बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महारानी इन्दु (राजेश्वरी) – भाग दुई

शनिबार, १४ साउन २०७९, १२ : ३५
शनिबार, १४ साउन २०७९

हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौँ । दक्षिण एसियाको सबैभन्दा पुरानो मुलुक नेपाल साँच्चै नै वीरहरूको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ ।

नेपालले आफ्नो स्वाधीनताका लडाइँ लडिरहँदा  थुप्रै महिला तथा बालबालिकाले वीरतापूर्वक लडेको बाहेक कुनै वीरङ्गनाहरूको बहादुरी चर्चा गरेको पाइँदैन । तर इतिहासमा यो देशमा त्यस्ता थुप्रै वीरङ्गनाहरू पनि थिए, जसको चर्चा हुनु आवश्यक थियो । हाम्रो देशमा त्यस्ती एक महिला पनि थिइन् जसले दक्षिणी वादशाहलाई धुलो मात्र चटाइनन् बङ्गाली वादशाहले बन्दी बनाएका दुई सेन राज्यका राजाहरूलाई उनीहरूको कब्जाबाट मुक्त पनि गराइन् । राजाहरूको अभावमा रहेका दुईवटै राज्यको ११ वर्षसम्म राज्य सञ्चालन पनि गरिन् । यहाँ तिनै वीरङ्गना मकवानपुरे सेन राजा हरिहर सेनकी नातिनी बुहारी विजयपुरका प्रथम राजा विधाता इन्द्र सेनकी रानी महारानी इन्दुको वीरता प्रस्ट्याउने प्रयास गरिएको  ।                 


भाग दुई

कागजपत्र लिने बहानामा तीनवटा घोडामा द्रुतगतिमा बाहिरिएका मन्त्री र सेनाहरू विजयपुरको सीमा नजिक पुग्नैलाग्दा बङ्गाली सेनाको घेरामा पर्छन् । नवावले उनलाई जसैगरी पनि सीमा कट्न नदिन निर्देशन दिएका हुन्छन् । उनीलाई  त्यहाँ बङ्गाली सेनाले रोक्छ । मन्त्री घोडाबाट झर्छन् । 

“जनाव तपाईं हाम्रो कब्जामा हुनुहुन्छ । तपाईंका राजाहरू पनि हाम्रो कब्जामा परिसक्नुभएको छ । तपाईंलाई नवावले बोलाउनुभएको छ, हामी तपाईंलाई विजयपुर जान दिन सक्दैनौँ, जबर्जस्ती गर्नुभयो भने तपाईंमाथि तरबार चलाउँछौँ” एक जना बङ्गाली सिपाहीले यत्ति के भनेको थियो । प्रबोध दासले खुकुरीले उसको शिर छेदन गराइदिए र चिच्याए “स्वतन्त्र राज्य विजयपुरको प्रमुखमन्त्री हुँ म, ममाथि तरबार चलाउने धम्की ?” । मन्त्री बुर्लुक्क उफ्रिएर घोडामा चढ्छन् । मन्त्री आक्रमक भएको देखेपछि मन्त्रीसँग गएका सेनाहरूले पनि त्यहाँ उपस्थित बङ्गाली सेनामाथि आक्रमण गर्दै मन्त्रीका लागि बाटो खाली गर्दै अगाडि बढ्छन् । घोडामा चडेका मन्त्री जोडले चिच्याउँछन्, “सिपाहीहरू हाम्रो बाटो खाली गर्नु तिमीहरूको हित छ, हामी किराँतीहरू सङ्ख्यासँग डराउँदैनौँ । तिमीहरूले हाम्रो लडाइँ देखिसकेका छौँ । त्यतिबेलासम्म आफ्ना लडाकुले धेरै अगाडिसम्मको बाटोको अवरोध हटाइसकेका देखेका मन्त्रीले घोडालाई तीव्र गतिमा दौडाउँछन् ।  बङ्गाली सेनाले तरबार, बन्दुक, धनुकाणसहित मन्त्रीको समूहलाई प्रतिकार गर्छन् । 

बुर्कुसी मारेका मन्त्रीहरूको समूहले बङ्गाली सेनाको घेरा तोडेर निकै अगाडि बढ्छन् ।  विजयपुरको सीमा नजिक एउटा सानो पहाडमा किल्ला बनाएर बसेका बङ्गाली सेनाहरूलाई जितेर अगाडि बढ्न सके उनीहरूको उद्देश्य पूरा हुनेथियो । तर त्यहाँ उनीहरूले तोपको सामना गर्नुप¥यो । लगालग तीन पटक तोप पड्किएको आवाज सुनियो । गोलाले कसैलाई पनि लागेन छर्राले एउटा लडाकुको पिँडुलामा सानो घाउ बनायो । मन्त्रीको समूह बङ्गाली सेना बसेको थुम्कातर्फ नै अगाडि बढ्यो । थुम्का नजिक पुग्नै लाग्दा फेरि तोप पड्कियो । यो पटक गोलाले एउटा सिपाहीलाई घोडासहित सय हात पर पु¥यायो । उनको त्यही प्राण पखेरु उड्यो । मन्त्रीको सुरक्षामा अब तीन जना सिपाही बँचे । त्यही पनि उनीहरूले हिम्मत हारेनन् । चारैजना थुम्कामा पुगे त्यहाँ उनीहरूको घमासान लडाइँ भयो । 

झन्डै एक घण्टाको लडाइँपछि मन्त्री प्रबोधदास राई सकुशल घोडामा देखिए । उनी थुम्काबाट केही पर गएर लुकेको देखियो । उनलाई पछ्याउँदै घोडामा नै तीन जना बङ्गाली सेना गएको देखियो । ती घोडा मन्त्री राईको सुरक्षाका लागि गएका लडाकुका थिए । सायद उनीहरू मारिए अनि  बङ्गाली सेनाले तिनै घोडा लिएर मन्त्रीलाई लखेटिरहेका छन् । 

मन्त्रीलाई पछ्याइरहेका बङ्गाली सेनाले मन्त्रीलाई देख्न सकेकन् । उनीहरू तीव्रगतिमा विजयपुरको सीमातर्फ मन्त्रीलाई खोज्दै दौडिए । 

त्यतिकैमा बङ्गाली सेनाको थप फौज त्यहाँ आइपुग्यो । चारतिरबाट सयौँको सङ्ख्यामा भेला भएका बङ्गाली सेनाको फौजबाट मन्त्री राई केही दूरीमा मात्र थिए । त्यहाँबाट थोरै मात्र चलमलाए पनि मन्त्री बङ्गाली फौजको नजरमा पर्थे । उनी त्यहाँ घोडासहित निकैबेर लुकेर बसे । थुम्कामा बङ्गाली सेना र विजयपुरे लडाकुका लासहरू असरल्ल थियो । बङ्गालीका लासहरू सग्ला थिए । तर विजयपुरेका लासमा बारुद र लाहा हालेर अनुहार र हातगोडा नचिनिने गरी जलाइएको थियो । सायद बङ्गाली सेनाले मृत्युपछि पनि रिस फेरेका थिए । 

केही बेरमा बङ्गाली सेनाको एउटा समूह मन्त्रीलाई पछ्याउँदै गएको टोलीलाई मदत गर्न अगाडि बढ्यो । त्यही बेलामा मन्त्री घोडा लिएर तल ओर्लिए । मन्त्रीलाई सबैले एकसाथ  देखे । उनी तीन जनालाई झुक्याउन सफल भएका थिए । तर सयौँको घेराबन्दीमा परे । तर मन्त्री रोकिएनन् । घोडालाई दौडाउँदै यताउता गर्दै बङ्गाली सेनालाई हायलकायल पारिरहे । धनुकाण गोली र घुँयात्रोको प्रहार छल्दै दुई तीन घण्टा बङ्गाली सेनालाई अल्मल्याउन सफल मन्त्री राईले अन्तिममा बङ्गाली सेना समक्ष आत्मसमर्पण गरे । 

उता

दुवै सेन राजाहरू र उनीहरूका अङ्गरक्षकहरू हातमा तरबार लिएर बसिरहेका छन् । उनीहरू बङ्गाली सेनाको कब्जामा परेको ५, ६ घण्टा भइसकेको छ । सेनाले मानव पर्खाल बनाएर उनीहरूलाई घेरेर राखेको छ । पर ठूलो कुर्सीमा बसेका नवाव सेन राजाहरूलाई सजिलै आत्मसमर्पण गर्न अनुरोध गरिरहेका छन् । तर सेन राजाहरूले टसकोमस नगरेपछि उनी राजाहरूलाई फकाउन थाल्छन् । 

नवाव “हो, म मान्छु तपाईंहरू वीर हो । निडर लडाकु हौ । तर त्यो वीरता देखाउने पनि त ठाउँ हुन्छ । एउटा वादशाहसँग वीरता देखाउनु भनेको मृत्युलाई रोज्नु हो । तपाईंहरू चित्रवन, मुकुन्दपुर, धनुषधामदेखि मोररुहाङसम्मका दक्षिण पट्टिका भूभाग यो बादहाशलाई सुम्पनुस् । आफ्नो बचेको राज्य समाल्नुस् ।  त्यसो गर्नुभयो भने तपार्इंहरूलाई ससम्मान यहाँबाट बिदाइ गर्न यो बादशाह तयार छ । अन्यथा जे पनि हुनसक्छ ।” 

“कायर” विधाता चिच्याउँछन् । “सक्छस् भने छिनाल घाँटी । रोपिदे भाला यो छातीमा । तोपले उडा । तर कुनै पनि हालतमा हामी हाम्रो देशको एक अङ्गुल पनि जमिन तँलाई दिदैनौँ” । 

शुभ सेन पनि उसैगरी कराउँछन्, “हामीलाई तेरो तागत थाहा भयो कायर । यदि तँसँग साँच्चै नै हामीलाई जित्ने शक्ति थियो भने युद्धको आह्वान गर्थिस् । लडाइँ लड्थिस् हामीसँग । यो कायरताको नाटक रच्नु भनेको लड्ने ताकत नहुनु हो भन्ने हामीलाई राम्ररी थाहा छ” । 

 “हो मूर्खहरूले विवेक गुमाउँछन् अनि झिँगा मार्न तरबार चलाउँछन् । तर म त्यति मूर्ख छैन । नाथे टुक्रे रजौटा कब्जा गर्न युद्धको आह्वान गर्ने” नवाव झन् रुखो बन्छन् । 

त्यतिकैमा त्यहाँ एक जना सिपाहीको प्रवेश हुन्छ । 

“नवावको जय होस् ǃ विजयपुरका मन्त्रीलाई बङ्गाल सेनाले पक्रेर ल्याउँदै छ नवाव ǃ मन्त्रीसँग गएका अरू चारै जना मारिए ǃ एक जना तोपले उडेको कारण तीन जनाको मात्र लास यहाँ ल्याइँदैछ नवाव ! नवावको जय होस्  !

आफूहरू बन्दी बनेको र आफूहरू बन्दी बनेको कुरा आफ्ना राज्यमा कसैलाई थाहा नहुने अवस्था सिर्जना भएकाले दुवै राजाहरू निराश हुन्छन् । शुभ सेन नजिकैको मेचमा थचक्क बस्छन् । 

विधाताका निधारमा चिटचिट पसिना आउँछ । उनी निकै नै तनावमा देखिन्छन् । उनी पनि थचक्क बस्छन् । 

नवावको हाँसोको ध्वनि झन् उच्च हुन्छ । उनी केहीबेर केही नबोली हाँस्ने र सेन राजाहरूलाई हेर्ने गर्छन् । 

“यसको मतलब मकवानपुर र विजयपुरमा राजाहरू बन्दी बनेको खबर पुग्न पाएन, हैन त महाराजहरू ? 

अब तपाईंहरू मेरो पाहुना, पाहुना मात्रै हैन मैरै जनता बन्दै हुनुहुन्छ ।

(अट्टाहाँस कायमै छ) मेरै जनता ।” 

त्यतिकैमा  बङ्गाली सेनाको कब्जामा परेका विजयपुरका मन्त्री राईलाई  कालो मुखुण्डोले छोपेर राजाहरू बसेको ठाउँमै ल्याइन्छ । 

“धोकेबाज मन्त्री ! कागज पत्र लिने हैन ? ल्यायौ कागज पत्र ?” यति भन्दै नवावले  मन्त्रीको मुखुण्डो खोल्छन् । 

तर मुखुण्डो खोल्दा मन्त्री भनेर ल्याइएका व्यक्ति मन्त्री नभएर मन्त्रीका अङ्ग रक्षक हुन्छन् । 

मुसुक्क हाँस्दै ती सेनाले ठूलो आवाजमा मन्त्री प्रबोधदास विजयपुर प्रवेश गरिसकेको  खबर सुनाउँछन् । 

“हाम्रा मन्त्री विजयपुर पुग्नुभयो । अब हाम्रा राजामाथि धोका भएको कुरा विजयपुर, मकवानपुर अनि तनहुँमा एक साथ पुग्छ । पाल्पामा खबर पु¥याउने जिम्मा मेरो थियो । तर बीचको लडाइँका कारण मैले अर्कै भूमिका निभाउनुपर्यो ।” 

मन्त्री प्रवोधदास राई र उनको सेनाले मकवानपुर र विजयपुर राज्य नजिकैको थुम्कामा बसेका बङ्गाली सेनालाई लडाइँमा पराजित गरेको थियो । 

त्यहाँका सबै बङ्गालीलाई मार्न सफल उनीहरूले ती सेनाहरूमध्ये तीन जनाका अनुहारमा लाहा खन्याएर जलाई नचिनिने बनाइदिएका थिए भने आफ्नो पोसाक लगाइदिएर उनीहरूको पोसाक आफूले लगाएका थिए । मकवानपुरका एक सैनिकलाई मन्त्रीको पोसाक लगाई अगाडि भाग्न लगाइयो भने बङ्गाली सेनाका पोसाक लगाएका मन्त्री तथा सेन सेनाहरूले उनलाई लखेटेको र नदेखेको अनि खोज्दै अगाडि बढेको बहाना गरिएको थियो । 

चलाख र बहादुर मन्त्री प्रबोधदास विजयपुर राज्य प्रवेश गर्न सफल भइसकेका थिए । 

क्रमश:

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप