शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमित श्रेष्ठको मुद्दामा ४८ करोड बिगो मागदाबी, थुनछेक बहस हुँदै

मङ्गलबार, २४ साउन २०७९, ०८ : ००
मङ्गलबार, २४ साउन २०७९

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठसँग जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएको छ । मोबाइल र ल्यापटपको फोरेन्सिक जाँच रिपोर्ट अनुसार उनले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको देखिएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँ महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो । डिजिटल फोरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार मूल्य बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

श्रेष्ठले राष्ट्र बैङ्क ऐन–२०५८ को दफा ९५ को १ र २ अनुसार कसुर गरेको देखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका  प्रमुख गंगा पौडेलले रातोपाटीलाई बताए । श्रेष्ठले शङ्कास्पद रूपमा ४८ करोड आर्जन गरेको देखिएको भन्दै सरकारी वकिल कार्यालयले सो रकम बिगो कायम गरेर सजाय हुन मागदाबी लिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले श्रेष्ठलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को कसुरमा मुद्दा दर्ता गर्न सिफारिस सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो । तर, सरकारी वकिल कार्यालयले राष्ट्र बैङ्क ऐन अनुसार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला अदालत काठमाडौँमा सो मुद्दाबारे थुनछेक बहस भइरहेको छ । सोमबार बयान सकिएको थियो । मंगलबार उनलाई धरौटीमा छाड्ने वा थुनामा पठाउने बारे आदेश हुन्छ ।

प्रहरीले क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा उनलाई पक्राउ गरेको थियो । श्रेष्ठले क्रिप्टोकरेन्सीको कारोबार गरेको नदेखिएको र राष्ट्र बैंकको अनुमति बिना विदेशी बैंकमा डलर कारोबार गरेको पुष्टि भएको सरकारी वकिल कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

अस्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडा र नेपालको नबिल बैंकमा उनले डलर कारोबार गरेको फोरेन्सिक परीक्षणबाट देखिएको छ । अमेरिकन डलर मात्रै उनले ३३ करोडभन्दा बढीको कारोबार गरेका छन् । राष्ट्र बैंकको अनुमति बिना विदेशी विनिमय सम्बन्धी कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।

विदेशी बैंकमा उनले ३ करोड ३६ लाख ३१ हजार बराबर नेपाली मुद्राको कारोबार गरेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की र लाजिम्पाटमा उनको जग्गा र पानीपोखरीमा अपार्टमेन्ट छ । सो सम्पत्तिको बजार मूल्य ४ करोड भन्दा बढी हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप