शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लाल मोहम्मद प्रकरण : सुटरसम्म पुग्नै सकेन प्रहरी, हतियारको ‘भरिया’ विद्यार्थी

शुक्रबार, १४ असोज २०७९, २२ : २३
शुक्रबार, १४ असोज २०७९

काठमाडौंको गोठाटारमा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई गोली प्रहार गरेर हत्या गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । शुक्रवार जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका आरोपी ‘हतियार व्यवस्थापक’ मात्रै भएको थाहा भएको छ । तर, प्रहरीले पर्साको वीरगञ्जबाट हतियार लिएर काठमाडौं आएका दुईजना युवकलाई पनि योजनाकार भएको जिकिर गरेको छ ।

आरोपीहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले वीरगञ्ज महानगरपालिका–१५ भिस्वा घर भएका रेहान खान र वीरगञ्ज–१६ घर भएका महोरम मियाँले योजना बनाएको र हतियार व्यवस्थापन गरेको जानकारी दिए ।

रेहान र महोरम विद्यार्थी हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भारतीय नागरिकले वीरगञ्जमा दिएको दुईवटा पेस्तोल उनीहरुले काठमाडौं ल्याएर सुटरलाई दिएका थिए । वीरगञ्जमा क्याम्पस पढ्ने उनीहरुले पैसाको लोभमा हतियार काठमाडौंसम्म ल्याइदिएका हुन् ।

आरोपीहरुले दुईवटा पेस्तोल ल्याएर नयाँ बसपार्कमा भारतीय मुलका नागरिकलाई दिएर वीरगञ्ज फर्केका थिए । दुईजना सुटरले गोली हानेर गोठाटारमा असोज ३ मा लाल मोहम्मदलाई  हत्या गरे । मोहम्मदको हत्या भएको अघिल्लो दिन (२ असोज) मा दुई युवक काठमाडौंबाट बस चढेर तराई फर्केको अनुसन्धानबाट थाहा भएको छ ।

प्रहरीसँग उनीहरुले भनेका छन्– ‘पैसा आउँछ, पेस्तोल काठमाडौंसँग लगिदिनु भनेपछि ल्याएर छोडेका हौं ।’ काठमाडौंको नयाँ बसपार्कमा मास्क लगाएका भारतिय मुलका नागरिकलाई उनीहरुले सो पेस्तोल दिएका हुन् । पेस्तोल रिसिभ गर्नेहरु सुटर हुन् । तर, प्रहरी ती सुटरसम्म अझै पुग्न सकेको छैन् । काठमाडौंका एसएसपी बोहराले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने–‘थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीले सार्वजनिक गरेको अर्की युवती हुन्, मकवानपुरको बकैया घर भएर कपनको फैका बस्ने २१ वर्षीया सुस्मिता स्याङतान उर्फ सुमि । सुस्मिताले पैसा लिएर गोठाटारस्थित लाल मोहम्मदका गतिविधि निगरानी गर्थिन् । मोहम्मद एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टबाट निस्केको र फर्केको निगरानी गरेर फोटो खिचेर योजनाकारसम्म पठाउने भूमिका खेलेको अनुसन्धानबाट थाहा भएको छ । लागुऔषध प्रयोगकर्ता समेत रहेकी सुस्मिता चोरी मुद्दामा जेल बसेर निस्केकी हुन् । उनी २०७६ असार ११ देखि फागुन ७ सम्म केन्द्रीय कारागारमा बसेर छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

हत्यामा प्रयोग भएको ‘मेड इन युएसए’ लेखिएको एउटा पेस्तोल घटनास्थलमा फेला परेको थियो । हत्यामा प्रयोग गरिएको दोस्रो पेस्तोल र मोटरसाइकल प्रहरीले बरामद गर्न सकेको छैन । हत्याको योजना भारतीय नागरिक नितेन मदनले बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । नितेन फरार छन् । भारतीय खुफिया एजेन्सीको निर्देशनमा अन्डरवर्ल्ड डन बब्लु श्रीवास्तवको समूहले नितेनलाई प्रयोग गरेर लाल मोहम्मदको हत्या गरेको जानकारहरु बताउँछन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप