शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चितवनमा गठबन्धनविरुद्ध जुर्मुराउँदै कांग्रेसको विद्रोही समूह

कांग्रेसले कारवाही फिर्ता लिए सहमति जुट्न सक्ने पौडेलको तर्क
मङ्गलबार, २८ भदौ २०७९, २० : ००
मङ्गलबार, २८ भदौ २०७९

चितवनमा नेपाली कांग्रेसको विद्रोही समूहले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी गरेको छ । चितवनको विद्रोही कांग्रेस समूहले आगामी मंसिर ४ गते हुने निर्वाचनमा चितवनको प्रतिनिधिसभातर्फको ३ र प्रदेशसभाको ६ वटा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गर्ने योजना बनाएको छ ।

विद्रोही कांग्रेसका नेतृत्वकर्ता जगन्नाथ पौडेलका अनुसार आगामी निर्वाचनमा चितवनको प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सबै क्षेत्रमा उम्मेदवार उठाउने गरी तयारी भएको छ ।

सो समूह निर्वाचन क्षेत्र चितवन–३ मा उम्मेदवारी दिन रणनीति निर्माणको तयारीमा जुटेको छ । आफ्नो संघर्ष सत्ता गठबन्धनविरुद्ध भएको भन्दै पौडेलले आगामी निर्वाचनमा चितवनको सबै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएर कांग्रेस जोगाउने अभियानलाई जारी राख्ने बताए ।

मुख्यतः चितवनको निर्वाचन क्षेत्र नम्बर–३ लाई केन्द्रमा राखेर सो समूहले चुनावी अभियान सुरु गर्ने र त्यसलाई विस्तार गर्दै कांग्रेस शुद्धीकरण गर्ने उनको भनाइ छ ।

गत स्थानीय तहको निवार्चनमा पनि कांग्रेसमा विद्रोह गरेर सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेको पौडेलले आइतबार चितवनको भरतपुरमा पत्रकार सम्मलन गर्दै आगामी निर्वाचनमा पनि उम्मेदवार खडा गर्ने घोषणा गरिसकेका छन् ।

विद्रोही समूहका नेतृत्वकर्ता पौडेल चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विरुद्धमा चुनाव लड्ने तयारीमा जुटेका छन् । उनीसँगै कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा पनि प्रचण्डका विरुद्धमा सो समूहबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । तर, शारीरिक रुपमा कमजोर भएका सापकोटाले आफूभन्दा बलियो उम्मेदवार पाएको खण्डमा सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् ।

​चितवनको विद्रोही समूहले पौडेल नै प्रचण्डविरुद्ध लड्ने बलियो उम्मेदवार रहेको भन्दै उनैलाई अघि बढाउने तयारी गरिरहेको स्रोत बताउँछ । गत स्थानीय तहको निर्वाचनमा प्रचण्ड पुत्री रेणु दाहालविरुद्ध भरतपुर महानगरपालिकाको मेयर पदमा सत्तारुढ दल कांग्रेसका शीर्ष नेताहरुको निर्देशन विपरीत उनी प्रतिस्पर्धामा उत्रिएका थिए । सो निर्वाचनमा १४ हजार ७२८ मत पाएर उनी पराजित भएका थिए ।

पौडेलका अनुसार चितवनमा कांग्रेसको बलियो उपस्थिति रहेको बखत पनि गठबन्धनको नाममा भइरहेको कांग्रेस विरोधी खेललाई विफल बनाउन विद्रोही समूहले चुनावी मैदानमा जाने तयारी गरेको हो । सो समूहले चितवनमा क्रियाशील रहेका अन्य दलहरुसँगको एलाइन्समा चुनाव लड्ने तयारी गरिरहेको उनको भनाइ छ ।

सो समूहले उपयुक्त ठानेको खण्डमा चितवन–३ मा चुनाव लड्न एमालेसँग गठबन्धन गर्न सक्ने सम्भावना रहेको र सोही अनुसार छलफल भइरहेको उनले बताए । एमालेले आफूहरुलाई सहयोग गरेमात्र गठबन्धन गर्ने र एमाले पनि त्यसमा सकारत्मक रहेको उनको भनाइ छ ।

सो समूहको उम्मेदवारी गठबन्धनको विरुद्धमा रहेको र चितवन–३ का कांग्रेस कार्यकर्ता र आम मतदाताको ‘रुख’ मा मतदान गर्न पाउनु पर्ने अधिकारलाई सुनिश्चित गर्नु आफूहरुको मुख्य एजेण्डा रहेको पौडेलको भनाइ छ । ‘हाम्रो उम्मेदवारी अनमेल गठबन्धनको विरुद्धमा हो । २०६४ पछि चितवन–३ का कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाएका छैनन् । गठबन्धनको नाममा अधिकार हनन् भएन र ?’ उनले भने, ‘२०७४ मा कांग्रेस धेरै ठाउँबाट पराजित भयो । हिजो एमाले र माओवादी केन्द्रको गठबन्धन थियो । त्यहाँ विचार मिल्यो, पार्टी एक बनाउनेसम्मको कुरा थियो । तर, पनि त्यो सफल हुन सकेन । विचार नै नमिल्ने दलहरुसँग गठबन्धनको नाम कांग्रेसका कार्यकर्ता र मतदातालाई कहिले हलोमा, कहिले हसिया हथौडामा भोट हाल्न बाध्य पार्नु उनीहरुको अधिकारमाथिको हस्तक्षेप हो ।’

त्यसैले कांग्रेसका कार्यकर्ता र मतदाताको अधिकार सुनिश्चितताको लागि आफूहरुले विद्रोह गरेर उम्मेदवारी दिने तयारी गरेको उनको भनाइ छ ।

उनले गत स्थानीय तहको निर्वाचनमा कांग्रेसमा विद्रोह गरेका नेता र कार्यकर्ताहरुको कारवाही फुकुवा गरेर समस्या समाधान गरेर अघि बढ्न सकिने पनि बताए । रुखमा भोट हाल्न माग गरेकै आधारमा कारवाहीमा परेका कार्यकर्ताको कारवाही बिना शर्त फुकुवा गरेर चितवनमा कांग्रेसको उपस्थितिलाई बलियो बनाउन सकिने उनको भनाइ छ । कारवाही फुकुवापछि विकास हुने अवस्थाको आधारमा चितवन–३ बाट प्रचण्डको व्यवस्थापनका बारेमा सोच्न सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप