विश्व आत्महत्या रोकथाम दिवस

आत्महत्याको जोखिम भएका व्यक्तिलाई कसरी सम्हाल्ने ?

person explore access_timeभदौ २५, २०७९ chat_bubble_outline0

सपना (नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना सदस्यको एकै पटक ज्यान गयो । सो घटनाका कारण उनीलाई डिप्रेसन भयो । डिप्रेसनसँग जुध्दाजुध्दै उनले दोस्रो पटक आत्महत्याको प्रयास गरिन् । दोस्रो पटक पनि परिवार तथा आफन्तको सहयोगमा उनी बचिन् । त्यसपछि उनलाई परामर्श केन्द्रमा पुर्‍याइयो । लगातारको परामर्श र उपचारपछि अहिले उनी स्वस्थ छिन् । अहिले सपना मानसिक स्वास्थ्यमा समस्या भएर आत्महत्याको सोच बनाइरहेका, आत्महत्याको प्रयास पछि बचेकाहरूको प्रेरणाको स्रोत बनेकी छन् ।


विशाल (नाम परिवर्तन) अध्ययनका लागि विदेश पुगे । अध्ययनमा क्रममा डिप्रेसन भएपछि उनी अध्ययनलाई बीचमै छाडेर नेपाल फर्किए । नेपाल आएपछि उनले औषधि उपचार गर्न सुरु गरे । बाहिर त उनी खुसी नै देखिन्थे तर भित्र उनी हरेक क्षण दु:खी र निराश रहन्थे । विदेश गएपछि आर्थिक रूपमा अझै सबल बन्ने उनले उद्देश्य राखेका थिए । बीचमै पढाइ छाडेर नेपाल फर्किनु परेको पिरले उनलाई सताइरहन्थ्यो । एक दिन उनले छतबाट हाम फाले । भाग्यवश उनी बाँचे तर स्पाइनल इन्जुरीका कारण ढाडबाट मुनि शरीरको भाग चलेन । उनी मानसिक लडाइँसँगै शारीरिक लडाइसँग पनि जुध्न बाध्य भए । अनि मात्र जीवनलाई हेर्ने उनको दृष्टिकोणमा परिवर्तन आयो । अब कसरी स्वस्थ हुने चुनौती आफूमा थपिएको महसुस गर्न थाले । 



उनी भन्छन्, ‘म मात्रै समस्यामा गुज्रिएको रहेनछु । मलाईभन्दा धेरै समस्या, अवरोध, पिडा अरूलाई पनि रहेछ भन्ने महसुस गरेँ । जीवन कति अमूल्य छ भन्ने थाहा नपाएर निराश भई मैले जस्तो गलत बाटो अँगाल्न खोज्ने, त्यस्तै सोच राख्ने, मृत्युको मुखबाट फर्किएका साथीहरूलाई प्रेरणाको स्रोत बन्ने इच्छा ममा जाग्यो ।’



 अगाडि आइपर्ने समस्याभन्दा पनि महत्त्वपूर्ण जीवन रहेछ भन्ने थाहा पाइसकेपछि अगाडि बढेको उनले बताए । पहिला शारीरिक रूपमा पूर्ण रूप स्वस्थ हुँदाभन्दा अहिले ह्विलचियर बसे पनि पहिलाभन्दा शारीरिक र मानसिक रूप खुसी महसुस गरेको उनले सुनाए । 

०००

मानसिक समस्या भई आत्महत्या गर्ने सोच बनाएकाहरुलाई पहिचान गरी नजिकका आफन्त, साथीसंगी र वरिपरिका मानिसहरूले बचाउन सक्ने मानसिक रोग विशेषज्ञहरू सुनाउँछन् ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गत नसर्ने रोग तथा मानसिक शाखाका प्रमुख डाक्टर फणीन्द्रप्रसाद बरालले समुदायमा आत्महत्यासम्बन्धी धेरै खालका भ्रमलाई यथार्थ र यथार्थलाई भ्रम ठान्ने हुँदा आत्महत्या गर्ने सोच आउने बताउँछन् । आत्महत्या रोकथाम गर्न सकिन्न भन्ने आम धारणा रहे पनि त्यस्ता अधिकांश घटना टार्न सकिने उनको भनाइ छ ।

डा. बरालका अनुसार आत्महत्या गर्ने प्रायःले त्यसको बारे यथेष्ट सङ्केत दिने गर्छन् । जस्तै, आफन्तहरूलाई धेरै भेट्ने, भेट्ने क्रममा कुरा गर्दा अब अन्तिम हो भन्ने, आफूले लिनु दिनुपर्ने कारोबार मिलाउने, घरपरिवारमा भन्नुपर्ने कुराहरू सदस्यलाई भन्ने जस्ता कुराहरु यसको संकेत हुन सक्ने उनी बताउँछन् । समुदायमा आत्महत्या बारे कुरा गर्ने मान्छेले वास्तविकतामा त्यसो गर्दैन भन्ने भ्रम छ । तर आत्महत्या गर्ने प्राय:ले त्यसबारे कुरा गर्ने गरेको पाइएको उनले बताए ।

परिवारका सदस्य, नजिकैका आफन्त र साथीभाइले कसैले 'मरिदिन्छु' भन्यो भने सो कुरालाई सरल रूपमा लिन नहुने उनले सुनाए । आत्महत्या गर्न चाहने मानिसहरूमा त्यो सोचाई प्राय" क्षणिक हुने गरेको प्रमुख डा. बरालले बताए । 'समाजमा आत्महत्याको बारेमा सोध्दा त्यसको जोखिम बढ्न सक्छ भन्ने गलत धारणा छ । सोध्दा जोखिम बढ्ने होइन, बरु बिरामीले आफूलाई राहतको महसुस गरी उनीहरुलाई जोगाउन सकिन्छ,' उनको भनाइ छ  ।

आत्महत्याका धेरै कारणहरू हुन्छन् । जसमा धेरै उदासीन हुने, मनोरोग/डिप्रेसन हुने, रक्सीको दुर्व्यसन, सिक्टजोफ्रेनिया, विगतमा आत्महत्याको प्रयास गरेको पारिवारिक इतिहास, आत्महत्याको सोच बनाइ योजना बनाएकाहरूको नजिकै विभिन्न साधन सहज पहुँच भएमा, द्वन्द्व, प्रकोप, हिंसा, दुर्व्यवहार, एक्लोपन आदिका कारण यस्तो घटना घट्ने डा. बरालले बताए । आत्महत्या प्रयास गर्नेहरूको तथ्याङ्क सङ्कलन गरेर उनीहरूलाई परामर्श तथा आत्मबल बढाउनका लागि सरकारले पहलको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

आत्महत्याको जोखिम भएका व्यक्तिलाई यसरी सम्हाल्ने  

प्रत्येक आत्महत्याको पछाडि २०–२५ असफल प्रयास हुने र प्रत्येक आत्महत्याले कम्तीमा १३५ जनालाई प्रत्यक्ष असर पार्ने डा. बरालले बताए । आत्महत्याको जोखिम भएकाहरूको आफन्तले जोखिमको कारणहरू पहिल्यै आङ्कलन गर्न अत्यन्त जरुरी भएको डा. बरालले सुनाए । जोखिममा रहेका कुनै पनि व्यक्ति आत्महत्या गर्न चाहन्छ कि चाहँदैन भन्ने कुरा थाहा पाउन सबैभन्दा प्रभावकारी तरिका भनेको सीधा सोध्ने नै रहेको उनको भनाइ छ । 

यस्तै नजिकैका मानिसले आत्महत्यासम्बन्धी हरेक धम्की वा वचनलाई संवेदनशीलता साथ लिन उनको सुझाव छ ।  उनीहरूसँग कुरा गर्न उपयुक्त समय र स्थानको पहिचान गरी उनीहरूको कुरालाई  समभावका साथ सुन्नु पर्ने उनले बताए । भावनात्मक सहयोग गर्ने, परिवारजन र मित्रहरूलाई सम्पर्क गर्ने र उनीहरुले उपचारमा लैजानुका साथै सहयोगको निश्चितता गर्न जरुरी हुन्छ । यदि धेरै जोखिम छ भने कहिल्यै एक्लै छोड्न हुँदैन । तत्काल मनोचिकित्सक, मनोविद्,परापर्श दाता कहाँ पठाउनुपर्ने उनले बताए । त्यस्तो अवस्थाका मानिसलाई आत्महत्याबाहेक अन्य सम्भावनाका बारे बुझाउनुपर्छ ।

स्थितिलाई गम्भीरताका साथ लिने र जोखिमको आङ्कलन गरी तत्काल उनीहरूलाई धैर्यता पूर्वक सुन्ने र सहानुभूति दर्साउनु पर्ने उनी सुझाव दिन्छन् । नजिकैका आफन्त वा साथीभाइले उनीहरूका परिस्थितिलाई बेवास्ता पटक्कै गर्न हुँदैन । यस्तै, छक्क पर्ने वा हतोत्साहित हुने कुरा पनि नगर्न उनको आग्रह छ ।  यस्तै, आत्महत्याका सोचाई आएका जसले पनि ११६ हटलाइनमा सम्पर्क गरेर सेवा लिन सकिने उनले बताए । आत्महत्या रोकथाम निःशुल्क राष्ट्रिय हटलाइन २४ सै घण्टा उपलब्ध हुन्छ ।

आफ्ना परिवार, नातागोता, साथीसंगी, छिमेकी, सहकर्मी आदिका रूपमा एक अर्कोसँग अन्तरसम्बन्धित हुने भएकाले यस्तो बेला सबैको महत्त्वपूर्ण भूमिका रहन्छ । डा बराल आत्महत्या रोकथामका लागि सञ्चारकर्मीहरूको पनि महत्त्वपूर्ण भूमिका रहने बताउँछन् ।

रिस, क्रोध, निराश, डाहा, दुख, नकारात्मक सोच र पीडाका सुरुवाती चरणलाई व्यवस्थापन गर्न नसक्दा जटिलतातर्फ जाँदा पनि आत्महत्याको सोच आउने र व्यवहार उतार्ने तहसम्म केही व्यक्ति पुग्ने गरेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले सुनाए । आत्महत्या एक संवेदनशील अनि जटिल विषय भएकाले यसलाई एक मात्रै निकायको प्रयासमा नभई सबै क्षेत्रहरूले साझा र ठोस कदम चाल्न अत्यन्त जरुरी भएको उनले बताए ।

यस्तै, मानसिक रोगलाई लाञ्छना र विभेदको रूपमा लिइने भएकाले यसलाई चिर्न गाह्रो भइरहेको उनले मानसिक रोग विशेषज्ञहरू बताउँछन् ।  समुदायमा उच्च रक्तचाप, मधुमेह भएकाले निर्धक्क साथ समस्या सुनाउने गर्छन् । उनीहरुले जीवनभर यसको औषधि सेवन गर्नुपर्छ । तर सामान्य मनोरोग, एन्जाइटी, डिप्रेसन भएकाले खुलेर आफ्नो समस्या सुनाउन सक्दैनन् । जबकि केही महिना एकाध वर्ष औषधि खाँदा यस्तो रोग निको हुने डा बरालले बताए ।

विभेद लाञ्छना मात्रै नभएर कतिपय देशले आत्महत्यालाई अपराध तथा कारावाससम्मको व्यवस्था गरेको विश्व स्वास्थ्य संगठन नेपालका मानसिक रोग विशेषज्ञ डा केदार मरहठ्ठाले बताए । आत्महत्यालाई अपराधको रूपमा हेर्ने गरिन्छ । २० देशमा आत्महत्याको प्रयास गर्नेलाई कारावाससम्म हुने व्यवस्था गरिएको छ । 

सरकारले मानसिक रोगसम्बन्धी सामुदायिक स्वास्थ्य कार्यक्रम पुर्‍याउने लक्ष्य राखेको छ । हाल ४४ वटा सामुदायिक विद्यालयमा यसलाई सुचारु गरिएको छ । स्वास्थ्यकर्मीलाई विशेष तालिम दिएर सरकारले सेवा दिने तयारी गरेको मरहठ्ठाले बताए । सरकारले मानसिक रोगसम्बन्धी ११ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने पनि तयारी गरेको उनले सुनाए । यस्तै, राष्ट्रिय योजना आयोगले आत्महत्या रोकथाम रणनीति तयार गर्दै छ । विश्व स्वास्थ्य संगठनको सहयोगमा बागमती प्रदेशका विद्यालयमा मानसिक स्वास्थ्य कार्यक्रमलाई अगाडि बढाइएको उनले जानकारी । 

 आत्महत्याबाट ज्यान गुम्नेको दर घट्यो

पछिल्लो समयमा नेपालमा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या ४.३५ प्रतिशतले घटेको छ । तर यतिले मात्रै खुसी हुनुपर्ने अवस्था नरहेको मानसिक रोग विशेषज्ञहरू बताउँछन् । नेपालमा अझै पनि दैनिक १९/२० जनाले आत्महत्याका कारण ज्यान गुमाउने गर्छन् । नेपाल सरकारले दिगो विकास लक्ष्यमा समेत सन् २०१५ देखि २०३० सम्ममा प्रति एक लाख जनसङ्ख्यामा आत्महत्या दरलाई १६.५ बाट घटाई ४.७ मा ल्याउने राखेको छ ।

नेपाल प्रहरीका अनुसार ०७८/०७९ मा ६ हजार ८३० ले आत्महत्या गरेका थिए । ०७५/०७६ मा ५ हजार ७५४, ०७६/०७७ मा ६ हजार २७९ ,०७७/०७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेको पाइएको छ । प्रहरीको तथ्याङ्क अनुसार गएको १० वर्षको अवधिमा ५३ हजार २९८ जनाले आत्महत्या गरेका छन् । 

प्रत्येक वर्ष विश्वभर अनुमानित ७ लाख ३ हजार मानिसको आत्महत्याबाट मृत्यु हुने गर्छ । १५ देखि १९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख करण आत्महत्या बनेको छ । महिलाहरूमा यो तेस्रो प्रमुख कारण बनेको छ ।

विश्वभर भएका आत्महत्या मध्ये निम्न र मध्यम आय भएका देशको आत्महत्या ७७ प्रतिशत, दक्षिण पूर्वी एसियामा ३९ प्रतिशत छ । त्यस्तै डिप्रेसन भएका व्यक्तिको आत्महत्याबाट मृत्यु हुने सम्भावना डिप्रेसन नभएकाको तुलनामा २० गुणा बढी हुने तथ्यांकले देखाउँछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।