मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

किन पक्राउ परे शिवराज श्रेष्ठ ? के हो अभद्र व्यवहारको मुद्दा ?

प्रहरी आफैंले डीएनए टेष्ट गराउन मिल्छ ?
शुक्रबार, ०३ भदौ २०७९, २२ : ५१
शुक्रबार, ०३ भदौ २०७९

निहारिका राजपुत प्रकरणका आरोपित युवक शिवराज श्रेष्ठलाई मंगलबार साँझ धनुषा प्रहरीले पक्राउ गर्यो । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाएको छैन, यद्यपि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि सोही कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । 

श्रेष्ठले के कस्तो अभद्र व्यवहार गरेका कारण प्रहरीले पक्राउ गरेको हो, खुलाएको छैन । यद्यपि प्रहरीले श्रेष्ठमाथि अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाबाट बुधबार ५ दिनको म्याद लिएर ‘अनुसन्धान’ गरिरहेको बताएको छ । 

के हो अभद्र व्यवहार ?
मुलुकी अपराध संहिताको दफा ११८ मा अभद्र व्यवहार गर्न नहुने भन्ने उल्लेख गरिएको छ । उक्त दफामा ‘कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानूनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन’ भन्ने उल्लेख गरेको छ । 

प्रहरीले सार्वजनिक स्थानमा होहल्ला, झैझगडा आदि गरेमा पनि अभद्र व्यवहारमा मुद्दा लैजाने गरेको छ भने प्रहरीले चलाउने अभद्र व्यवहारका अधिकांश मुद्दा नक्कली मुद्दा हुने र कोही व्यक्ति वा समूह विशेषलाई बाहिर राख्दा अन्य क्षति हुने भएमा पनि प्रहरी हिरासतमै राख्ने प्रयोजनका लागि अभद्र व्यवहारको मुद्दा चलाउने गरेको छ । 

यसरी प्रहरीले कुनै व्यक्तिमाथि अभद्र व्यवहारको मुद्दा चलाउन लागेमा त्यसका लागि प्रमुख जिल्ला अधिकारीबाट आदेश लिनुपर्ने हुन्छ । वा म्याद थप गर्नुपरेमा पनि प्रमुख जिल्ला अधिकारीबाट नै म्याद थप गर्ने कानुनी व्यवस्था छ ।

मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ को उपदफा २ मा अभद्र व्यवहार गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ । कानुनतः एक वर्षसम्म कैद सजाय हुने मुद्दाको किनारा प्रमुख जिल्ला अधिकारीले गर्न सक्नेछन् । यद्यपि अभद्र व्यवहारका अधिकांश मुद्दामा आरोपीलाई माफी मगाएर छाडिने गरिएको छ । 

धनुषा प्रहरीले पक्राउ गरेका शिवराज श्रेष्ठले कुन कसुर गरेर पक्राउ गरिएको हो, बताइएको छैन । यद्यपि काठमाडौंमा निहारिका राजपुतले पुनः अनसन बसेपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको बुझिएको छ । जबरजस्ती करणीको मुद्दामा शिवराज श्रेष्ठले सफाई पाएपछि निहारिकाले आफूबाट जायजन्म भएको बालक र आरोपी शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरिरहेकी छिन् । डीएनए टेष्टको माग हुँदा शिवराज भाग्न सक्ने डरले पनि प्रहरीले उनलाई पक्राउ गरेको दावी गरिएको छ । 

डीएनए टेष्टका सम्बन्धमा आरोपी शिवराज श्रेष्ठले पनि आफू त्यसका लागि तयार रहेको बताइसकेका छन् । शिवराजले रातोपाटीसँगको कुराकानीका क्रममा पनि आफू डीएनए टेष्टका लागि तयार रहेको र डीएनए म्याच भए हाँसीखुसी निहारिकालाई श्रीमती र बालकलाई छोराको रुपमा स्वीकार गर्ने बताइसकेका छन् ।

तर प्रहरी आँफैले डीएनए टेष्ट भने गराउन सक्दैन । त्यसका लागि अदालतबाट आदेश आएमा मात्रै प्रहरीले डीएनए टेष्टका लागि नमुना संकलन गर्न सक्छ । यतिबेला आफूमाथि जबर्जस्ती करणी गरेर गर्भवती बनाइएको भन्ने आरोप लगाएकी सोनालीकुमारी सिंह (निहारिका राजपुत) ले उच्च जनकपुरमा पुनरावेदन गरेकी छन् । साथै आरोपी र आफ्नो बच्चाको डीएनए टेष्ट गराउन पनि माग गरेकी छिन् । उच्च अदालतले डीएनए टेष्टको आदेश दिएमा मात्रै प्रहरीले डीएनए टेष्टका लागि पठाउन मिल्छ ।

यद्यपि प्रहरीले अनुसन्धान प्रयोजनका लागि डीएनएको नमुना लिएर परीक्षण भने गराएको छ । अदालतबाट आदेश नभएपनि निर्मला पन्त प्रकरणमा प्रहरीले करिब ९५ जनाको डीएनएको नमुना संकलन गरी परीक्षण गराएको थियो । त्यसरी डीएनए परीक्षण गराएपनि त्यसको आधिकारिकता भने रहँदैन । डीएनए म्याच भएमा फेरि अदालती प्रक्रिया पूरा गरेर नै पुनः संकलन तथा परीक्षण गराउनुपर्ने हुन्छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप