बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

निर्वाचन क्षेत्रमा मतदाता फकाउँदै बाराका सांसदहरू

आइतबार, २२ साउन २०७९, १७ : २१
आइतबार, २२ साउन २०७९

स्थानीय चुनाव सकिएर संघ र प्रदेशको चुनाव आएसँगै बाराका सांसदहरु मतदाता फकाउन लागी परेका छन् । प्रतिनिधि सभा सदस्यतर्फ ४ वटा र प्रदेशतर्फ ८ वटा निर्वाचन क्षेत्र रहेकोमा क्षेत्र नं १ अधिक चर्चाको विषय रहेको छ ।

खानेपानी  तथा सरसफाई मन्त्री उमाकान्त चौधरीले बाराको निर्वाचन क्षेत्र नं १ को लागि चालु आर्थिक वर्षमा ३२ करोडको खानेपानी योजना ल्याएका छन् । नेपाली काँग्रेसबाट सो क्षेत्रमा संघीय सांसदसमेत रहेका चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई लक्षित गरेर खानेपानीको योजना ल्याएका हुन् । 

चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै छुट्याएको ३२ करोड बजेट समग्र मधेस प्रदेश सरकारको ८ जिल्लामा खोनपानीका लागि प्रदेश सरकारले छुट्याएको बजेट भन्दा पनि बढी हो । मधेस प्रदेशका ८ जिल्लामा खानेपानी योजनामा जम्मा २६ करोड मात्र बजेट छ । 

अगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा मतदाता फकाउन चौधरीले सरकारको ढुकुटीको करोडौँ रुपैयाँ बजेट जथाभावी रुपमा आफ्नो निर्वाचन क्षेत्रको लागि विनियोजन गरेका हुन् ।

चौधरी यसअघि स्वास्थ्य मन्त्री समेत भएका थिए । बारा जिल्लाबाट धेरै पटक सरकारको नेतृत्व र शक्तिकेन्द्र नजिक बस्ने थोरै पात्रभित्र उनी पनि पर्दछन् । स्वास्थ्य मन्त्री रहँदा जिल्लाको स्वास्थ्य सेवामा भने उनको योगदान खासै देखिदैन । बारामा एउटा सुविधासम्पन्न अस्पताल नहुदाँ अधिकांश विरामी उपचारका लागि वीरगञ्ज, हेटौडा,भरतपुर, काठमाडौंसम्म पुग्ने बाध्यता छ । 

चौधरी स्वास्थ्यमन्त्री हुँदा सुरु भएको खुला दिसामुक्त क्षेत्र घोषणा अभियान कार्यक्रमअन्तर्गत उनले आफ्नो  टोलमा मात्रै शौचालय र बाटो ढलान गरेका थिए ।

बाराको अमलेखगञ्ज दुइ दशकदेखि खानेपानीको चरम समस्यामा छ । अगामी प्रदेश, संघको निर्वाचन केन्द्रीत गरेर चौधरीले जिल्लामा खानेपानी समस्या भएका क्षेत्रलाई वेवास्ता गर्दै आफ्नो क्षेत्र र टोलमा मात्रै राज्यको करोडौँ रुपैयाँ ढुकुटी खन्याएको भन्दै बारा निर्वाचन क्षेत्र नं ३ का संघीय सांसद रामबाबु यादवले गुनासो गरेका छन् । ‘मन्त्री हुनासाथ आफ्नो निर्वाचन क्षेत्रमा मात्रै बजेट खन्याउने प्रवृत्ति छ, यो गलत हो ।’  

उमाकान्त चौधरीले आफ्नो चुनाव क्षेत्रलाई फोकस गरेझैँ चुनाव नजिकएसँगै बारा क्षेत्र न ३ का संघीय सांसद यादव पनि पछिल्लो समय विशेष कारणबाहेक प्रायः जिल्लामै भेटिन्छन् । प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थलभित्र रहेको टाँगियावस्तीमा विद्युत्तीकरण, सिमरा–कोहल्वी सडक खण्डअन्तर्गत बर्डहवामा २ वर्षदेखि अवरुद्ध पुल सञ्चालनलगायत आफ्नो निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधानमा स्थानीयबीच यादव प्रत्यक्ष उपस्थित भएर काममा जुटेका छन् । 

अन्तराष्ट्रिय विमानस्थलको राष्ट्रिय वन क्षेत्रभित्र कानुनी प्रक्रिया मिचेर बिजुलीको पोल गाडिएको भन्दै वन कार्यालयले अवरोध गरेपछि संघीय सांसद यादव आफ्नै उपस्थितिमा स्थानीयलाई परिचालन गरेर पोल गाड्ने काम धमाधम गरिरहेका छन् । आफ्ना मतदातालाई रिझाउन र सकरात्मक सन्देश दिन सांसद यादव आफै काममा खट्ने गरेका छन् । 

‘गठबन्धन भएपनि÷नभएपनि म संघीय सांसदमा यही क्षेत्र न ३ मै कायम रहन्छु । म क्लियर दावेदार र उम्मेदवार पनि हुँ,’ जनता समाजवादी पार्टीका मधेस प्रदेश अध्यक्ष समेत रहेका सांसद यादवले भने, ‘मैले पार्टीलाई भनिसकेको छु कि मेरो क्षेत्रमा गठबन्धन गर्नुपर्दैन । जनता मलाई सिङ्गल मत दिन तयार छन् । काँग्रेस छुट्टै लडोस्, एमाले छुट्टै लडोस्, हामी छुट्टै लड्न तयार छौ ।’ 

तनहुँ निर्वाचन क्षेत्र नं १ का संघीय सांसद् तथा पूर्व श्रममन्त्री किसान श्रेष्ठ पनि करिव एक दशकदेखि बारामा उद्योग, पर्यटन, होटल व्यवसाय तथा जग्गा कारोबारमा जोडिएका छन् । २०७४ को निर्वाचनमा तनहुँबाट नेपाली काँग्रेसका प्रभावशाली नेता रामचन्द्र पौडेललाई पराजित गरेका श्रेष्ठ अगामी निर्वाचनमा बारा क्षेत्र नं ४ बाट आंकाक्षी छन् । रामचन्द्र पौडेलले तनहुँमा टिकट पाए श्रेष्ठले बाराबाट उम्मेदवारी दिने निश्चितजस्तै छ । 

‘हामी एमालेवाट विद्रोह गरेर आएका १३ जना सांसदलाई आफ्नो पुरानै निर्वाचन क्षेत्रमा चुनाव लड्ने गरी त्यतिबेला सहमति भएको हो । तर, गठबन्धनले के निर्णय गर्छ, अहिले नै भन्न सकिने अवस्था छैन । सिट बाँडफाँटको टुंगो लागेको छैन,’ श्रेष्ठले रातोपाटीसँगको कुराकानीमा भने । 

उनका अनुसार एमालेसँग छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादी पार्टीको संगठन मजबुत भइनसकेको कारण गठबन्धनको निर्णयभन्दा बाहिर गएर निर्वाचन लड्न पनि समस्या देखिएको छ । 

२०७४ मंसिरमा भएको संघ, प्रदेश निर्वाचनमा  तत्कालीन राजपा–फोरम गठबन्धनले बाराको अधिकांश क्षेत्रमा जित हात पारेको थियो । वाम गठबन्धनले तीन प्रदेशसभा र नेपाली काँग्रेसले एक प्रतिनिधिसभा जितेको थियो भने अन्य स्थानमा राजपा–फोरम गठबन्धनका उम्मेदवार विजयी भएका थिए । 

२०७४ को निर्वाचनमा बारामा कस्तो थियो स्थिति ?

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा क्षेत्र नं १ मा नेपाली काँग्रेसका उमाकान्त चौधरी, २ मा संघीय समाजवादी फोरमका  रामसहाय यादव, क्षेत्र नं ३ मा संघीय समाजदवादी फोरमका रामबाबु यादव र क्षेत्र नं ४ मा राजपाका एकवाल मियाँ निर्वाचित भएका थिए । 

४ जना संघीय सांसदहरुमध्ये रामसहाय यादव र रामबाबु यादव अहिले जनता समाजवादी पार्टीमा छन् भने एकवाल मियाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा आवद्ध छन् । गएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसमा नेता चौधरीले नेकपा एमालेका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार अच्युत मैनालीलाई पराजित गरेका थिए । 

त्यसै गरी बाराको निर्वाचन क्षेत्र २ मा तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रामसहाय यादवले दोस्रो संविधानसभाको निर्वाचनमा सोही क्षेत्रवाट निर्वाचित काँग्रेसका बारा जिल्ला सभापति तथा पूर्वसभासद राधेचन्द्र यादवलाई पराजित गरेका थिए । 

२०७४ को निर्वाचनमा बाराको निर्वाचन क्षेत्र नं ३ मा भने रामबाबु यादव तत्कालीन बहालवाला श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुर र वाम गठबन्धनका उम्मेदवार अध्यायन्द पाण्डेसँग फराकिलो मतान्तरले विजयी भएका थिए ।  

बाराको उत्तरी भेगमा रहेको निर्वाचन क्षेत्र नं ४ मा तत्कालीन राजपाका एकवाल  मियाँले वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले बाराका उपाध्यक्ष देवनारायण चौधरी र नेपाली काँग्रेसका नेता लालबाबु सिंहलाई पराजित गरेका थिए । 

२०७४ को निर्वाचनलाई नियाल्दा बारामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले र माओवादी केन्द्रको भने सहभागिता हुन सकेन । काँग्रेसले एउटा सिट जित्यो भने मधेशवादी दलहरुले बाँकी ३ वटा निर्वाचन क्षेत्रमा बिजयी हात पार्न सफल भए । 

बहालवाला सांसदले भूमिका परिवर्तन गर्नुपर्छ : लामा 

पर्यटन व्यवसायी तथा माओवादी निकट अखिल नेपाल खेलकुद महासंघका विज्ञ सदस्य युवराज लामा आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहालवाला सांसदहरुले भूमिका परिवर्तन गनुपर्ने सुझाउँछन् । 

‘यहाँ मृत्यु शैश्यामा नपुगेसम्म निर्वाचनमा उठिरहने खालको प्रवृत्ति छ, यस्तो प्रवृत्तिलाई दलहरुले अव अन्त्य गर्नुपर्छ,’ लामाले भने ।

‘दलहरुले अगामी निर्वाचनमा मापदण्ड नै बनाएर स्वस्थ्य, प्रतिभाशाली प्रशासनिक र राजनीतिक नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्तिलाई उम्मेदवारको रुपमा छान्न सक्नुपर्छ,’ लामाले भने ‘भ्रष्टाचारमा मुछिएका कुनैपनि व्यक्तिलाई निर्वाचनमा ल्याउनै हँुदैन ।’

नेपाली कांग्रेसका प्रभावशाली नेता तथा संविधान सभा सदस्य शोभाकर पराजुलीले गठबन्धन गर्ने भनिएका दलहरुले आआफ्नो संयन्त्रद्वारा पारदर्शी, स्वच्छ र निष्पक्ष रुपमा काम गर्न सक्ने जनतामाझ भिजेको लोकप्रिय योग्य र ईमानदार व्यक्तिलाई उम्मेदवारको रुपमा ल्याउन सुझाव दिएका छन् । पराजुलीले भने, ‘विगतमा गठबन्धनका  दलहरुबिच भएका कमी कमजोरी र त्रुटि आगामी गठबन्धनमा नदोहोरिने गरी स्थलगत सर्वे गरेर उम्मेदवार चयन गरिनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप