शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता गठबन्धन ‘म्याच फिक्सिङ’ जस्तो हो, एमालेसँग छलफलमा छौँ : जगन्नाथ पौडेल

बुधबार, २९ भदौ २०७९, १२ : २७
बुधबार, २९ भदौ २०७९

 जगन्नाथ पौडेल आफूलाई कांग्रेसको विद्रोही नेता भन्न रुचाउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले सत्तारुढ गठबन्धनविरुद्ध भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर १४ हजार ७२८ मत प्राप्त गरे । गठबन्धनको साझा उम्मेदवार रेणु दाहालविरुद्ध उनको उम्मेदवारी केन्द्रित थियो ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि पौडेल उम्मेदवारी दिने तयारीमा छन् । यस पटक उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन् । गठबन्धनको विपक्षमा रहेका उनी पार्टीबाट भने कारबाहीमा परेका छन् । यद्यपि, पार्टीले आफूहरुमाथि गरेको कारबाही फिर्ता लिएमा नयाँ परिस्थिति सिर्जना हुने उनको भनाइ छ । यिनै विषयमा केन्द्रित रहेर रातोपाटीले पौडेलसँग संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, पौडेलसँग रातोपाटीका गणेश दुलालले गरेको कुराकानीको सम्पादित अंश– 

तपाईहरुको समूहको उम्मेदवारी चितवन–३ मा मात्र कि अन्य क्षेत्रमा पनि हुन्छ ?

चितवनमा प्रतिनिधिसभा र प्रदेशसभा गरी ९ वटा चुनावी क्षेत्रमा उम्मेदवार उठाउने गरी हामीले होमवर्क गरेका छौं । यहि स्थिति रहेमा हामी सबै क्षेत्रमा उम्मेदवारी दिने गरी अघि बढेका छौं । तपाई के प्रष्ट हुनुस् भने चितवनको संघ र प्रदेशमा गरी ९ वटा क्षेत्रमा हामी चुनाव लड्दैछौं । यस विषयमा हामीले हाम्रो धारणासमेत पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिसकेका छौं । हाम्रो मुल फोकस भने चितवन–३ मै भइरहेको छ । 

उम्मेदवार छनौट पनि भइसकेको छ कि तयारीमात्रै हो ?

कांग्रेसको संस्थापन पक्ष र माओवादी केन्द्रबाहेक चितवनमा अन्य पार्टीको सर्वसम्मत उम्मेदवार बनाउनु पर्छ भन्ने कुरा उठेको छ । हाम्रो समूहका अधिकांश व्यक्तिले सर्वसम्मत उम्मेदवार बनाएर अघि बढ्नुपर्ने सुझाव राख्नु भएको छ । सत्ता गठबन्धन त छँदैछ । अब अर्को गठबन्धन हामीले बनाउनु पर्छ भन्ने हाम्रो समूहको सुझाव हो । सोही अनुसार हामी साझा उम्मेदवार खडा गरेर अन्य राजनीतिक समूह र दलसँग गठबन्धन गरेर अघि बढ्नेबारे छलफलमा छौं । हाम्रो समूहमा रहेका सबैको जोड मलाई नै अघि बढाउने भन्ने छ । समूहको नेतृत्व पनि मैले नै गरेको र गत स्थानीय तहको निर्वाचनमा राज्य शक्ति एकातर्फ लाग्र्दै गर्दा पनि मैले पाएको अस्वाभाविक मत आफैमा एउटा सफलता भएकाले उहाँहरुको जोड मलाई नै अघि सार्ने भन्नेमा छ । अनेक तिकडम र प्रधानमन्त्रीदेखि मन्त्रीहरुको दबाबका बाबजुद पनि हाम्रो समूहले गत निर्वाचनमा सदर÷बदर गरी ३० हजार मत पाउन सफल भयो । अहिले हाम्रो मत पनि बढेको छ ।

यता चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा पनि उम्मेदवारी दिने सोचमा हुनुहुन्छ । गत स्थानीय तहको निर्वाचनमा पनि उहाँले उम्मेदवारी दिने तयारी गर्नुभएको थियो तर पछि उहाँ उठ्नु भएन । उहाँले पनि मलाई नै अघि सार्नु भयो । यो समूहको नेतृत्व मैले गर्ने कुरा थिएन, पछि मेरै भागमा प¥यो । यहाँसम्म आइपुगेका छौं, अब थप अघि बढ्ने हाम्रो तयारी छ । उपयुक्त उम्मेदवार खोजेर खडा गर्छौं । 

के तपाईहरु पनि सत्ता गठबन्धन जस्तै अर्को गठबन्धनको तयारीमा हो ?

हो । हामी सत्ता गठबन्धनको जस्तै अन्य पार्टी र समूहसँग गठबन्धन बनाउने तयारीमा छौं । जस्तै, चितवन–३ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार बन्ने भन्ने कुरा छ । हामीले गठबन्धन गर्दा सो पार्टीभन्दा बाहेकका पार्टीहरुलाई समेटेर गठबन्धन गर्ने भन्ने विषयमा छलफल हुँदैछ । यसमा एमाले पनि सहभागी हुने भन्नेबारे पनि छलफल जारी छ । एमाले पनि हाम्रो समूहसँग एलाइन्स गरेर साझा उम्मेदवार बनाउन इच्छुक रहेको जानकारी आएको र सोही अनुसार छलफल सुरु भएको छ ।

हाम्रो मुख्य ध्यान चितवन क्षेत्र नम्बर–३ मै छ । हामी स–साना राजनीतिक पार्टीहरुलाई हाम्रो गठबन्धनमा समेटेर गठबन्धन बनाउने तयारीमा छौं । चितवनमा क्रियाशील रहेको बिपी कांग्रेस, राष्ट्रिय सुशासन पार्टी, हालै गठन भएको स्वतन्त्र पार्टी लगायतसँग गठबन्धन बनाउने हाम्रो तयारी छ । 

एमालेसँग तपाईहरुको एलाइन्स कति सम्भव छ ?

एमालेको ध्यान पनि त्यसतर्फ छ । गत निर्वाचनमा पनि एमालेले आकलन गरे अनुसारको सफलता हात पार्न सकेन । गत निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा म र सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल उम्मेदवार भएका थियौं । कांग्रेसको बागी उम्मेदवारका कारण गठबन्धनको भोट बाँडिन्छ र आफू विजयी भइन्छ भन्ने एमालेको आकलन थियो । तर, एमालेको आकलन अनुसार नतिजा आएन । रेणु दाहालले एमालेकै भोट पाएर चुनाव जितिन् । यसबाट एमाले पनि मतको चलखेलबारे सजग भएको छ ।

आउँदो निर्वाचनमा हाम्रो समूहसँग भएको मत र एमालेको मत एकै ठाउँमा खस्ने वातावरण बनाउनतर्फ एमालेले छलफलको लागि बाटो सहज बनाएको देखिन्छ । एमाले पनि जित्ने उम्मेदवारलेमात्र चुनाव लड्नुपर्छ भन्ने रणनीतिमा छ । सोही अनुसार एमालेबाट पनि एलाइन्सको प्रस्ताव आएको छ । 

चितवन–३ मा एमालेको उद्देश्य र हाम्रो उद्देश्य मेल खाएका कारण गठबन्धनको सम्भावना छ । एमाले सहितको हाम्रो गठबन्धन बन्यो भने चुनावमा थप रोचकता प्राप्त हुन्छ । 

एमालेसँग गठबन्धन हुँदा तपाईहरु सहयोगी हुने हो वा एमाले तपाईको सहयोगी हुन्छ ?

गठबन्धन प्राविधिक विषय हो । एउटाले सहयोग गरेपछि अर्कोलाई पनि सघाउनु पर्छ भन्ने हो । यस विषयमा एमालेका साथीहरुलाई मैले भनेको छु कि म अहिले स्वतन्त्र व्यक्ति हुँ । मलाई कांग्रेसका मतदाताले भोट त हाल्छन् नै । त्यो सबै मेरो व्यक्तिगत मत हो । तर, एमालेको उम्मेदवारले त मेरो व्यक्तिगत मत पाउने अवस्था बन्दैन । व्यक्तिको मत अर्को व्यक्तिमा ट्रान्सफर हुँदैन । पार्टीको मत भनेको क्याडर मत हो । कुन घरमा कति मत छ भन्ने पार्टीसँग तथ्याङ्क हुन्छ । त्यो मत फलानो व्यक्तिलाई हाल भन्यो भने त्यो मत त्यहाँ खस्छ, एमालेले स्कर्टिङ गरेरै भए पनि जुनसुकै व्यक्तिलाई भोट खसाल्न सक्छ । एमालेको पनि चाहना के छ भने हाम्रो समूहलाई सघाएर सत्ता गठबन्धनलाई हराउने भन्ने छ । म पनि चुनाव जित्ने गरी नै नोमिनेशन गर्ने तयारीमा छु । त्यसैले गठबन्धन भएमा एमालेले हामीलाई सहयोग गर्छ । 

तपाईहरुको उम्मेदवारी गठबन्धनविरुद्ध हो कि प्रचण्ड विरुद्ध हो ?

पहिलो त यो गठबन्धन लोकतन्त्रवादी होइन । त्यो गठबन्धनमा रहेको सबै पार्टी लोकतन्त्रवादी छैनन् । कांग्रेस मात्र लोकतन्त्रवादी पार्टी हो । अन्य सबै कम्युनिस्ट विचारधारका पार्टी छन् । यो गठबन्धनलाई जसरी परिभाषित गरिएको छ, त्यो होइन । त्यो गठबन्धन केही व्यक्तिको पदको सुरक्षाका लागि गरिएको हो । त्यसमा विचार, सिद्धान्त र कार्यकर्ताको एकताको कुरा छैन ।

२०७४ मा जसरी एमालेसँग माओवादी केन्द्रले गठबन्धन गरेर पार्टी एक बनाउने काम भएको थियो । त्यहाँ विचार र सिद्धान्तको मिलन थियो । तर, पनि त्यो गठबन्धन टुटेको हामी सबैलाई थाहा छ । अहिलेको सत्ता गठबन्धनमा त कांग्रेस एउटा विचारधारको र माओवादी केन्द्र, एकीकृत समाजवादी सहित अन्य दलहरु अर्को विचार धाराका छन् । त्यसमाथि पनि त्यो गठबन्धनभित्रै अर्को गठबन्धन पनि विकास भइरहेको अवस्था छ ।

गठबन्धनभित्र पनि कांग्रेस बाहेकका अन्य ४ पार्टीको गठबन्धन बन्ने तयारी भएका छन् । पछिल्ला दिनमा उनीहरु एक पार्टीको रुपमा स्थापित हुने गरी गठबन्धन गर्ने तयारीमा छन् । सत्ता गठबन्धन विकास र समृद्धिको हिसाबले स्वस्थकर छैन । यो गठबन्धन ‘म्याच फिक्सिङ’ जस्तो हो । परिणाम आउनु अघि परिणाम आफ्ना पक्षमा बनाउने खेल हो यो । नेताहरुको आफ्नो स्वार्थको संरक्षणका लागि गरिएको गठबन्धन हो । मुलभूत रुपमा त्यो स्वार्थको गठबन्धनलाई हामीले ब्रेक गर्न खोजेको हो । 

तपाईहरु कांग्रेस जोगाउन भनेर विद्रोह गरेको बताउनुहुन्छ, तपाईहरुले चितवन–३ सहित अन्य क्षेत्रमा उम्मेदवारी दिँदा भोलि कांग्रेसलाई नै घाटा पर्छ कि ?

कांग्रेस जोगाउने विषयमा हामी क्लियर छौं । तपाईलाई एउटा घटना जानकारी गराऔं, केही दिन अघि चितवनमा कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा आउनु भयो । प्रधानमन्त्री आउनुभन्दा अघिल्लो दिन केन्द्रीयस्तरका नेताहरु चितवन झर्नुभयो । उहाँहरुसँग बसेर पार्टीलाई मिलाएर अघि बढ्ने छलफल पनि भयो । कांग्रेसलाई बलियो बनाउनेमा हाम्रो दुई मत नै छैन । हामीले पार्टीको कोर्ष करेक्सन गर्नुप¥यो । कांग्रेसले आफ्ना संगठन र एकतालाई सुदृढ बनाउनु पर्छ । त्यो महत्वपूर्ण पाटो हो । हाम्रो माग पनि त्यही हो । हाम्रो मागलाई स्वीकार गरेर हामीमाथिको कारबाही फुकुवा गर्नेसम्मको छलफल पनि भएको थियो । जिल्लाबाट कारबाही फुकुवाको सिफारिस पनि भइसकेको छ । अब केन्द्रबाट त्यो कुनै बेला आउन सक्ला । बिना सर्त हाम्रो समूहको कारबाही फुकुवा भएर आयो भने त्यसले एउटा नयाँ राजनीतिक परिस्थिति सिर्जना गर्छ । त्यस विषयमा हामी पछि नै धारणा सार्वजनिक गर्छौं । प्रधानमन्त्री आउने दिन नै हामीले एउटा समानान्तर कार्यक्रम पनि तयार गरेका थियौं । तर, मिलेर जाने सहमतिपछि हामीले त्यो कार्यक्रम फिर्ता ग¥यौं । प्रधानमन्त्रीले गठबन्धन विरोधी मानिसहरु लोकतन्त्रवादी हुन सक्दैनन् भनेर जानु भयो । त्यसमा अघिल्लो दिनमा कांग्रेसबाट आएको कमिटमेन्ट पूरा भएन । त्यसपछि हामीले हाम्रो कार्यक्रमहरु पुनः अघि बढायौं । 

तपाईहरुले आफ्नो कारबाही फुकुवाका लागि कांग्रेससँग बार्गेनिङ गर्नुभएको हो ? कारबाहीको विरुद्ध र कारबाही फुकुवाको दबाबका लागि तपाईहरुको उम्मेदवारी हो ?

कारबाही यथावत रह्यो भने त हाम्रो उम्मेदवारी अवश्य कायम रहन्छ नै । हामीलाई मिलाएर जाने भन्ने, अनि त्यो अनुसारको काम नगर्ने भएपछि हामी किन पछि हट्ने ? हामी कांग्रेस नै रहेनौं भने हाम्रो राजनीतिले एउटा बाटो त लिनु पर्छ । कारबाही फुकुवा भयो भने नयाँ परिस्थिति सिर्जना हुन्छ र त्यसमा नयाँ ढंगबाट अघि बढ्नुपर्छ भन्ने कुरा हो । कारबाही फुकुवा गर्नु भनेको हामी गलत छैनौं भन्नु हो । अनि हामीले गत निर्वाचनमा लिएको निर्णय ठिक रहेछ भन्ने कुरा स्थापित हुन्छ नि । त्यो हुँदा भोलिको दिनमा कांग्रेसलाई ठिक ढंगबाट अघि बढाउने जिम्मेवारी पनि हाम्रो हुन्छ, नैतिक रुपमा हामी सबल हुन्छौं । त्यसैले यो बार्गेनिङ भन्दा पनि सही दिशामा कांग्रेसलाई लैजाने पहल हो । यसमा कांग्रेस पार्टी स्वतन्त्र छ । 

त्यसो हुँदा विगतमा रुखमा भोट हाल्न पाउनुपर्ने माग गर्दै विद्रोह गर्नु भएको तपाई कारबाही फुकुवा भएको खण्डमा गठबन्धन स्वीकार गर्न तयार हो त ?

होइन । हाम्रो कारबाही फुकुवाका बारेमा छलफल हुँदा पनि केन्द्रीय प्रतिनिधिबाट सोधिएको प्रश्न के हो भने तपाईहरुको कारबाही फुकुवा हन्छ, त्यसपछि तपाईहरु गठबन्धनको उम्मेदवारलाई स्वीकार गरेर अघि बढ्ने हो ? त्यसमा हामीले क्लियर भनेका छौं । हामी त्यो कुरालाई तत्काल अस्वीकार गरेर कुनै सर्त गर्ने पक्षमा छैनौं । हामीलाई अन्य उम्मेदवार लादेर हाम्रो कारबाही फुकुवा नगर्नुस् भनेका छौं । हामीलाई प्रचण्डलाई भोट हाल्न लगाएर कारबाही फुकुवा हुनु छैन । रह्यो कुरा हाम्रो मागको, हामीले खोजेको के भने नयाँ राजनीतिक बाटो हो । हाम्रो कारबाही फुकुवा हुनु भनेको नयाँ राजनीतिक अवस्थाको सिर्जना हुनु हो । त्यसपछिको विकल्पका बारेमा छलफल गर्न सकिन्छ नि । पार्टी एक ठाउँमा उभिने हो भने चितवन–३ मा प्रचण्डको विकल्प के त भन्ने विषयमा सबैको एक मत हुन सक्छ नि त । प्रचण्डको व्यवस्थापनका बारेमा कुन ठाउँमा जाँदा हुन्छ, त्यस विषयमा छलफल गरेर अघि बढ्न सकिन्छ नि । भोलि कारबाही फुकुवा होला, कांग्रेस केन्द्रले गठबन्धन गर्ने भन्ने निर्णय गरिसकेको छ । त्यसलाई मान्दिन भन्न हामीले मिल्ला तर, फेरि विद्रोह गर्न त मिदैन नि ।

त्यसैले गठबन्धनको निर्णय मान्ने तर चितवनको हकमा जिल्ला तहको निर्णयलाई नै मुख्य विषय बनाएर प्रचण्डको व्यवस्थापनको कुरालाई अघि बढाउनु पर्छ भन्ने हाम्रो कुरा हो । कारबाही फुकुवापछि उत्पन्न हुने परिस्थिति नयाँ हुन्छ, त्यसमा हामी छलफल गर्न तयार छौं । तर, सशर्त रुपमा हुने कारबाही फुकुवा हामीलाई चाहिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप