शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘हेभिवेट’ नेताको गृह जिल्ला झापाका ५ सिटमा को–को बीच हुँदैछ प्रतिस्पर्धा ?

एमाले र गठबन्धनको टक्करमा राप्रपा निर्णायक
बुधबार, २५ साउन २०७९, १० : ५६
बुधबार, २५ साउन २०७९

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै ‘हेभिवेट’ नेताहरूको गृह जिल्ला र निर्वाचन क्षेत्रको चुनावी गणितीय राजनीति बहसको विषय बनिरहेको छ । ०७४ को परिणाम र गत वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनको मत परिणामलाई आधार बनाएर निर्वाचन क्षेत्रको गणितीय हिसाब–किताब भइरहेको छ ।

आज हामीले एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेसका शीर्ष नेता कृष्णप्रसाद सिटौला, महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापाका ५ वटा निर्वाचन क्षेत्रको लेखाजोखा गरेको छौँ ।

स्थानीय मत हेर्दा झापाका ४ क्षेत्रमा एमाले हाबी छ । झापा–३ बाहेक एमाले सबै क्षेत्रमा पहिला स्थानमा छ । ०७४ को निर्वाचनमा झापामा काँग्रेस निल भएको थियो भने राप्रपा र माओवादीले एक–एक सिट जितेका थिए । बाँकी तीन सिट एमालेले जितेको थियो ।

०७९ मा एमालेविरुद्ध काँग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाको मोर्चाबन्दी छ । तर स्थानीय निर्वाचनको गणित हेर्दा झापामा पाँच दलीय गठबन्धनभन्दा एमाले नै हाबी भएको देखिन्छ ।

सत्ता गठबन्धनबाट झापा १ मा काँग्रेस महामन्त्री शर्मा उम्मेदवार बन्ने तयारीमा छन् । चुनाव लड्ने तयारी थालेका शर्माले यहाँका पार्टीका सबै तहका नेता कार्यकर्तासँग छलफल गरिरहेका छन् । शर्माले चुनावी तयारी अगाडि बढाए पनि पाँच दलीय गठबन्धनका कारण केही अलमल भने देखिन्छ । ०७४ मा जितेको क्षेत्र सोही दललाई छोड्ने अवस्थामा झापा १ मा माओवादीको दाबी रहने छ ।

झापा १ मा ०७४ को संघीय निर्वाचनमा बाम गठबन्धनबाट माओवादी केन्द्रका राम कार्कीले शर्मालाई पराजित गरेका थिए । कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३१० मत ल्याएका थिए । तर काँग्रेसले समानुपातिकमा २४ हजार मत ल्याउँदा  ९ हजारभन्दा बढी मत शर्माले तान्न सफल भएका थिए ।

महामन्त्री शर्माले झापा १ बाट चुनाव नलड्ने अवस्थामा मात्र माओवादी वा काँग्रेसकै अन्य व्यक्तिले टिकट पाउने अवस्था छ । यता एमालेबाट झापा १ मा रविन कोइराला दाबेदार छन् ।

झापा १ मा स्थानीय तहको मत परिणामले एमाले बलियो देखिन्छ । एमालेले ३१ हजार २३२ पाएको छ भने काँग्रेसको मत २४ हजार ५९ छ । यस्तै स्थानीय निर्वाचनमा राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५, एस १ हजार २५२, र लोसपाले १६२ मत पाएका थिए । गठबन्धनसँग झापा १ मा २९ हजार २१६ मत मात्र छ । यहाँ राप्रपाको पाँच हजार मत निर्णायक छ ।

झापा २ मा गठबन्धनबाट काँग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकी र सरिता प्रसाई मुख्य दाबेदार हुन् । ०७४ मा चुनाव लडेका काँग्रेस प्रदेश सभापति उद्धव थापाले प्रदेशसभामा लड्ने तयारी थालेपछि बुढाथोकी र प्रसाई मुख्य दाबेदार बनेका हुन् । यता एमालेबाट भने अग्निप्रसाद खरेल चुनाव लड्ने पक्का जस्तै छ । ०७४ को निर्वाचनमा भने बाम गठबन्धनबाट एमालेकी पवित्रा निरौलाले काँग्रेसका उद्धव थापालाई हराएकी थिइन् ।

निरौलाले ४५ हजार ८१७ मत पाउँदा थापाले ३२ हजार ५० मत पाएका थिए ।  गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा पनि एमाले पहिलो दल बनेको छ । एमालेको ३६ हजार ३९६, काँग्रेस ३२ हजार ६७२, राप्रपा ९ हजार ५३१, माओवादी २ हजार ४३७, जसपा ५०६ र एस १७३ मत रहेको छ ।

यहाँ राप्रपाको मत निर्णायक छ । झापा २ मा पाँच दलीय गठबन्धनको मतभन्दा एमाले एक्लैको बढी छ । तर राप्रपाले गठबन्धनलाई साथ दिँदा एमालेलाई केही अप्ठ्यारो हुने देखिन्छ भने राप्रपा र एमालेको तालमेल हुँदा गठबन्धनलाई जित हात पार्न चुनौती छ ।

झापा ३ मा काँग्रेसका नेता तथा सत्ता गठबन्धनको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौला चुनाव लड्ने निश्चित छ । झापा ३ मा सिटौलाको प्रतिद्वन्द्वीका रूपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले मैदानमा आउने तयारीमा छन् । ०७४ मा पनि सिटौला र लिङ्देनकै प्रतिस्पर्धा भएको थियो ।

बाम गठबन्धनको समर्थन भएका लिङ्देनले सिटौलालाई १३ हजार ४५५ मतान्तरले पराजित गरेका थिए ।  लिङ\देनले ४४ हजार ६ सय १४ मत ल्याउँदा सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । स्थानीय निर्वाचनको गणितले भने सिटौलालाई केही राहत दिएको छ ।

झापा ३ मा २५ हजार ९४९ मत ल्याएर काँग्रेस पहिलो स्थानमा छ । राप्रपाले २१ हजार १५९, एमालेले २१ हजार ०८५, माओवादी ६ हजार ६८८, जसपा ५ सय ३७ र लोसपाले २०८ मत ल्याएका छन् । यहाँ एमालेको मत निर्णायक छ । एमाले र राप्रपाको गठबन्धन नहुँदा सिटौला सजिलै जित्ने गणितले देखाउँछ । तर एमाले र राप्रपाबीच तालमेल हुँदा लिङ्देनसँगको प्रतिस्पर्धा सिटौलाका लागि चुनौतीपूर्ण देखिन्छ ।

गठबन्धनको मत ३३ हजार १८३ मात्र छ भने राप्रपा र एमालेको मत जोड्दा ४२ हजार २४४ पुग्छ । यद्यपि अहिलेसम्म राप्रपा र एमालेबीच तालमेल हुनेमा आशङ्का देखिएको छ । एमालेबाट झापा ३ मा चुनाव लड्ने दुर्गा प्रसाईंले तयारी थालेको पाइन्छ । 

झापा ४ मा भने यसपटक पनि लालप्रसाद साँवा र देउकुमार थेवेबीच प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनबाट काँग्रेसका जिल्ला सभापति समेत रहेका थेवे उम्मेदवार बन्ने बुझिएको छ । यता एमालेबाट साँवा पनि निर्विकल्प जस्तै रहेको एमाले नेताहरू बताउँछन् । ०७४ बाम गठबन्धनबाट एमालेका साँवाले थेबेलाई हराएका थिए । साँवाले ४३ हजार ५१५ मत ल्याउँदा काँग्रेसका थेबेले २६ हजार ८२२ मत मात्र पाएका थिए । तर यसपटक भने स्थानीय निर्वाचनको गणितले उनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

झापा–४ मा एमालेको ३१ हजार २७२, काँग्रेसको २८ हजार १६५, माओवादी ६ हजार ३८२, राप्रपा ४ हजार ५५६, एस ७०२, लोसपा २४८ र जसपा ११० मत छ । झापा ४ मा गठबन्धनको मत एमालेको भन्दा बढी छ । तर राप्रपाको मत निर्णायक देखिन्छ ।

झापा–५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली अहिले पनि सोही क्षेत्रबाट चुनाव लड्ने पक्का छ । ०७४ को निर्वाचनमा झापा–५ बाट बाम गठबन्धनका उम्मेदवार ओली अत्यधिक मत ल्याएर विजयी भएका थिए । राप्रपाको पनि समर्थन भएपछि ओलीले ५७ हजार १३९ मत पाएका थिए । काँग्रेसमा उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत पाएका थिए ।

यता गठबन्धनबाट काँग्रेसका विश्वदीप लिङ्देन ओलीसँग दोस्रो पटक भिड्ने सोचमा छन् । ०६४ मा ओलीलाई पराजित गरेका लिङ्देन काँग्रेसले टिकट दिए ओलीसँग फेरि भिड्ने बताउँछन् ।

तर ०७४ मा जितेको झापा–१ छोड्दा ५ बाट माओवादीका उम्मेदवार हुन सक्ने काँग्रेस नेताहरू बताउँछन् । माओवादी केन्द्रमा युवा नेता रञ्जित तामाङले ओलीको निर्वाचन क्षेत्रबाट चुनाव लड्न तयार रहेको बताइरहेका छन् । तर झापा–५ मा ओलीका लागि गठबन्धन मात्र चुनौती बन्ने गणितले देखाउँदैन । स्थानीय निर्वाचनमा झापा–५ मा एमालेले ४१ हजार ६१९ मत ल्याएको छ ।

काँग्रेसले २२ हजार २२, माओवादी १० हजार ७८८, राप्रपा ८ हजार ३५३ र एस १ हजार ९८८ मत रहेको छ । गठबन्धन र राप्रपाको मत जोड्दा मात्र एमाले १५३२ मतले पछाडि हुन्छ ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप