यसरी ल्याइँदैछ भेरी नदीको पानी वीरेन्द्रनगरमा
लामो सयमदेखि चर्चामा रहेको भेरी लिफ्ट खानेपानी आयोजनाको काम अब अघि बढ्ने संकेत देखिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न अघि सारिएको उक्त आयोजना अघि बढाउन वीरेन्द्रनगर नगरपालिका र नेपाल सरकारबीच सम्झौता भएको छ । बिहीबार वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) र खानेपानी तथा ढल निकास विभागका महानिर्देशक रमाकान्त दवाडीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
६ अर्ब लागत, आयोजना सम्पन्न गर्न ६ वर्ष लाग्ने
आगामी ३० वर्षको अवधिमा वृद्धि हुनसक्ने जनसंख्यालाई मध्यनजर गरेर अघि बढाउन लागिएको आयोजनाको कुल लागत ६ अर्ब रुपैयाँ छ । दुई चरणमा सञ्चालन हुने गरी ६ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ ।
नगरप्रमुख ढकालका अनुसार पहिलो तीन वर्षमा पहिलो चरण अन्तर्गत पानी वितरण हुनेछ भने दोस्रो तीन वर्षमा योजना पूर्ण रुपमा सञ्चालन हुनेछ । ढकालको चुनावी प्रतिबद्धतामा अबको तीन वर्षभित्र वीरेन्द्रनगरको खानेपानीको समस्या समाधान गरिने लक्ष्य लिइएको थियो । चालु आर्थिक वर्षमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फण्ड’ अन्तर्गत ५ करोड विनियोजन गरेको छ भने नगरपालिकाले आयोजनाको स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार विकासका लागि ५० लाख विनियोजन गरेको छ ।
संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत लिफ्टिङ प्रविधिमार्फत भेरीको पानी वीरेन्द्रनगर उपत्यमा ल्याउन लागिएको हो ।
आयोजनाले भेरी नदीमा तयार गरिने इन्टेकबाट ७ किलोमिटर दुरीमा पम्पिङ गरी वीरेन्द्रनगर नगरपालिकाको ११ नम्बरमा रहेको अमृतडाँडामा पानी ल्याउने छ । पहिलो चरणका काम भेरी नदीमा इन्टेक निर्माण, पानी प्रशोधन प्रणाली, रिजर्भ ट्याङ्की निर्माण र अमृतडाँडादेखि वीरेन्द्रनगरसम्मको मुख्य पानी प्रसारण लाइन विस्तार गर्ने लक्ष्य राखेको छ ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाईमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ ।
त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ भने ५५० मिलिमिटर क्षमताको पाइप अमृतडाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ । अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । आयोजनाका अनुसार यसरी कामको थालनी भएको खण्डमा अबको ६ वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा आइपुग्ने छ ।
चुनाव लगत्तै टेण्डर गरिने
नगरप्रमुख मोहनमाया ढकालले यसअघिनै डीपीआर तयार भइसककाले आगामी मंसिरमा हुने निर्वाचन पश्चात टेण्डर आह्वान गरिने बताइन् । ‘त्यो भन्दा पहिला डीपीआरमाथि विज्ञहरुबाट थप परामर्श लिइने छ,’ ढकालले रातोपाटीसँग भनिन्, ‘त्यसपछि दुर्त गतिमा आयोजना अघि बढ्छ ।’
नगर प्रमुख ढकालले सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान अन्तर्गत भेरीको पानी ल्याउने बाहेक अन्य विकल्प नरहेको बताइन् ।
यो आयोजनाका लागि मणि थापा खानेपानी मन्त्री हुँदा प्रत्यक्ष अवलोकन समेत गरेका थिए । आफ्नै कार्यकालमा आयोजना अघि बढाउने आश्वासन दिएका उनको कार्यकाल सकिएपछि बीचमा यो योजना केही सुस्ताएको थियो ।
अझै १८ हजार बढी घरधुरी संख्या खानेपानीको पहुँच बाहिर
वीरेन्द्रनगर प्रदेश राजधानी बनेसँगै जनसंख्या दिन प्रतिदिन बढ्दो क्रममा छ । तर हाल भइरहेको जनसंख्यालाई समेत खानेपानीको चरम अभाव भइरहेको छ । हाल भइरहेका मुहानबाट प्रतिसेकन्ड १५३ लिटर पानी आपूर्ति भइरहेको छ । जबकि दैनिक ३२० लिटर प्रतिसकेण्ड पानीको माग भइरहेको छ ।
खानेपानी आपूर्ति तथा व्यवस्थापनको जिम्मा पाएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले माग र आपूर्तिको सन्तुलन मिलाउन आलोपालो प्रणाली लागु गर्दै आएको छ ।
संस्थाका अध्यक्ष कुलमणी देवकोटा अहिलेको संरचनाले पानीको माग पूरा गर्न नसकिने बताउँछन् । उक्त संस्थाले हाल २० हजार घरधुरीलाई धारामार्फत खानेपान वितरण गर्दै आएको छ । तर कुनै स्थानमा हप्ता दिनसम्म पनि खानेपानी नआउने गरेको उपभोक्ताहरुको गुनासो छ । अझै १८ हजारभन्दा बढी घरधुरीलाई खानेपानीको पहुँचमा जोड्न सकिएको छैन । हाल संस्थाले झुप्राखोला, खरी खोला, खोर्के खोला र इत्राम खोलाबाट खानेपानी वितरण गर्दै आएको छ ।
६ वर्षको बीचमा खानेपानीको चरम संकट कसरी टार्ने ?
भेरी लिफ्टिङ् आयोजना सम्पन्न गर्न ६ वर्ष लाग्ने भएपछि त्यो बीचमा हुने खानेपानीको समस्या टार्न नगरपालिकाले कार्ययोजना बनाइरहेको नगरप्रमुख ढकाल बताउँछिन् । उनका अनुसार त्यो बीचमा पानीका मुहानहरुलाई विस्तार गरिने र त्यसका लागि प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग सहकार्य गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते
-
कम्बोडिया भ्रमण सकेर सभामुख घिमिरे स्वदेश फिर्ता
-
प्राइम सहकारी ठगीमा पक्राउ परेका एमाले नेता कारागार चलान
-
अवैध तरिकाले नेपाल प्रवेश गर्न खोज्ने दुईजना चिनियाँसहित ३ पक्राउ
-
देशद्रोहको आरोपमा जेल पठाइए बंगलादेशको इस्कोनसँग सम्बद्ध चिन्मय कृष्ण दास
-
स्थानीय महिलाका लागि उपयोगी ‘शनिबारीय मेला’