कञ्चनपुर पुगेर ओलीले भने : भारतमा देउवा म्याउम्याउ, प्रचण्ड खुसुखुसु !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा भारत गएर म्याउम्याउ गरेको बताएका छन् । साथै अर्का नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भारत गएर खुसुखुसु गरेको ओलीको भनाइ छ ।
बुधवार कञ्चनपुरमा पार्टीको कार्य क्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएपनि भारतसँग प्रस्ट भन्न नसकेको बताए । उनले गठबन्धनले लिम्पियाधुरा लिपुलेक आफ्नो भूमि भन्न नसकेर ‘समस्या’ भनेर भन्ने गरेको भन्दै गठबन्धन राष्ट्रियता विरोधी भएको टिप्पणी गरे ।
‘प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो । लिपुलेक,कालापानी फिर्ता देउ भन्नुपर्दैन ?’ प्रश्न गर्दै ओलीले प्रचण्डलाई भने, ‘अर्को गठबन्धनको नेता जानुभो अलिपछि । उहाँले बोलेको त बाहिर सुनिने कुरै भएन । हामी यो पनि छोडिदिउँला, त्यो पनि छोडिदिउँला, केपी ओलीले सबै खाइदिने भो । खुस खुस, खुसखुस, प्राण बचाइदिनुपर्यो भन्नुभयो ।’
उनले गठबन्धनबारे आम नेपाली जनताले बुझिसकेको भन्दै जनतालाई ढाँटेर, छलेर र राज्यको ढुकुटी सिध्याएर एमसीसीलाई पत्र लेखेको बताए । उनले एमालेलेमात्रै देश जोगाउने भन्दै गठबन्धन सरकार परमादेशबाट बनेकाले जनताका समस्या सुन्नै नसक्ने बताए । उनले सरकारको कार्यक्षमता ध्वस्त रहेको भन्दै मंसिर ४ पछि नरहने बताए ।
‘यस गठबन्धन पछार्नका लागि एमालेलाई जिताउनुपर्छ । गठबन्धनले जित्यो भने देशले हार्छ । देशमा स्थायित्व अमन चयन कायम गर्न एमालेको सरकार बनाउनुपर्छ’, ओलीको भनाइ छ ।