शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गोठाटार हत्या प्रकरण : पछ्याएको देखिएन, कुरेर गोली प्रहार

बुधबार, ०५ असोज २०७९, १४ : १४
बुधबार, ०५ असोज २०७९

काठमाडौंको गोठाटारमा असोज ३ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदलाई अज्ञात समूहले गोली प्रहार गरे । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा उनको गार्मेन्ट छ । कपडा प्याक गर्ने प्लाष्टिक लिएर जोरपाटीबाट फर्केका मोहम्मदलाई बा.६ च ५१५२ नम्बरको गाडीबाट ओर्लिनासाथ लखेटेर दुईजनाले गोली प्रहार गरेका हुन् ।

मोटरसाइकलमा सवार ३ जना आरोपी घटनास्थलमा देखिएका छन् । सुटरहरुले कहाँबाट र कहिलेदेखि पछ्याए भन्नेबारे प्रहरीले अनुसन्धान गरेको छ । बा.६ च ५१५२ नम्बरको गाडीका चालक रामप्रसाद गौतमको सहयोग लिएर प्रहरीले मंगलबार दिनभर त्यसबारे अनुसन्धान गरेको थियो । तर, क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेरा अध्ययन गर्दा लाल मोहम्मदलाई पछ्याएको नदेखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्–‘पछ्याएको भेटिएन, घटनास्थलमा नै कुरेर गोली प्रहार गरेको देखिन्छ ।’

मोहम्मद सवार गाडी गार्मेन्ट अगाडि पुग्नासाथ एउटा मोटरसाइकल सँगै पुग्छ । दुईजना ओर्लिएर मोहम्मदको गाडीतिर जान्छन्, चालक मोटरसाइकल फर्काएर कुर्छन् । मोहम्मद झर्नासाथ गोलीको वर्षा शुरु हुन्छ । करिब ३५ सेकेन्डमा ६ गोली प्रहार गरेर उनीहरु भाग्छन् । मोहम्मदलाई ४ गोली लागेको पोस्टमार्टममा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।

सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदको हत्या योजना बनाउन भारत घर भएका नितेन सुधाका गोठाटारस्थित कोशीपारि गेस्ट हाउस एण्ड होटलमा बसेका थिए । सो गेष्ट हाउस मोहम्मदले सञ्चालन गरेको ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’बाट करिब २ सय मिटरको दुरीमा छ ।

भदौ ३० बाट सो गेष्ट हाउसमा बसेका नितेनले शुरुमा नितेन खानको नाममा १०४ नम्बर कोठा बुक गराएका थिए । असोज १ मा फेरि भुवन मगरको नाम लगबुकमा इन्ट्री गरेर उनी अर्को कोठामा सरेका थिए । भदौ ३ मा गेष्ट हाउसमा नितेनले सुटर बोलाएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा हत्या गरेका हुन् । १५ दिनअघि उनीमाथि बौद्ध क्षेत्रको जम्बुडाँडास्थित प्रहरी चौकी नजिकै आक्रमण भएको थियो । गोली हान्न आएका सुटरको मोटरसाइकल अनियन्त्रित भएर ढलेपछि लाल भागेका थिए । सो सूचना पाएर पनि प्रहरीले वास्ता नगर्दा दोस्रो प्रयासमा लाल मोहम्मद मारिएका छन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप