सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

आत्महत्याको समाजशास्त्र  ​र नेपाल

शनिबार, २५ भदौ २०७९, १३ : २४
शनिबार, २५ भदौ २०७९

आज सेप्टेम्बर १०, अर्थात्  विश्व आत्महत्या रोकथाम दिवस। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा प्रकाशित एक रिपोर्टअनुसार  आत्महत्याका कारण विश्वमा प्रत्येक वर्ष ७ लाखभन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।  जसमध्ये ७७ प्रतिशत भन्दा बढी आत्महत्याका घटना नेपाल जस्ता कम तथा मध्यम आय भएका देशहरूमा हुने  गरेको छ। डब्ल्यूएचओको महानिर्देशक डा. टेड्रोस आधानोम गेब्रीयससले  विश्वमा प्रत्येक ४० सेकेन्डमा १ जनाले आत्महत्या गर्छन् र प्रत्येक ३ सेकेन्डमा एक जनाले आत्महत्याको प्रयास गर्छन् भने अलजजिरामा लेख्नुहुन्छ ।

विश्वमा आत्महत्या गर्नेको उमेरलाई हेर्ने हो भने १५ देखि २९ वर्षसम्मका किशोर किशोरीको मृत्युको दोस्रो कारणको रूपमा रहेको छ - आत्महत्या । एक वर्षमा ८ लाखले आत्महत्या गर्छन् । यो सङ्ख्या वर्षेनी बढ्दो क्रममा छ । सबैभन्दा डरलाग्दो तथ्याङ्क त अझ के हो भने गएको ५० वर्षमा युवामा आत्महत्याको दर तीन गुणाले बढेको छ।

नेपालमा भने आत्महत्याले अत्यन्त  डरलाग्दो र भयावह  रूप लिँदै आएको  छ। संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौँ स्थानमा पर्छ। नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्याङ्कलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्सेनि औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यसर्थ, आत्महत्या नेपालको एक राष्ट्रिय समस्या हो , मानिसको अस्वाभाविक मृत्युको एक प्रमुख कारक हो भन्नेमा मतान्तर नहोला ।

आत्महत्याको समाजशास्त्र

मानिसले आत्महत्या किन गर्छ भने सन्दर्भमा जवाफ दिने दुई प्रमुख व्याख्याका औजारहरू रहेको देखिन्छ । पहिलो, मनोवैज्ञानिक दृष्टिकोण र दोस्रो समाजशास्त्रीय दृष्टिकोण । मनोवैज्ञानिक दृष्टिकोणका संस्थापक अस्ट्रियाली मनोचिकित्सक तथा मनोवैज्ञानिक सिग्मन्ड फ्रायड ( सन् १८५६-१९३९ ) हुन् भने समाजशास्त्रीय आलोकमा आत्महत्याको विश्लेषण गर्ने प्रथम अध्येता फ्रेंच समाजशास्त्री इमाइल दुर्खिम( सन् १८५८-१९१७ ) हुन् ।

संरचनात्मक प्रकार्यवादी विचारका प्रतिपादक तथा समाजशास्त्रका चार स्तम्भमध्येका  एक मानिने  इमाइल दुर्खिमले आफ्नो पुस्तक ‘ सुसाइड ( सन् १८९७ ) ’ मा  व्यक्तिले आत्महत्या गर्नुमा समाज दोषी भएको विचार प्रकट गर्दछन्  । दुर्खिमका अनुसार आत्महत्या व्यक्तिगत मुद्दा नभएर सामाजिक मुद्दा वा घटना  हो। आत्महत्या गर्न बाध्य हुनुको कारण सामाजिक परिबन्द हुन्छ  । त्यो समाजको मूल्य-मान्यता हो । समाज अर्थात् समाजका विभिन्न संरचना, अङ्गहरू जसले मानिस र उसको दैनिकीलाई असहज बनाइरहेको छ, त्यस्ता पक्षका विभिन्न आयामहरूको प्रभाव आत्महत्याको निर्णयमा पर्छ । समाजसँग सहज रूपमा समायोजन हुन नसक्दा सामाजिक समस्या देखिन्छन्, त्यसको प्रकटीकरण नै आत्महत्या हो । त्यसैले दुर्खिम  भन्छन्, “समाजशास्त्रीय विश्लेषणका गरेर मात्र आत्महत्याको समस्यालाई निराकरण गर्न सकिन्छ।

दुर्खाइमले आत्महत्या व्यक्तिको मानसिक, वंशाणुगत  वा हर्मोनिक परिस्थितिको निर्माण होइन , बरु  उसका सामाजिक सम्बन्धहरूको उपज भएको दाबी गर्छन् । उनले आत्महत्यालाई सामाजिक परिघटना भनेका छन् । आत्महत्या सामाजिक, सांस्कृतिक, आर्थिक एवं राजनीतिक कारणले हुन्छ, मानसिक कारणले मात्र हुँदैन । युरोपेली समाजमा आत्महत्याको विभिन्न तथ्याङ्कलाई अध्ययन गर्दा समाजको प्रकृति, सामाजिक- आर्थिक धरातल, धार्मिक समूह, वैवाहिक अवस्था , उमेर समूह इत्यादिजस्ता सामाजिक तथ्यहरूले आत्महत्या हुनुमा निर्णायक भूमिका निर्वाह गर्ने दुर्खिमको निचोड रह्यो । यसरी आत्महत्याको बहसमा एक नयाँ दृष्टिकोणको आरम्भ भयो, जुन परम्परागत धारणाको कसीमा हेर्दा एक सशक्त , अर्थपूर्ण र तार्किक बौद्धिक हस्तक्षेपको रूपमा रहेको थियो ।

तत्पश्चात् समाजशास्त्रीहरूको एक खेमाले समाजइतर विषयको रूपमा ग्रहण गरिएको आत्महत्याको पूर्ववर्ती मान्यतालाई परित्याग गरी आत्महत्याको समाजशास्त्रको अध्ययन, अनुसन्धान र उन्नयन गरेर दुर्खिमको निचोडलाई अझ व्यापक बनाउने काम गरे । यस सम्बन्धमा सिद्धान्तलाई सिद्ध गर्ने खालका विभिन्न अध्ययनहरूको निष्कर्ष रह्यो । सोही सन्दर्भमा लेखक सुजीत मैनालीले आत्महत्याको समाजशास्त्र विषयक एक लेखमा  धार्मिक जीवनमा बढी सक्रिय हुने समुदायका मानिसले कम आत्महत्या गर्ने देखिएको उदाहरण पेस गरेका छन् । त्यस्तै, विवाहितभन्दा छोडपत्र भएकाले, धनीभन्दा गरिबले, रोजगारभन्दा बेरोजगारले, मद्यपान नगर्नेभन्दा गर्नेले, गाउँवासीभन्दा सहरवासीले, महिलाभन्दा पुरुषले, विपरीत लिङ्गीप्रति आकर्षित हुनेभन्दा समलिङ्गीले बढ्ता आत्महत्या गर्छन् भन्ने अनुसन्धानसिद्ध निचोड भएको मैनालीले लेखेका छन्।

भन्नुको तात्पर्य - आत्महत्या कुनै व्यक्तिको व्यक्तिगत असफलताले गर्दा होइन की  अपरिपक्व र असक्षम  सामाजिक-राजनीतिक व्यवस्थाको उपज हो । यस भनाइलाई पुष्टि गर्ने क्रममा मैनालीले मित्र राष्ट्र भारतमा हरेक वर्ष हजारौँ विपन्न किसानले आत्महत्या गर्नु पछाडिको समाजशास्त्रलाई उल्लेख गरेका छन्  । ऋणको गलपासो लागेका, सिँचाइको सुविधा नपुगेको जमिनमा खेतीपाती गर्ने विपन्न किसानहरूमा  आत्महत्याको  दर बढी हुनुमा राज्यको  असमान वितरण प्रणाली अथवा कृषिमैत्री नीति तथा कार्यक्रमको अभावलाई मान्नुपर्ने लेखेका छन् । यसै गरी मुस्लिम राष्ट्रहरूमा आत्महत्या दर निकै कम देखिन्छ , उक्त ‘रिलीजन’ को धार्मिक कानुनले आत्महत्यालाई ठुलो अपराधको रूपमा घोषित गर्नुले यसो भएको अनुमान लगाउन सकिन्छ । 

​ नेपाली समाजमा दुर्खिमलाई खोज्दा

प्रयुक्त दुर्खिमको सिद्धान्तलाई नेपाली समाजको सापेक्षतामा हेर्न सकिन्छ, त्यसका पर्याप्त आधार  छन् । जस्तै - कोरोनाकालिन समाजशास्त्र । कोरोना महामारीको बखत नेपालमा आत्महत्याको दर अप्रत्याशित रूपले बढेको थियो, त्यसको धेरै कारणहरू हुन सक्लान् तर त्यसमध्ये सामाजिक दूरी अथवा सामाजिक जीवनमा आएको असहजता पनि हो । समाज एकीकृत नहुँदा अथवा स्वाभाविक सामाजिक प्रणालीमा अनपेक्षित परिस्थिति निर्माण हुनुले आत्महत्याको सङ्ख्या एक्कासि वृद्धि भएको थियो, जसले दुर्खिमको मान्यतालाई सप्रमाण पुष्टि गर्छ ।

नेपाली समाजको विभेदकारी संरचनात्मक धरातलको आलोकमा पनि आत्महत्याको प्रसंगलाई चर्चा गर्ने बौद्धिक साहस गर्न सकिएला । नेपाली समाजमा ऐतिहासिक तवरमा अपहेलित , प्रताडित र उपेक्षित बहुसङ्ख्यक महिला, गरिब, किसान, दलित, आदिवासी, सामाजिक र आर्थिक पछौटेपनका शिकार भएका वर्गहरूमा तुलनात्मक रूपमा आत्महत्या व्यापक छ, यसो हुनुमा सामाजिक असमानता प्रमुख कारक हो । यस्ता वर्ग-समुदायहरुको राष्ट्र-निर्माणको प्रक्रियामा समुचित र समानुपातिक ढंगले एकीकरण हुन नसकेकोले अथवा राज्यको सामाजिक सत्तामा केही सीमित वर्गको मात्र आधिपत्य हुनुले उक्त समुदायहरूमा आत्महत्याको ‘ क्रेज ‘ बढी देखिएको हो ।उपरोक्त विषयवस्तुलाई सरलीकृत रूपमा बुझ्नुपर्दा ,देशमा एउटा गरिब किसानले आत्महत्यामार्फत आफ्नो बहुमूल्य जीवनलाई समापन गर्ने परिस्थितिमा पुग्छन् भने यसमा निजको व्यक्तिगत मानसिक अपरिपक्वतालाई दोषी ठहर गर्न मिल्दैन , बरु राज्यको नीति र विधिको असक्षमता हो भन्ने बुझ्नु समजशास्त्रीय चेतनासम्मत हुन्छ ।

अर्को सन्दर्भलाई पनि जोडौं - नेपालमा अनुसन्धानको क्रममा प्रहरीको  हिरासत गृहमा राखिएका थुनुवाहरूले  आत्महत्या गरेको समाचारहरू लगातार आइरहन्छन् । यस्ता कतिपय घटनामा प्रहरीले यातना गरी हत्या गरेको तर आत्महत्याको कृत्रिम अवस्था खडा गरेको आरोप पनि नलागेको होइन । हिरासत कक्षमा आत्महत्याको तथ्याङ्कलाई दृष्टिगोचर गर्ने हो भने त्यसमा अधिकांश मधेसको दलित मध्येको पनि महादलित मानिनुपर्ने मुसहर, डोमलगायतका समुदायहरू देखिन्छन् । सामाजिक रूपमा अस्वीकृत तथा बहिष्कृत समुदायमा आत्महत्या गर्ने प्रवृत्ति तुलनात्मक रूपमा बढी देखिन्छ, यो कहीँ न कहीँ दुर्खिमको विचारबाट समर्थित छ।

नेपाली समाजको सामाजिक सत्ता र त्यसले निर्माण गरेका ‘ स्टेरियोटाइप ‘ का बलमा सिर्जित ‘ स्टैन्डर्ड’ सँग मेल नखाएकै कारण, कानुनले नरोकेको अन्तर्जातीय प्रेम-विवाहका पक्षहरूलाई समाजले अस्वीकार गरिदिँदा आत्महत्याको जानलेवा मार्गमा कोही  हिँड्न बाध्य हुन्छन् । त्यही सामाजिक सत्ताको उपज ‘ ग्रेडिङ प्रणाली ‘ र ‘ पास/फेल’ को कठघरामा पर्दा कम अंक आयो भनेर भविष्यका कर्णधार विद्यार्थीहरू  आत्महत्या गरेर आफूले सधैँको लागि जीवनको परीक्षामा फेल हुन्छन् , जीवनको अर्को परीक्षामा सामेल नै  हुन पाउँदैनन् ।  

हामी समाजको अदृश्य शासक, सत्ता र न्यायाधीकरणबाट कथित इज्जत, मानसम्मान, प्रतिष्ठा  र ओहोदाको अपेक्षा गर्छौँ। सबैको लागि सम्मानित, आदरणीय र प्रेरक बन्ने व्यग्र चाहना राख्ने गर्छौँ । सामाजिक केन्द्रीयताको खुनखोर पिपासु नै छौँ हामी । यो एक प्रकारको समाजपरक मनोरोग नै हो । त्यसैले, आत्महत्या त हाम्रो समाजले कोरी दिएको कथित लक्ष्मण रेखाको उल्लङ्घन गरेको नतिजा हो, समाजद्वारा स्थापित अवैज्ञानिक नियमको समानान्तर हुन नसक्नुको परिणिती हो ।

 निष्कर्ष

एउटा व्यक्तिको आत्महत्याको परिणाम एक जनाको मृत्यु मात्र हुने ध्रुवसत्यलाई इन्कार गर्न नसकिएपनि यसको सामाजिक कारणलाई अन्देखा गर्न सकिँदैन । यसतर्फ नेपाली समाजमा पर्याप्त समाजपरक बौद्धिक बहस र छलफलको खाँचो छ । आत्महत्या नियन्त्रणको खातिर राज्यको निर्णायक भूमिकाको सापेक्षतामा एउटा व्यक्तिको एकल प्रयत्न केही पनि हुन सक्दैन । त्यसैले, आफूसँगै बाँचिरहेका मानिसको जिन्दगीको बारेमा सबैले आवश्यक  चासो र चिन्ता लिनु अब उप्रान्त जरुरी छ । यसका लागि राज्य सञ्चालकदेखि व्यक्तिसम्मले आ-आफ्नोतर्फबाट  प्रयास गर्नु अत्यन्त  आवश्यक हुन्छ  । 

 आत्महत्यालाई अमुक व्यक्तिको व्यक्तिगत पीडाको रूपमा मात्र सम्झनु त्रुटिपूर्ण हुन्छ, यसलाई  सामूहिक असफलताको परिणामको रूपमा ग्रहण गर्दै यसको बृहत्तर सामाजिक पक्षलाई केन्द्रमा राखेर कानुन र नीति निर्माण हुनुपर्छ । नेपालको  कानुनले आत्महत्याको दुरुत्साहनलाई पहिलो पटक मुलुकी अपराध संहिता, २०७४ को बाह्रौँ परिच्छेदको ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १८५ मा अपराधिकरणसमेत गरेको छ । आत्महत्याको दुरुत्साहन गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजारसम्म जरिमानाको व्यवस्था छ। यसको पछाडि पनि आत्महत्याको समाजशास्त्रबाट संश्लेषणसित कानुन निर्माताको विधायिका प्रज्ञा भएको हुनुपर्छ । यस नयाँ व्यवस्थाको दायरा बढाउन तत् सम्बन्धमा ‘ जुरिस्प्रुडेन्स ‘  विकसित हुनुपर्छ र सामाजिक आत्महत्यालाई राजनीतिक तथा कानुनी मुद्दाको रूपमा स्थापित गर्दै समस्याहरूको न्यायोचित सम्बोधन गर्नेतर्फ सम्बद्ध सबै निकाय अग्रसर हुनुपर्छ ।

 ( यादव काठमाडौँ स्कुल अफ लमा अध्ययनरत हुनुहुन्छ । )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ऋतिक यादव
ऋतिक यादव
लेखकबाट थप