शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्युठान रोजेका वामदेवलाई कति सहज ? यस्तो छ अंकगणित

एमालेको दाबी– रामदेव नै आएपनि जित्छौँ
बुधबार, ०१ भदौ २०७९, १६ : ३९
बुधबार, ०१ भदौ २०७९

नेकपा एमाले छाडेपछि लगभग सक्रिय राजनीतिबाट अलग भएका वामदेव गौतम निर्वाचन घोषणापछि फेरि जुर्मुराएका छन् । हाल राष्ट्रियसभा सदस्य रहेका उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा छन् ।

२०७४ को निर्वाचनमा बर्दियाबाट पराजित भएका उनी सत्ता गठबन्धनको सहयोगमा आसन्न निर्वाचनमा उम्मेदवार बन्ने तरखरमा जुटेका हुन् । उनलाई नेकपा माओवादी केन्द्रले आफ्नै चुनाव चिह्न दिने भएको छ । उनी यो पटक प्युठानबाट उम्मेदवार बन्ने चर्चा छ ।

प्युठान जिल्लाको प्युठान नगरपालिकामा जन्मिएका गौतम विगतमा यहीँबाट चुनाव जितेर संविधानसभा सदस्य भएका थिए । २०७४ मा प्युठान छोडेर बर्दिया पुगेका गौतम वाम गठबन्धनका बाबजुद पराजित भए । यो पटक फेरि प्युठानमा फर्किँदा मतदाताले कसरी स्वीकार्लान् भन्नेतर्फ पनि चर्चा हुन थालेको छ ।

०७८ भदौमा एमालेबाट राजीनामा दिएर दलविहीन बनेका गौतमले  पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानमार्फत राजनीतिक गतिविधि गर्दै आएका छन् । आसन्न निर्वाचनमा गौतमले माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने भएका हुन् ।

गठबन्धनबाटै चुनाव लड्ने तयारीमा रहेका वामदेवलाई प्युठानमा उम्मेदवार बन्नका लागि गठबन्धनभित्रै सहमति जुट्न भने कठिन देखिन्छ । प्युठानमा गठबन्धनकै घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षसमेत रहेकी दुर्गा पौडेलको सशक्त दाबी हुने देखिन्छ । २०७४ को निर्वाचनमा पौडेल वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा प्रतिस्पर्धामा उत्रिएर निर्वाचिन भएकी थिइन् । उनले ४६ हजार ५१५ मत ल्याउँदा काँग्रेसका उम्मेदवार गोविन्द पोखरेलले ३१ हजार २८६ मत पाएका थिए । त्यसैले पनि पौडेलले आफ्नो क्षेत्र छाड्ने सम्भावना न्युन छ । यदि छोडेमा पौडेललाई कहाँ व्यवस्थापन गर्ने भन्ने अर्को चुनौती गठबन्धनसामु देखिन्छ ।

नेपाली काँग्रेस प्युठानका सभापति विष्णु गिरीले प्युठानमा जनमोर्चाले गठबन्धनभित्र स्वाभाविक रूपमा दाबी गर्ने रातोपाटीलाई बताए । सत्ता गठबन्धनभित्र बनेको कार्यदलले सिट मिलाउने भएकाले जसले टिकट पाए पनि जिताउन लाग्ने उनको भनाइ छ ।

यदि गठबन्धनभित्र प्युठान जिल्ला नेपाली काँग्रेसको भागमा परे काँग्रेसका डा. गोविन्द पोखरेलकै दाबी रहने काँग्रेस सभापति गिरीले बताए ।

यता प्युठानबाट प्रदेशसभा जितेका लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री तथा माओवादीका कृष्णध्वज खड्का पनि यस पटक प्रतिनिधिसभामा उम्मेदवार बन्ने चर्चा छ । उनले सकेसम्म प्रतिनिधिसभामै जाने चाहना राखेको जिल्लास्तरका कार्यकर्ता बताउँछन् ।

यदि माओवादीले वामदेवलाई प्युठानबाट चुनावी मैदानमा उतारे जनमोर्चालाई वाग्लुङ्ग दिने र प्युठानबाट जितेकी जनमोर्चाकी सांसद दुर्गा पौडेललाई राष्ट्रियसभामा लैजान सक्ने गरी छलफल भएको पनि एकथरीको भनाइ छ । यस्तै, डा. पोखरेल, कृष्णध्वज खड्कालाई पार्टीले व्यवस्थापन गर्ने सहमति बन्न सक्ने उनीहरु बताउँछन् ।

कम्युनिस्ट ‘गढ’ मानिएको प्युठानमा गठबन्धनबाट गौतम उम्मेदवार भएमा एमालेसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ । एमालेबाट पूर्व मन्त्री मणिचन्द्र थापा, एमालेकै पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज सूर्य थापामध्ये एकजना उम्मेदवार हुने निश्चितजस्तै छ । त्यसमा पनि सूर्य थापा नै ओलीको रोजाइमा पर्ने एमाले नेताहरुको भनाइ छ ।

एमालेको दाबी– वामदेव, रामदेव जो आएपनि जित्छौँ

प्युठानका एमाले जिल्ला इन्चार्ज सूर्य थापाले गठबन्धनबाट को उम्मेदवार बन्छन् भन्ने आफूहरुलाई चासो नभएको बताए ।

उनले प्युठानमा स्थानीय तह निर्वाचनमा गठबन्धनविरुद्ध एमालेले पालिका र वडामा जित निकालेको भन्दै अहिलेको अवस्थामा एमाले झन् शक्तिशाली बनेको दाबी गरे ।

उनले रातोपाटीसँग भने, ‘दुर्गा, काली, महाकाली, वामदेव, रामदेव जो आए पनि एमाले अहिले यहाँबाट जित्छ, त्यसैले उनीहरूले कसलाई उम्मेदवार बनाउँछन् भन्ने हामीलाई चासो छैन ।’

यस्तो छ प्युठानको अंकगणित

गत स्थानीय निर्वाचनमा वडागत रुपमा पाएको पार्टीगत मतमा एमालेको तुलनामा सत्तारुढ गठबन्धनकै मत बढी छ ।

स्थानीय तहको वडागत मतलाई आधार मान्दा काँग्रेसको १६ हजार ४४० मत छ भने माओवादीको १३ हजार ९५२, राष्ट्रिय जनमोर्चाको १३ हजार ३५० मत छ । यस्तै एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको एक हजार ६५३ मत छ ।

जिल्लामा एमालेको मत ३८ हजार ६११ छ । जबकि, गठबन्धनका घटकहरुको मत ४५ हजार ३९५ छ । त्यस अतिरिक्त स्थानीय तह निर्वाचनमा स्वतन्त्रको २ हजार ५८६ मत र राप्रपाको ३७८ मत छ । स्वतन्त्रले हासिल गरेको मत पनि गठबन्धनकै कित्तामा जाने देखिन्छ । यो अंकगणितको आधारमा प्युठानमा एमालेको तुलनामा गठबन्धन बलियो देखिन्छ ।

पालिकास्तरमा यस्तो छ हिसाब

२ वटा नगरपालिका र ७ गाउँपालिका रहेको प्युठानमा ऐरावती गाउँपालिकामा वडाध्यक्षमा काँग्रेसका उम्मेदवारले २ हजार ९ सय ८५ मत पाएका थिए भने माओवादीका उम्मेदवारले २ हजार १३७ मत पाएका थिए । सोही गाउँपालिकामा जनमोर्चाको एक हजार ३३१ मत आउँदा राप्रपाले ४४ र स्वतन्त्र उम्मेदवारको २४९ मत आएको थियो । यो पालिकाभरका वडामा नेकपा एमालेका उम्मेदवारले २ हजार १९१ मत पाएका छन् ।

गौमुखी गाउँपालिकामा काँग्रेसले २ हजार ७८३ मत पाएको छ भने माओवादीले एक हजार २३३, स्वतन्त्रले ५८१ र राप्रपाले ३८ मत पाएको छ । यो पालिकामा एमालेको २ हजार ९८२ मत छ ।

यस्तै झिमरुक गाउँपालिकामा काँग्रेसले २ हजार २८५ मत प्राप्त गर्दा माओवादीले एक हजार ६२४ मत ल्याएको छ । यहाँ जनमोर्चाकोे एक हजार ५४३, स्वतन्त्रको २३२, जसपाको २३ र राप्रपाको १८ मत छ । यहाँ एमालेको ३ हजार ९१६ मत छ ।

यता नौवाहिनी गाउँपालिकामा काँग्रेसले २ हजार ३३० मत पाउँदा माओवादीले ३ हजार ५७ मत प्राप्त गरेको छ । यस्तै जनमोर्चाले १२३, स्वतन्त्रले ४२ र राप्रपाले ५७ मत पाएको छ । यो पालिकामा एमालेको ६ हजार ९७ मत छ ।

प्युठान नगरपालिकामा काँग्रेसले ४ हजार ७५५ मत पाउँदा माओवादीले २ हजार ६३९, जनमोर्चाले एक हजार ३६८, स्वतन्त्रले ९४९ र राप्रपाले २५६ मत पाएको छ । एमालेले यस पालिकामा ८ हजार १० मत पाएको छ ।

मल्लरानीमा काँग्रेसको एक हजार ६८० मत आउँदा माओवादी केन्द्रको ३७६ र जनमोर्चाले एक हजार ८५३ मत छ । यो पालिकामा एमालेको ३ हजार १८९ मत छ ।

त्यसैगरी माण्डवी गाउँपालिकामा काँग्रेसले ८६३ मत पाउँदा माओवादीले २ हजार ९२ मत पाएको छ भने जनमोर्चाले ५८४ मत ल्याएको छ । स्वतन्त्रले १७ र राप्रपाले ८ मत पाउँदा एमालेले ३ हजार ४८९ मत ल्याएको छ ।

सरुमारानी गाउँपालिकामा काँग्रेसको एक हजार ४४, माओवादी केन्द्रको २ हजार ४१८ र स्वतन्त्रको १२ मत छ । यो पालिकामा एमालेले ४ हजार ५५७ मत ल्याएको छ ।

स्वर्गद्वारी नगरपालिमामा काँग्रेसको २ हजार ८३९ मत छ । यस्तै माओवादीको २ हजार ४९३ मत छ भने स्वतन्त्रको ७९९ मत छ । यहाँ राप्रपाको १ मतमात्र छ । एमालेको मत भने ४ हजार १८० छ ।

(तेजेन्द्र केसीको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप