शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीको क्षेत्र नम्बर ४ मा लोसपाका चार नेताको नजर

सत्ता गठबन्धनबाट कसले मार्ला बाजी ?
बुधबार, १८ साउन २०७९, ०९ : ३५
बुधबार, १८ साउन २०७९

संघ तथा प्रदेशको चुनाव मिति नतोक्दै नेताहरु आ–आफ्नो चुनाव क्षेत्र सुरक्षित बनाउन थालेका छन् । कुन नेता कहाँबाट चुनाव लड्ने भन्ने लेखाजोखा सुरु भइसकेको छ । सोही क्रममा अहिले मधेस प्रदेशको सर्लाही क्षेत्र नम्बर ४ चर्चामा छ ।

२०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका नेता डा.अमरेशकुमार सिंह निर्वाचित भएको सो क्षेत्रमा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल अर्थात् अहिलेको लोकतान्त्रिक समाजवादी पार्टीको पनि राम्रै प्रभाव छ ।

अघिल्लो निर्वाचनमा अमरेश सिंहसँग प्रतिस्पर्धामा रहेका राकेश मिश्र भन्छन्, ‘मेरो ६ हजार मत बदर भएको थियो, जानाजान ६ हजार मत बदर गराइएको थियो, त्यो बदर नभएको भए मैले चुनाव जित्ने अवस्था थियो ।’

अहिले सोही ठाउँमा लोसपाका अन्य नेताको पनि चासो बढेको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य अनिलकुमार झा र नेता राकेश मिश्र समेत सोही क्षेत्रबाट चुनाव लड्न सक्ने चर्चा छ ।

लोसपाका अध्यक्ष ठाकुर सर्लाही क्षेत्र नम्बर ४ बाट दुईपटक चुनाव हारेका छन् । तेस्रो पटक उनी सर्लाही छाडेर महोत्तरी क्षेत्र नम्बर ३ बाट चुनाव जितेका हुन् । लोसपा स्रोत भन्छ, ‘अध्यक्ष ठाकुरले महोत्तरीको त्यो क्षेत्र आफ्नो सम्धीलाई दिनुहुन्छ र उहाँ आफै सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्नु हुन्छ ।’

पहिला पनि दुई पटक चुनाव लडिसकेकाले महन्थलाई सर्लाही–४ मा उम्मेदवार हुन गाह्रो छैन । तर महोत्तरी–३ का युवा नेता अजय झा महन्थले महोत्तरीबाटै उम्मेदवारी दिने दाबी गर्छन् । उनी भन्छन्, ‘यो विपक्षीहरुले गराएको हल्लामात्र हो, ठाकुरजी यहीँ (महोत्तरी–३) बाट चुनाव लड्नु हुन्छ र त्यसको तयारी चलिरहेको छ ।’

​वरिष्ठ नेता राजेन्द्र महतोलाई पनि सर्लाही–४ मा उम्मेदवार बन्न कार्यकर्ताले दबाब दिँदै आएका छन् । अघिल्लो निर्वाचनमा महतो धनुषा–३ बाट निर्वाचित भएका हुन् । उनले पनि कहाँबाट चुनाव लड्ने भन्नेबारे टुङ्गो गरिसकेका छैनन् । उनलाई कसैले सर्लाहीबाट चुनाव लड्न सल्लाह दिँदै आएका छन् भने कसैले सप्तरी त कसैले धनुषाबाटै चुनाव लड्न सल्लाह दिने गरेका छन् ।

महतोको गृहजिल्ला सर्लाही भएको कारण त्यहाँबाट चुनाव लड्ने सम्भावना अत्याधिक रहेको स्रोत बताउँछ । तर उनका सहयोगी किशोर गुरुले महतो धनुषाबाटै चुनाव लड्ने मनस्थितिमा रहेको दाबी गरे । उनले भने, ‘महतोजी वरिष्ठ नेता हुनुहुन्छ, उहाँलाई त थुप्रै जिल्लाबाट चुनाव लड्ने अफर आउनसक्छ तर उहाँले धनुषाबाटै चुनाव लड्ने मन बनाइसक्नु भएको छ ।’

यद्यपि स्रोतले महतो सर्लाहीबाट चुनाव लड्ने कि धनुषाबाट भन्नेबारे छलफलमै रहेको दाबी गरेको छ । उनले आफ्ना निकटका मान्छेलाई दुवै ठाउँको वस्तुस्थितिबारे अध्ययन गराइरहेको स्रोतको दाबी छ ।

यता, रौतहट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अनिल झा पनि सर्लाही–४ बाट उम्मेदवार बन्न सक्ने बताइएको छ । यसअघि प्रतिनिधिसभा सदस्यका लागि रौतहट–१ मा काँग्रेसबाट कृष्णप्रसाद यादव, वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता सत्यनारायण भगत र तत्कालीन राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनबाट नेता झाले प्रतिस्पर्धा गरेका थिए । सो चुनावमा झाले बाजी मारेका थिए । तर यसपटक झाका लागि सो क्षेत्र अनुकुल नदेखिएको सो क्षेत्रका नेताहरु बताउँछन् ।

काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट–१ बाट चुनाव लड्ने तयारी गरिरहेको बुझिएको छ । पाँच दलीय गठबन्धनबाट सो क्षेत्रमा माधवकुमार नेपाल उम्मेदवार बन्ने भएपछि लोसपा नेता झाका लागि प्रतिकुल हुन सक्छ । त्यही भएर पनि उनी सर्लाही–४ बाट चुनाव लड्न सक्ने कतिपयको बुझाइ छ । २०७४ को चुनावमा पनि नेता झा सर्लाही क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने चर्चा थियो । तर पछि उनी आफ्नै क्षेत्र (रौतहट) बाट उम्मेदवार बनेर विजयीसमेत भएका थिए ।

यता, सोही पार्टीका केन्द्रीय नेता राकेश मिश्र पनि सर्लाही क्षेत्र नम्बर४ बाट चुनाव लड्ने तयारीमा छन् । उनी गत चुनावमा थोरै मतले हारेका कारण यसपटक आफूले नै टिकट पाउनुपर्ने दाबी गर्दै आएका छन् । उनी भन्छन्, ‘मलाई त्यो क्षेत्रबाट हटाउन ठूलो चलखेल भइरहेको छ, किसानहरुको पक्षमा मैले पहलकदमी लिएर आन्दोलन गराएका कारण उद्योगीहरुले मलाई त्यहाँबाट चुनाव लड्न नदिन चलखेल गरिरहेका छन् ।’

सर्लाही–४ का प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह अहिले पार्टीभित्र कमजोर भएका छन् । उनले यसपटक टिकट नपाउने चर्चा पनि क्षेत्रभरि छ । स्थानीय चुनावमा सो क्षेत्रभित्र माओवादी बलियो देखिएको छ । एमाले र जसपा कजमोर देखिन्छन् । सर्लाही क्षेत्र नम्बर ४ मा दुईटा नगरपालिका र दुई गाउँपालिका छन् । दुई वटा नगरपालिकामध्ये बलरा नगरपालिका माओवादीले जितेको छ भने गोडैता नगरपालिका लोसपाले जितेको छ ।

त्यस्तै दुईवटा गाउँपालिकामध्ये रामनगर गाउँपालिका माओवादीले र धनकौल गाउँपालिका काँग्रेसले जितेको छ । सो क्षेत्रमा अन्य दुईवटा गाउँपालिकाका सातवटा र एउटा नगरपालिकाका सात गरी १४ वटा वडा छन् । ती वडामा काँग्रेसले ५, जसपा २, लोसपा २, एमाले ४ वटा वडा जितेका छन् ।

पाँच दलीय गठबन्धनबाट सो क्षेत्रमाथि माओवादी केन्द्रले दाबी गरेको छ । स्थानीय तहमा बढी सीट ल्याएको कारण माओवादी केन्द्रले दाबी गर्दै आइरहेको छ । माओवादीबाट यसपटक पनि शिवपुजन नै उम्मेदवार हुने बताइएको छ । एमालेबाट सो क्षेत्रमा को उम्मेदवार हुने भन्ने अहिलेसम्म कसैले दावी गरेका छैनन् । लोसपा कुन दलसँग गठबन्धन गर्ने भन्ने अहिलेसम्म खुलेको छैन । तर गठबन्धन नभए लोसपाले त्यहाँबाट एकल रुपमा भए पनि उम्मेदवारी दिने हिम्मत गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप