बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय
ऐतिहासिक कथा

महारानी इन्दु (राजेश्वरी)–३

शनिबार, २८ साउन २०७९, ०६ : ३७
शनिबार, २८ साउन २०७९

हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौं । दक्षिण एसियाको सबैभन्दा पूरानो मुलुक नेपाल साँच्चै नै वीरहरुको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ ।

नेपालले आफ्नो स्वाधीनताका लडाइँहरु लडिरहँदा थुप्रै महिला तथा बालबालिकाहरुले वीरतापूर्वक लडेको बाहेक कुनै वीराङ्गनाको बहादुरी चर्चा गरेको पाइँदैन । तर इतिहासमा यो देशमा त्यस्ता थुप्रै वीराङ्गनाहरु पनि थिए, जसको चर्चा हुनु आवश्यक थियो । हाम्रो देशमा त्यस्ती एक महिला पनि थिइन्, जसले दक्षिणी बादशाहलाई धुलो मात्र चटाइनन्, बङ्गाली बादशाहले बन्दी बनाएका दुई सेन राज्यका राजाहरुलाई उनीहरुको कब्जाबाट मुक्त पनि गराइन् । राजाहरुको अभावमा रहेका दुईवटै राज्यको ११ वर्षसम्म राज्य सञ्चालन पनि गरिन् । यहाँ तिनै बीराङ्गना मकवानपुरे सेन राजा हरिहर सेनकी नातिनी बुहारी विजयपुरका प्रथम राजा विधाता इन्द्र सेनकी रानी महारानी इन्दुको वीरता प्रस्ट्याउने प्रयास गरिएको  छ ।   


 भाग तीन

“महाराज ख्याल गरिबक्सेला, जुवामा र सत्तामा कोही पनि हार्न चाहँदैन । जीतका अवसर पर्खेर बसेकाहरुबाट हजुरलाई घात हुन सक्छ, सावधान होइबक्सेला । बंगाली राजाले पहिले पनि छल गरिसकेको छ ! महाराज शुभ सेनलाई मकवानपुर छाड्नुअघि महारानीले अमरावतीले भनेकी थिइन् । 

तिनले भनेका ती भनाई शुभ सेनलाई पटक पटक याद आउँछ । महारानीले प्रसस्त चेतावनी दिदादिदै पनि आफूबाट कमजोरी भएकोमा ग्लानीभाव हुन्छ । हीनताभाव र ग्लानी मनमा लिएका राजा शुभ सेन किंकर्तव्यविमुख देखिन्छन् । विधाता इन्द्र पनि अधिक आत्मविश्वासको शिकार हुनु परेकोमा पश्चातापको ज्वालामा दनदनी दन्किन्छन्् । 

अब उनीहरु दुबै राजाको मात्र हैन, पश्चिमको गण्डकीदेखि पूर्वको सुखिमसम्मको सीमाभित्र लमतन्न भएर रहेको विशाल सेन राज्यहरु मकवानपुर र विजयपुरको अस्तित्वमाथि नै खतरा आइपरेको छ । दुबै राजा निराश अनि हतास देखिएका छन् । राजाहरुमा आफैले विश्वास गरेका केही मन्त्रीहरु वंगालीसँग मिलेर आफ्नै मुलुकविरुद्ध लागेकोमा अलग्गै पीडाबोध छ । 

तर राजाहरुलाई संकटैसंकटको त्यो विशाल भुमरीबाट फुत्कन हीनताबोध, ग्लानी, पश्चाताप वा पीडाको आवश्यकता हैन, उर्जा, आत्मविश्वास, आँट अनि निर्भिकताको खाँचो छ । राजाहरुलाई संकटबाट बचाउन सक्ने अनि देशलाई जोगाउन वंगालीसँग महायुद्धको नेतृत्व गर्न सक्ने अब एउटा मात्रै व्यक्ति महारानी इन्दु राजेश्वरीको आशा दुबै राजाले गरेका छन् । एउटा सानो आशाको त्यान्द्रोले ती राजाद्वयलाई निराशाको भुमरीबाट थोरै बाहिर निकाल्छ । 

राजाहरु बन्दी बनाइएको खबर सेन राज्यमा पुगेको कुराले नवावले राजाहरु प्रतिको मिजास केही परिवर्तन गर्छन् । नवाव मनोवैज्ञानिक रुपमा राजाहरुलाई कमजोर बनाउन प्रयास गर्छन् । आफूहरुसँग लडाइँका लागि तालिम प्राप्त सेना, प्रशस्त हातहतियार, तोप गोला र बन्दुकहरु भएको कुरा सुनाएर राजाहरुलाई आफ्ना  शर्तहरु पूरा गराउन प्रयास गर्छन् । 

तर राजाहरु निशर्त रिहाइको माग राख्छन् । आफ्नो राज्यको कति पनि भूभाग दिने पक्षमा उनीहरु तयार हुँदैनन् ।  “महाराजहरु, तपाईंहरु आफ्नो रिहाइ चाहनुहुन्छ भने यो सम्झौता पत्रमा पञ्जाछाप गरिदिनुस्, मोरुहाङदेखि पर्सागढी सम्मको चुरे दक्षिणको भूभागको मूल्य तपाईंहरुको जीवनको मूल्यका अगाडि केही पनि हैन । यो सम्झौता भयो भने तपाईंहरुको स–सम्मान रिहाइ हुन्छ,” नवावले एउटा लामो एकतर्फी लिखत देखाउँदै सम्झौताका लागि राजाहरुलाई फकाउन खोज्छन् । 

उता दुबै सेन राजाहरु आफ्नो मनमा उब्जेको आक्रोशको ज्वालालाई नियन्त्रण गर्दै अवाक र निशब्द उभिई रहन्छन् । नवावलाई सम्झौताका लागि राजी हुन सक्ने मनोविज्ञान प्रस्तुत गर्ने र अल्मल्याउने नीति काकाभतिजाले अवलम्बन गरेका छन् । सम्झौता कार्यान्वयन नहुने अवस्था आए आफूहरुलाई दिल्ली लैजान सक्ने भय देखेका राजाहरुले आफूहरुलाई दिल्ली पु¥याए फुत्किन सक्ने सम्भावना नरहने निश्चित छ । 

त्यसैले राजाहरु नवावलाई अल्मल्याउने रणनीतिमा लाग्छन् । केही दिन नवावलाई अल्मल्याउन सके आफ्ना सेनाहरुले आक्रमण गरेर पूर्णियाबाटै आफूहरु मुक्त हुन सक्ने आशा राजाहरुमा पलाएको हुन्छ । नवाव सम्झौता गराउन खोज्ने, राजाहरु टार्दै जाने गर्दा गर्दै निकै दिन गुज्रिसकेको हुन्छ । 

उता दुबै सेन राज्यहरुको नेतृत्व महारानी इन्दुले गरेको खबर नवावलाई पुगिसकेको हुन्छ । अब राजाहरुसँग वार्ता गर्नुको कुनै मतलव नरहेको बुझेका नवावले उनीहरुलाई समय दिन छोड्छन् । नवाव राजाहरुलाई बन्दी बनाइराख्ने र त्यसको बदलामा मकवानपुर र विजयपुरसँग विभिन्न मागहरु राख्दै ती माग पुरा गराउने मानसिकतामा हुन्छन् । वंगाली सेनाहरुले सेन राज्य कब्जा भइसकेको झुठो विवरणहरु सुनाउँदै राजाहरुलाई प्रताडित गरिरहन्छन् । 

महारानी इन्दुले राजाहरुको रिहाईका लागि कत्ति पनि पहल नगरेको, मकवानपुरका युवराज र राजकुमारले महाराजहरुलाई मुक्त गराउन आवाज उठाउँदा विजयपुरमा बन्दी बनाइएको, विजयपुरका मन्त्री श्रीकान्त रायले आफूलाई राजा बनाए वंगालीसँग मित्रता गर्ने  अनि तराईको भूमि फिर्ता गर्ने प्रस्ताव गरेको, मकवानपुरका मन्त्री प्रवोद दास बाँनियाले पनि व्यक्तिगत स्वार्थ पूर्ति गराउने गरी सेन राज्य विरुद्ध वंगालीसँग वार्ता गर्न प्रयास गरेको आदि मनगढन्ते कहानीहरु सुनाएर उनीहरुलाई मानसिक रुपमा थप कमजोर बनाउन भूमिका खेल्छन् । 

एकदिन राजाहरुलाई बन्दी बनाइएको ठाउँमा नवावको आगमन हुन्छ । उनले आफ्ना सेनाहरुलाई राजाहरुको कपडा खोलेर जनै चुडाल्न  निर्देशन दिन्छन् । सेन राजाहरु मनोवैज्ञानिक रुपमा यति विक्षिप्त हुन्छन् कि उनीहरुलाई नवावको निर्देशनमा वंगाली सेनाले कपडा खोलेको अनि जनै चुडालेको घटनाको कुनै प्रतिक्रिया दिँदैनन् । नवावको निर्देशनमा त्यहाँ उनीहरुको धर्मच्यूत गराइयो । सेन राजाहरु अब हिन्दूबाट मुस्लिम बनाइए । 

उता, वार्ताका लागि गएका राजाहरुमाथि घात भएको खबर मकवानपुर र विजयपुरमा एकसाथ पुग्यो । मकवानपुर विजयपुरका महारानी मन्त्रीहरु र भारदारहरुको एक सभाले महारानी इन्दु राजेश्वरीलाई दुबै देशको नायव महारानीको रुपमा जिम्मेवारी सुम्पियो । मकवानपुरका युवराज महिपति र राजकुमार माणिकमाथि पनि खतरा हुन सक्ने देखेर उनीहरु दुबैलाई केही दिन सिन्धुली र पछि विजयपुरको किल्लामा सुरक्षित रुपमा राखियो । 

आफ्ना राजाहरुको अपहरणले विक्षिप्त बनेकी महारानी इन्दु राजेश्वरीले दुबै राज्यका मन्त्रीहरु प्रवोद दास र श्रीकान्त रायलाई डाकेर राजाहरुलाई फिर्ता गर्न इस्फोरिया नवावविरुद्ध लड्न तयारी गर्न निर्देशन दिन्छिन् । उनले मन्त्री श्रीकान्त रायलाई किरात प्रान्तका रायहरुको भेला तुरुन्त डाक्न भन्छिन् । “श्रीकान्त तपाईंले बलवुद्धि र साहस देखाएर धोकेबाजहरुको जालो तोडर जसरी यहाँ आउन सक्नुभयो, त्यसरी नै शत्रुहरुको जालोलाई तोड्दै महाराजहरुलाई मुक्त गर्न योजना बनाउनुहोस्,” ।  

“चेम्जोङ्ग राय, पसेनामा राय, इन्दमा राय, सेवा राय, सुक्मि राय, माजिम राय, मोआजा राय, गामा राय, साहाङ राय लगायत सबैलाई मेरा तर्फबाट पत्र लेख्नुहोस् । आफ्नो भूमि र भूपतिका लागि एउटा बलिदानीपूर्ण लडाइँका लागि तयार रहन निर्देशन दिनुहोस् ।  

तपाईंहरुले फरि पनि वीरता देखाउने बेला भएको छ । त्यस्तै वीरता जुन धनुषाधाममा काका महाराजलाई आफ्नो धोकेवाज मन्त्रीहरुको षड्यन्त्रमा धोकेवाज नवावले पक्राउ गर्दा तपाईंहरुले देखाउनु भएको थियो । त्यस्तै वीरता जुन तपाईंहरुले पूर्णिया कब्जा गर्दा वा अन्य राज्यहरुसँगको भीडन्तमा देखाइ सक्नु भएको छ” ।  

राजेश्वरीले मकवानपुरका मन्त्री प्रवोध दासलाई मकवानपुरे महारानी अमरावती, मुमा महारानी तथा राजपरिवारको सदस्यहरुलाई सुरक्षित रुपमा राख्न अनि पाल्पा, वुटवल, तनहुँ, कान्तिपुर लगायतका राज्यसँग लडाइँका लागि सहयोग माग्न जिम्मेवारी दिन्छिन् । 

दुबै मन्त्रीहरुले महारानीको आदेशको यथासक्य चाँडो कार्यान्वयन गर्छन् । मन्त्री श्रीकान्तले पूर्वतर्फबाट किराती लडाकुहरुको सहयोगमा बंगालीविरुद्ध लडाइँ सुरु गर्छन् । 

....

महारानी इन्दुको खास नाम इन्द्र राजराजेश्वरी सेन हो । गोरी अनि अग्ली इन्दुको कद विधाताकै हाराहारी थियो । सुन्दर मुहार अनि आकर्षक व्यक्तित्वकी धनी इन्दुको विवाह मकवानपुर र विजयपुर नटुक्रिदै मकवानपुरका तत्कालीन नवयुवराज विधाता इन्द्र सेनसँग भएको थियो । 

ससुरा महाकुमार क्षत्रपति इन्द्र सेन र बुढा ससुरा हरिहरको विवादलाई नजिकबाट नियालेकी चलाख इन्दुले पतिमार्फत् बुढाससुरालाई बन्दी समेत बनाउन मद्धत गरेकी थिइन् । आफ्ना ससुराको युवराज छँदै अकालमा भएको मृत्युलाई संङ्कास्पद मान्दै यिनले छानविनको लागि जोडदार माग गरिन् तर त्यसको उचित छानविन हुनुको सट्टा नवयुवराज विधाता इन्द्रलाई युवराज घोषणा नगरी उनका काका राजकुमार शुभ सेनलाई राजा घोषणा गरियो ।  

त्यसपछि इन्दुको धैर्यताको बाँध फुट्यो । यिनले विधातालाई राज्य विद्रोहको सल्लाह दिइन् र त्यसका लागि किराती हाङहरुसँग समन्वयको सबै काम आफैले गरिन् । आइपरेका अड्चन समाधान गर्न आफै तरवार चलाइन् । तरवारमा सिद्धहस्त इन्दुका अघि मै हुँ भन्ने लडाकुहरु पनि टिक्न सक्दैनथे । 

प्रान्त पिच्छेका किराती भाषाहरुमा दक्ष इन्दु नेपालभाषा र तामाङ भाषामा दोहोरो कुरा गर्थिन् । संस्कृत र मैथिली भाषाका साहित्यलाई प्रान्तै पिच्छेका भाषामा सुनाउँदै जनतालाई जागरुक गराउने इन्दु महाभारत, रामायण जस्ता ग्रन्थको अध्ययनबाट प्रभावित थिइन् ।  

आफू दुबै राज्यको नायवी सम्हालेकी  भएपनि इन्दुले आफूलाई महारानी भन्दा पनि वीरतापूर्वक लड्न सक्ने र लडाइँको नेतृत्व गर्न सक्ने सेनापतिको रुपमा मैदानमा उतारिन् । काका ससुराका दुईभाइ छोराहरु मध्ये जेठोलाई विजयपुर र कान्छोलाई मकवानपुरको रेखदेखको जिम्मेवारी दिदै इन्दुले लडाइँको नेतृत्व गरिन् । 

पूर्णियामा, एकदिन तोप पड्केको ठूल्ठूलो आवाज सुनिन्छ । कोलाहल र लगातार  तोप पड्केको आवाजले सेन राजाहरुको निभिसकेको आशाको दीपमा पुनः तेल थपिदिन्छ । ठाउँ ठाउँमा सेन राज्यका संयुक्त सेनाले वंगाली नवावविरुद्ध युद्ध सुरु गरिसकेका हुन्छन् । किराती तथा मकवानपुरे सेन लडाकुहरुले पूर्णिया कब्जा गरेर दुबै राजालाई फिर्ता लैजान सक्ने मात्र नभई नवावमाथि नै आक्रमण हुन सक्ने भयले बन्दी बनाइएका दुबै राजाहरुलाई पूर्णियाबाट दिल्ली पुर्याइन्छ । क्रमश : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप