शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वामदेवले बर्दिया–१ छाड्दा कांग्रेसलाई सहज, को–को छन् मैदानमा ?

मङ्गलबार, ०७ भदौ २०७९, १५ : ०६
मङ्गलबार, ०७ भदौ २०७९

आसन्न प्रतिनिधिसभा निर्वाचनमा वामदेव गौतमले बर्दिया क्षेत्र नम्बर १ छाडेर प्युठानबाट उम्मेदवारी दिने चर्चा सुरु भएसँगै सत्तारुढ गठबन्धनलाई वामदेवको साबिकको क्षेत्रमा भागबण्डा मिलाउन केही सहज हुने देखिन्छ । यद्यपि, बर्दिया–१ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वामदेवलाई पराजित गरेका थिए ।

आसन्न निर्वाचनमा वामदेव सत्तारुढ गठबन्धनबाटै उम्मेदवार बन्ने निश्चित भइसकेको छ । उनले बर्दिया–१ नै रोजेको अवस्थामा सत्तारुढ गठबन्धनमा उम्मेदवार छनोटका लागि रस्साकस्सी नै पर्ने हुन्थ्यो । किनकि विगतमा आफूले जितेको क्षेत्रमा वामदेवलाई गठबन्धनका तर्फबाट उम्मेदवारी दिन कांग्रेस तयार हुने अवस्था थिएन ।

तर, वामदेव प्युठान जाने चर्चासँगै बर्दिया–१ मा कांग्रेसले नै उम्मेदवारी दिने करिबकरिब सुनिश्चित देखिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट अन्य दलको खासै प्रभाव नदेखिएका कारण कांग्रेसले नै मुख्य रुपमा दाबी गर्ने देखिएको हो ।

बर्दियामा प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र छन् । २०७४ सालको निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका सञ्जयकुमार गौतमले वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई पराजित गरेका थिए । क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका सन्तकुमार थारुले कांग्रेसका गोपाल दहितलाई पराजित गरेका थिए ।

यस्तै प्रदेशसभामा बर्दियाको क्षेत्र नम्बर १(क) बाट एमालेका कविराम थारु, (ख) बाट माओवादीका तिलकराम शर्मा, क्षेत्र नम्बर २(क) बाट माओवादीका दीपेश थारु र (ख) बाट एमालेका कुलप्रसाद पोखरेल विजयी भएका थिए ।

अहिले को–को छन् आकांक्षी ?

बर्दिया क्षेत्र नम्बर १ बाट अहिले नेपाली कांग्रेसबाट सञ्जयकुमार गौतम नै उम्मेदवार बन्न आकांक्षी छन् । लामो समय पार्टीको जिल्ला सभापति भएका गौतम अहिले केन्द्रीय सदस्यसमेत छन् ।

यो क्षेत्रमा एमालेबाट केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवाली र प्रदेश उपसचिव लीला राना आकांक्षी छन् । ज्ञवाली २०६४ सालमा बर्दियाबाट पराजित भएका थिए भने राना २०७० सालको दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट विजयी भएकी थिइन् ।

माओवादीबाट तिलकराम शर्मा पनि गठबन्धनमा कुरा मिलेमा प्रतिनिधिसभामै जान इच्छुक देखिन्छन् । माओवादीका पोलिटब्यूरो सदस्यसमेत रहेका शर्मा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्रीसमेत हुन् ।

बर्दिया–२ मा माओवादीका सन्तकुमार थारु मुख्य आकांक्षी छन् । उनी यहाँबाट निर्वाचित हुँदै आएका कारण उनको दाबी स्वाभाविक पनि देखिन्छ । उनीसँगै माओवादीका दुर्गाबहादुर थारु पनि आकांक्षी रहेको जिल्लास्तरका कार्यकर्ताहरु बताउँछन् ।

यो क्षेत्रबाट कांग्रेसले पनि दाबी गरिरहेको छ । कांग्रेसबाट गोपाल दहित, किशोरसिंह राठौर र जिल्ला सभापति अरूणप्रकाश सिंह राठौर पनि आकांक्षी छन् । दहित यसअघि पराजित भएका थिए । किशोर समानुपातिक सांसद भएको कारणले अहिले यहाँ नपाएमा बाँके क्षेत्र नम्बर ३ मा जान चाहिरहेका छन् ।

गठबन्धनभित्र बर्दिया–२ मा माओवादी केन्द्रको दाबी बलियो देखिन्छ । यो माओवादीको आधारमा इलाका पनि हो ।

यहाँ एमालेबाट विमला विक र भीम केसी आकांक्षी छन् । विक एमाले केन्द्रीय अनुशासन आयोग सदस्य तथा हाल प्रतिनिधिसभाको समानुपातिक सांसद हुन् । केन्द्रीय सदस्य केसी यसअघि यसै क्षेत्रबाट पराजित नेता हुन् । उनीहरूमध्ये एक जनाले गठबन्धनका उम्मेदवारसँग भिड्ने जिल्लास्तरका एमाले कार्यकर्ताहरूको बुझाई छ ।

कुन दलको मत कति ?

२०७४ सालमा बर्दिया क्षेत्र नम्बर १ मा कांग्रेस नेता सञ्जयकुमार गौतमले एमाले उम्मेदवार वामदेव गौतमलाई ७५३ मतान्तरले पराजित गरेका थिए । सञ्जयले ४४ हजार ८२९ मत पाउँदा वामदेवले ४४ हजार ७६ मत ल्याएका थिए । एमालेको साथ छाडेपछि नेकपा एकता राष्ट्रिय अभियान घोषणा गरेर आफू संयोजक बनेका गौतमले त्यतिबेला माओवादी केन्द्रको समेत मत पाएका थिए ।

क्षेत्र नम्बर २ मा सन्तकुमार थारु ५० हजार ५५५ मत ल्याएर विजयी हुँदा कांग्रेसका गोपाल दहितले ३६ हजार ७३५ ल्याएका थिए ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको मत परिणाम अनुसार बर्दियाको क्षेत्र नम्बर १ मा एमाले अगाडि छ । तर सत्तारुढ गठबन्धनको मत एकै ठाउँमा राख्दा भने गठबन्धनकै उम्मेदवार अगाडि देखिन्छ । वडा अध्यक्षहरूले पाएको मतको आधारमा एमालेले ३६ हजार ८१२, कांग्रेसले ३४ हजार ६२२, माओवादी केन्द्रले २४ हजार ३४१, राप्रपाले ३ हजार १९०, जसपाले २ हजार २३७, नेकपा एकीकृत समाजवादीले एक हजार ६५२, लोसपाले १५६ मत पाएका छन् ।

यस्तै बर्दिया २ मा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसका वडा अध्यक्षहरूले ३८ हजार ३५२ मत पाएका छन् भने माओवादीकाले ३० हजार ७९८, एमालेले २३ हजार ३२०, राप्रपाले एक हजार ५०२, एकीकृत समाजवादीले ७२८, जसपाले २३४ मत पाएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप