मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीसँग पार्टी एकता गर्न संयोजन समिति बनाउने एकीकृत समाजवादीको निर्णय

बुधबार, ०१ भदौ २०७९, १९ : ०६
बुधबार, ०१ भदौ २०७९

नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ बनाउने निर्णय गरेको छ । बुधवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि पार्टीका उपमहासचिव डा. गंगालाल तुलाधरले वामहरुको बीचमा एकताको पहल नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बाट शुरु हुने बताए । उनले दुईवटा पार्टीको बीचमा एकता प्रक्रियाका विभिन्न आयामहरुमा कार्य प्रक्रियालाई अघि बढाउने निर्णय भएको बताए । डा. तुलाधरले समितिमा पार्टीका शीर्ष नेताहरु अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु रहनुपर्ने सुझाव दिएको बताए ।  उनले बैठकले पार्टीको केन्द्रिय सदस्यको कार्य विभाजनमा पनि हेरफेर गरेको पनि बताए ।  

उपमहासचिव डा. तुलाधरले आजको बैठकले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको बताए । उनले यी तीन कमिटीले छानेका एक महिलासहितका ४ जना उम्मेदवारमा संघीय संसदको लागि र प्रदेशका लागि जिल्लाले तीन जना छानेर प्रदेशमा पठाउने र प्रदेश कमिटीमा पठाइएका नाम प्रदेश कमिटीले तीन जनाका कमजोर पक्ष, सबल पक्ष, आगामी सम्भावनाहरू सहितको राय उल्लेख गरेर केन्द्रिय कमिटीमा पठाउने बताए ।

उनले केन्द्रीय कमिटीले प्रदेश कमिटीबाट पठाएका उम्मेदवारको सूचीबाट आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका निम्ति उम्मेदवार तय गर्ने निर्णय भएको बताए ।​


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप