चुनाव

२०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको पर्चा: थारु भाषामै पहिलो लिखित दस्तावेज !

person explore access_timeभदौ २८, २०७९ chat_bubble_outline0

देश चुनावमा होमिएको छ । यतिबेला पहिलेका चुनावका प्रसङ्ग पनि खोतलिन थालेका छन् । दंगाली मित्र सुदीप गौतमले केही पहिले सामाजिक सञ्जाल फेसबुकमा संयुक्त प्रजातन्त्र पार्टीको २०१५ सालको पर्चा पोस्ट गरेका थिए, जुन थारु भाषामा थियो । त्यसबेला खासै वास्ता गरिएन । 


तर थारु भाषा साहित्यको इतिहास केलाउँदै जाँदा २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको पर्चा हालसम्म प्राप्त थारु भाषामै पहिलो लिखित दस्तावेज हुने देखिएको छ । 



नेपाल प्रज्ञा प्रतिष्ठानका लागि ‘थारु साहित्यको इतिहास’ (२०७३) लेख्ने क्रममा प्रकाशित थारु पुस्तकको सूची बनाउँदा यो पङ्क्तिकारले बढ्वा थारुको बढक्क जोर्नी (२००७) तथा जीवराज शर्माको हम्र ओ हमार बन्वा (२०१५/२०१६) गीत सङ्ग्रह क्रमशः पहिलो तथा दोस्रो प्रकाशित पुस्तक भनी सूचना प्राप्त गरेको थियो । तर यी दुवै कृति अपर्याप्त छन् । हालसम्म यसको एक प्रति पनि फेला पार्न सकिएको छैन । 



त्यसैले, चौधरी रुपलाल महतो तथा बदरीनाथ योगी (दाङ) ले २०१६ सालमा सङ्कलन तथा प्रकाशन गरेको ‘दंगीशरण कथा बड्किमार, गुरुबाबाकि जन्मौती’ लोककाव्य नै हालसम्म प्राप्त थारु भाषाको पहिलो कृति मानिन्छ । प्रकाशकका तर्फबाट बदरीनाथ योगी र नियमनाथ योगीको तर्फबाट लेखिएको थारु तथा नेपाली भाषाको भूमिकाको तल मिति १२/१२/१२ लेखिएको छ । अर्थात् यो कृति २०१२ सालमै सङ्कलन भएर चैत १२ गते छापिनलाई तयार थियो । तर विविध कारणवश २०१६ सालमा आएर मात्रै यसको प्रकाशन सम्भव हुन सक्यो । 

यस हिसाबले २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको पर्चै भए पनि थारु भाषामा हालसम्म प्राप्त पहिलो लिखित दस्तावेज देखिन्छ । किसान भाइ हो भनेर सम्बोधन गरी यसको शीर्षक ‘धानक बाला’ राखिएको छ, जुन यस पार्टीको चुनाव चिन्ह थियो ।  

‘किसानहरुले पसिना चुहाएको प्रतिफल धानको बाला हो । यही धानको बालाले हाम्रो देशका पचासी लाख मान्छेको ज्यान पालेको छ,’ पर्चामा उल्लेखित यस तथ्याङ्कले त्यसबेलाको नेपालको जनसङ्ख्या ८५ लाख हाराहारी रहेको इंगित गर्छ । 

‘हमार देशमा सकुनसे धेर मनई जग्गा जोतना बाट,’ अर्थात् हाम्रो देशमा सबैभन्दा बढी मान्छे जग्गा जोत्ने रहेका छन् भनेर किसानहरुलाई सम्बोधन गर्दै भनिएको छ, ‘गरिब किसनका छोराछोरी, श्रीमतीहरू पसिना चुहाएर उब्जाएको धानको बालामा आज राणा शासकहरूले मोज गरे । हामी किसानका हक बलजफ्ति दबाएर राखे । दाजुभाइहरू, धानको बालाको मजा लिनु छ, आफ्नो पसिनाको फल आफै खानु छ, धानको बाला छरेको खेत आफ्नो बनाउनु छ ।’

स्मरण रहोस्, २०१५ सालको चुनावमा काँग्रेसले पनि जसको जोत, उसको पोत नारा ल्याउँदै जग्गामा जोत्नेकै हक लाग्ने भनेको थियो । 

लगैना, खैना चिज सस्ता बनैना बा कहलेसे अर्थात् लगाउने, खाने चिज सस्तो बनाउनु छ भने धानको बाला चिन्हमा भोट हाल्न पर्चामा अपिल गरिएको छ । 

​‘गरिब किसानका नेता डाक्टर के आइ सिंह ११० दश दिनसम्म सरकारमा रहेको बेला गरिब दाजुभाइहरूको भलाइको लागि के के गरे, यो तपाईंहरुलाई थाहै छ,’ पर्चाको पुछारमा भनिएको छ, ‘आफ्नो हक लिनु छ, देशभर बाटो बनाउनु छ, स्कुल, अस्पताल बनाउनु छ । र, देशको उन्नति गर्नु छ भने संयुक्त प्रजातन्त्र पार्टीको चुनाव चिन्ह धानको बाला चिन्हमा वोट डारक जितायक होई (भोट हालेर जिताऔँ) ।’

दंगाली थारु मतदातालाई सम्बोधन गर्न लखनउमा छापिएको यस पर्चामा कुनै मिति उल्लेख छैन । २०१५ सालको चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नं ६२ दाङदेउखुरी दक्षिण पूर्वबाट टीकाबहादुर थापा उम्मेदवार थिए । थापा १५९९ भोट ल्याई चुनावमा तेस्रा भए, त्यहाँबाट परशुनारायण चौधरी १२,७३७ भोट ल्याई नेपाली काँग्रेसबाट विजयी भए । चौधरी वीपी कोइराला मन्त्रीमण्डलमा शिक्षामन्त्रीसम्म भए ।

त्यस्तै, सोही चुनावमा संयुक्त प्रजातन्त्र पार्टीको तर्फबाट निर्वाचन क्षेत्र नं ८० सल्यान दक्षिण पूर्व फलाङ राज्य दाङ उत्तर पश्चिमबाट तीर्थराज शर्मा उम्मेदवार थिए । शर्मा १८५२ भोट ल्याई चुनावमा दोस्रा भए, त्यहाँबाट नेपाली काँग्रेसका गणेशकुमार शर्मा ८,८७७ भोट ल्याई नेपाली काँग्रेसबाट विजयी भए ।

दाङमा थापा र शर्मा उम्मेदवार भएको संयुक्त प्रजातन्त्र पार्टीले त्यसबेलै थारु भाषामा पर्चा छापेर मतदाता फकाउने उपाय गरे पनि नेपाली काँग्रेसका परशुनारायण चौधरीले आफ्नो मातृभाषा थारुमा पर्चा छापेको देखिएन । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।