बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कल सेन्टरमा लगानी गर्न चिनियाँ र नेपाली महिलाबीच बिहाबारी

बुटवलबाट पक्राउ परेकालाई साइबर अपराधको मुद्दा
मङ्गलबार, १७ साउन २०७९, १४ : २३
मङ्गलबार, १७ साउन २०७९

काठमाडौँमा दुई वटा र बुटवलमा एउटा कल सेन्टरमा छापा मारेर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट ति कल सेन्टरले एप्स मार्फत भारतमा ऋण लगानी गरेर मिटरब्याज असुल्ने गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

कल सेन्टरमा लगानी गर्नेहरू चिनियाँ हुन् । ३ वटा कल सेन्टरमा आबद्ध ५ जना चिनियाँ नागरिक अहिले प्रहरीको हिरासतमा छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकारी नगरको कल सेन्टरका मुख्य लगानीकर्ता हुन् चिनियाँ फ्रयाङ्क । फ्रयाङ्क अहिले फरार छन् ।

 फ्रयाङ्कले रोल्पा घर भएकी अमला रानामगरसँग विवाह गरेका छन् । अमलाको भाञ्जा नाता पर्ने पाल्पा घर भएका कमल सेन जानकी नगरको कल सेन्टरका महाप्रबन्धक हुन् । कमल सेन, दाङ घर भएका हिमाल बाठा मगर र भारतीय नागरिक निरञ्जन कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

चिनियाँ नागरिकले कल सेन्टरमा अमला मार्फत लगानी गरेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । कल सेन्टरका महाप्रबन्धक कमल सेनले मासिक १ लाख तलब लिन्थे । हिमाल बाठामगर सो कल सेन्टरका व्यवस्थापक हुन् । सेन र बाठामगर बुटवल स्थित फ्ल्याटमा बस्थे ।

बुटवलको कल सेन्टर ‘ब्लु स्काई बिजनेश सोलुशन प्रालि’को नाममा दर्ता छ । कम्पनी रजिष्टारको कार्यालको रेकर्डअनुसार सो कम्पनीका सञ्चलक हुन्, काठमाडौँ महानगर–३ घर भएका विजय श्रेष्ठ र रोल्पाको थवाङ गाउँपालिका–६ घर भएका सुविन्द्र रोकामगर । नेपालीको नाममा दर्ता गरिएको सो कम्पनीलाई चिनियाँले भारतमा मिटरब्याज असुल्न दुरुपयोग गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।

काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकारी नगर र काठमाडौँ–२६ ज्याठा स्थित भियना होटलमा सञ्चालित कल सेन्टरको बीचमा कनेक्सन देखिएको छ ।

गैरीगाउँमा सञ्चालित कल सेन्टर काठमाडौँ महानगरपालिका–३ घर भएका विजय श्रेष्ठ, रोल्पाको थवाङ– ६ घर भएका सुविन्द्र रोकामगर र सिन्धुपाल्चोकको भोटेकोशी घर भएका पासाङ शेर्पाको नाममा दर्ता छ ।

कल सेन्टरको आवरणमा मिटरब्याज असुली गर्ने गिरोहमा तिब्बतीय नागरिक दावा छिरिङ पनि संलग्न देखिएका छन् । अनुसन्धान अधिकृतहरूका अनुसार छिरिङ घर भाडामा लिने र व्यवस्थापन गर्ने भूमिकामा देखिएका छन् ।

 साइबर अपराध मुद्दा चलाउँदै प्रहरी

रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ स्थित जानकारी नगरको कल सेन्टरबाट पक्राउ परेकालाई प्रहरीले साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयको राय सहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आरोपीहरूलाई काठमाडौँ पठाउन लागेको छ ।

 विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा आरोपीहरूलाई थप अनुसन्धान गर्न काठमाडौँमा पठाउन लागिएको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनले भने–‘अहिले ठगी मुद्दामा अनुसन्धान गरिरहेका छौँ, सो मुद्दालाई साइबर मुद्दामा परिवर्तन गर्छौँ ।’

 एप्लिकेसन मार्फत ऋण लिएका भारतीय नागरिकले तिर्न आनाकानी गरेमा उनीहरूको फोटोमा अपरिचित मान्छेको नाङ्गो फोटो जोडेर कल सेन्टरका कर्मचारीले सामाजिक सञ्जालमार्फत बदनाम गर्ने गरेका थिए । सो कसुरमा विद्युतीय कारोबार ऐन आकर्षित हुने प्रहरीको निष्कर्ष छ । आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागी साइबर ब्युरोमा पठाउने एसपी रेग्मीले जानकारी दिए ।  

 साइबर ब्युरोबाट खटिएका अनुसन्धान अधिकृतहरूले बुटवलमा गएर कल सेन्टरबारे अनुसन्धान गरेका थिए । बुटवलबाट २५० थान कम्प्युटर बरामद गरिएको छ ।

 विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा ५ वर्ष कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । प्रहरीले संगठित रूपमा साइबर अपराध गरेको र आपराधिक लाभ लिन नहुने कसुरमा पनि मुद्दा चलाउने तयारी गरेको छ । संगठित रूपमा साइबर अपराध गरेको कसुरमा विद्युतीय कारोबार ऐन अनुसार हुने सजायमा  ५० प्रतिशत थप हुन्छ । आपराधिक लाभ मुद्दामा थप सजाय हुने कानुनी व्यवस्था छ ।

 भियाना होटल कनेक्सन

 गैरीगाउँ र बुटवलमा सञ्चालित कल सेन्टरको कनेक्सन काठमाडौँ–२६ ज्याठा स्थित भियना होटलमा सञ्चालित कल सेन्टरमा देखिएको छ ।

भियना होटलको तेस्रो तलाबाट प्रहरीले ४ जना चिनियाँलाई पक्राउ गरेको थियो । ठमेलको कल सेन्टरबाट ४७२ थान मोबाइल,  २६ थान ल्यापटप र १६ सय थान एनसेलको सिमकार्ड बरामद गरिएको छ । १ लाख ९० हजार बराबरको एनसेलको रिचार्ज कार्ड र २० थान स्मार्ट सेल बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले जानकारी दिए ।

सो कल सेन्टरबाट गैरीगाउँ र बुटवलको कल सेन्टर मनिटर हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । बुटवल, गैरीगाउँ र ठमेलबाट पक्राउ परेका ५ चिनियाँ, ३ भारतीय नागरिक र ३४ जना नेपालीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप