किन भयो काठमाडौँ वर्ल्ड स्कुलमा झडप ?
काठमाडौँ । तीजको अघिल्लो दिन कक्षा १२ मा पढ्ने विद्यार्थीले कक्षा ११ मा पढ्ने एक विद्यार्थीलाई कुटे । कुटाई खाने भक्तपुरको सूर्य विनायक नगरपालिका–७ गुण्डुका स्थानीयवासी थिए भने कुट्ने काठमाडौँका थिए ।
मंगलबार वडाध्यक्ष रवीन्द्र सापकोटाले यो विषयमा चासो देखाए र विद्यालय प्रशासनलाई के भएको हो भनेर सोधे । विद्यालय प्रशासनले तीजको दिन विद्यालय बन्द भएकाले भोलि बुझ्ने जानकारी गरायो । वडाध्यक्षले बुधबार दिउँसो २ बजेभित्र ‘घटनामा के भएको हो ? दोषीलाई के कारबाही हुन्छ ?’ भनेर जवाफ दिन भने ।
कुटाई खाने विद्यार्थी नजिकैको कार्की टोलका थिए । आज बिहान अभिभावकहरू आफ्ना छोराछोरीलाई स्कुल पुर्याउन भन्दै विद्यालयको गेटसम्म पुगे । स्थानीय अभिभावक कुटपिट गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै होहल्ला गर्न थाले ।
त्यहीबीचमा तामाङ टोलका स्थानीय पनि आफ्ना छोराछोरीलाई पुर्याउन गेटसम्म्म पुगे । एक जनाले अस्तिको कुटपिटमा ‘यो पनि थियो’ भनेर भनिदिए । त्यसपछि कार्की टोल र तामाङ टोलका स्थानीयबीच विवाद हुन थाल्यो ।
यसबीच घटनाको विषयमा विद्यालय प्रशासन, अभिभावक र स्थानीय जनप्रतिनिधिभित्र छलफल गरिरहेका थिए । छलफलपछि दोषी विद्यार्थीलाई विद्यालय प्रशासनले कारबाही गर्ने भनेर निर्णय गरियो । त्यसपछि दुवै पक्ष बैठक सकेर बाहिर आउँदै गर्दा बाहिर दुई टोलवासीबीच झडप हुन थाल्यो ।
एउटा टोलवासीले अर्को टोलको विद्यार्थी पनि घटनामा संलग्न रहेको भन्दै आरोप लगाएपछि दुवै पक्षबीच झडप भएको वडाध्यक्ष सापकोटा बताउँछन् । ‘वडाकै दुईटा गुटबीच झडप भएको थियो । त्यसपछि प्रहरी बोलाइएको थियो,’ वडाध्यक्ष सापकोटाले रातोपाटीसँग भने । दुवै पक्षका हातमा लाठी तथा भाटा बोकेर झडपको लागि आएका थिए । केही बेर मुठभेड भएपछि प्रहरीले उनीहरुलाई छुट्याएको थियो ।
समयमै प्रहरी पुगेर मुठभेडलाई तितरबितर पारेपछि ठूलो दुर्घटनाबाट जोगिएको सापकोटा बताउँछन् । ‘दुवै पक्षका युवा युवाबीच विवाद भयो । समयमै प्रहरी आएर तितरबितर पार्नुभयो । नत्र ठूलो घटना हुनेरहेछ,’ उनले भने ।
विद्यार्थी बीचको झगडाले गर्दा अहिले पनि दुई टोलबीच द्वन्द्व हुने अवस्था सिर्जना भएको छ । ‘त्यसमा हामी सजग छौँ । छलफल गरिरहेका छौँ । कुट्नेवाला काठमाडौँको थियो । हामीले सम्झाउने प्रयास गरिरहेका छौँ । विद्यार्थीबीचको झगडामा अभिभावक भिड्दा समस्या आयो,’ वडाध्यक्ष सापकोटाले भने ।
झडप नियन्त्रण गर्न डीएसपीको नेतृत्वमा प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डीएसपी) राजु पाण्डेले काठमाडौँबाट अध्ययन गर्न आउने विद्यार्थीलाई स्कुल प्रशासनले कारबाही नगरेको भन्दै स्थानीयहरू विरोधमा उत्रिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा