आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

कार्यदलले आफ्नो अपुरो प्रतिवेदन बुझाउने

बिहीबार, २३ भदौ २०७९, १३ : २९
बिहीबार, २३ भदौ २०७९

पाँच दलीय सत्ता गठबन्धनमा सिट बाँडफाँडका लागि गठन भएको कार्यदलले आज शीर्ष नेतालाई आफ्नो अपुरो प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदन आज एक बजे बुझाउने तयारी थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले जसपाका शीर्ष नेताहरुलाई २ बजे छलफलका लागि बोलाएपछि प्रतिवेदन बुझाउने समय सरेको हो । जसपाका नेताहरु राष्ट्रपति कार्यालयबाट फर्केपछि प्रतिवेदन बुझाउने बताइएको छ ।

कार्यदलमा सबै सिटहरुमा सहमति हुन सकेन । जेजति सहमति भएका छन्, त्यही अनुसार आजै प्रतिवेदन बुझाउन लागेको कार्यदलका एक सदस्यले बताए । प्रतिनिधिसभाको १६५ सिटमध्ये ८०–९० वटा सिटमा मात्र सहमति भएको छ, अरुमा सहमति हुन सकेकोे छैन । 

ती सदस्यले भने, ‘हामीले जेजति सीटमा सहमति जुटाउन सक्यौँ, र जतिमा सहमति जुट्न सकेनौँ, ती सबैको प्रतिवेदन बनाएर शीर्ष नेतालाई बुझाउँछौँ । सहमति नभएको ठाउँमा शीर्ष नेताहरूले आफै सहमति गर्नुहुन्छ ।’

कार्यदलमा छलफल हुँदा सबभन्दा बढी समस्या प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा देखिएका छन् । प्रदेश–१ मा अधिकांश सिटमा काँग्रेसले दाबी गरेको छ भने मधेश प्रदेशमा जसपाले सबभन्दा बढी सिट चाहिएको अडानमा छ ।

बागमती प्रदेशमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच कुरा मिलेको छैन । लुम्बिनी प्रदेशमा काँग्रेस र माओवादी केन्द्रको बीचमा बढी विवाद देखिएको कार्यदलका ती सदस्यले बताए । 

समस्या समाधान नहुनुको अर्को मुख्य कारण सिट बाँडफाँटमा केलाई आधार मान्ने त्यसमा पनि कुरा मिलेको छैन । माओवादी केन्द्रले २०७४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनावलाई आधार मान्नुपर्ने अडानमा छ भने काँग्रेसले हालै सम्पन्न स्थानीय तहको चुनावलाई आधार मान्नुपर्ने अडानमा छ । 

नेकपा (एस) ले एमालेले जितेको क्षेत्रमा पनि दावी गरिरहेको छ । यस्तै यस्तै विवादको बीचमा कार्यदलभित्र सहमति हुन नसक्दा अधुरो प्रतिवेदन बुझाउन बाध्य भएको ती सदस्यले रातोपाटीलाई बताए । 

१६५ सिटमध्ये काँग्रेसका नेताहरु ८० देखि ९० सिटमा मान्न लगभग तयार देखिएका छन् तर पार्टीभित्रै त्यसबारे एकमत हुन सकेको छैन । काँग्रेसका शेखर कोइराला पक्षले १०० सीटभन्दा तल झर्नै नहुने पार्टीमा दवाव बढाई रहेका छन् भने रामचन्द्र पौडेल, कृष्ण सिटौला पक्षधर नेताहरु सिटमा लचिलो हुन सकिने भन्दै आएका छन् । 

गत साउनमा बसेको गठबन्धनको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । सो कार्यदलमा काँग्रेसबाट महामन्त्री गगन थापा, नेताहरु कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् भने माओवादी केन्द्रबाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन नेकपा (एस) बाट महासचिव बेदुराम भुसाल र प्रमेश हमाल, जसपाबाट कार्यकारिणी सदस्य रामसहायप्रसाद यादव र रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप