र तालिम प्राप्त जनशक्तिका कारण सेवा प्रवाह गुणस्तरीय बन्दै छ : मन्त्री पौडेल
-
राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा आचार्यलाई नियुक्त गर्ने सरकारको निर्णय
-
चितवनबाट पुर्जी जारी भएका बैङ्किङ कसुरका प्रतिवादी पक्राउ