शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार ४ पटक अपराजित विरोधलाई आगामी चुनाव जित्न कति सहज ?

मङ्गलबार, ३१ साउन २०७९, ११ : ३४
मङ्गलबार, ३१ साउन २०७९

पूर्व मन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा लगातार ४ पटक संसदीय निर्वाचनमा अपराजित रहँदै आएका छन् । यसअघि नेकपा एमालेबाट उम्मेदवार बन्दै आएका उनी अब भने एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बन्ने तरखरमा छन् ।

मकवानपुर क्षेत्र नम्बर २ उनको निर्वाचन क्षेत्र हो । जिल्लामा उनको प्रभाव राम्रै मानिन्छ । यद्यपि, एमाले छाडेर नयाँ दलमा सामेल भएका कारण आसन्न निर्वाचन उनका लागि चुनौती र अवसर दुवै देखिन्छ । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्ने मौका पाएमा उनी प्रतिनिधिसभाका सशक्त दाबेदार हुन सक्छन् ।

खतिवडाको चुनावी प्रतिस्पर्धा

खतिवडा ४ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचनमा विजयी भएका उनी २०७४ को निर्वाचनमा पनि मकवानपुर–२ बाट निर्वाचित भए । संविधानसभाको दुवै निर्वाचनमा भने उनी उम्मेदवार बन्न पाएनन् ।

खतिवडा २०४८ सालको निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–२ बाट जितेका थिए । सो निर्वाचनमा खतिवडाले १६ हजार ८६९ मत ल्याएर नेपाली काँग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’लाई पराजित गरेका थिए । खतिवडासँग हारेकी डिनाले ११ हजार ५७६ मत पाएकी थिइन् ।

त्यस यता खतिवडाले प्रतिस्पर्धा गरेका हरेक निर्वाचनमा सफलता प्राप्त गरेका छन् । उनी मकवानपुर–२ बाटै उम्मेदवार बन्दै आएका छन् । २०५१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि उनी १६ हजार १४४ मत पाएर निर्वाचित भए । उनीसँग राप्रपाका कमल थापा, काँग्रेसकी डिना र स्वतन्त्र उम्मेदवार विश्वराज उप्रेती प्रतिस्पर्धामा थिए । खतिवडाको निकटतम प्रतिद्वन्दी राप्रपाका थापाले ११ हजार ८७८ मत पाउँदा काँग्रेसकी डिनाले ३ हजार ७९२ र स्वतन्त्र उम्मेदवार उप्रेतीले ४ हजार ८६६ मत पाएका थिए ।

२०५६ मा भएको आम निर्वाचनमा खतिवडा मकवानपुर–२ बाटै उम्मेदवार बने । सो निर्वाचनमा खतिवडाले राप्रपाका दिपक सिंहलाई हराएका थिए । खतिवडाले १८ हजार २८१ मतसहित चुनाव जित्दा राप्रपाका सिंह १५ हजार ९०१ मतमा सीमित भए । त्यस्तै काँग्रेसका रामचन्द्र अर्याल माइकल तेस्रो भए । माइकलले ११ हजार ८०९ मत ल्याएका थिए भने मालेका हिरण्यलाल श्रेष्ठले १ हजार ८०८ मत ल्याएका थिए । सो निर्वाचनमा १ हजार २३१ मत बदर भएको थियो ।

त्यस यता देशमा राजनीतिक घटनाक्रम परिवर्तन भयो । गणतन्त्र स्थापनापछि २०६४ मा संविधानसभा निर्वाचन भयो । तर खतिवडा उम्मेदवार बन्न पाएनन् । दोस्रो संविधानसभा निर्वाचनमा पनि उनलाई पार्टीले उम्मेदवार बनाएन । सो निर्वाचनमा मकवानपुर–२ बाट एमालेका सुभाष सिंह ठकुरी उम्मेदवार बने ।

२०७२ सालमा देशमा नयाँ संविधान जारी भयो । मकवानपुरका साविकका ४ निर्वाचन क्षेत्रलाई समेटेर दुई वटा निर्वाचन क्षेत्र कायम गरियो । मकवानपुर–१ र ३ लाई मिलाएर क्षेत्र नम्बर १ कायम गरियो भने २ र ४ मिलाएर २ नम्बर क्षेत्र कायम गरियो ।

त्यस लगत्तै २०७४ वैशाखमा देशमा स्थानीय तहको निर्वाचन भयो भने २०७४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन आह्वान गरियो । लगातार ३ पटक निर्वाचन जितेर २ वटा निर्वाचनमा अवसर नपाएका खतिवडाले आफ्नो सक्रियता बढाए । २०७४ को निर्वाचनमा भने उनले अवसर पाए । उनी मकवानपुर–२ बाटै एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार बने । खतिवडा २०७४ को निर्वाचनमा पुनः निर्वाचित भए । यो उनको चौथो जित थियो । उनी ४६ हजार ४८१ मतका साथ निर्वाचित भएका थिए ।

उनले यो पटक पनि काँग्रेसकी उम्मेदवार डिनालाई पराजित गरे । खतिवडासँग ३ वटा चुनावमा प्रतिस्पर्धा गरेकी डिनाले सो निर्वाचनमा ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् ।

खतिवडालाई आगामी निर्वाचन कति सहज ?

एमालेमा विद्रोह गरेर एकीकृत समाजवादीमा आवद्ध भएका खतिवडा आगामी निर्वाचनमा पनि मकवानपुर–२ बाटै चुनाव लड्ने तयारीमा छन् । एकीकृत समाजवादीको तर्फबाट मकवानपुरमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनाव लड्ने उनी एकल दाबेदार हुन् ।

खतिवडाले आगामी निर्वाचनमा सत्ता गठबन्धनको सहयोगमा मकवानपुर–२ बाट चुनाव लड्ने अनौपचारिक घोषणा गरिसकेका छन् । उनले एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाललाई समेत मकवानपुर–२ मा आफू उम्मेदवार हुनेबारे जानकारी गराइसकेको बुझिएको छ ।

उनी पाँचौ पटक सो क्षेत्रको सांसद बन्ने दाउमा छन् । तर पछिल्लो समय उनलाई चुनाव जित्न त्यति सहज भने देखिँदैन । जिल्लामा एकीकृत समाजवादीको अवस्था सन्तोषजनक नदेखिँदा उनलाई आगामी चुनाव चुनौतीपूर्ण हुने देखिन्छ ।

एकीकृत समाजवादी मकवानपुरका अनुसार हाल सो पार्टीमा करिव ५÷६ हजार जनाको हाराहारीमा मात्र संगठित सदस्य छन् । मकवानपुर–२ मा थाहा नगरपालिका, मनहरी, कैलाश, राक्सिराङ, भीमफेदी र इन्द्रसरोवर गाउँपालिका सहित हेटौंडा उपमहानगरपालिको पश्चिम तर्फका वडाहरु १, ११, ३, १९ र मकवानपुरगढी गाउँपालिकाको उत्तरतर्फको ५, ६, ७ र ८ नम्बर वडा पर्दछन् ।

गत स्थानीय तहको निर्वाचनमा पनि एकीकृत समाजवादीले सो क्षेत्रको कुनै पनि पालिकामा आफ्नो नेतृत्वलाई जिताउन सकेन । जसका कारण एकीकृत समाजवादीलाई आगामी निर्वाचनमा थप समस्या हुने देखिन्छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मात्र एकीकृत समाजवादीको नेतृत्व छ । २०७९ को स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रको सहयोगमा हेटौंडाको मेयर र एउटा वडामा मात्र समाजवादीले जितेको थियो । अन्य स्थानीय तहमा एकीकृत समाजवादीले नेतृत्व लिन सकेन ।

मकवानपुरको मनहरी गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा एकीकृत समाजवादीका उम्मेदवार पराजित भए । मकवानपुर–२ मा पछिल्लो समय काँग्रेसको प्रभाव बढ्दै गएको दावी गरिँदै आएको छ । २०७४ को निर्वाचन ताका काँग्रेसको कमजोर क्षेत्रको रुपमा रहेको मकवानपुर–२ मा एमालेको भने राम्रै प्रभाव छ । सो क्षेत्रमा माओवादी केन्द्रको भने उपस्थिति सन्तोषजनक रहेको बताइन्छ ।

पछिल्लो समय संघीय सरकारको मन्त्रीसमेत भइसकेका खतिवडाको सो क्षेत्रमा व्यक्तिगत उपस्थिति पनि कमजोर बन्दै गएको विश्लेषण गरिन्छ । खतिवडालाई आगामी निर्वाचनमा सो क्षेत्रमा चुनाव जित्न काँग्रेस र माओवादी केन्द्रको साथ अनिवार्य देखिन्छ । गठबन्धनले प्रतिवद्ध भएर साथ नदिएको अवस्थामा उनी संकटमा पर्ने जानकारहरु बताउँछन् ।

‘परिवारवाद’ को आरोप लाग्ने खतरा

खतिवडाकी पत्नी मुनु सिग्देल पनि सक्रिय राजनीतिमा छिन् । सिग्देल बागमती प्रदेशसभा सदस्यसमेत हुन् । सिग्देललाई एमालेले समानुपातिक सूचीबाट २०७४ मा बागमती प्रदेशसभा सदस्य बनाएको थियो ।

एमालेमा विद्रोह गर्नुपूर्व उनी नेकपा एमाले मकवानपुरको अध्यक्ष थिइन् । उनी पनि एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादीमा आवद्ध भएकी हुन् । हाल उनी एकीकृत समाजवादीको केन्द्रीय सदस्य छिन् भने एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको मुख्य सचेतक पनि हुन् ।

त्यसो त, सिग्देलको राजनीतिक क्षमता, पार्टीमा गरेको योगदानका सम्बन्धमा कुनै प्रश्न उठाउन मिल्दैन । तर, सिग्देलको पनि निर्वाचन क्षेत्र मकवानपुर नै रहेकाले एउटै दलबाट श्रीमान्लाई प्रतिनिधिसभा र श्रीमतीलाई प्रदेशसभामा उम्मेदवार बनाउँदा ‘परिवारवाद’ को आरोप लाग्ने सम्भावना पनि उत्तिकै छ ।

उल्लेखनीय छ, मुनु सिग्देलले पनि प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारीका लागि दाबी गर्दै आएकी छन् । सोही अनुसार गठबन्धनको भागबण्डामा प्रदेशतर्फको एक सिटमा एकीकृत समाजवादीको दाबी रहने जनाइएको छ ।

कमजोर संगठनात्मक संरचना र पार्टीमा मतदाताको न्यून झुकावका बीच सिग्देलको प्रदेशसभातर्फ चुनाव लड्ने तयारीले खतिवडालाई थप समस्या हुने देखिन्छ ।

आगामी निर्वाचनमा सिग्देलले मकवानपुरको क्षेत्र नम्बर–१ (ख) बाट चुनाव उठ्ने तयारी थालेको बुझिएको छ । भूगोलको हिसावले मकवानपुर १ (ख) हेटौंडा बजार क्षेत्र पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप