शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ क्षेत्र नम्बर १ मा मेटमणि बन्लान् गठबन्धनका उम्मेदवार ?

मङ्गलबार, २४ साउन २०७९, १३ : ०७
मङ्गलबार, २४ साउन २०७९

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषणा भएसँगै मुलुकभर चुनावी चर्चा सुरु भएको छ । विभिन्न निर्वाचन क्षेत्रमा कुन दलबाट को उम्मेदवार बन्नेबारे लेखाजोखा हुन थालेको छ । यसै क्रममा दाङका तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा पनि कुन दलबाट को उम्मेदवार बन्ने भन्नेबारे चर्चा परिचर्चा सुरु भएको छ ।

दाङको क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य एवम् सहरी विकास मन्त्री मेटमणि चौधरीले प्रतिनिधित्व गर्छन् । दाङकै क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र क्षेत्र नम्बर ३ बाट एकीकृत समाजवादीका नेता एवम् स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले प्रतिनिधित्व गर्छन् ।

आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ दाङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरीले सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गर्न थालेका छन् । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले समेत ‘ग्रीन सिग्नल’ दिएको भन्दै मेटमणि सो निर्वाचन क्षेत्रबाट गठबन्धनको उम्मेदवारका रूपमा आफू चुनाव लड्ने बताउन थालेका छन् ।

‘दाङको क्षेत्र नम्बर १ बाट गठबन्धनले मलाई टिकट दिने, क्षेत्र नम्बर २ मा माओवादीका कृष्णबहादुर महरा र ३ नम्बर क्षेत्रबाट काँग्रेसका दीपक गिरीलाई उम्मेदवार बनाउने भद्र सहमतिजस्तै छ,’ रातोपाटीसँग कुरा गर्दै मन्त्री चौधरीले भने, ‘गठबन्धनमा सिट बाँडफाँटका विषयमा छलफल भइरहेकाले फाइनल हुन बाँकी छ ।’

आफूले गठबन्धनबाट टिकट पाए चुनाव जित्ने चौधरीको दाबी छ । यद्यपि सो क्षेत्रमा नेकपा एकीकृत समाजवादीको सांगठनिक धरातल कमजोर रहेकाले मेटमणिले टिकट पाए पनि काँग्रेस र माओवादीकै सहारा लिनुपर्ने छ । क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीले एक स्थानीय तह पनि जितेको छैन । राप्ती गाउँपालिकामा एक वडा अध्यक्षसहित ७ सदस्यमात्रै एकीकृत समाजवादीले जितेको छ । लमही नगरपालिका, राजपुर गाउँपालिका काँग्रेसले जितेको छ भने गढवा र राप्ती गाउँपालिका माओवादी केन्द्रले जितेको छ ।

यस्तै, माओवादी केन्द्रबाट पोलिटब्यूरो सदस्य नारायणी शर्माले पनि प्रतिनिधिसभामा आफ्नो दाबी रहने बताइन् । ‘मैले प्रतिनिधिसभामा गठबन्धनबाट चुनाव लड्ने सोचेकी छु । गठबन्धनले कसरी सिट बाँडफाँट गर्छ, त्यहीअनुसार निर्णय गर्ने छु,’ शर्माले भनिन्, ‘मैले प्रदेशमा लड्ने योजना बनाएकी छैन, लड्नै परेमा प्रतिनिधिसभामै लड्छु ।’

तर माओवादीकै प्रदेश सभा सांसद इन्द्रजित थारुले आफू प्रदेशसभामै लड्ने बताएका छन् । क्षेत्र नम्बर १ ‘क’का सांसद थारुले प्रदेश राजधानी देउखुरीमा स्थापित गर्न आफू प्रदेशमै लड्ने बताए ।

यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रतिनिधिसभा चुनाव लड्ने गरी तयारी गरेका छन् । विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिकबाट पार्टी एकीकरणसहित काँग्रेसमा आएका चौधरी प्रधानमन्त्री देउवाका विश्वास पात्र हुन् । देउवाको निकट भएकैले चौधरीले पार्टीमा एकपछि अर्को जिम्मेवारी पाइरहेका छन् । गत असार २७ गतेदेखि साउन २ गतेसम्म बसेको काँग्रेस केन्द्रीय समिति बैठकमा चौधरीले गठबन्धनका नाममा ०७४ मा जितेको दललाई सोही क्षेत्र दिन नहुने जिकिर गरेका थिए । उनले भने, ‘०७४ मा जितेको दललाई सोही क्षेत्र दिने कुराले राम्रो गर्दैन । त्यहाँ कुन पार्टीको प्रभाव के छ ? मूल्याङ्कन गरेर सिट बाँडफाँट गरिनुपर्छ ।’

काँग्रेसबाट क्षेत्र नम्बर १ ‘ख’ प्रदेशसभामा जानकीलाल बस्नेत र मधु न्यौपानेले दाबी गरेका छन् । २०७४ सालका प्रदेशसभा चुनावमा एमाले नेता रेवतीरमण शर्मासँग पराजित भएका बस्नेतले पुनः गठबन्धनबाट चुनाव लड्ने दाबी गरेका छन् ।

यस्तै एमालेबाट केन्द्रीय सदस्य शान्ता चौधरी र गंगा चौधरीले प्रतिनिधिसभामा चुनाव लड्ने तयारी गरेका छन् । शान्ता र गंगा दुवै समानुपातिक सांसद हुन् ।

एमाले महासचिव शंकर पोखरेलले प्रदेश राजधानी देउखुरीमा ल्याएकाले क्षेत्र नम्बर १ बाटै लड्ने तयारी गरेका थिए । अन्तिममा स्थानीय तहको जनमतमा क्षेत्र नम्बर २ सुरक्षित देखेपछि उनले क्षेत्र नम्बर १ छोड्ने तयारी गरेका छन् । त्यसैले पोखरेलले पछिल्लो समय क्षेत्र नम्बर २ मै केन्द्रित भई राजनीतिक गतिविधि बढाएका छन् ।

यस्तै प्रदेशसभामा भने केन्द्रीय सदस्य रेवतीरमण शर्मा र लमही नगरपालिका पूर्व मेयर कुलबहादुर केसीले चुनाव लड्ने तयारी गरेका छन् । एकपछि अर्को गर्दै प्रतिनिधिसभा र प्रदेशसभामा चुनाव लड्ने आकाङ्क्षी बढ्दै गएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप