शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अन्योलमा अल्मुताइरीको भविष्य

सोमबार, ०६ भदौ २०७९, ०९ : ५५
सोमबार, ०६ भदौ २०७९

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले गत साउन २५ गते अखिल नेपाल फुटबल  संघ (एन्फा)लाई लिखित जवाफ पठाए । अल्मुताइरीको उक्त जवाफमा के थियो, एन्फाले खुलाएको छैन । 

नेपाली राष्ट्रिय टोलीको प्रशिक्षकको रूपमा छोटो समयमा धेरै आलोचना खेपेका अल्मुताइरी अब नेपालको मुख्य प्रशिक्षक भइरहने कुरामा दुई मत छ । त्यसैले अल्मुताइरीको छोटो समयको विकल्पको रूपमा एन्फाले कार्यवाहक मुख्य प्रशिक्षकको रूपमा प्रदीप हुमागाईलाई नियुक्त गरिसकेको छ । तर, पनि एन्फा यो विश्वकपसम्म अल्मुताइरीको विषयमा केही टुङ्गो नलगाएर बस्ने योजनामा छन् । 

अल्मुताइरीलाई एन्फाले बर्खास्त गर्न सहज छैन । कतार फुटबलदेखि लिएर कतार एम्बेसीसँगको अन्तिम छलफलपछि मात्र अल्मुताइरीले नेपाली टोलीको प्रशिक्षक छोड्ने या कायम रहने तय हुनेछ । 

अहिले मुख्य प्रशिक्षकको विषयमा अन्तिम रूप दिन एन्फा महासचिव किरण राईलाई जिम्मा दिइएको छ । राईले जिम्मा पाएको केही दिनमा नै एन्फालाई अल्मुताइरीले जवाफ पठाएका थिए । अब एन्फाले अल्मुताइरीलाई त्यो जवाफको प्रतिक्रिया दिने योजनामा छ । महासचिव राईले केही दिनमा एन्फाबाट अल्मुताइरीलाई पत्र पठाउने योजना बनाएका छन् । 

अल्मुताइरीसँग पत्रबाट नै छलफल 

नेपाली फुटबलमा पंकजविक्रम नेम्बाङको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले पहिलो बैठकमा नै अल्मुताइरीको विषयमा निर्णय गर्ने भन्ने चर्चा थियो । तर, एन्फाले अल्मुताइरीको विषयमा गठित छानबिन समितिको प्रतिवेदनको आधारमा अघि बढ्ने बताएको थियो । त्यो समयमा एन्फाले महासचिव राईलाई अनौपचारिक रूपमा प्रशिक्षकको विषयमा कुरा अघि बढाउन जिम्मा दिएको थियो । सोही आधारमा नै राईले प्रशिक्षकको धारणा बुझेको जानकारी दिएका छन् । 

यता प्रशिक्षक अल्मुताइरीले भने गत असारमा आफूलाई एन्फाबाट कुनै खाले पत्र नआएको बताए । अल्मुताइरीले सामाजिक सञ्जालमा विज्ञप्ति नै निकाल्दै एन्फाले आधिकारिक रूपमा आपूmलाई कुनै पत्र नपठाएको दाबी गरेका थिए । 

‘मलाई आधिकारिक रूपमा एन्फाबाट कुनै पत्र आएको छैन । बाहिर मिडियामा यो विषयमा गलत सन्देश आएको छ,’ अल्मुताइरीले लेखेका थिए । 

अल्मुताइरीले त्यसको केही दिनमा गत साउन २५ गते एन्फालाई लिखित रूपमा जवाफ पठाए । उनको जवाफ एन्फाले खुलाउन नमाने पनि अल्मुताइरी नेपाली फुटबल टोलीसँग काम गर्न इच्छुक भएको बताइएको छ ।

अल्मुताइरी एन्फासँग काम गर्न इच्छुक भएको यसअघि पनि महासचिव राईले रातोपाटीसँगको कुराकानीमा भनेका थिए । गत असार १५ गते भएको कुराकानीमा उनले अल्मुताइरी काममा फर्कन चाहेको र एन्फाले पुरानो कुरा भुल्न चाहेको बताएका थिए । 

‘अल्मुताइरी काममा फर्कन चाहन्छन् । हामी पुरानो विवादलाई भुल्न चाहन्छौँ । सकारात्मक कुरालाई आत्मसाथ गर्दै नकारात्मक कुरालाई बिर्सिन चाहन्छौँ । प्रतिवेदनको कुरामा पनि केही पुनर्विचार गर्नु पर्नेछ,’ राईले रातोपाटीसँगको कुराकानीमा भनेका थिए । 

गत साउन २५ गते आएको अल्मुताइरीको जवाफ पछि अब एन्फाले फेरि पत्र पठाउन लागेको सहासचिव राईले बताए । ‘अल्मुताइरीको जवाफ अध्ययन गरेँ । अब एन्फाबाट पत्र पठाउने तयारीमा छु । पत्रमा के छ भन्ने अल्मुताइरी र एन्फाबीचको विषय टुङ्गो नलागेसम्म भन्न मिल्दैन,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।  

नयाँ नेतृत्वलाई चुनावको मुख्य एजेन्डाले नै प्रहार गर्दै

एन्फाले गत असारको पहिलो साता नयाँ नेतृत्व पायो । एन्फाको नयाँ नेतृत्वका लागि तयार हुँदा नेम्वाङ नेतृत्वको एउटा प्रमुख मुद्दा प्रशिक्षक–खेलाडीको विवाद समाधान गरी खेलाडीलाई न्याय दिनु थियो । 

चुनाव जितेपछि नेम्वाङले खेलाडी–प्रशिक्षक विवादको विषयमा पहिलो कार्यसमिति बैठकबाट नै निर्णय गर्ने बताएका थिए । त्यसैले, नयाँ कार्यसमितिको अन्य निर्णयभन्दा प्रशिक्षकको विषयमा कस्तो निर्णय आउँछ भन्ने सबैको चासोको विषय बनेको थियो । 

तर, नयाँ कार्यसमितिले प्रशिक्षकको विषयमा पहिलो बैठकबाट केही निर्णय गर्न सकेन । नयाँ कार्यसमिति आएको दुई महिना पूरा हुन लाग्दा अझै प्रशिक्षक राख्ने या हटाउने भन्ने विषयमा अझै अन्योलमा छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ कार्यसमितिसँग काम गर्ने चाहना देखाइरहेको अवस्थामा एन्फालाई भने छानबिन समितिको प्रतिवेदनले प्रहार गरिरहेको छ । 

खेलाडी–प्रशिक्षक विवादको विषयमा छानबिन गर्न बसेको समितिले अल्मुताइरीलाई दोषी देखाउँदै उनको विकल्प खोज्न सुझाव दिएको थियो । त्यो सुझावलाई एन्फा अब भने नकार्ने पक्षमा छैन । एक ताका पुराना कुरालाई भुलेर अल्मुताइरीलाई ल्याउने योजना बनाएको एन्फा भने अहिले त्यो मुडमा देखिँदैन । 

अर्काेतर्फ अल्मुताइरीलाई प्रशिक्षक पदबाट हटाउन सक्ने अवस्थामा एन्फा छैन । किनकि पारिश्रमिक पनि व्यवस्थापन गर्ने गरी कतार फुटबलले प्रशिक्षक अल्मुताइरीलाई पठाएको हो । अहिले विश्व फुटबलको नजर नै कतारमाथि जोडिएको छ । फिफा विश्वकप २०२२ को आयोजक कतारतर्फ यो समय विश्व फुटबल कै नजर छ । यस्तो अवस्थामा नेपाली फुटबलले कतारलाई इन्कार गर्न सक्ने अवस्थामा छैन । न त नेपालका लागि कतारका राजदूतसँग गएर तपाईंहरुले पठाएको प्रशिक्षक फिर्ता लिनुस् भन्न सक्ने अवस्थामा छ । नत कतार फुटबलसँग नै । 

तर, चुनाव ताका लिएको मुख्य एजेन्डाले भने नयाँ नेतृत्वलाई प्रहार गरिरहेको छ । यही अवस्था कायम भएमा नयाँ नेतृत्वको पहिलो मुख्य एजेन्डा नै पाखा लाग्नेछ । यता विवादमा तानिएका १० खेलाडीको चाहना भनेको नै अल्मुताइरीको बर्खास्ती हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप