शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

व्यवसायी अमित श्रेष्ठलाई १५ लाख धरौटीमा छाड्न आदेश

आइतबार, २६ भदौ २०७९, २१ : २०
आइतबार, २६ भदौ २०७९

व्यवसायी अमित श्रेष्ठलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न गरेको आदेशविरुद्ध श्रेष्ठले पुनरावेदनको निवेदन दिएका थिए ।

सो निवेदन उपर सुनुवाई गर्दै न्यायाधीश राजेन्द्र खरेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले उनलाई १५ लाख धरौटीमा छाड्न आदेश गरेको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले रातोपाटीलाई बताए । कट्टेलका अनुसार श्रेष्ठले धरौटी रकम बुझाइसकेका छन् ।

न्यायाधीश  खरेल र पोखरेलले श्रेष्ठलाई बिहीबार थुनामुक्त गर्न आदेश गरेका हुन् । राष्ट्र बैंक ऐन विरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनलाई साउन २४ मा पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको थियो ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएर मुद्दा दायर गरेको थियो । राष्ट्रबैँकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ अनुसन्धान निष्कर्षसहित वकिल कार्यालयले उनलाई ७ वर्ष कैद र जरिवाना हुन मागदाबी लिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो । डिजिल फरेन्सिक ल्यावमा उनको ल्यापटप र मोवाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार मूल्य बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको थियो ।

प्रहरीले क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । तर, श्रेष्ठले क्रिप्टो करेन्सीको कारोबार गरेको भेटिएन । तर, उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी बैंकमा डलर कारोबार गरेको भेटिएको छ । अष्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडा र नेपालको नविल बैंकमा उनले डलर कारोबार गरेको फरेन्सिक परीक्षणबाट देखिएको छ । अमेरिकन डलर मात्रै उनले ३३ करोडभन्दा बढीको कारोबार गरेका छन् । राष्ट्र बैंकको अनुमति बिना विदेशी विनिमय सम्बन्धी कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप