शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विष्णु पौडेललाई टक्कर दिने यी हुन् सम्भावित उम्मेदवार

बुधबार, २५ साउन २०७९, ०९ : ५५
बुधबार, २५ साउन २०७९

बुटवल । सरकारले आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहौल बढेको छ । योसँगै विभिन्न दलका ‘हेभी वेट’ नेताहरुको चुनाव क्षेत्र र प्रतिस्पर्धीहरूका बारेमा पनि लेखाजोखा हुन थालेको छ ।

यिनै ‘हेभी वेट’ मध्येका एक हुन् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल । उनको चुनाव क्षेत्र रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ हो । बुटवल उपमहानगर समेत पर्ने उक्त क्षेत्रमा सत्तारुढ गठबन्धनबाट को उम्मेदवार बन्ला भन्ने चर्चा पनि चुलिएको छ ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा २५ हजार ६४ मतान्तरले मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका युवराज गिरीलाई पराजित गरेका पौडेललाई यो पटक भने चुनाव जित्न निकै कठिन हुने देखिएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जस्तै सत्तारुढ गठबन्धन एकजुट रहे यो क्षेत्रमा विष्णु पौडेललाई चुनाव जित्न कठिन हुने देखिन्छ ।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ मा बुटवल उपमहानगरपालिकामा १३ वडा, तिलोत्तमा नगरपालिकाका ६ वटा वडा पर्दछ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरका १९ वडामध्ये काँग्रेसले १२ र माओवादीले १ गरी १३ वटा वडा सत्तारुढ गठबन्धनले जितेको छ । थप एउटा वडा पनि काँग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिएकाले जितेका छन् ।

एमालेले जम्मा ५ वटा वडा जितेको छ । बुटवलका वडा नं. १०, ११, १४, १८ र १९ वडामात्र एमालेले जितेको छ ।

स्थानीय तहको मत परिणाम अनुसार बुटवल उपमहानगरमा एमालेका मेयरका प्रत्याशी बाबुराम भट्टराईले जम्मा २२ हजार ७१८ मत ल्याएका थिए भने गठबन्धनबाट नेपाली काँग्रेसका खेलराज पाण्डेले ३० हजार २४९ मत ल्याएर विजय हासिल गरेका थिए ।

त्यस्तै, तिलोत्तमामा पर्ने ६ वटा वडामध्ये दुई वटामात्र एमालेले जितेको थियो भने गठबन्धनका दलले ४ वटा वडा जितेका छन् । यहाँ ६ वटै वडाको कुल मत हेर्दा गठबन्धन दलको मत १० हजार ८६५ छ भने एमालेको ८ हजार ३०२ छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणाम हेर्दा प्रतिनिधिसभा निर्वाचनतर्फ रुपन्देही–२ मा एमालेका लागि सत्तारुढ गठबन्धन निकै भारी हुने देखिन्छ ।

पौडेललाई टक्कर दिने को को ?

हालको गठबन्धन कायमै रहेमा रुपन्देहीको निर्वाचन क्षेत्र नं. २ मा नेकपा माओवादी केन्द्रले भाग पाउने ठूलो सम्भावना देखिन्छ । त्यसका लागि माओवादी केन्द्रका नेताले गृहकार्य पनि गरेका छन् ।

माओवादी केन्द्रका जिल्ला संयोजक निर्मल जीसीका अनुसार यदि माओवादीले कोटा पाएमा नेताहरू वामदेव क्षेत्री र विनोद पहाडीमध्ये एक जना उम्मेदवार बन्ने सम्भावना छ । रातोपाटीको जिज्ञासामा नेता क्षेत्री र पहाडीले पार्टीले जिम्मेवारी दिए उम्मेदवार बन्न तयार रहेको बताए ।

नेपाली काँग्रेसले यो क्षेत्रबाट उम्मेदवारी दिने अवस्थामा गुल्मीका नेता चन्द्र भण्डारीलाई यहाँबाट उम्मेदवार बनाउन सक्ने सो पार्टीका स्थानीय नेता बताउँछन् । विष्णु पौडेललाई टक्कर दिनसक्ने यस क्षेत्रमा अन्य काँग्रेस नेता नभएकाले पनि भण्डारीको नाम चर्चामा ल्याइएको बताइन्छ ।

तर नेपाली काँग्रेसका रुपन्देही सचिव हरि काफ्ले भने चन्द्र भण्डारीले गुल्मी क्षेत्र नं. १ बाटै चुनाव लड्ने चाहना राखेको बताउँछन् ।

गठबन्धन दलबाट भागवण्डा मिले एकीकृत समाजवादीका दुई नेताले पनि विष्णु पौडेललाई टक्कर दिन सक्नेछन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज डा. बालकृष्ण चापागाई र पार्टीका प्रदेश सचिव राजु गुरुङको नाम पनि चर्चामा छ । यी दुईमध्ये जोसुकै उम्मेदवार बने पनि विष्णु पौडेललाई टक्कर दिन सक्ने स्थानीय नेता–कार्यकर्ता बताउँछन् ।

किन कमजोर बन्दैछन् विष्णु पौडेल ?

यो क्षेत्रबाट यसअघि तीन निर्वाचन लगातार जितेका विष्णु पौडेल अहिले भने बिस्तारै कमजोर हुँदै गएका छन् । खासगरी लुम्बिनी प्रदेशको राजधानी बुटवलमै राख्ने अभियानमा धोका दिएको भनेर यहाँका एमाले नेता–कार्यकर्ता उनीसँग चिढिएका छन् ।

बुटवलमा राजधानी राख्ने र सार्ने रस्साकस्सीबीच केही समय एमालेकै अर्का नेता शंकर पोखरेलसँग टक्कर लिएका पौडेलले अन्ततः तत्कालीन सरकारमा अर्थमन्त्री पाउने भएपछि स्थायी राजधानी बुटवल बनाउने अडानबाट पछि हटेको बुटवलवासी बताउँछन् ।

अर्कोतर्फ विष्णु पौडेलका विश्वासपात्र बुटवल उपमहानगरका पूर्व प्रमुख तथा एमाले नेता शिव सुवेदीले पनि उनको राजनीति कमजोर बनाइदिएको एमाले वृत्तमा चर्चा हुने गरेको छ । नगरप्रमुख हुँदा पार्टीको स्वार्थभन्दा व्यक्तिगत स्वार्थमा सुवेदीले काम गरेको, नगरको विकासमा उल्लेख्य काम गर्न नसकेको, बुटवलको बाटो तथा बिजुली बिस्तार र ज्योतिनगरको पहिरो व्यवस्थापनमा कमजोरी देखाएको लगायतका कारणले पनि विष्णु पौडेलको राजनीति कमजोर बनाएको बुद्धिजीवीहरू बताउँछन् ।

ज्योतिगरका पहिरो पीडितले सुवेदीलाई मुक्का प्रहारसमेत गरेका थिए । सुवेदीले स्थानीयस्तरमा पार्टी हितका काम गर्न नसकेको र पौडेलले पदीय लालचामा पुराना प्रतिबद्धताहरू पूरा नगरेका कारण आफ्नो निर्वाचन क्षेत्रमा कमजोर बन्दै गएको जानकारहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप