शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भेरीको धमिलो पानीले तिर्खा मेट्नुपर्ने बाध्यता !

मङ्गलबार, १० साउन २०७९, १३ : ००
मङ्गलबार, १० साउन २०७९

सुर्खेतको बराहताल गाउँपालिका–४, तरङ्गा वनबारी टोलकी २३ वर्षीय बसन्ती घर्ती हरेक दिनजसो एकाबिहानै पिठ्युँमा डोको र गाग्री बोकेर भेरी नदीको किनारमा जान्छिन् । घरको बुहारी भएको नाताले उनले मिर्मिरेमै उठेर घर लिपपोतदेखि, खानपिनको तयारी गर्नुपर्ने हुन्छ । त्यसभन्दा पहिले खानेपानीको जोहो गर्नुपर्छ । त्यसका लागि एकाबिहानै भेरी नदी पुग्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछिन् । उनको घरबाट भेरी नदी झण्डै एक किलोमिटर दुरीमा पर्छ । उनी भन्छिन्, ‘हाम्रा गाउँका मान्छे त अभागी हुन् । खानेपानीका लागि निकै दुःख छ ।’

बर्खामा भेरीमा धमिलो पानी आउँछ । धमिलो भएकै कारण पानी नलग्ने हो भने तिर्खा मेट्ने अर्को विकल्प खोज्न पूरा दिन माया मार्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । सो टोलमा झण्डै १६ घरधुरी छन् । त्यो बस्तीमा एउटा धारा त छ तर पानी आउँदैन । यो बस्तीका सबैजसो महिला भेरी नदीमा गएर पानी ल्याउनुपर्ने नियति झेलिरहेका छन् ।

वनबारी टोलकै सीता गुरुङ भन्छिन्, ‘यहाँका धेरैजसो पुरुष रोजगारीका लागि कालापहाडतिर जान्छन् । घरमा महिला र बुढाबुढी मात्रै हुन्छन् । घरको सबै जिम्मा महिलाकै काँधमा हुन्छ ।’ यो टोलको दक्षिणतर्फ पर्ने साझघाटका ६२ वर्षीय गगन बहादुर थापा मगरको घरमा अहिले बुढाबुढी र एक छोरामात्रै छन् । वृद्ध उमेरका गगनबहादुर सधैँजसो पानी लिन भेरी नदी किनारमा पुग्छन् । उनी केही दिन अघि भेरी नदीमा धमिलो, दुषित पानी भर्दै गरेको अवस्थामा भेटिए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘धारामा पानी आउँदैन । कहिले आउने, कहिले नआउने गर्दा हैरानी भएको छ ।’

दशकौंदेखि भेरीकै पानी खाने गरेको भएर होला उनलाई लेकबाट धारामा आउने पानीभन्दा भेरीकै पानी ठिक लाग्छ । साझघाटमा झण्डै १६५ घरधुरी रहेको उनले सुनाए ।साविक तरङ्गाका साझघाट, कुटा, तल्लो र माथिल्लो तरङ्गाका गरी झण्डै ६ सय घरधुरीमध्ये अधिकांशले भेरी नदीको धमिलो र दुषित पानी खानुपर्ने बाध्यता छ । माओवादीका स्थानीय कार्यकर्ता डम्बर सुनारका अनुसार ०६४ सालमा निर्माण कार्य सुरु भएर ०७३ सालतिर सम्पन्न जलुकेनी खानेपानी उपभोक्ता समितिमार्फत ७५ वटा धारा छन् । प्रत्येक बस्तीमा १०–१५ घरधुरीलाई समेट्ने गरी धारा बनाइए पनि अहिले धारामा पानी आउँदैन ।

दिन बिराएर पानी आए पनि धारामा लाइन लाग्नुपर्ने बाध्यता भएकाले अधिकांशले भेरी नदीकै पानी प्रयोग गर्छन् । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि झण्डै ३७ किलोमिटर टाढा रहेको यो गाउँ दुर्गम छ । यो गाउँका नागरिकले अझै पनि राज्यका अधिकांश सेवा–सुविधा उपभोग गर्न पाइरहेका छैनन् ।

‘०६४ सालमा कच्ची सडक पुगे पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्दा बर्खाको समयमा गाडी जानै मुस्किल हुन्छ,’ उनले भने, ‘यात्रा गर्दा ज्यानको बाजी लगाउनुपर्ने बाध्यता यहाँका नागरिकलाई छ । अग्लो डाँडाबाट भिरको ओरालो बाटोमा पहिलो पटक यात्रा गर्दा मुटु नै काँप्छ ।’

उनले माओवादीको अगुवाई भएपछि मात्रै त्यहाँ जनतामा अलिकति राज्यको पहुँच पुगेको सुनाए । भेरी नदी वारपार गर्नका लागि दुई वटा झोलुङ्गे पुल छन् भने भेरी पारी गाडी पुग्दैन । भेरी पारीका नागरिकहरु गाडी चढ्न भेरी वारी आउँछन् ।

उनले ०७४ मा माओवादी नेता विन्दमान विष्टको पहलमा सडक र खानेपानीका क्षेत्रमा बजेट आए पनि कार्यान्वयनमा ढिलाई भएको बताए । ०२८ सालमा जब नेपालमा भोकमरी आएको थियो, त्यही बेला पहाडका विभिन्न गाउँबाट मान्छेहरु तिरवितर भई तरङ्गा आएर बसोबास गरेका रहेछन् । सुरुमा तरङ्गा हुँदै बर्दियाको राजापुर जाने हटारुहरुले यहाँ बास बस्ने गरेको र पछि विस्तारै बस्ती विस्तार हुँदै आएको स्थानीय बुढापाका बताउँछन् ।

‘त्यही बेलादेखिनै हो यहाँका नागरिकहरुले भेरी नदीको पानी खान थालेको,’ स्थानीय मदन घर्ती भन्छन्, ‘अहिलेसम्म पनि भेरी नदीको पानी खाइएकै छ ।’

उनलाई बालबालिकाहरु पानी लिन भेरीमा जाँदा कतै बगाउने पो हो कि भन्ने चिन्ता लागिरहन्छ । जडान गरिएको धारामा पानी नआए पनि महिना पुग्ने बित्तिकै महसुल उठाउन आउने गरेको उनको गुनासो छ । ‘पानी दिँदैनन्, तर पैसा लिन भने महिना पुग्ने बित्तिकै आइहाल्छन्,’ उनले भने । पानी प्रयोग गरेबापत प्रत्येक घरधुरीले दुई सय रुपैयाँ उठाउने गरेको उनको भनाइ छ ।

वारी–पारी अग्ला पहाड भएको तरङ्गाको बीचमा भेरी नदी छ । नदीको वारी–पारी समथर किनारमा बस्ती छन् । यद्यपि त्यहाँको अधिकांश जमिन ऐलानी छ । नदी किनारको बस्ती भए पनि सिंचाई नहुँदा अन्न उत्पादन समेत हुँदैन ।

स्थानीय गञ्जबहादुर गुरुङ भन्छन्, ‘जेठ महिनामा लगाएको मकै सुकेर दोस्रो पटक लगाउनुपर्‍यो । नजिकै नदी भएर के गर्नु ?’

नदीबाट सिंचाईका लागि तीन वटा ठाउँमा बोरिङ्ग सिस्टमको लागि काम भइरहे पनि विद्युत अभावमा सञ्चालन हुन सकिरहेको छैन । विद्यतुको पोल गाडेको तीन वर्ष भइसके पनि अहिलेसम्म लाइन विस्तार भएको छैन । जसले गर्दा लिफ्ट मार्फत जनतालाई शुद्ध पानी दिन राज्यले सकिरहेको छैन ।

०७२ सालमा ६ सय घुरधुरीका लागि ७५ वटा धारा बाँडेको जलुकेनी खानेपानी उपभोक्ता समितिले पर्याप्त खानेपानी दिन सकिरहेको छैन । यहाँसम्म कि गएको चैत, वैशाख र जेठ महिनामा एक दिन पनि धारामा पानी नआएको स्थानीयवासी बताउँछन् । गाउँमा भएका पुरुष स्थानीय चुनावमा लागेकाले मर्मत सम्भार नभएपछि पानी आउनै छाडेकोे उनीहरुको भनाइ छ ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष मनबहादुर कार्कीका अनुसार उक्त योजना ०६४ सालमा निर्माण कार्य सुरु भएर ०६९ सालमा गाउँमा पानी आएको थियो । धारा वितरण र निर्माण कार्य सकिएपछि ०७३ सालदेखि नियमित पानी आउने गरेको थियो । बर्सेनि जनसंख्या बढ्दै गइरहेको र कम लागतमा कच्ची संरचना निर्माण भएकाले पानीको स्रोत विस्तार गर्न नसक्दा पानीको हाहाकार हुने गरेको कार्कीको भनाइ छ ।

उनका अनुसार खानेपानी आयोजनाको मुहान गाउँदेखि झण्डै १३ किलोमिटर टाढा छ । पहाडको खोँचमुनि जलुकेनी खोलामा रहेको मुहानको संरचना कच्ची छ । ‘त्यहाँ टुटफुट भइरहन्छ,’ कार्कीले भने, ‘खडेरीको समयमा आगलागीको डर हुन्छ । वर्षामा अलि ठुलो पानी पर्‍यो भने पाइपलाइन नै बगाएर लैजान्छ ।’

खानेपानी आयोजनाको हेरविचार गर्ने भनेर तीन जना हेरालु राखिएको छ । उनीहरुलाई सुरुमा तीन हजारका दरले तलब दिने भनेर राखिए पनि तलब दिनसमेत नसकिएको अध्यक्ष कार्की बताउँछन् । कम लागत भएको योजनामा त्यसपछि रकम नै नपरेपछि स्तरोन्नति हुन नसकेको उनले बताए ।

‘एक घर एक धारा’ को नारा कहिले पूरा होला ?

तरङ्गामा अहिले ‘एक घर एक धारा’ को नारा सहित १२ करोडको लागतमा नयाँ आयोजनाको काम सञ्चालन भइरहेको छ । पुरानै खानेपानी आयोजनास्थलबाट उक्त आयोजना सञ्चालन भइरहेको हो । ०७७ सालबाट सुरु भएको उक्त आयोजनाबाट तरङ्गावासीलाई ट्रिटमेन्ट प्लान्ट सहितको शुद्ध खानेपानी दिलाउने लक्ष्य छ । तर निर्माण कम्पनीको ढिलासुस्तीले लक्ष्य अनुसार काम हुन सकिरहेको छैन ।

०७८ को अन्तिमतिर निर्माण सम्पन्न गरिसक्नुपर्ने आयोजनाको अहिले दोस्रो चरणको काम भइरहेको छ । स्थानीयका अनुसार नयाँ धाराका लागि भनेर प्रति घरधुरी ३ हजारका दरले झण्डै १२ लाख रकम उठाइएको छ ।

वडाध्यक्ष भन्छन्– अबको एक वर्षभित्र खानेपानी घरघरमा पुग्छ

४ नम्बर वडाका अध्यक्ष बृषबहादुर सिजापती अबको एक वर्षभित्र तरङ्गावासीले भेरीको धमिलो पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति पाउने दाबी गरे । उनले भने, ‘निर्माण कम्पनीले केही ढिलाई गरेका कारण समयमै काम सम्पन्न भएन । हामीले ताकेता गरिरहेका छौं ।’ उनका अनुसार खानेपानी निर्माणको जिम्मा प्रदेशसभा सदस्य खड्गबहादुर खत्रीको कम्पनीले लिएको छ । ‘हामीले पटक–पटक चाँडो आयोजना सम्पन्न गर्न पहल गरिरहेका छौं,’ उनले भने ।                   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप