शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई सप्तरी–२ मा चुनाव लड्न यस्ता छन् चुनौती

परिवर्तन गर्लान् आफ्नो चुनाव क्षेत्र ?
सोमबार, १६ साउन २०७९, १६ : ३२
सोमबार, १६ साउन २०७९

संघीय निर्वाचनको तयारी भइरहेको समयमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कहाँबाट उम्मेदवारी दिन्छन् भन्नेबारे चर्चा हुन थालेको छ । २०६४ साल यता उनले पटकपटक आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्दै आएका छन् । त्यसैले आसन्न निर्वाचनमा पनि उनले चुनाव क्षेत्र परिवर्तन गर्ने हो कि भन्ने चर्चा सुरु भएको हो ।

२०६४ को पहिलो संविधानसभा चुनाव मोरङबाट जितेका उपेन्द्र यादवले २०७० को दोस्रो संविधानसभा चुनाव सुनसरीबाट जितेका थिए । यस्तै, २०७४ को प्रतिनिधिसभा चुनाव उनले सप्तरीबाट जितेका थिए । यसपटक पनि उनले आफ्नो चुनाव क्षेत्र परिवर्तन गर्ने चर्चा भइरहेको छ ।

धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादवलाई उम्मेदवार बनाउन स्थानीय नेताहरूले चाहना व्यक्त गरेका छन् । उनीहरूले अध्यक्ष यादवलाई पनि यसबारे प्रस्ताव गरिसकेका छन् । जसपाका केन्द्रीय सदस्य जितेन्द्र यादव (धनुषा) ले भने, ‘धनुषाका मात्र होइन, सिरहा, महोत्तरी, सर्लाहीका नेता तथा कार्यकर्ताले समेत पार्टी अध्यक्ष उपेन्द्र यादव धनुषाको २ नम्बर क्षेत्रबाट उम्मेदवार भएको हेर्न चाहेका छन्, यो कुरा अध्यक्षज्यूलाई पनि जानकारी गराइएको छ तर उहाँले अहिलेसम्म कुनै जवाफ दिनुभएको छैन ।’

अध्यक्ष यादवको चाहना सप्तरी क्षेत्र नम्बर २ बाटै चुनाव लड्ने हो । उनले त्यही अनुसारको तयारी थालेका छन् । उनले आफ्नो क्षेत्रमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छन् । यद्यपि उनलाई धनुषा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने दबाब निरन्तर आइरहेको छ ।

केन्द्रीय सदस्य जितेन्द्र यादवले भने, ‘मधेस प्रदेशको राजधानी धनुषा (जनकपुर) हो, त्यहाँ पार्टीलाई बलियो बनाउनका लागि भए पनि उपेन्द्र यादव धनुषाबाट चुनाव लड्नुपर्ने नेता तथा कार्यकर्ताको इच्छा छ ।’

प्रदेश राजधानी भएका कारण जनकपुर रणनीतिक क्षेत्र पनि हो, त्यसको नेतृत्व जसपाले गर्नुपर्छ र त्यसका लागि जसपा अध्यक्ष उपेन्द्र यादव नै धनुषाबाट चुनाव लड्नुपर्ने उनले बताए । यद्यपि उपेन्द्र यादवले हालसम्म यसबारे खुलेर केही नबताएको उनको भनाइ छ ।

जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादवले भने, ‘उपेन्द्र यादव राष्ट्रिय अध्यक्ष हुनुहुन्छ, उहाँले जहाँबाट पनि चुनाव लड्न सक्नु हुन्छ, धनुषा क्षेत्र नम्बर २ बाट उहाँले चुनाव लड्नु भयो भने हाम्रो लागि खुसीको कुरा हो, त्यसलाई हामीले स्वागत गर्छौँ तर अहिलेसम्म पार्टीबाट त्यस्तो कुरा आएको छैन ।’

कार्यकर्ता तहमा उपेन्द्र यादव धनुषा–२ बाट उम्मेदवार बनुन् भन्ने रहे पनि यो कुरा पार्टीको शीर्ष तहसम्म नपुगेको उनले बताए ।

तर जसपा सप्तरीका अध्यक्ष केदार यादवले उपेन्द्र यादव सप्तरी छाडेर अन्यत्र नजाने प्रस्ट पारे । जसपाका अध्यक्ष उपेन्द्र यादवले सप्तरी छाडेर कहीँ नजाने दाबी गर्दै उनले चुनाव हार्ने डरले विपक्षीहरूले यस्तो हल्ला फैलाएको दाबी गरे ।

अध्यक्ष यादवसँग आफूहरूको कुरा हुँदा सप्तरीबाटै चुनाव लड्ने कुरा गरेको उनको भनाइ छ । उनले भने, ‘पार्टी अध्यक्ष हुनुहुन्छ, उहाँसँग क्षमता छ, जहाँबाट लडे पनि उहाँ जित्नुहुन्छ, कहाँबाट चुनाव लड्ने भन्ने उहाँको इच्छा हो तर हालसम्म उहाँ सप्तरीबाटै चुनाव लड्ने तयारीमा हुनुहुन्छ ।’

उपेन्द्र यादवले सप्तरी–२ बाट चुनाव जितेपछि सम्पूर्ण शक्ति त्यहीँ केन्द्रित गरेका छन् । उनको क्षेत्रबाट एक जना संघ र दुई जना प्रदेशको गरी तीन जना मन्त्री नै भएका थिए । अहिले रेणु यादवलाई मन्त्रीबाट हटाइएको छ । दुई जना मन्त्री अझै उनकै क्षेत्रका छन् । साथै प्रदेश तथा संघमा विभिन्न राजनीतिक नियुक्ति पनि उनले आफ्ना क्षेत्रबाट गराएका छन् ।

आफ्नो क्षेत्रमा उनले नर्सिङ कलेज, रामराजा सिंह स्वास्थ्य प्रतिष्ठान, गजेन्द्र सिंह अस्पतालको स्तरोन्नति, इन्जिनियरिङ कलेज, कृषि विश्व विद्यालय स्थापना गराएका छन् । त्यसका साथै राजविराज चक्रपथ निर्माण, केरुङदेखि राजविराजसम्म सडक निर्माणका काम पनि उनले अगाडि बढाएका छन् । यसले उनी त्यहीँबाट फेरि उम्मेदवार हुने प्रस्ट हुन्छ ।

उपेन्द्रलाई क–कसको साथ ?

यसअघि सप्तरी क्षेत्र नम्बर २ बाट चुनाव जित्दा उपेन्द्र यादवलाई काँग्रेस, माओवादी र तत्कालीन राजपा (अहिलेको लोसपा) को साथ थियो ।

यसअघि तत्कालीन संघीय समाजवादी फोरम (अहिलेको जसपा) र तत्कालीन राजपा (अहिलेको लोसपा) बीच चुनावी गठबन्धन थियो । तर उनलाई काँग्रेस र माओवादीको पनि साथ थियो । माओवादीबाट उमेश यादवले उम्मेदवारी दिए पनि अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई सघाएका थिए । स्रोतका अनुसार उमेश यादवलाई उपेन्द्र यादवको विरुद्ध चुनाव नलड्न अध्यक्ष प्रचण्डले भनेका थिए । तर उमेश यादवले मानेका थिएनन् । तैपनि आन्तरिक रूपमा अध्यक्ष प्रचण्डले उपेन्द्र यादवलाई नै साथ दिएका थिए ।

यता, गठबन्धन नभए पनि उपेन्द्र यादवलाई काँग्रेसको साथ थियो । काँग्रेसबाट सकलदेव सुतियारले उम्मेदवारी दिएका थिए । पछि पार्टीले उनलाई फिर्ता गर्न लगाएको थियो । फिर्ता लिए पनि तीन हजार मत सुतियारलाई परेको थियो । तत्कालीन राजपासँग उपेन्द्र यादव नेतृत्वको तत्कालीन फोरमसँग गठबन्धन थियो । तै पनि तत्कालीन राजपाबाट जेपी ठाकुरले उम्मेदवारी दिएका थिए । पछि राजपाले ठाकुरलाई कारबाही गरेको थियो ।

यसरी जसपाका अध्यक्ष उपेन्द्र यादव त्यतिबेला काँग्रेस, माओवादी, लोसपाको साथ पाएर चुनाव जितेका थिए । यसपटक पनि उनी त्यही दाउमा रहेको बताइएको छ । काँग्रेस र माओवादी केन्द्रको गठबन्धन छँदैछ । उनले लोसपा र एमालेको पनि साथ लिन खोजेका छन् ।

पछिल्लो समय उनी एमालेसँग पनि निकट भएका छन् । यी दुई दलसँग औपचारिक गठबन्धन नभए पनि एक अर्कालाई सहयोग गर्ने आन्तरिक सहमति हुनसक्ने सम्भावना रहेको जसपाकै नेताहरू बताउँछन् ।

लोसपाले सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गरेमा जसपाले महोत्तरीमा महन्थ ठाकुरलाई सहयोग गर्ने सम्भावना रहेको बताइन्छ । त्यस विषयमा आन्तरिक रूपमा छलफल पनि चलिरहेको बुझिएको छ ।

यता, लोसपाकै कतिपय नेताले उपेन्द्र यादवको निर्वाचन क्षेत्र सप्तरी क्षेत्र नम्बर २ बाट लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई चुनाव लड्न आग्रह गरिरहेका छन् । लोसपाका केही नेताले महतोलाई पटकपटक भेटेर यस्तो आग्रह गरे पनि महतोले त्यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।

उपेन्द्रलाई चुनौती

जसपाका अध्यक्ष उपेन्द्र यादव सप्तरी–२ बाट चुनाव लड्दा उनलाई आफ्नै पार्टीबाट चुनौती हुने देखिन्छ । जसपाका कार्यकारिणी सदस्य रेणु यादवले पार्टीबाट राजीनामा दिइसकेकी छन् । उनी जसपामा नफर्किएमा चुनावमा उपेन्द्र यादवलाई त्यसले ठूलो चुनौती खडा गर्न सक्छ । चुनावमा उपेन्द्र यादवका लागि रेणु यादव नै चुनौती बन्न सक्ने आकलन गरिएको छ ।

त्यस्तै, शम्भु यादवले पनि जसपा छाडिसकेका छन् । उनी यसअघि जसपा (संघीय समाजवादी फोरम) बाट राजविराज नगरपालिकामा मेयरमा चुनाव जितेका थिए । तर यसपटक उनलाई टिकट नदिएपछि उनी सो पार्टी छाडेर माओवादी केन्द्रबाट चुनाव लडेका थिए । जसपाबाट टिकट पाएका भिराज यादवले शम्भु यादवलाई मेयरमा हराएका थिए ।

जसपा छाडेका शम्भु यादव पनि चुनावमा उपेन्द्र यादवका लागि चुनौती बन्ने देखिन्छ । स्रोतका अनुसार शम्भु यादव माओवादी केन्द्र छाडेर लोसपामा जाने तयारीमा छन् । उनी माओवादी केन्द्रबाट मेयरमा चुनाव हारेपछि प्रदेश सभामा चुनाव लड्ने इच्छा देखाएका थिए । तर माओवादी केन्द्रबाट उमेश यादव प्रदेशसभामा उठ्ने भएपछि उनी सो पार्टी छाडेर लोसपामा जाने तयारीमा छन् ।

उनी उपेन्द्र यादवलाई हराउनकै लागि लोसपाबाट प्रदेशसभामा चुनाव लड्न लागेको धेरैको बुझाई छ । यसैगरी, शम्भुको ठाउँमा राजविराज नगरपालिका मेयरमा टिकट पाएका भिमराज यादव पनि अख्तियारबाट डामिएका छन् । भ्रष्टाचार मुद्दाका कारण मेयर भिमराज पदबाट निलम्बनमा परेका छन् । यसले पनि उपेन्द्र यादवलाई चुनावमा असर गर्न सक्ने धेरैले आकलन गरिरहेका छन् ।

*यसअघि सप्तरी क्षेत्र नम्बर २ हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप