शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारी कोटामा नर्स बेलायत पठाउने प्रक्रिया कहाँ पुग्यो ?

बुधबार, १२ असोज २०७९, १५ : १४
बुधबार, १२ असोज २०७९

सरकारी कोटामा नेपाली स्वास्थ्यकर्मी (नर्स) बेलायत पठाउने प्रक्रिया अघि बढिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपाल सरकार र बेलायत सरकार दुवैको तर्फबाट आन्तरिक गृहकार्य भइरहेको हो । 
मन्त्रालयका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले अहिले चार वटा काम समान रूपमा अघि बढिरहेको जानकारी दिए । अहिले इम्प्लिमेन्ट प्रोटोकल बनाउने, आन्तरिक कार्यविधि बनाउने, छुट्टै वेबसाइट बनाउने र अन्य काम अघि बढिरहेको उनको भनाइ छ । 

‘अहिलेसम्म इम्पिमेण्ट प्रोटोकल टुंगिनुपर्ने हो । त्यो टुंगिएको छैन । अनौपचारिक रूपमा जानकारी भएअनुसार बेलायतबाट छलफल भएर हामीलाई आउँदैछ,’ उनले भने, ‘नेपालबाट टुंग्याएर पठाइसकेका छौं । उनीहरूको पनि केही चेन्ज रहेछ भने त्यसलाई क्याबिनेटमा पठाउँछौं ।’   

अन्य कुनै विषयमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको खण्डमा दुवै देशको संयुक्त कमिटीको बैठक बसेर टुंगो लगाइने उनको भनाइ छ । ‘स–साना कुरा आयो भने, त्यसमा छलफल गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यसका लागि दुवै देशको कमिटीको राखेर निकास खोज्छौँ,’ सहायक प्रवक्ता डा. भुसालले भने । 

नेपालले बेलायतमा कामदार पठाउने विषयमा आन्तरिक कार्यविधि बनाउनुपर्ने हुन्छ । कामदार पठाउने विषयमा वैदेशिक रोजगार विभागले आवश्यक गृहकार्य अगाडि बढाउँछ । त्यसका लागि विभागलाई कार्यविधि आवश्यक पर्ने भएकोले कार्यविधि बनाउने काम पनि अघि बढिरहेको उनको भनाइ छ । 

​कामदार पठाउनेमा विषयमा आवश्यक पर्ने आवेदन प्रक्रिया, छनोट, परीक्षा लगायतका सबै प्रक्रिया अनलाइन मार्फत गरिनेछ । वेबसाइट बनाउने कार्यपनि अगाडि बढिरहेको उनको भनाइ छ । त्यसका लागि वेबसाइट बनाउन आवश्यक पर्ने खर्च बेलायत सरकारले नै बेहोर्ने छ । 

‘हामीले टिओर बनाएर उता पठाइदिन्छौं । सफ्टवेयर बनिसकेपछि डट जिओभी, डट एनपी जस्ता होस्ट बनाइन्छ । त्यो अहिले बनिरहेको छ,’ सहायक प्रवक्ता डा. भुसालले भने । 
सरकारले एकातिर आन्तरिक तयारी गरिरहेको छ भने अर्कोतिर यो बीचमा पैसाको बार्गेनिङ गर्ने गिरोह तथा समूहबारे छानविन गर्ने काम पनि गरिरहेको छ । अहिले बेलायत पठाइदिने बाहनामा पैसा उठाउने गिरोह सक्रिय रहेको भन्दै विभागले छानविन समेत थालेको छ । 

अहिलेसम्म सरकार रिएक्टिभ हुँदै आएको थियो । यदि कहीँ कतैबाट गुनासो वा उजुरी आएको खण्डमा मात्र सरकारले चासो दिने गरेको थियो । अब यस विषयलाई गम्भीर लिएर विभागले प्रोएक्टिभ भएर काम गरिरहेको उनको भनाइ छ । 

‘विभाग रिएक्टिभर बस्दैन । हामी प्रो एक्टिभ भएर काम गर्छौ । कसले कहाँ के काम गरिरहेको छ ? त्यो हामी सुराकी लगाएर भएपनि खोजिरहेका छौं र कारवाही गर्छौँ । विभागले छापा मारेर आफ्नो काम गरिरहेको छ,’ उनले भने । 

यी सबै काम समानान्तर रूपमा अगाडि बढिरहेको उनको भनाइ छ । कति समयभित्रमा नेपाली कामदार बेलायत पठाउन सकिन्छ भन्ने यकिन भइनसकेको उनको भनाइ छ । 
‘हामीले कति समयभित्र पठाइसक्छौँ भन्ने कुरा हामीले भनेअनुसार नहुँदो रहेछ । एउटा पोलिटिकल चेन्जेज, ब्युरोक्रेसीले प्रक्रियाले गर्दा भनेअनुसार नहुने रहेछ । कर्मचारीको सरुवा बढुवाले पनि यसमा धेरै प्रभाव पार्छ,’ उनले भने ।

केही दिन अगाडि बेलायती दूतावासले सन् २०२३ को पहिलो तीन महिनाबाट आवेदन प्रक्रिया अगाडि बढाउने बताएको थियो । दुबै देशका सरकार सोही अनुसार अगाडि बढिरहेको उनको भनाइ छ । 

बेलायत पठाउने नाममा ठगी 
सरकारले नेपाली कामदार पठाउने तयारी गरिरहेका बेला ठगी गर्ने गिरोह सक्रिय रहेका छन् । विशेषगरी सामाजिक सञ्जाल फेसबुकमार्फत तयारी कक्षा सञ्चालन गराउने भन्दै विज्ञापन गर्ने समूह सक्रिय देखिएको हो । 
यो विषयमा बेलायतको पत्रिका द गार्जियनले समेत चासो देखाउँदै समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचारपछि मन्त्रालयले विज्ञप्ति नै जारी गर्दै ध्यानाकर्षण भएको जनाएको थियो । 

बेलायत जान एक पैसा पनि शुल्क नलाग्ने भन्दै त्यस्तो व्यक्ति वा समूह फेला परेको खण्डमा सूचना दिन आग्रह गरेको थियो । 
यसरी गुनासो बढ्न थालेपछि विभागले सुराकी परिचालन गर्ने, सम्भावित मेनपावर व्यवसायी तथा कन्सल्टेन्सीहरूमा छापा मार्ने लगायतका काम थालेको छ । सरकारले समेत कहि कतैबाट त्यस्तो अफर आएको खण्डमा तत्काल उजुरी गर्न आग्रह गर्दै आएको छ । 

मन्त्रालयले बेलायत सरकारका सम्बद्ध अधिकारीहरुसँग निरन्तर वार्ता गरी कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने तयारी भइरहेको जानकारी गराएको छ । उक्त ढाँचा स्वीकृत भएपछि नेपाली नर्सहरुलाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले अगाडि बढ्ने सहायक प्रवक्ता डा. भुसालले बताए । 

‘कहीँ कतैबाट यति पैसा दिएपछि छनौट गराइदिन्छु भन्ने आयो भने तत्काल नजिकको प्रहरी वा विभागमा सूचना दिन म सबैमा अनुरोध गर्दछु । त्यस्तो भएको खण्डमा हामीले तत्काल कारवाही गर्छौ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप