शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गठबन्धनप्रति ओलीको कटाक्ष–ज्ञानेन्द्रसँग मिलेका भए लोकतान्त्रिक, वामपन्थी र देशभक्त भन्थे

‘दुष्ट आशय बोकेकासँग पार्टी एकता गर्दैनौं, छोडेर आए सोच्न सकिन्छ’
मङ्गलबार, १७ साउन २०७९, १६ : ५५
मङ्गलबार, १७ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनमा रहेका वामपन्थीहरु दुष्ट आशय बोकेकाहरू भएकाले उनीहरुसँग पार्टी एकता नहुने बताएका छन् । मंगलबार २५ औं तुलसीलाल अमात्य स्मृति तथा सहिद भिमदत्त पन्तको ६९ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले दुष्ट आशय नबोकेकाहरुसँग मात्रै पार्टी एकता हुनसक्ने बताएका हुन् । 

‘दुष्ट आशय बोकेकाहरूसँग हामी पार्टी एकता गर्न सक्दैनौं । दुष्ट आशय नबोकेका साथीहरु, यही ठूलै भाडामा पकाएको ढिँडो खाउ न ! फेरि यत्रो भाँडोमा के गुजुगुजु पार्नु ?’, ओलीले गठबन्धन बाहिरका कम्युनिस्टहरूलाई आव्हान गर्दै भने, ‘आउनुस् सँगै मिलेर काम गरौ ।’ उनले प्रतिक्रियावादीहरुले यत्रो चुनौति दिइरहेका बेला चुनावी तालमेलमात्रै गर्न नसकिने बताए । ‘यत्रो चुनौति दिइरहेका छन् । अलग बस्नुपर्ने कारण नै छैन’, देश र सुशासनका विरुद्ध एमाले नभएको उनले बताए । उनले गठबन्धन बेठीक भनेर आउनेलाई विचार गर्न सकिने बताए । 

‘अस्ति त पाँच भाइ जम्मा भएछन् । अनि के पो बनाउने रे समाजवादी केन्द्र । समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ? यी एसपीपी, यी एमसीसी ? त्यसकारण यी समाजवादी हुँदैहोइनन्’, ओलीले कटाक्ष गरे ।  उनले गठबन्धन देशद्रोही, अलोकतान्त्रिक र भ्रष्ट गठबन्धनका रुपमा चिनिएको बताए । 

ओलीले नेपाली काँग्रेसले आफूलाई प्रजातान्त्रिक भन्ने अधिकार पनि नभएको बताए । स्वाधिनताविरुद्ध हिँड्ने काँग्रेसले किन आफूलाई प्रजातान्त्रिक भनेको ? भन्दै उनले प्रश्न गरे । आफूभन्दा अघि बोलेका मालेका महासचिव सीपी मैनालीलाई गठबन्धनका नक्कली कुरा र सक्कली कुराको उजागर गर्दिएकोमा धन्यावाद दिँदै उनले कम्युनिस्ट पार्टी सिध्याउने काममा काँग्रेस समेत लागेको बताए । उनले कम्युनिस्ट पार्टी सिध्याउन खोज्नेहरूले आफुलाई वामपन्थी भन्ने गरेको भन्दै ज्ञानेन्द्रसँग मिलेका भए यिनीहरुले लोकतान्त्रिक वामपन्थी र देशभक्त भनेर जोड्ने थिए भनेर टिप्पणी गरे । 

गठबन्धनकै कारण देश सारै गम्भीर अप्ठेरोमा गएको भन्दै उनले काँग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लागेको र देशले दुःख पाउने गरेको इतिहासले बताएको दावी गरे । ‘​जवजव काँग्रेसको नेतृत्वमा सरकार बन्छ देश ओरालो लाग्छ, देशले दुख पाउछ यो इतिहासले बताएको कुरा हो’, उनले भने, ‘राणा प्रधानमन्त्री मोहनशमशेर हुँदा पनि कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लागेको थिएन तर राणा सरकारबाट हटेर मात्रिका प्रसाद कोइराला प्रम बने उनले गरेका कुकर्म इतिहासले विर्सदैन ।’ 

उनले २०१० साल साउन १७ गते भिमदत्तको हत्या गरेको गण्डक सम्झौता गरेको भन्दै काँग्रेसप्रति आक्रोश व्यक्त गरे । २००८ माघमा उत्तरी सीमानामा दक्षिणको छिमेकीको सेना लगेर १७ ठाउमा सैनिक क्याम्प राखियो । यसरी स्वाधीनताविरुद्ध हिडने काँग्रेसलाई किन प्रजातान्त्रिक भनेको ? उसको विचार, काम प्रजातान्त्रिक छैन । काँग्रेसले आफूलाई प्रजातान्त्रिक भन्छ भने आचरण देखाओस् । गोरु आफै लजाउने काम गर्छ काँग्रेस’, ओलीको भनाइ छ ।​

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप