शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सुनुवाइ समितिले चोलेन्द्रले दोष लगाएका पूर्व र वहालवाला न्यायाधीशबाहेक अन्यसँग बयान लिने

बिहीबार, ३० भदौ २०७९, १२ : ४४
बिहीबार, ३० भदौ २०७९

महाभियोग सिफारिस समितिले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र पूर्व प्रधानन्यायाधीश बाहेकका अन्य व्यक्तिसँग सोधपुछ गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले समितिमा बयानका क्रममा आरोप लगाएका सबैलाई सोधपुछका लागि समितिले बोलाएपछि सर्वोच्चका न्यायाधीश तथा पूर्व प्रधानन्यायाधीशले समितिमा गएर बयान नदिने अभिव्यक्ति सार्वजनिक गरेका थिए ।

पूर्व प्रधानन्यायाधीश अनुपराज शर्मा, सुशीला कार्की, मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठले समितिको बैठकमा नजाने बताएका छन् भने सर्वोच्चका बहालवाला न्यायाधीशले पनि समितिको बैठकमा सहभागी नहुने भन्दै विज्ञप्ति सार्वजनिक गरेका छन् ।  

समितिको बुधबार बसेको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले ४३ वटा प्रश्नको जवाफ दिने क्रममा औल्याएका सर्वोच्चका पूर्व प्रधानन्यायाधीश, बहालवाला न्यायाधीश, नेपाल बार एशोसियसनका पूर्व पदाधिकारीहरु, वरिष्ठ अधिवक्ताहरूलाई समितिमा बोलाउन पत्राचार गरेको थियो । 

समितिमा छलफलका लागि पत्र लेखिएका व्यक्तिका लागि आउनैपर्ने बाध्यकारी सीमा नतोकिएका कारण जो जो आउँछन् उनीहरुको धारणा लिने समितिका सभापति रामबहादुर विष्टले रातोपाटीलाई जानकारी दिए ।  विष्टले भने– ‘उहाँहरुलाई हामीले समितिमा उपस्थित हुनैपर्छ भनेर बाध्यकारी ढंगले पत्र लेखेका हैनौं । उहाँहरुलाई दोष लगाएको हुनाले पछि उहाँहरुले हामीलाई जानकारी गराइएन, सोधिएन भन्नुहोला भनेर जानकारीका लागि भनेर पत्र लेखेका हौँ । उहाँहरुले आउने वा नआउनेमा हाम्रो केही पनि टिका टिप्पणी छैन । तर राणाले नाम लिनुभएका बारका पूर्व अधिकारी, वरिष्ठ अधिवक्तासँग सोधपुछ हुन्छ ।’

आउँदिन भनेर खबर पठाउनेहरू बाहेक अन्य व्यक्तिहरु समितिको छलफलमा आएर आफ्नो कुरा राख्ने अपेक्षा गरेको उनले बताए । महाभियोग सिफारिस समितिको बैठक दिउसो १ बजेका लागि सिंहदरबारमा राखिएपनि सोही समयमा प्रतिनिधि सभाको बैठक पनि परेकोले बैठक केही ढिला गरी सुरु हुने भएको छ । समितिले निलम्बित राणासँग बयान लिइसकेको छ भने अब उनले दोष लगाएका व्यक्तिहरुलाई समितिमा बोलाएर राणाले लगाएको आरोपमाथि सोधपुछ गर्दैछ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप