बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महाभियोगको सामना गरिरहेका चोलेन्द्रले कोमाथि कस्तो आरोप लगाए ?

मङ्गलबार, २८ भदौ २०७९, १५ : २८
मङ्गलबार, २८ भदौ २०७९

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग मंगलबारसम्म चौथो पटक बयान लिएको छ । यसअघि तीन दिनमा सोधिएका ३५ वटा प्रश्नको जवाफ दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतका न्यायाधीश, पूर्व न्यायाधीश, पूर्व प्रधानन्यायाधीश र वकिलहरुमाथि उनले विभिन्न लाञ्छना लगाएका छन् । जबराले महाभियोग सिफारिस समितिलाई जवाफ दिने क्रममा प्रश्नको जवाफमात्रै दिएका छैनन्, आफूलाई निलम्बनमा पार्न ‘बाध्य गराउनेहरु’प्रति रोष प्रकट गर्दै कुण्ठासमेत पोखेका छन् ।

समितिलाई बयान दिने क्रममा जबरा सबैभन्दा रुष्ट सर्वोच्चकै न्यायाधीशप्रति रहेको स्पष्ट बुझिन्छ भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनी नतमस्तक रहेको उनकै अभिव्यक्तिले देखाउँछ । केपी ओली ‘साँच्चिकै दुरदर्शी नेता रहेको’ उनले बताएका छन् ।

जबराले नेपाल बार एशोसिएशनका तत्कालीन अध्यक्ष चन्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य तथा केही वकिलप्रति तुच्छ टिप्पणी गर्दै उनीहरुले न्यायाधीशमा भाग नपाएको, अदालतमा सेटिङ गर्न नपाएको कारण आफ्नो विरोध गरेको आरोप लगाएका छन् ।

सत्ता गठबन्धनप्रति पनि रुष्ट देखिएका जबराले आफ्नै तजबीजमा संसद विघटनसम्बन्धी मुद्दा हेर्न पाएको भए विघटन सदर हुने आशयको अभिव्यक्ति पनि दिएका छन् ।

सबैप्रति यतिविघ्न रुष्ट भए पनि जबरा कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीप्रति भने त्यति रुष्ट देखिएका छैनन् । बरु कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की तथा सिनियर न्यायाधीशहरु मीरा खड्का (तत्कालीन न्यायाधीश), ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत लगायतले उचालेको बयान दिएका छन् ।

सुरुदेखिकै बयानमा दीपककुमार कार्कीलाई उचाल्नमा हालका वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की, तत्कालीन न्यायाधीश मीरा खड्का, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संलग्नता रहेको उनको भनाइ छ ।

निलम्बित प्रधानन्यायाधीश जबराले कसैलाई छिटो प्रधानन्यायाधीश बन्ने रहर लागेर आन्दोलन गरेको भने पनि त्यसको आशय दीपककुमार कार्कीभन्दा पनि हरिकृष्ण कार्कीप्रति बढी लक्षित देखिन्छ । दीपककुमार कार्कीलाई अन्य ९ जना न्यायाधीशले चलाएको र उनी ईण्डियन ‘रबर स्ट्याम्प’ मात्रै बनेको आशयको प्रतिक्रिया जबराको थियो ।

जबराले महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा पनि न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का (तत्कालीन न्यायाधीश), हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतकै कारण आफूमाथि महाभियोग लाग्ने अवस्था आएको बताएका छन् । यद्यपि जबराले वरिष्ठताको चार नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ७ नम्बरमा रहेका अनिलकुमार सिन्हा र ९ नम्बरमा रहेकी सपना प्रधान मल्लको नाम भने लिएका छैनन् ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्व न्यायाधीश समाजका केही व्यक्तिलाई ‘मण्डले’ संज्ञा दिँदै उनीहरुले भाग नपाएको कारण रडाँको मच्चाएको आरोप लगाएका छन् । पूर्व न्यायाधीश समाजमा टोप बहादुर सिंह, पवन कुमार ओझा, शम्भु खड्का लगायतका व्यक्तिहरु रहेको र उनीहरु घनघोर मण्डले रहेको कारण उक्त समाज वा फोरमले लगाएको आरोपलाई महत्व दिन नहुने भन्दै उनले पूर्व न्यायाधीश फोरमका आरोपबारे जवाफ दिनै चाहेनन् । उक्त फोरमले अहिले पनि न्यायालयमा आफ्नो अस्तित्व खोजेको र आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर गैरकानुनी माग राख्ने गरेको आरोप जबराले लगाएका छन् ।

जबरा त्यतिमै सीमित भएनन् । पूर्व प्रधानन्यायाधीशहरु प्रति पनि उनी उत्तिकै आक्रोशित र रुष्ट देखिए । पूर्व न्यायाधीश र पूर्व प्रधानन्यायाधीशहरु पूर्व भइसकेपछि पनि मध्यभागमा बस्न खोज्दा समस्या उत्पन्न भएको जबराको आरोप छ । पूर्व प्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की लगायतले अहिले पनि भाग खोजेको र आफूहरुले भाग नदिँदा आफूमाथि जाइलागेको बयान जबराले दिएका छन् ।

आइतबार महाभियोग सिफारिस समितिलाई दिएको बयानमा जबराले भनेका छन्, ‘पूर्व भएपछि पूर्वमै बस्नुपर्ने हो, तर उहाँहरु मध्यमै (पावर सेन्टर) बस्न खोज्नुभयो । समस्या त्यहीँ हो ।’

बयानका क्रममा जबराले अगाडि भनेका छन्, ‘पूर्व न्यायाधीश समाज र पूर्व प्रधानन्यायाधीशहरुमा आफू पूर्व भइसकेपछि पनि प्रवृत्तिमा सुधार आएन । उहाँहरुले आफूलाई जहिले पनि न्यायाधीश नै ठान्नुभयो । सर्वोच्चको न्यायाधीशले अन्त हेर्न नपाएपछि हेर्ने भनेको अदालतमै हो र त्यहाँ पनि तीन चिजमात्रै हेर्ने हो । पहिलो, मुद्दामा इन्ट्रेष्ट, अर्को न्यायाधीश नियुक्तिमा इन्ट्रेष्ट र अर्को न्यायाधीश सरुवामा इन्ट्रेष्ट । यही भूमिकामा रहिरहन पाउँ भन्ने उहाँहरुको चाहना हो र यही आधारमा न्यायाधीश समाजले, बारले र पूर्व प्रधानन्यायाधीशहरुले विरोध गरेका हुन् । पूर्व प्रधानन्यायाधीश भनेर सबै हुनुहुन्न, उहाँहरु ४ जना हुनुहुन्छ उहाँहरुले पटकपटक विज्ञप्ति निकालिरहनु हुन्छ । जब मैले उहाँहरुको इन्ट्रेष्टलाई महत्व दिइनँ, त्यसपछि उहाँहरु विज्ञप्ति निकाल्न थाल्नुभयो ।’

उनले अगाडि भने, ‘अदालतपछि पूर्व न्यायाधीश र पूर्व प्रधानन्यायाधीशहरुको चाहना भनेको राष्ट्रिय मानव अधिकार आयोगमा अध्यक्ष बन्ने पनि रहेछ । यहाँ महत्वपूर्ण संस्था भनेको दुईवटा रहेछ, एउटा राष्ट्रिय मानव अधिकार आयोग र अर्को अख्तियार दुरुपयोग । मानव अधिकारमा अध्यक्ष हुन चाहने पूर्व प्रधानन्यायाधीशहरुको लर्को रहेछ, कल्याण श्रेष्ठ, मिन बहादुरजी हरुको । त्यो मैले गर्न सकिनँ । त्यसैको कारण मेरो विरुद्धमा विज्ञप्तिहरु आएका हुन् ।’

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारको बयानका क्रममा केही वरिष्ठ अधिवक्ता र अधिवक्ताका कारण आफूमाथि महाभियोग लागेको पनि आरोप लगाएका छन् । सर्वोच्च अदालतमा पहिले ७–८ जना वरिष्ठ अधिवक्ताहरुको गिरोह रहेको र त्यस गिरोहले सर्वोच्चमा सिण्डिकेट चलाएको उनको आरोप छ । आफू प्रधानन्यायाधीश भएपछि त्यो गिरोहको सिण्डिकेट हटाएको र त्यसपछि मात्रै महिला तथा युवा अधिवक्ताहरुले बहसको अवसर पाएको जबराले दावी गरे ।

जबराले भनेका छन्, ‘हिजोको कालमा पनि महाअभियोगको नेतृत्व रमणजीले लिनुभएको थियो, आज पनि रमणजीले लिनुभएको छ । उहाँको हरेक चीज हेर्दा हुन्छ । त्यसकारण अहिले मलाई जे आरोप लगाइएको छ, यो आरोप उहाँहरुको कुण्ठाको, उहाँहरुको सर्वोच्च अदालतमा भूमिका खेल्न नपाएको, न्यायाधीश नियुक्तिमा भूमिका खेल्न नपाएको, मुद्दामा चलखेल गर्न पाउनुभएन उहाँहरुले, अनि यो आरोप आयो । उहाँहरु त एउटा ग्रुपमा बस्नुहुन्थ्यो । त्यो ग्रुपलाई मैले तोडिदिएका कारणले गर्दा यो आयो । त्यसकारण मलाई महाअभियोग लाग्नुपर्ने कारण र आधार छैन ।’

त्यसैगरी आफूमाथि सम्पत्ति शुद्धीकरणको रिट दर्ता गर्न जानेमा सुरेन्द्र भण्डारी र ओमप्रकाश अर्याल रहेको भन्दै ओमप्रकाशको श्रीमतीलाई न्यायाधीश नबनाइदिएकै कारण आफूमाथि रिस साँधेको आरोप जबराले लगाएका छन् ।

जबराले भनेका छन्, ‘सम्पत्ति शुद्धीकरणको रिट दिन सुरेन्द्र केसीजी जानुभएको थियो क्यारे । त्यसमा जानुहुने अधिवक्ता ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओम प्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ । उहाँलाई अहिले काठमाडौं महानगरपालिकाका मेयर बालेनजीले कानुनी सल्लाहाकारमा नियुक्त गर्नुभएको छ, पत्रिकामा मैले पढेको थिएँ । मैले अस्ति पनि भने नि, बारको अध्यक्ष चण्डेश्वरजीले दुई चोटी न्यायाधीशको सिफारिस गर्नुभएको दुवै चोटी मैले इन्कार गरेको हो भनेर । पुनदेवी महर्जनजी हुनुहुन्थ्यो, मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी ओमप्रकाश अर्यालजीको अर्धाङ्गिनी हो । यति भन्दाखेरी नै पुगिहाल्छ । यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभयो । सम्पत्ति शुद्धीकरणले यो निरर्थक हो भनेर निर्णय नै गरिसकेको छ ।’

रेणुका साहको बचाउ

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्याय परिषद्ले गरेको रेणुका साहको बर्खास्तीमा पनि आपत्ति जनाएका छन् । आफू प्रधानन्यायाधीशमा बहाल रहेकै अवस्थामा हरिकृष्ण कार्की वरिष्ठतम् न्यायाधीश बन्न नसक्ने र उनी संलग्न भएर गरिएको निर्णय पनि कानुनसम्मत नहुने जबराको तर्क छ ।

तत्कालीन समयमा कानुनमा स्नातक गरी १० वर्ष सोही क्षेत्रमा काम गरेको व्यक्ति न्यायाधीशमा योग्य हुने व्यवस्था अनुसार आफूले साहलाई न्यायाधीशमा नियुक्त गरेको उनको जिकिर थियो ।

आफैले नियुक्ति दिएको संस्थाले फेरि अयोग्य भन्दै अवकाश दिन नमिल्ने तर्कसमेत जबराको छ । पहिलेका न्यायाधीश वा प्रधानन्यायाधीश संलग्न भएर गरेको न्यायाधीश नियुक्तिको निर्णयलाई उल्टाउने हो भने कानुनी राज नहुने र न्याय मर्ने जबराको तर्क थियो । तत्कालीन समयमा हालका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की पनि सदस्य रहेको कारण पहिले के हेरेर बसेको भन्नेसम्मको प्रतिप्रश्न जबराले गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप