म्यादी प्रहरीमा पुरानालाई निरन्तरता किन नदिने ?
वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सरकारले १ लाख म्यादी प्रहरीलाई भर्ना गरेको थियो । स्थानीय तह निर्वाचन सम्पन्न भएको ठिक ६ महिनापछि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुन लागेको छ । मन्त्रिपरिषद्ले मङ्सिर ४ मा निर्वाचनको मिति घोषणा गरेको छ ।
मङ्सिरमा हुने निर्वाचनका लागी पुराना म्यादी प्रहरीलाई निरन्तरता दिनु उपयुक्त वा नयाँ नै भर्ना गर्नुपर्छ भन्नेबारे छलफल सुरु भएको छ । अर्थ मन्त्रालयको स्वीकृति लिएर प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना लिन्छ । बजेट निकासाका लागी भर्ना आह्वान गर्नुअघि अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य हुन्छ ।
प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले स्थानीय निर्वाचनमा खटिएका म्यादीलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा निरन्तरता दिँदा उपयुक्त हुने बताए । रातोपाटीसँग कुरा गर्दै ती उच्च अधिकारीले भने–‘अनुभव र तालिम पनि गरिसकेको हुनाले पुरानाबाटै दरखास्त लिँदा राम्रो हुन्छ ।’
पुराना म्यादी प्रहरीसँग स्थानीय निर्वाचनमा ४० दिन ड्युटी र तालिम गरेको अनुभव छ । ४० दिन काम गरेको र तालिमको समेत अनुभव हुनाले नयाँ भन्दा पुराना म्यादी निर्वाचन सुरक्षामा प्रभावकारी हुने बताउँछन् नेपाल प्रहरीका अवकाश प्राप्त एआईजी हरि बहादुर पाल । ‘नयाँ भन्दा पुरानालाई निरन्तरता दिनु प्रभावकारी हुन्छ’ रातोपाटीसँग पूर्व एआईजी पालले भने–‘स्थानीय तहको चुनावमा त्यसअघिको चुनावमा काम गरेका म्यादी पनि भर्ना भएको हुनाले उनीहरू अनुभवी छन् ।’
म्यादी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्वीकृत हुनुपर्छ । प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरी भर्नाको मापदण्डबारे छलफल सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रस्ताव गरेको मापदण्ड मन्त्रालयले स्वीकृत गरेपछि दरखास्त लिएर भर्ना गरिने प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले जानकारी दिए । म्यादी प्रहरी चुनाव सकिएपछि थप एक साता सेवामा रहन्छन् ।
म्यादी प्रहरीले जवान सरह तलब र रासन बापत थप ७ हजार पाउँछन् । स्थानीय चुनावमा तलब बाहेक म्यादी प्रहरीलाई सरकारले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा उपलब्ध गराएको थियो ।
स्थानीय तह निर्वाचनमा १ लाख म्यादी प्रहरीका लागि करिब साढे ४ अर्ब खर्च भएको थियो । तालिम सञ्चालन गर्न मात्रै १ करोड ५४ लाख खर्च भएको थियो । पुरानाबाट भर्ना लिँदा तालिम गराउनु पर्ने झन्झट हुँदैन । कुन जिल्लामा कति म्यादी चाहिन्छ भन्नेचाहिँ मतदान केन्द्र अनुसार निर्धारण गरिन्छ ।
नयाँ म्यादी प्रहरी भर्ना गरेपछि तालिम दिनुपर्छ । पुरानाले पहिले नै तालिम लिएको र एक तहको अनुभव पनि हासिल गरेको हुनाले पुरानालाई लिँदा राम्रो हुने बताउँछन् पूर्व डिआईजी हेमन्त मल्ल । मल्ल भन्छन्–‘सबै भर्ना हुन नआउलान् तर, पुरानासँग सुरक्षा चुनौती फेस गरेर ड्युटी गरेको अनुभव छ ।’
चुनावको सिङ्गो प्रक्रिया बुझेको र निर्वाचनमा कानुन विपरीतका काम गर्नेहरूलाई पुराना म्यादीले पहिचान गरेर तत्काल नियन्त्रणमा लिने क्षमता हुने डिआईजी मल्ल बताउँछन् । पुरानाबाट पदपूर्ति नभएको अवस्थामा मात्र नयाँलाई अवसर दिनु उपयुक्त हुने जानकारहरू बताउँछन् ।
सेना, प्रहरी र पुरानालाई प्राथमिकता
मङ्सिर ४ मा हुने निर्वाचनको सुरक्षाका लागी अवकाश प्राप्त सैनिक, प्रहरी र पूर्व म्यादी प्रहरीलाई प्राथमिकता दिने प्रहरी प्रवक्ता (डिआईजी) टेक प्रसाद राईले रातोपाटीलाई बताए ।
पूर्व म्यादी, अवकाश पाएका सेना र प्रहरीलाई प्राथमिकता दिइने तर, कारबाहीमा परेका र जागिर छाडेकाहरूलाई भर्ना नलिने प्रहरी प्रवक्ता राईले बताए । स्थानीय तह निर्वाचनमा खटिएका म्यादीलाई लिनेबारे चाहिँ छलफल बाट निर्णय लिने उनले बताए । डिआईजी राईले भने–‘स्थानीय तहमा खटिएका म्यादी प्रहरीलाई फेरी खटाउनेबारे चाहिँ छलफलबाट निर्णय गर्नुपर्छ ।’
२०७९ वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनका लागी म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका थिए ।
म्यादी प्रहरीमा भर्ना हुन पूर्व प्रहरी भन्दा पूर्व सैनिकको आकर्षण देखिएको थियो । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार त्यसबेला २ हजार ५४८ जना पूर्व सैनिकले म्यादीमा भर्ना हुन आवेदन दिए । आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक थिए । पूर्व प्रहरीबाट १ हजार ४४७ जनाले आवेदन गरेको थियो ।
म्यादी बन्न के–के चाहिन्छ ?
म्यादीमा भर्ना हुन दरखास्त दिएकाहरूले एकजना प्रहरी जवान बराबरको शारीरिक योग्यता पुरा गर्नुपर्छ । पुरुषको उचाइ ५ फिट २ इन्च र महिलाको उचाइ कम्तीमा ५ फिट हुनुपर्छ । पुरुषको तौल ५० किलो र महिलाको तौला ४८ किलो हुनुपर्छ ।
स्थानीय चुनावमा म्यादीमा छनोट गर्दा प्रहरीले पुसअप र चिनअप पनि गराएको थियो । तोकिएको समयमा १ किलोमिटर दौड पुरा गर्नुपर्छ । ४० वर्षभन्दा कम उमेरकाहरुले ५ मिनेटमा दौड पुरा गर्नुपर्छ भने सो भन्दा माथिको उमेर समूहकाले ७ मिनेटमा दौड पुरा गर्नुपर्छ ।
मेडिकल परीक्षण गर्दा रतन्धो भएका र ट्याटु खोपेका उम्मेदवार छनोट चरणबाटै बाहिरिन्छन् । बोली स्पष्ट नभएका र बेरिङ परीक्षणमा फेल हुनेहरू छनोट चरणबाट बाहिरिन्छन् । ‘बेरिङ’ भन्नाले खुट्टाको नशा नफुलेको र जवानमा भर्ना हुन आवश्यक छातीको लम्बाइ लगायतका शारीरिक कुरा बुझिन्छ । दुईभन्दा बढी दाँत किराले खाएकाहरू पनि छनोट चरणबाटै बाहिरिन्छन् ।
म्यादी प्रहरीमा भर्ना हुन लिखित परीक्षा दिनु पर्दैन स्थानीय तह निर्वाचनअघि पारित कार्यविधि अनुसार मेडिकल परीक्षण र दौडमा पास भएपछि अन्तर्वार्ता लिइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू
-
तारकेश्वर नगरपालिकामा एनएनआईपीएल स्पोर्ट अवार्ड कार्यक्रम
-
मधेसवादी दललाई सहकार्यका लागि हृदयेश त्रिपाठीको आह्वान, वार्ता समिति पनि गठन
-
नेपाल खेल पर्यटनको प्रमुख गन्तव्य बन्नसक्छ : प्रचण्ड
-
मृत्युदण्ड पर्खिरहेका ३७ जनालाई बाइडेनले दिए राहत