शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दसैँका लागि खाद्यले ६ करोड ४० लाखको खसी–बोका ल्याउने

मुस्ताङबाट एक हजार च्याङ्ग्रा ल्याइने
बिहीबार, ०९ भदौ २०७९, १३ : २४
बिहीबार, ०९ भदौ २०७९

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दसैँका लागि ६ करोड ४० लाख रुपैयाँ बराबरको खसी, बोका र च्याङ्ग्रा ल्याउने भएको छ । यसअघिकै निरन्तरता दसैँको घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी १, २ दिन अघि काठमाडौँ आइपुग्ने गरी खसी–बोकाको खरिद प्रक्रिया अघि बढाएको कम्पनीले जनाएको छ । 

यस वर्ष पनि कम्पनीले २ हजार खसी–बोका र १ हजार च्याङ्ग्रा खरिद गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले कुल ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्याएको छ । 

‘गत वर्षहरूमा जस्तै यस वर्ष पनि दसैँका लागि खसी–बोका र च्याङ्ग्रा ल्याउनका लागि खाद्य कम्पनीले तयारी थालिसकेको छ । खसी–बोका तथा च्याङ्ग्रा खरिद तयारी उपसमितिले योजना पास गरिसकेको छ । अब सो योजना बोर्डबाट पास भएपछि कार्यान्वयनमा जानेछ’ खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निर्देशक श्रीमणि खनालले रातोपाटीसँग भने । 

तत्काल खसी–बोका तथा च्याङ्ग्राको खरिद गरिनेछैन, तर घटस्थापनाको भोलिपल्टदेखि बिक्री वितरण गर्ने गरी खाद्यले तयारी थालेको छ । तयारी स्वरूप खाद्यले बजारमा खसी–बोकाको खोजी गर्न र मोलमोलाइ हेर्न सम्बन्धित क्षेत्रका कर्मचारीहरूलाई अह्राइ सकेको खनालले बताए । 

यसपटक पनि कम्पनीले खसी–बोका पश्चिम नेपालको दाङ, तुलसीपुर, लहान, लगायत नेपालगञ्ज र केही हेटौँडाबाट समेत खरिद गर्ने तयारी गरेको छ । च्याङ्ग्रा भने मुस्ताङबाटै ल्याउने तयारी कम्पनीको छ । एक हजार च्याङ्ग्रा ल्याउने तयारी गरेको खाद्यले यस वर्ष च्याङ्ग्रामा धेरै मूल्य तिर्नुपर्ने आङ्कलन गरेको छ । 

‘च्याङ्ग्राको मूल्य बढी छ । फेरि मुस्ताङबाट काठमाडौँसम्म ल्याउनुपर्ने हुँदा ढुवानी खर्च समेत बढ्ने हुँदा केही महँगो पर्ने हो की भन्ने हामीलाई लागेको छ । तैपनि यस वर्ष खसी–बोकासहित च्याङ्‍ग्रा पनि ल्याउँछौँ’ कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले बताइन् । गत वर्ष कोरोना महामारीकाबीच आंशिक प्रभावका कारण खाद्यले च्याङ्‍ग्रा ल्याउन सकेको थिएन । 

१८ लाख २७ हजार घाटा

पोहोर साल खसी–बोका मात्र ल्याएको खाद्य कम्पनीले दसैँ व्यापारमा १८ लाख २७ हजार रुपैयाँ घाटा बेहोरेको थियो । निर्देशक खनालका अनुसार विभिन्न क्षेत्रबाट करिब २ हजार ३०० सय गोटा खसीबोका खरिद गरेर ल्याएकोमा १ हजार ९६१ गोटा बिक्री गरिएको थियो । जसबाट ३ करोड ५३ लाख ८ हजार रुपैयाँ उड्यो । तर, खसी–बोकाको खरिद मूल्य नै ३ करोड ७१ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

स्थानीय बजारबाट खसी–बोका खरिद गर्नेदेखि ढुवानी, व्यवस्थापन लगायतको खर्चबाट बिक्री मूल्य घटाउँदा केही घाटा लागेको खनाल बताउँछन् । यद्यपि, बजारको मूल्यलाई नियन्त्रणमा राख्न र चाडवाडको बेला उपभोक्ताहरूलाई सहुलियतमा खसी–बोका उपलब्ध गराउन कम्पनीले यस्तो योगदान गर्ने गरेको उनले बताए । 

उसो त गत वर्ष खाद्य कम्पनीले बजार मूल्य भन्दा प्रतिकेजी १० रुपैयाँले सस्तोमा खसी–बोका बिक्री गरेको थियो । लक्ष्यमा ९८.५ प्रतिशत सफलता हासिल गरेको खनाल बताउँछन् । 

कसरी हुन्छ खसी–बोकाको खरिद बिक्री ?

वर्षेनी दसैंका लागि खसी–बोका तथा च्याङ्‍ग्राको व्यापार गर्ने खाद्य कम्पनीले स्वदेशी खसी–बोका नै खरिद गर्ने गर्छ । पश्चिम नेपालको दाङ, तुलसीपुर, लहान, वीरगन्ज र हेटौंडाबाट खरिद गरेर ल्याइने खसी–बोकाको मूल्य स्थानीय बजारमा नै तोकिन्छ । 

उपभोक्ता हित संरक्षणका प्रतिनिधि समेतको सहभागितामा जिल्ला अधिकारी (सीडीओ) को संयोजकत्वमा मूल्य निर्धारण समिति बनेको हुन्छ । त्यहीँ समितिले स्थानीय बजार मूल्यका आधारमा खसी–बोकाको मूल्य तय गरिन्छ । यसपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रतिनिधिहरूले खसी–बोका गाडीमा हालेर काठमाडौँ ल्याउँछन् । तर, स्थानीय बजारबाट थोरै सङ्ख्यामा मात्र खसी–बोका ल्याइने हुँदा सार्वजनिक खरिद प्रक्रिया (टेन्डर) मा भने नजाने निर्देशक खनाल बताउँछन् । 

‘खसी–बोका खरिदका लागि टेन्डर हुँदैन । स्थानीय बजारमा सिधै किसानहरूसँग नै खसी–बोका खरिद गरिने हुँदा यसमा बिचौलियाहरू हुँदैनन् । फेरि, सम्बन्धित जिल्लाको जिल्ला प्रमुखकै रोहवरमा उपभोक्ताकर्मीको समेत सहभागितामा मूल्य निर्धारण हुने हुँदा कुनै समस्या हुँदैन । यसरी नै खसी–बोका र च्याङ्‍ग्राको समेत खरिद हुने हुँदा ठग्ने र ठगिने सम्भावना रहँदैन’ खनालले रातोपाटीसँग भने । 

गत वर्ष खुल्ला बजारमा प्रतिकेजी ६५० रुपैयाँसम्म खसी–बोकाको बिक्री भइरहँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकेजी (१० रुपैयाँ कम) ६४० रुपैयाँमा नै उपलब्ध गराएको थियो । यस वर्ष खसी–बोका र च्याङ्‍ग्राको मूल्य बढ्न सक्ने कम्पनीको अनुमान छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप