बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुल्झिएन काठमाडौं वर्ल्ड स्कुलको विवाद, टोलमा त्रासपूर्ण वातावरण

बिहीबार, १६ भदौ २०७९, १७ : ३४
बिहीबार, १६ भदौ २०७९

भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुलमा विद्यार्थी कुटपिटको विषयमा भएको विवाद अझै सुल्झिन सकेको छैन । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ मा अध्ययनरत विद्यार्थीमाथि कुटपिट गरेका थिए । सोही विषयमा अभिभावक नै भिड्दा यो विवाद झडपमा परिणत भएको थियो । 

दुई टोलबीचको झडपमा परेर केही व्यक्ति घाइते भएका छन् । उनीहरू विभिन्न अस्पतालमा उपचाररत छन् । सूर्यविनायक नगरपालिका–७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले विद्यार्थी कुटपिटको विषयमा विद्यालयले छानविन गरिरहेको बताए । 
विद्यालयले बिहीबार कक्षा १२ का विद्यार्थीहरूसँग सोधपुछ गरेको थियो । तर, कसैले पनि घटनामा आफ्नो संलग्नतास्वीकार गरेका छैनन् । घटनास्थलमा सीसीटीभी समेत नरहेकाले घटनामा संलग्न रहेकाहरूको पहिचान गर्न अप्ठ्यारो भएको विद्यालयले बताएको छ । 

कुटपिटमा अन्य विद्यार्थीहरू पनि संलग्न रहेको आशंकामा विद्यालयले सोधपुछ गरिरहेको हो । तर, अहिलेसम्म कसैले पनि न आफूले कुटपिट भएको देखेको न आफ्नो संलग्नता रहेको बताएका छन् । जसले गर्दा विद्यालयलाई अनुसन्धान गरेर दोषीमाथि कारवाही गर्न समस्या भएको देखिन्छ । 

दुवै पक्षका अभिभावकबीच भएको छलफलमा दोषी विद्यार्थीमाथि विद्यालयले कारवाही गर्ने सहमति भएको थियो । तर, घटनामा स्थानीय विद्यार्थीको पनि संलग्ता रहेको आरोप लागेपछि दुई टोलका अभिभावकबीच बुधबार झपड भएको थियो । 

काठमाडौं घर भएका विद्यार्थीले स्थानीय विद्यार्थीलाई कुटपिट गरेको विषय अभिभावकसम्म पुगेको थियो । आफ्नै क्षेत्रको विद्यार्थी कुटिएपछि स्थानीय अभिभावबीच विवाद भएको थियो । विवादले उग्र रूप लिँदा झडपको अवस्था सिर्जना भएको थियो । 

टोलमा त्रासको वातारण 
स्थानीय कार्की टोल र तामाङ टोलका केही अभिभावकबीच विवाद हुँदा बुधबार झडप भएको थियो । झडपको क्रममा केही अभिभावकलाई चोटपटक लागेको थियो । हातमा लाठी तथा भाटा बोकेर एक आपसमा भिड्न लागेका उनीहरूलाई प्रहरीले तितरवितर पारेको थियो । घटनापछि अहिले जटिल अवस्था नआएपनि वातावरण भने त्रासपूर्ण देखिएको छ । 

कोही पनि एक आपसमा बोल्न सकेका छैनन् भने भोलि फेरि अर्को लफडा हुने हो कि भन्ने डरमा दुवै टोलबासी छन् ।  ‘दुवै टोलबासीमा भोलि के हुन्छ भनेर डरमा छन् । झडपपछि पुनः मुडभेडको अवस्था त आएको छैन । तर, पछिपनि केही हुन्छ कि भनेर डराएका छन् । अब केही दिनपछि वातावरण अनि नरम भएपछि छलफल गर्छौ,’ वडाध्यक्ष सापकोटाले भने । 

​केही दिनमा अनौपचारिक रूपमा छलफल गरेर त्रसित वातावरणलाई सहज बनाइने उनको भनाइ छ । 
‘झडपका क्रममा चोटपटक लागेका साथीहरू छन् । उनीहरू अहिले रेष्टमा छन् । निको भएपछि अनौपचारिक रूपमा छलफल गर्नुपर्ला । औपचारिक रूपमा छलफल गर्न थाल्यो भने फेरि अर्को अवस्था आउँला,’ वडाध्यक्ष सापकोटाले भने ।

के भएको थियो ?  

तीजको अघिल्लो दिन कक्षा १२ मा पढ्ने विद्यार्थीले कक्षा ११ मा पढ्ने विद्यार्थीमाथि कुटपिट गरे । तीजको भोलिपल्ट स्कुल लाग्यो । घटनाबारे अभिभावकमा चासो बन्यो । कुट्ने विद्यार्थी काठमाडौं घर भएका थिए भने कुटाइ खाने स्थानीय थिए । जसले गर्दा विद्यार्थीबीचको कुटपिटको घटना अभिभावकसम्म पुग्यो । 

अभिभावकहरूबीच नै कुटपिटमा स्थानीय अर्को विद्यार्थीको पनि संलग्नता रहेको भनेपछि झडपको अवस्था सिर्जना भएको थियो । विवादपछि स्थानीय कार्की टोल र तामाङ टोलका अभिभावक नै एक आपसमा भिड्न पुगे । दुवै टोलबासीका युवा भिड्न थालेपछि नियन्त्रणमा लिनको लागि डिएसपीको कमाण्डमा प्रहरी खटाइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप