बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गठबन्धन दुई दिनको पाहुना हो, अदालत यसको उलामालामा लाग्नु हुँदैन : केपी ओली

शनिबार, १४ साउन २०७९, १८ : २१
शनिबार, १४ साउन २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई गठबन्धनको उलामालामा नलाग्न आग्रह गरेका छन् ।  शनिबार राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले गठबन्धन दुई दिनको पाहुना र ढोडको लौरो भन्दै अदालत लोकतन्त्र र न्यायको पक्षमा हुनुपर्ने बताए ।

उनले भने, ‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो । यी ढोडका लौरोका भर परेर नचल्न म सबैलाई सुझाव दिन चाहान्छु ।’ उनले यदि देशको पक्षमा, लोकतन्त्रको पक्षमा र न्यायको पक्षमा कदम चाल्न पर्यो भने नेकपा एमालेले पनि कदम चाल्न सक्ने बताए । त्यसका लागि एमाले कदम चाल्न तयार रहेको उनको भनाई थियो । ओलीले गठबन्धनका नेताले कामु प्रधानन्यायाधीशको निवासमा गएर मुद्दा प्रभावित बनाएको संकेत पनि गरे । 

‘तपाईहरु देखिरहनुभएको छ, अखबार र अनलाइनहरुमा समाचार आइरहेका छन् । एकजना नेता कुदेर कामु प्रधानन्यायाधीश कहाँ गएर दुई घण्टा बसे र त्यहाँबाट ती नेता बाहिर निस्केर घरतिर लागे, श्रीमानजी अदालततिर जानुभयो’, ओलीले प्रश्न गर्दै भने, ‘के भइरहेको छ ? लेनदेन हुने गरेको छ अदालतमा । हामी हेर्न चाहन्छौ, विनम्रतापूर्वक आग्रह गर्न चाहन्छौ सम्मानित अदालतबाट न्याय सम्पादन हुनुपर्दछ ।’
अध्यक्ष ओलीले चेतावनीको शैलीमा अदालतलाई खुसामतमा नलाग्न पनि भने ।  

‘कुनै खुशामत होइन, कुनै खासखुस र लेनदेन होइन । कुनै घासघुस, जसको चर्चा चल्ने गरेको छ । त्यही कुरा निरन्तर हुनुहुँदैन’, ओलीले अदालतकै न्यायाधीशहरूले अदालत बिग्रियो र भ्रष्ट भयो भनेको भन्दै भने, ‘अदालतका न्यायाधीशहरु भनिरहनुभएको छ, अदालत बिग्रियो, अदालत भ्रष्ट भयो,अदालत घुसिया भयो उहाँहरु भनिरहनुभएको छ । त्यसबाट मुक्त गर्न म श्रीमान न्यायाधीशहरूलाई आग्रह गर्न चाहान्छु, गठबन्धनको उलामालामा अदालत लाग्नु  हुँदैन ।’ 

अध्यक्ष ओलीले निर्वाचन पर सार्ने षड्यन्त्र भइरहेको भन्दै निर्वाचन सरे पनि २,४ महिना सार्ने तर निर्वाचनबाट भाग्ने ठाउँ सरकारलाई नरहेको बताए । ‘हामी संघीय निर्वाचन र प्रदेश निर्वाचनतिर अगाडि बढिरहेका छौं । यद्यपि अहिले निर्वाचनलाई अलि पर सार्ने षडयन्त्र भइरहेका सुनिएका छन्’,ओलीले भने, ‘तर जस्तासुकै षडयन्त्र भएपनि देशमा निर्वाचन हुनैपर्छ । बढ्तै सारे २,४ महिना सार्लान् । फेरि पनि निर्वाचनबाट उम्केर जाने ठाउँ छैन ।’ उनले लोकतन्त्रका लागि एमाले लड्नुपरेको भन्दै समयमै निर्वाचन गराउनका लागि दवाबमुलक कार्यक्रम गर्नुपर्ने अवस्था आउने बताए । 

उनले एमालेले चुनाव जित्ने तयारी गर्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै नेकपा एमाले विशेष अवस्थामा भएको र चारैतिरबाट घेरिएको भएपनि विशेष शक्तिका रुपमा प्रस्तुत हुनुपर्ने बताए । ‘चौतर्फी घेराबन्दी गरेर एमालेलाई कमजोर पार्न खोजेपनि घेराबन्दी गर्नेहरुलाई पराजय गरेर एमाले कमजोर छैन भन्ने पुष्टि गर्नुपर्छ । हाम्रो तयारी भनेको विजयको तयारी हो’, ओलीको भनाइ छ ।  

अध्यक्ष ओलीले २० वर्षमा अरुले गर्न नसकेका काम एमालेले गरेको दावी गर्दै नेपाली काँग्रेसले कुनै रचनात्मक काम नगरेको बताए ।  ‘२० वर्षमा अरूले गर्न नसकेका काम हामीले गरेका हौँ । नेपाली काँग्रेसले २१ वर्ष सम्म केहि नयाँ योजना र केही विचार ल्याउन सकेन’, ओलीले भने, ‘हाम्रो समृद्ध नेपाललाई हाँगो बटारेर काँग्रेसले समुन्नत नेपाल बनायो । सही कामको शत्रु हो काँग्रेस ।’

उनले गठबन्धनले देशको परिस्थिति जटिल बनाएको भन्दै गठबन्धनले अभिशाप नै भएको बताए ।  ‘गठबन्धन देशका लागि अभिशाप नै हो । लोकतन्त्र र राज्यका सबै दललाई कमजोर पारिरहेको छ । यो राष्ट्रिय ढिकुटीमाराको सरकार हो’
उनले बजेट बनाउँदा कमिसन खाएर करका दर परिवर्तन गरेको आरोप समेत लगाए ।  कमिशन खाएर व्यवसायीका एजेन्ट राखेर करका दर तोकेको भन्दै उनले त्यसबारे छानविन समिति बनाउँदा पनि स्वतन्त्र छानविन गर्न नदिएको आरोप लगाए ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप