सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘कम्युनिस्टभित्र एउटा ‘नयाँ वर्ग’ को विकास र विस्तार भइरहेको छ’

श्रमजीवी वर्गको पार्टी बन्ने प्रक्रिया जति लम्बिन्छ, कम्युनिस्ट आन्दोलनले त्यति नै नोक्सानी बेहोर्नुपर्छ : टंक कार्की
सोमबार, २० भदौ २०७९, १० : ११
सोमबार, २० भदौ २०७९

नेपाली कम्युनिस्ट आन्दोलन अहिले अन्तर्कलहमा छ । स्थापनाकालदेखि यहाँसम्म (७३ वर्ष) को अवधिमा भएका कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा नगरी नहुने अवस्थामा अहिले हामी आइपुगेका छौँ । योबीचमा केही उपलब्धि भएका छन् र भरमार कमजोरी पनि । यतिखेर केही अवसर छन् र केही चुनौती पनि ।

आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनका संरक्षक र पक्षपोषकहरूमा व्यापक विस्तार भएको छ । यद्यपि आफैँ भने यो आन्दोलन संकटबाट गुज्रिरहेको अवस्था छ । यसले अतीतमा गरेका थुप्रै संकल्प र संकथनहरूको कसीमा हेर्दा यसका राम्रा वा नराम्रा दुवै पक्ष छन् ।

यसलाई नवयुवकहरूले नै स्थापना गरेका हुन् । त्यतिबेला एउटा २४ वर्षको अल्लारे ठिटो (पुष्पलाल) कम्युनिस्ट पार्टीको महासचिव बने । अरु पनि उस्तैउस्तै उमेरका थिए । यहाँको तत्कालीन शासन प्रणालीको अमानुषिक, तानाशाही चरित्रलाई उनले किताबमा पढेर होइन, जीवनमा भोगेर बुझेका थिए । उनका आफ्नै दाइ (सहिद गंगालाल श्रेष्ठ) आँखाअगाडि मारिएका थिए । त्यो बेलाको सामाजिक विभाजन (माथि अभिजात राणाहरूको चकचकी, तल दरिद्रता र अभाव)लाई उनले नजिकबाट नियालेका थिए । 

त्यसबाट मुक्तिको मार्ग खोजी गर्ने क्रममा, सिद्धान्त र विचारहरूको अध्ययन गर्ने क्रममा, जब उनी मार्क्सवादको संगतमा आए, तब उनले कम्युनिस्ट घोषणपत्रको उल्था गरे । केवल उल्थाको काम ठूलो कुरा होइन, भाषा बुझेपछि गर्न सकिन्छ तर त्यति ठूलो दार्शनिक चेत भएको दस्ताबेजलाई कसैको अह्राइखटाइबिना अनुवाद गर्ने उत्प्रेरणा एउटा २२ वर्षको केटालाई जहाँबाट आयो, त्यो आफैँमा अद्भुत थियो । उनले देश र समाजकै हित र परिवर्तन सोचेर त्यसलाई अनुवाद गरेका थिए । 

उनले उल्था मात्रै गरेनन्, त्यसमा २०–२२ पेजको भूमिका पनि लेखेका छन्, जसमा उनले नेपालको भावी गन्तव्यको रूपरेखा कोरेका छन् । त्यही भूमिकालाई आधार बनाएर पछि नेपाल कम्युनिस्ट पार्टीको घोषणा हुन्छ । नेकपाको घोषणापत्रको आधार पनि त्यही भूमिका बन्यो । भूमिका लेख्दा र नेकपाको स्थापना गर्दा उनीमा कुनै छलकपट थिएन, नेता हुँ भन्ने भावना थिएन ।

समाज मुक्तिको चेतबाट अभिप्रेरित भएर चार–पाँचजनाको सानो समूहले स्थापना गरेको नेकपाले एउटा भावभूमि निर्माण गर्‍यो । त्यसपछि नेपाली कम्युनिस्ट आन्दोलनमा दुई थरीका मानिसको संयोजन हुँदै आयो । एकथरी पुष्पलालजस्तै मानिसहरू, जो एउटा सामाजिक मिसनका भावनाले अभिप्रेरित भएर यस पार्टीमा लागे । यो आन्दोलनको लोकप्रियता जति बढ्दै गयो, आफ्नो प्रसिद्धिका निम्ति र वैयक्तिक हितलाई केन्द्रमा राखेर अर्का थरी मानिस यसभित्र प्रवेश गरे । यो पछिल्लो थरी धारा बिस्तारै ‘ग्रुम’ हुँदै जानुको कारणमा हाम्रो आर्थिक, भौगोलिक, सामाजिक र सांस्कृतिक आधारलाई पनि लिन सकिन्छ । 

त्यतिबेला हामी औद्योगिकीकरणमा अगाडि थिएनौँ, सामन्तवादी कृषि समाजकै प्रधानता थियो । त्यसैले व्यक्तिपूजा हुने, राजा–रंकको सम्बन्ध हुने प्रवृत्ति त्यतिबेला थियो, यसको प्रभाव नेपाली कम्युनिस्ट आन्दोलनमा पनि पर्न थाल्यो ।

​यही परिवेशमा पार्टी स्थापनाको दुई वर्षपछि पुष्पलाललाई मिथ्या आरोपमा महासचिवबाट हटाइयो । गणतन्त्रको पक्षधर भएकाले उनलाई उग्र वामपन्थीको मुख्य आरोप लगाइएको थियो । आरोप लगाउनेमा शैलेन्द्रकुमार उपाध्याय, डिपी अधिकारीहरू थिए । त्यतिबेला मिसनका शक्तिहरू अल्पमतमा परे र शक्तिका पारखीहरू मञ्चमा अगाडि देखिन थाले । त्यसले नीतिहरूमा पनि प्रभाव देखिन थाल्यो ।

रणनीतिक रूपमा कम्युनिस्टहरू गणतन्त्रवादी नै हुन् । प्रचारकै हिसाब वा कार्यनीतिक हिसाब दुवैले पुष्पलाल गणतन्त्रको पक्षधर हुनु गलत थिएन । २००७ फागुन ७ कै घोषणामा राजा त्रिभुवनले गणतन्त्र स्विकार्दै भनेका थिए, ‘हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधान अनुसार होओस् ।’

नेपालमा कम्युनिस्टहरूको उपस्थिति उदीयमान भारतका लागि सुखद विषय थिएन । चीनमा कम्युनिस्टहरूको उदयपछि त्यसका लसपस असर हामीकहाँ पनि पर्छन् भन्ने चिन्ता भारतलाई थियो । भनिन्छ, भारतीय कम्युनिस्ट पार्टीले समेत पुष्पलाललाई सुझाव दिएका थिए– ‘तिमीहरूले छुट्टै कम्युनिस्ट पार्टी किन बनाउनुपर्‍यो ? भारतीय कम्युनिस्ट पार्टीकै शाखा भइहाल्यो नि !’

गणतन्त्रको आवाजलाई जनस्तरसम्म पुर्‍याउन पुष्पलालले वैचारिक अगुवाई गरे त के बिगारे ? यसभित्र नेपालको राज्य प्रणालीको स्वरूप कस्तो हुने भन्ने सम्बन्धमा नेपालभित्र र बाहिरका शक्तिहरूका आ–आफ्नै स्वार्थ थिए । राजतन्त्र भित्रभित्रै गणतन्त्रामक मोडलमा होइन कि सक्रिय राजतन्त्रात्मक मोडलमै जान उद्यत थियो । एकातिर श्रमजीवी वर्गहरूको पार्टी (नेकपा) कमजोर भएको र पुँजीपति वर्ग पक्षधर पार्टी (कांग्रेस लगायत)हरू पनि उस्तो शक्तिशाली भएको अवस्था थिएन । बलियो सामन्ती सामाजिक आधारलाई उपयोग गर्दै राजतन्त्र शक्तिको सुदृढीकरणमा व्यस्त थियो । अर्कोतिर नेपाललाई परोक्ष रूपमा भारतीय राजनीतिक प्रणालीतिर ढाल्ने प्रयत्न पनि भएका हुन सक्छन् ।

नेपालमा कम्युनिस्टहरूको उपस्थिति उदीयमान भारतका लागि सुखद विषय थिएन । चीनमा कम्युनिस्टहरूको उदयपछि त्यसका लसपस असर हामीकहाँ पनि पर्छन् भन्ने चिन्ता भारतलाई थियो । भनिन्छ, भारतीय कम्युनिस्ट पार्टीले समेत पुष्पलाललाई सुझाव दिएका थिए– ‘तिमीहरूले छुट्टै कम्युनिस्ट पार्टी किन बनाउनुपर्‍यो ? भारतीय कम्युनिस्ट पार्टीकै शाखा भइहाल्यो नि !’ तर, पुष्पलालले ठाडै अस्वीकार गरे । अर्कोतिर उतिखेर भारतीय कम्युनिस्ट पार्टीमा राष्ट्रिय प्रजातन्त्रको भावभूमिमा वैचारिक फेरबदल आउँदै थियो । पुष्पलालको त्यसमा पनि असहमति थियो । राष्ट्रिय प्रजातन्त्रको मुख्य दलील के थियो भने, पर्याप्त विकास नभइसकेको प्रारम्भिक पुँजीवादी समाजमा कम्युनिस्ट पार्टीले छुट्टै स्वतन्त्र भूमिकामा होइन कि बुर्जुवा पार्टीहरूसँग हातेमालो गरेर अघि बढ्ने कार्यदिशा लिनु राम्रो हुन्छ । 

भारतीय कम्युनिस्ट पार्टीको सम्मेलनबाट फर्कनासाथ शैलन्द्रकुमार उपाध्यायले पुष्पलाललाई हटाउने प्रस्ताव गरेका थिए । प्रजातन्त्रको अंशियारीका रूपमा कम्युनिस्टको वैचारिक, रणनीतिक हिसाबले सशक्त दाबेदारी रहेकामा कांग्रेस नाखुस हुने नै भयो । यता, राजावादीहरूको चाहना कम्युनिस्टहरूलाई कमजोर पार्ने थियो । यी यावत घटना र परिस्थितिका बीच पुष्पलाललाई महासचिवबाट हटाइयो । यसरी नेपाली कम्युनिस्ट आन्दोलनमा अवसरवादी धाराले बिस्तारै बिस्तारै टाउको उठाउन थाल्यो । जसले अन्ततः नेकपाबाट केशरजंग रायमाझीलाई जन्मायो । 

पहिलो महाधिवेशनबाट छानिएलगत्तै मनमोहन अधिकारी उपचारका निम्ति लामो समय चीनमा रहनुपर्ने भयो । त्यतिबेला पुष्पलाललाई कार्यवाहक महासचिव सम्हाल्न भनियो, तर आफू असहमत कार्यदिशाको जिम्मेवारी स्विकार्न युक्तिसंगत हुँदैन भन्ने नाममा पुष्पलालले त्यसलाई अस्वीकार गरे । पुष्पलालले त्यसो नगरेको भए, नेकपाको भविष्य अर्कै हुने थियो ।

स्थापनादेखि ०१७ सालसम्म नेकपा मूलतः किसान आन्दोलन विस्तार गर्न र शिक्षित युवाहरूलाई आकर्षित गर्न केन्द्रित रह्यो । विशेषतः पूर्वी तराई र पहाडका केही भूभागमातमसुक च्यात्ने, सामन्तको भकारीबाट अन्न बाँड्नेजस्ता आन्दोलन भएका थिए । समाजवादको नाराले युवाहरूलाई अभिप्रेरित गर्न थाल्यो । राणाशासनमा जस्तो हामी दास होइनौँ, प्रजा होइनौँ, शोषित बनी रहन अभिशप्त छैनौँ, हामी नागरिक हौँ भन्ने चेतको जागरण कम्युनिस्ट आन्दोलनले गरेको थियो । पश्चिम नेपालका भीमदत्त पन्त पनि कम्युनिस्ट आन्दोलनबाट प्रभावित थिए । 

०१५ सालमा चार सिट मात्रै जितेको नेकपाको राष्ट्रिय राजनीतिमा त्यति पहुँच थिएन । त्यतिबेला सामन्तहरूको प्रतिनिधित्व गर्ने राजा र पुँजीपतिको प्रतिनिधित्व गर्ने कांंग्रेसकै बीच बढी टकराब चुलियो । यही टकराबले ०१७ सालको घटना घट्यो, जतिबेला भारतीय थलसेना प्रमुख नेपालमै थिए ।

२०१९ सालमा नेकपाको तेस्रो महाधिवेशन भयो । त्यतिबेला नेकपामा दुई धार देखिए– नयाँ जनवाद र राष्ट्रिय प्रजातन्त्रको धार । नयाँ जनवादी धारले कम्युनिस्ट पार्टीलाई स्वतन्त्र पार्टीका रूपमा व्याख्या गथ्र्यो । कम्युनिस्ट पार्टी कसैको बैसाखीबिना स्वतन्त्र रूपमा अगाडि बढ्नुपर्छ भन्ने नयाँ जनवादी प्रस्तावना पुष्पलालको थियो । 

त्यसपछि नेपाली कम्युनिस्ट आन्दोलनमा तीनवटा धारा देखापरे । एउटा धारा थियो– राजाले विघटन गरेको संसद् पुनस्र्थापना गर्ने पक्षमा । यो मुद्दा पुष्पलालले उठाएका थिए । दोस्रो धारा थियो– संसद् विघटनको पुनस्र्थापना होइन कि संसदीय व्यवस्थाको पुनस्र्थापना गर्ने पक्षमा । यो मुद्दा दोस्रो महाधिवेशन (२०१४ साल) बाट महासचिव भएका केशरजंग रायमाझीले अगाडि सारेका थिए । र, तेस्रो धारा थियो– यी दुवै सुधारवादी कुरा भएकाले संविधानसभाको निर्वाचन हुनुपर्छ भन्ने पक्षमा । यो मुद्दा मोहनविक्रम सिंहले उठाएका थिए ।

संसद् नै विघटन भएर प्रजातान्त्रिक व्यवस्था धरापमा पर्नुभन्दा बुर्जुवालाई साथ लिएर अगाडि बढ्ने प्रस्ताव पुष्पलालको थियो । रायमाझीले अप्रत्यक्ष रूपमा राजाको कदमलाई समर्थन गरेका थिए । यता मोहनविक्रम सिंहको प्रस्ताव झट्ट सुन्दा क्रान्तिकारी थियो, तर त्यतिबेला त्यसको कार्यनीतिक महत्त्व थिएन । किनभने त्यतिबेला राजाबाट विघटन गरिएको संसद्को पुनस्र्थापना हुनु नै पहिलो सफलता ठहथ्र्यो । पञ्चायती व्यवस्था त लम्बियो, पुष्पलालको प्रस्ताव सही थियो भन्ने ०६२/६३ को आन्दोलन पछिको संसद् पुनस्र्थापनाले पनि पुष्टि गरेको छ । बेलैमा महेन्द्रले विघटन गरेको संसद् पुनस्र्थापना हुन सकेको भए देश अलि अगाडि नै लोकतान्त्रिक अभ्यासमा अघि बढ्थ्यो भन्ने विश्लेषण गर्न सकिन्छ । त्यतिबेला सामन्ती प्रणालीतिर झुकाव भएका शक्तिहरूलाई राजाले तत्कालै आफ्नो पक्षमा लिए । कांग्रेस, कम्युनिस्टका अधिकांश नेतालाई जेल हालेर राजाले आफ्नो सत्तालाई सहज बनाए र पञ्चायतकाल एक ढंगले अगाडि बढ्यो । यता, कम्युनिस्ट आन्दोलन तीन धारामा विभाजन भइदिँदा राजालाई पनि ‘फुटाऊ र शासन गर’को नीतिमा अगाडि बढ्न सहज भयो । 

२०१९ सालमा नेकपाको तेस्रो महाधिवेशन भयो । त्यतिबेला नेकपामा दुई धार देखिए– नयाँ जनवाद र राष्ट्रिय प्रजातन्त्रको धार । नयाँ जनवादी धारले कम्युनिस्ट पार्टीलाई स्वतन्त्र पार्टीका रूपमा व्याख्या गथ्र्यो । कम्युनिस्ट पार्टी कसैको बैसाखीबिना स्वतन्त्र रूपमा अगाडि बढ्नुपर्छ भन्ने नयाँ जनवादी प्रस्तावना पुष्पलालको थियो । 

राष्ट्रिय प्रजातन्त्रको प्रस्तावना तुलसीलाल अमात्यको थियो । त्यतिबेला हामीकहाँ सामन्तवाद प्रबल रहेको पुँजीवादी व्यवस्था थियो । पुष्पलाल र तुलसीलालको प्रस्तावनाको मुख्य विवाद यही थियो– सामन्तवादको विरुद्धमा रहेको पुँजीवादी पक्षधर शक्तिको सहायक भूमिका खेल्ने कि स्वतन्त्र रूपमा हस्तक्षेप गर्ने ? त्यतिबेला पुष्पलाल अल्पमतमा परे, तुलसीलाल महासचिव बने । तर, परिस्थिति संकटग्रस्त थियो । राजाको सैनिक शासन, पार्टी माथिको प्रतिबन्ध, नेताहरूको गिरफ्तारी र निर्वासन, उसमाथि आन्तरिक विवादले गर्दा लगभग महाधिवेशन लगत्तै नेकपामा शिथिलता र आन्तरिक विग्रह आउन थाल्यो ।

कांग्रेस र कम्युनिस्टबीच शीतयुद्धको स्थिति 

पार्टीको यो अवस्थालाई सम्हाल्दै पुनर्सुदृढीकरण र भावी आन्दोलनको रणनीति तर्जुमा गर्ने गरी पुष्पलालले २०२५ सालमा तेस्रो राष्ट्रिय सम्मेलन गरे । सम्मेलनमार्फत उनले संयुक्त जनआन्दोलनको कार्यदिशा अघि सारे । राजाको तानाशाही पञ्चायती व्यवस्थाविरुद्ध अगाडि बढ्न नेपाली कांग्रेसलाई दुत्कारेर होइन, साथ लिएर जानुपर्छ भन्ने उनको प्रस्तावना थियो ।

अर्कोतिर, ०२६ सालमा सेन्ट्रल जेलमा बन्दी बनेका १५–१६ जना कम्युनिस्ट नेताले मिटिङ गर्ने अवसर पाए । मिटिङको मुख्य एजेन्डा थियो– कांग्रेसको वर्ग चरित्र विश्लेषण गर्ने । महिनौँ दिनको छलफलपछि उनीहरूको निष्कर्ष हुन्छ– हिजो हामी (नेकपा)ले भनेको जस्तो नेपाली कांग्रेस पुँजीपति वर्गको पार्टी होइन, यो पनि राजतन्त्रसरह सामन्त तथा दलाल नोकरशाही पुँजीपति वर्गकै पार्टी हो । यसमा फगत निर्मल लामाको विमति रह्यो ।

कुरो बुझ्न सकिन्छ, यहाँ भएको यस निर्णयको घुमाउरो आक्रमण पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशामाथि थियो । यसले कांग्रेसलाई संयुक्त आन्दोलनको साझेदार हुनबाट रोक्ने मात्र होइन कि राजावादी र कांग्रेसको एउटै वर्ग स्रोत देखाएर दुवैलाई ‘ठोक्ने’ निर्देश दिन्थ्यो । यस निर्णयले त्यसपछिको नेकपाको करिब २० वर्षको आन्दोलन प्रभावित हुन पुग्यो । पुष्पलालको संयुक्त जनआन्दोलनको कार्यदिशा अनुशरण भएपछि मात्रै राजाको निरंकुश पञ्चायती व्यवस्था ढल्न पुग्यो । 

जेहोस्, जेलमा भएको त्यस मिटिङले संयुक्त जनआन्दोलनको कार्यदिशालाई बिथोल्यो । त्यसपछि पुष्पलाललाई गद्दार भनेर पुस्तकै लेखियो । कांग्रेस र कम्युनिस्टबीच सैद्धान्तिक, वैचारिक भिन्नता थियो नै । विश्व राजनीतिक रजतपटमा हुर्केको शीतयुद्धका प्रभाव कांग्रेसमा पनि झाँगिँदै गइरहेको थियो । कम्युनिस्टसँग तर्कंदै र तर्संदै आफ्नो विरोधको स्वरूप कांग्रेसले चर्को बनाउन थालेको थियो । यसरी कांग्रेस र कम्युनिस्ट आन्दोलनबीच एक प्रकारको शीतयुद्धक जस्तो परिस्थिति सिर्जना भयो । कांग्रेस र कम्युनिस्टबीचको दूरी झनै बढ्दै गयो, राजा र पञ्चायती व्यवस्थालाई खुदो पल्टियो । यही परिस्थितिले गर्दा पञ्चायती व्यवस्था लम्बियो । हुँदाहुँदा जनमत संग्रह बहिष्कारको काम पनि कम्युनिस्ट आन्दोलनमा देखापर्‍यो । 

यो बीचमा, कम्युनिस्टहरूबीच वैचारिक विवाद भए पनि आमरूपमा आफ्ना विचारमा निष्ठा पनि थियो । सिंगो आन्दोलन सरल, सादा र जुझारु थियो, घुसपैठ उस्तो थिएन । 

पछिल्लो समय कम्युनिस्ट पार्टीहरू आफ्ना सैद्धान्तिक प्रस्तावनाप्रति आफैँ गम्भीर भएनन्, मार्क्सवादको अध्ययनमा पनि उनीहरू पछाडि रहँदै आए । सिद्धान्तको आलोकमा भन्दा बढी नेताका ह्विम, सपना र सहजतालाई केन्द्रमा राखेर कम्युनिस्ट पार्टीका वैचारिक प्रस्तावना आउन थाले । त्यसलाई मार्क्सवाद, लेनिनवादको कसीमा घोटेर हेरिँदैन । अझै पनि केही साथीहरू बहिष्कारको नीति लिन्छन्– संसदीय प्रणालीलाई देखाएर आम चुनावप्रति ।

फस्टाउँदो कम्युनिस्ट जनमत

०४६ साल पछाडि भने विचारप्रति प्रतिबद्ध हुनेभन्दा सुविधाप्रति आशक्ति राख्ने कम्युनिस्ट नेताहरू बढ्न थाले । एउटा ‘नयाँ वर्ग’ नै भित्रभित्रै विकास र विस्तार भइरहेको छ । वैचारिक शुद्धता, वर्ग पक्षधरता र मिसनप्रतिको निष्ठामा स्खलन आज यस आन्दोलनले भोगेको यथार्थ हो ।यसले गर्दा कतिपयको विचार के हो, कार्यदिशा के हो भनी बुझ्नै समस्या उत्पन्न भएको छ । आजको कम्युनिस्ट आन्दोलनको द्वन्द्व यही हो । 

यद्यपि, ०४८ सालमा आइपुग्दा नेकपा (एमाले)ले ६९ सिट, संयुक्त जनमोर्चाले नौ र नेमकिपाले दुई सिट जितेको थियो । अन्ततः २०६२/६३ को जनआन्दोलन र संविधानसभामा मूल एजेन्डा प्रवाहित गर्नमा कम्युनिस्टहरूकै भूमिका प्रमुख रहेको यथार्थ हो । 

गत आम निर्वाचनमा एमाले र माओवादी एकताको प्रभावस्वरूप दुईतिहाइको एकल सरकार चलाउने परिस्थिति बनेको थियो । राजनीतिक सुझबुझ र आन्तरिक स्वार्थ सन्तुलन कायम गर्न नसक्दा एमाले र माओवादी एकता भाँडियो, दुईतिहाइको सरकारबाट पनि हात धुनुपर्ने स्थिति आयो । एकताले जनस्तरमा जुन आशा सञ्चार गरेको थियो, यस विभाजनले भने उल्टो दिशामा वेग मारेको छ । कारणहरू जो छन्, ती गहिरा छन् र विचार, व्यवहारसँगै अन्तर्पार्टी प्रणालीका भयानक दोषहरू छन् ।

पछिल्लो समय कम्युनिस्ट पार्टीहरू आफ्ना सैद्धान्तिक प्रस्तावनाप्रति आफैँ गम्भीर भएनन्, मार्क्सवादको अध्ययनमा पनि उनीहरू पछाडि रहँदै आए । सिद्धान्तको आलोकमा भन्दा बढी नेताका ह्विम, सपना र सहजतालाई केन्द्रमा राखेर कम्युनिस्ट पार्टीका वैचारिक प्रस्तावना आउन थाले । त्यसलाई मार्क्सवाद, लेनिनवादको कसीमा घोटेर हेरिँदैन । अझै पनि केही साथीहरू बहिष्कारको नीति लिन्छन्– संसदीय प्रणालीलाई देखाएर आम चुनावप्रति । यो बहिष्कारको साइनो मार्क्सवादसँग छ कि छैन ?

मार्क्सले भनेका थिए– पुँजीवादीहरूले चुनावलाई धोकाधडीको उपकरणका रूपमा प्रयोग गरे भने हामीले यसलाई सामाजिक मुक्तिको उपकरणका रूपमा प्रयोग गर्नुपर्छ । मार्क्सको ‘फ्रान्समा वर्ग संघर्ष’ भन्ने पुस्तकको भूमिकामा एंगेल्सले भनेका छन्– हामीले चुनावहरूमा भाग लिनुपर्छ, यसले कम्तीमा हामीलाई आफ्नो सामथ्र्य तौलने अवसर दिन्छ । 

यस कसीबाट हेर्दा प्रश्न उठ्छ– हामीकहाँ अझै पनि केही कम्युनिस्ट पार्टीहरू चुनाव बहिष्कारमा किन अल्झिरहेका छन् ? जनवाद वा समाजवाद नआउँदासम्म बहिष्कारको बहिष्कार गर्ने नीति हो कि ? हो, संसदीय चुनावमा केही धोकाधडीका तत्त्व छन्, यसप्रति असन्तुष्टिका स्वर छन्, यसका बाबजुद जनताको रुचि, विचार वा मत बुझ्ने एउटा सशक्त कडी हो, चुनाव । यसैका माध्यमबाट तत्काललाई वैधानिक रूपमा कतिपय सुधारका काम अघि बढाउन सकिन्छ । अहिलेको परिस्थितिमा चुनाव वैधानिक बाटो हो, यसबाटै पन्छिनु किमार्थ उचित हुँदैन । अझ राम्रो के हुन्छ भने, घटकहरू अलग भएर पनि साझा हस्तक्षेप हुनुपर्छ ।

०४६ सालअगाडि र पछाडिको कम्युनिस्ट आन्दोलन हेर्दा, ०४६ सालअगाडि पार्टी कोरमा त थियो तर जनसंगठनहरूको भूमिका प्रमुख थियो, उनीहरू सक्रिय थिए । 

०४६ सालअघि कांग्रेस र कम्युनिस्ट दुवैले युवा वा विद्यार्थी माझ आफ्नो पहुँच विस्तार गर्ने भरमग्दुर कोसिस गरेका थिए । कम्युनिस्ट आन्दोलनमा त्यतिबेला विभिन्न जनसंगठन सक्रिय थिए । खासगरी जनमत संग्रहपछिको अलि खुकुलो वातावरणलाई भरपूर उपयोग गर्दै जनस्तरमा जनसंगठनका गतिविधि बढाएको पाइन्छ । ती मिसन र परिवर्तनका भरपर्दा माध्यम थिए । जनसंगठनले फ्रन्टल अर्गनाइजेसनको काम गरे । त्यसयता पार्टीमा माथिदेखि तलसम्म पार्टी संगठनको प्रमुखता देखिन्छ । अहिले स्वयं पार्टीहरू नै अग्र पंक्तिमा छन्, माथिदेखि तलसम्म भीमकाय नोकरशाही संरचनाका साथ । तर तिनीहरू निर्णय निर्माण र परिवर्तनका उपकरणभन्दा बफादारिता र तुष्टीकरणका औजार बन्न पुगेका छन् ।

वास्तविक अर्थमा भन्ने हो भने, हामीकहाँ लोकतन्त्रको अभ्यास ०६२/६३ को आन्दोलनपछि भएको हो । अहिले हामीकहाँ पार्टी बनाउनेभन्दा पनि पार्टीहरूलाई विकृत रूप दिने शक्तिहरू बढी हाबी भइरहेका छन् ।

संक्रमणकालीन समाज

अहिले कम्युनिस्ट पार्टीहरू फुट्नुको मूल कारणमा सामाजिक वर्ग अवस्थिति पनि हो । आज हामी संक्रमणकालीन समाजमा छौँ । हाम्रो अवस्था पूर्ण सामन्तवादी होइन, पूर्ण पुँजीवादी पनि होइन । यस्तो संक्रमणकालीन समाजमा विविध वर्गहरू हुन्छन् । जस्तो ः मजदुर, किसान, निम्न वर्ग, निम्न पुँजीपति वर्ग वा मध्यम वर्ग, दलाल पुँजीपति वर्ग र सामन्तको अवशेष आदि । समाजमा विविध वर्ग भएकाले पार्टीहरू पनि धेरै बन्न पुग्छन् । 

अन्ततः समाज दुई वर्गमै पुग्छ– श्रमिक र पुँजीपति वर्गमा । त्यो अवस्थासम्म नपुग्दा हामीकहाँ सबैको समर्थन लिने खालको संरचना भएको पार्टी बन्नुपर्छ । मलाई लाग्छ, अन्ततः हामीकहाँ दुई पार्टी अस्तित्वमा रहन्छन्– एउटा सामन्त, नोकरशाही र दलाल पुँजीपतिहरूको पार्टी र अर्को समग्र जनताको खासगरी श्रमजीवी वर्गको पक्षधर पार्टी । युरोप अमेरिकामा आएको दुई पार्टी प्रणाली रातारातको सिर्जना होइन, उनीहरू लामो प्रक्रियाले त्यहाँसम्म आइपुगेका हुन् । 

वास्तविक अर्थमा भन्ने हो भने, हामीकहाँ लोकतन्त्रको अभ्यास ०६२/६३ को आन्दोलनपछि भएको हो । अहिले हामीकहाँ पार्टी बनाउनेभन्दा पनि पार्टीहरूलाई विकृत रूप दिने शक्तिहरू बढी हाबी भइरहेका छन् । कुनै पनि पार्टीभित्र तलदेखि माथिसम्म छलफल भएर सहजै डगमगाउन नसक्ने वैचारिक आधार बनेकै छैनन् । पार्टीका प्रस्तावना, घोषणापत्रहरू पनि कथित विद्वानबाट कोठामै बसेर लेखिएका छन् । असली श्रमजीवीको आवाज लिएर तिनको वाणी बन्नुपर्ने हो कम्युनिस्ट पार्टी । त्यो सम्बन्ध र सेतुबाट भाग्दै गरेको यथार्थमा छौं यतिखेर हामी । अहिलेको हाम्रो कम्युनिस्ट आन्दोलनको यथार्थ यही हो । 

मलाई लाग्छ, हामीकहाँ पार्टी बन्ने प्रक्रिया चलिरहेको छ र टुटफुट, विभाजन जस्ता समस्या आइरहेका छन् । अहिले हामी इतिहासको आत्मसमीक्षासँगै अझ प्रतिबद्ध हुनुपर्ने सही समयमा उभिएका छौँ । इतिहासले दिएको यो अवसरबाट चुक्यौँ भने हामीले अझै धेरै नोक्सानी बेहोर्नुपर्ने, अझ पर्खनुपर्ने परिस्थिति आउँछ ।

(रातोपाटीकर्मी ध्रुवसत्य परियारसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कार्की
टंक कार्की
लेखकबाट थप