बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष १० समाचार

बुधबार, २२ भदौ २०७९, २१ : २१
बुधबार, २२ भदौ २०७९

आज २०७९ साउन भदौ २२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

इन्द्रजात्रा सुरु

काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा स्थानिय भाषामा यःसी भनिने लिङ्गो बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिङ्गो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए । यो लिङ्गो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।

सरकारको दोहोरो नीति​

वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने विषयमा सरकारको दोहोरो नीति देखिएको छ । एकातिर सरकारले नै विभिन्न मुलुकमा घरेलु कामदार पठाउन रोक लगाएको छ भने अर्कोतिर जोर्डनसँग सरकारले नै सम्झौता गरेर मेनपावर व्यवसायीमार्फत घरेलु कामदारलाई पठाउँदै आएको छ ।

काठमाडौँतिर नजर

नेपालको संविधान २०७२ अनुसार देश संघीय व्यवस्थामा गयो । संविधानमा संघीय सरकार (केन्द्र), प्रदेश सरकार (प्रदेश) र स्थानीय सरकारको अधिकार सूची उल्लेख गरिएको छ । सोही अनुसार प्रदेशलाई कतिपय राजनीतिक, प्रशासनिक र आर्थिक, सामाजिक, सुरक्षाजस्ता महत्त्वपूर्ण अधिकार दिइएको छ । तर, ठूला पार्टीहरुको विधानले संविधानले दिएका राजनीतिक अधिकारलाई कार्यान्वयन गर्ने कुरामा भने कन्जुस्याइँ गरेको छ ।

तात्यो अर्थ मन्त्रालय

चालु आर्थिक वर्षको बजेटले गरेको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते बजेट घोषणा गर्दै जुत्ता, सिमेन्ट र डण्डीको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेका हुन् ।  तर, उक्त घोषणा भएको ३ महिना बित्दा पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले फाइल अघि बढाएको छैन ।

प्रचण्ड–जनार्दनबीच घोचपेच

 माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र  उपमहासचिव जनार्दन शर्मा प्रभाकरबीच घोचपेच भएको छ । बुधबार काठमाडौँमा भएको कार्यक्रममा अध्यक्ष प्रचण्ड र अर्थमन्त्री समेत रहेका शर्माबीच नीति र नेतृत्वका बारेमा घोचपेच भएको हो । 

बैंकमा २ लाख रूपैयाँ हुनुपर्ने

सरकारले पर्यटकको रूपमा विदेश घुम्न जानेलाई कडाई गर्ने प्रावधान ल्याएको छ । पर्यटक भिसामार्फत खाडी मुलुक जाने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले कडा प्रावधान ल्याएको हो । गृह मन्त्रालयले ‘पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापन सम्बन्धी कार्यविधि २०७९’ जारी गरेको छ । ३० साउन २०७९ मा मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि स्वीकृत गरेको थियो । मन्त्रालयले अध्यागमन विभागलाई पत्र पठाउँदै कार्यविधि कार्यान्वयनका लागि निर्देशन दिएको हो । ​

सामूहिक राजीनामाको घोषणा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । उपकुलपतिलाई सामूहिक रुपमा पत्र लेख्दै चिकित्सकहरुले राजीनामा घोषणा गरेका हुन् । भाद्र २ गते डाक्टर करण साहमाथि प्रतिष्ठानका कर्मचारी धनबहादुर शाहीले कुटपिट गरेका थिए । उक्त घटनालाई अतिरञ्जित बनाइ डा.साहमाथि झुटा मुद्दा दायर गरी पक्राउ पुजी जारी गरेपछि तनावको अवस्था सिर्जना भएको हो । 

बालेनको लिखित जवाफ

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेका छन् । अदालतको अवहेलना सम्बन्धी मुद्दामा पठाएको जवाफमा उनले निवेदकको दाबी निराधार रहेको जनाएका छन् ।

मन्त्रिपरिषद बैठक निर्णय

अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंकको बोर्ड अफ गभर्नरको ५५ औं बार्षिक बैठकमा सहभागी हुने भएका छन् । गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सो वार्षिक बैठकमा सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

डेंगु रोग नियन्त्रण अभियान तीव्र पार्ने

सरकारले डेंगु नियन्त्रण र रोकथामका लागि अभियान चलाउने भएको छ । बुधबार  मुख्य सचिव शंकरदास वैरागीको नेतृत्वको उच्चस्तरीय समितिको बैठकले यस्तो अभियान चलाउने निर्णय गरेको हो । जसअन्तर्गत डेंगु सार्ने लामखुट्टेको लार्भा खोजिने र नट गर्ने अभियान चलाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप