शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

म्यादीमा पूर्व प्रहरीभन्दा पूर्व सैनिकको आकर्षण, २ जना तेस्रो लिङ्गीको आवेदन

लिखित परीक्षा नहुने, दुईभन्दा बढी दाँत किराले खाएकाहरू छनोटबाटै बाहिरिने
सोमबार, १४ चैत २०७८, १८ : ५६
सोमबार, १४ चैत २०७८

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागी नेपाल प्रहरीले १ लाख म्यादी प्रहरीका लागी दरखास्त आह्वान गरेको थियो । वैशाख ३० मा हुने निर्वाचनका लागी म्यादीमा भर्ना हुन २ लाख ९३ हजार ३१४ जनाले आवेदन दिएका छन् । 

म्यादी प्रहरीमा भर्ना हुन पूर्व प्रहरी भन्दा पूर्व सैनिकको आकर्षण देखिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २ हजार ५४८ जना पूर्व सैनिकले म्यादीमा भर्ना हुन आवेदन दिएका छन् । आवेदन बुझाउनेमा ११ जना पूर्व महिला सैनिक छन् । 

पूर्व प्रहरीबाट १ हजार ४४७ जनाले आवेदन दिएका छन् । तीमध्ये १६ जना महिला छन् । सशस्त्र प्रहरीबाट अवकाश लिएका ४९५ जनाले म्यादीमा भर्ना हुन आवेदन दिएका छन् । विगतमा म्यादी प्रहरीमा भर्ना भएर निर्वाचनमा खटिएका २१ हजार भन्दा बढीले आवेदन दिएका छन् । म्यादी प्रहरीमा तेस्रो लिङ्गीले पनि रुचि देखाएका छन् । लुम्बिनी प्रदेशमा २ जना तेस्रो लिङ्गीले म्यादीमा भर्ना हुन आवेदन दिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णु कुमार केसीले रातोपाटीलाई बताए ।

म्यादीको छनोट प्रक्रिया मंगलबार (चैत १५) बाट सुरु हुँदै छ । पूर्व सुरक्षाकर्मी, वन रक्षक र पूर्व म्यादीलाई छनोटमा प्राथमिकता दिने गरी प्रहरी प्रधान कार्यालयले कार्यविधि तयार गरेको छ । ‘शारीरिक रूपमा तन्दुरुस्त पूर्व सुरक्षाकर्मी र पूर्व म्यादीलाई प्राथमिकता दिन्छौँ’ प्रहरी प्रवक्ता विष्णु कुमार केसीले भने–‘यस अघिका निर्वाचनमा खटिएका म्यादीहरूलाई पनि प्राथमिकता दिन्छौँ ।’ 

म्यादी बन्न के–के चाहिन्छ ? 

म्यादीमा भर्ना हुन दरखास्त दिएकाहरूले एकजना प्रहरी जवान बराबरको शारीरिक योग्यता पुरा गर्नुपर्छ । पुरुषको उचाइ ५ फिट २ इन्च र महिलाको उचाइ कम्तीमा ५ फिट हुनुपर्छ । पुरुषको तौल ५० किलो र महिलाको तौल ४८ किलो हुनुपर्छ । 

म्यादीमा छनोट हुन पुसअप र चिनअप गर्नुपर्दैन । तर, तोकिएको समयमा १ किलोमिटर दौड पुरा गर्नुपर्छ । ४० वर्षभन्दा कम उमेरकाहरुले ५ मिनेटमा दौड पुरा गर्नुपर्छ भने सो भन्दा माथिको उमेर समूहकाले ७ मिनेटमा दौड पुरा गर्नुपर्छ । 

मेडिकल परीक्षण गर्दा रतन्धो भएका र ट्याटु खोपेका उम्मेदवार छनोट चरणबाटै बाहिरिन्छन् । बोली स्पष्ट नभएका र बेरिङ परीक्षणमा फेल हुनेहरू छनोट चरणबाट बाहिरिन्छन् । ‘बेरिङ’ भन्नाले खुट्टाको नशा नफुलेको र जवानमा भर्ना हुन आवश्यक छातीको लम्बाइ लगायतका शारीरिक कुरा बुझिन्छ । दुईभन्दा बढी दाँत किराले खाएकाहरू पनि छनोट चरणबाटै बाहिरिन्छन् । 

म्यादी प्रहरीमा भर्ना हुन लिखित परीक्षा दिनुपर्दैैन । मेडिकल परीक्षण र दौडमा पास भएपछि अन्तर्वार्ता लिइने प्रहरी प्रवक्ता केसीले जानकारी दिए । चैत २२ मा म्यादीको अन्तिम नतिजा प्रकाशन गर्ने प्रहरीको तयारी छ । ‘चैत २८ बाट म्यादी प्रहरीलाई तालिम गराउँछौँ’ एसएसपी केसी भन्छन्–‘सो तालिम कम्तीमा १० दिन चल्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप