शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिप्टोकरेन्सी : अमित श्रेष्ठले ३३ करोड बढी विदेशी मुद्राको कारोबार गरेको खुलासा

मङ्गलबार, १० साउन २०७९, १२ : ०२
मङ्गलबार, १० साउन २०७९

क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठको मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट आएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो ।

डिजिटल फरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । सो रकम तथा कारोबार शंकास्पद देखिएकाले श्रेष्ठलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को कसुरमा अनुसन्धान शुरु गरिएको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । यसअघि प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखेको थियो ।

अष्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडा र नेपालको नबिल बैंकमा उनले डलर कारोबार गरेको फरेन्सिक परीक्षणबाट देखिएको छ । कारोबार भएका अधिकांश रकम अमेरिकी डलर भएको बताइएको छ । राष्ट्र बैंकको अनुमति बिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।

प्रहरीले उनलाई बैंक तथा वित्ति संस्था सम्बन्धी ऐन–२०७३ (१०३) को ‘ग’ र ‘घ’ सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ । सो ऐनको ‘ग’मा बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्रको शर्त सीमा विपरित हुने गरी बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न नहुने र ‘घ’ मा  इजाजत बिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न नपाउने व्यवस्था छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीका साथै लाजिम्पाटमा उनको जग्गा र पानीपोखरीमा अपार्टमेन्ट छ । सो सम्पत्तिको बजार मूल्य ४ करोड भन्दा बढी हुने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप